कांग्रेसमा दुई महाधिवेशनको टकराव, देउवा पक्षका जनप्रतिनिधिलाई कारबाहीको चेतावनी
काठमाडौं। नेपाली कांग्रेसभित्रको विवाद अब समानान्तर महाधिवेशन र त्यसमा सहभागी हुने जनप्रतिनिधिमाथिको सम्भावित कारबाहीसम्म पुगेको छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिक रूपमा अद्यावधिक गरेपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षको समानान्तर महाधिवेशनमाथि नैतिक र कानुनी प्रश्नहरु उठिरहेका छन्।
एउटै पार्टीको नाम, झन्डा र चुनाव चिह्न प्रयोग गरेर दुई पक्षले छुट्टाछुट्टै महाधिवेशन गर्न मिल्छ कि मिल्दैन भन्ने बहससँगै कांग्रेसभित्रको शक्ति संघर्ष थप चर्किदै गएको छ।
निर्वाचन आयोगले असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ नियमित महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई बुधबार अद्यावधिक गरेको हो। आयोगको यो निर्णयसँगै थापा नेतृत्वको कार्यसमितिले संस्थागत मान्यता पाएको छ।
तर, देउवा पक्ष भने पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै समानान्तर महाधिवेशनको तयारीबाट पछि हटेको छैन। वडा, पालिका, क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरिसकेको यो पक्ष अहिले प्रदेश अधिवेशनमा जुटिरहेको छ। प्रदेश अधिवेशनपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने उसको तयारी छ।
यता कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको कानुनी पृष्ठभूमि पनि लामो छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउवा पक्ष त्यसविरुद्ध अदालत पुगेको थियो।
वैशाख ४ गते सर्वोच्च अदालतले आयोगको निर्णय सदर गर्दै देउवा पक्षको रिट खारेज गरिदियो। उक्त फैसला त्रुटिपूर्ण रहेको जिकिरसहित देउवा पक्षले पुनरावलोकन निवेदन दिएपछि सर्वोच्चले साउन २१ गते आफ्नै फैसला पुनरावलोकन गर्न अनुमति दिएको थियो।
तर, त्यसपछि नियमित महाधिवेशन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले अन्तरकालीन आदेश दिन अस्वीकार गर्यो। अदालतबाट महाधिवेशन रोक्ने आदेश नआएपछि थापा नेतृत्वको संस्थापन पक्षले १५औँ महाधिवेशन सम्पन्न गरेको थियो। अहिले सोही महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक गरिसकेको छ।
आयोगको पछिल्लो निर्णयपछि संस्थापन पक्षले अब देउवा पक्षको समानान्तर गतिविधिलाई कानुनी रूपमा चुनौती दिने तयारी गरेको छ। महामन्त्री प्रदीप पौडेलले पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार अघि बढ्ने बताएका छन्।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ मा दफा ४ बमोजिम दर्ता भएको राजनीतिक दलको नाम, झन्डा र चुनाव चिह्न अरू कसैले प्रयोग गर्न नपाउने व्यवस्था छ। यही कानुनी प्रावधानलाई आधार बनाएर संस्थापन पक्षले देउवा पक्षको समानान्तर महाधिवेशनमाथि प्रश्न उठाएको हो।
सभापति थापाले पनि बुधबार केन्द्रीय कार्यसमिति बैठकमा एउटै पार्टीमा दुईवटा महाधिवेशन हुन नसक्ने स्पष्ट पारे। कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पक्षको महाधिवेशनमा सहभागी हुने सांसद, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिलाई उनले पार्टी सदस्यता त्याग्नसमेत आग्रह गरेका थिए।
यसले कांग्रेसभित्रको विवादलाई केवल दुई नेताबीचको प्रतिष्ठाको लडाइँमा सीमित राखेको छैन। पार्टीको आधिकारिकता, चुनाव चिह्नको प्रयोग, जनप्रतिनिधिको राजनीतिक हैसियत र उनीहरूमाथि हुन सक्ने अनुशासनात्मक कारबाहीसमेत अब विवादका प्रमुख विषय बनेका छन्।
एकातिर निर्वाचन आयोगबाट अद्यावधिक भएको कार्यसमितिको वैधानिकता बोकेर संस्थापन पक्ष अघि बढिरहेको छ भने अर्कोतिर अदालतमा पुनरावलोकनको विषय बाँकी रहेको भन्दै देउवा पक्ष समानान्तर महाधिवेशनको तयारीमा छ। यस्तो अवस्थामा मंसिर २१ देखि २३ गतेसम्म हुने भनिएको देउवा पक्षको महाधिवेशनले कांग्रेसको विवादलाई कुन मोडमा पुर्याउँछ भन्ने चासो बढेको छ।
