`

१६ डिसेम्बरमा स्वदेश फर्किने हसिनाको घोषणा, सुपुर्दगीको अडानमा बंगलादेश सरकार

रामचन्द्र जोशी १० मंसिर २०८३ १२:१५
बिशेष

काठमाडौं । भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी १६ डिसेम्बरमा स्वदेश फर्किने घोषणा यसअघि नै गरेकी छन् । तर, उनको यो घोषणा कार्यान्वयन हुनेमा भने अन्योल देखिएको छ। बंगलादेश सरकारले सुपुर्दगी प्रक्रियाबाट मात्रै उनलाई फिर्ता ल्याउने अडान राखेको छ ।

बंगलादेशले पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गरेको दिन १६ डिसेम्बरलाई विजय दिवसका रूपमा मनाउँदै आएको छ। यही ऐतिहासिक दिनलाई आफ्नो स्वदेश फिर्तीका लागि हसिनाले रोजेकी हुन् । सन् २०२४ अगस्टमा आफूलाई बंगलादेशबाट भारत ल्याउँदा सरकारी विमान प्रयोग गरिएको भन्दै अब स्वदेश फर्कने व्यवस्था पनि सरकारले नै गर्नुपर्ने उनको तर्क छ ।

तर, बंगलादेश सरकार उनको मागप्रति सहमत छैन । सरकारले हसिनालाई सुपुर्दगी प्रक्रियामार्फत मात्रै फिर्ता ल्याउन सकिने स्पष्ट पारेको छ । बंगलादेश सरकारले दोषी ठहर भएकी फरार व्यक्ति भन्दै सुपुर्दगी सन्धिअनुसार पक्राउ गरेर कडा निगरानीमा मात्रै स्वदेश ल्याउन सकिने बताउँदै आएको छ।

हसिनामाथि २०२४ मा भएको विद्यार्थी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोप छ । आन्दोलनमा घातक बल प्रयोग गर्न आदेश दिएको अभियोगमा बंगलादेशको अदालतले उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइसकेको छ । हसिनाले भने निर्वासनमा रहँदै ती आरोप अस्वीकार गर्दै आएकी छन् ।

सन् २०२४ अगस्टमा भएको जनविद्रोहपछि हसिना सत्ता त्यागेर भारतको राजधानी दिल्ली पुगेकी थिइन् । त्यसपछि उनको राहदानीलगायतका कागजात रद्द गरिएको थियो । यसै महिनाको सुरुमा उनले नयाँ राहदानी र अन्य कागजातका लागि आवेदन दिए पनि सरकारले राहदानी उपलब्ध नगराउने जनाएको छ ।

उता, हसिनाको स्वदेश फिर्तीको विषयले बंगलादेशमा राजनीतिक तनाव निरन्तर बढ्दै गइरहेको छ। प्रतिबन्धित हसिना समर्थित अवामी लिगका समर्थकहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा व्यापार, व्यवसाय र सार्वजनिक यातायात अवरुद्ध पार्ने प्रयास भएको छ भने केही स्थानमा सत्तारुढ दलका नेता तथा कार्यकर्ताका घरमा आगजनीसमेत भएको छ ।

अन्तरिम सरकारका पूर्वप्रमुख मुहम्मद युनुसको पुर्ख्यौली घरमा पनि हसिनाका समर्थकले आगो लगाएका छन्। सत्तारुढ बंगलादेश नेसनलिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि आक्रमण भएपछि दुवै पक्षबीच झडप भएका समाचारहरु सार्वजनिक भइरहेका छन्।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले अवामी लिगको आन्दोलन भारतको इशारामा भइरहेको आरोप लगाएका छन् । भारतले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

हसिना समर्थित आवामी समर्थकहरूले भने विजय दिवसका अवसरमा उनी स्वदेश फर्कने र देशलाई फेरि स्थिरतातर्फ लैजाने विश्वास व्यक्त गरेका छन् ।

बंगलादेशमा सन् २०२४ को आन्दोलनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हालेका थिए । त्यसपछि भएको निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टीले बहुमत प्राप्त गरेपछि तारिक रहमान प्रधानमन्त्री बनेका हुन् । उक्त निर्वाचनमा हसिना नेतृत्वको अवामी लिगलाई सहभागी हुन दिइएको थिएन । पार्टी अहिले प्रतिबन्धित अवस्थामा छ ।

हसिनाको स्वदेश फिर्तीको घोषणा र सरकारको कडा अडानले बंगलादेशको राजनीतिक अवस्था थप संवेदनशील बनेको छ । डिसेम्बर १६ मा उनी वास्तवमै ढाका फर्किन्छिन् वा सुपुर्दगी र कानुनी प्रक्रियाको विवादमै उनको फिर्ती रोकिन्छ, त्यसले बंगलादेशको आगामी राजनीतिक दिशा निर्धारण गर्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *