मासु पसल अनुगमनमा मन्त्री चौधरी
काठमाडौं । मन्त्री भएपछि सरकारी गाडी र सुरक्षाकर्मीको तामझाममा हिँड्ने चलनबीच कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी भने स्कुटर चढेर मासु पसलको अनुगमनमा निस्किएकी छन् ।
मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर र खाद्य सुरक्षाको अवस्था बुझ्न मन्त्री चौधरी आज बिहान बालाजु र सीतापाइलास्थित मासु पसल तथा कोल्ड स्टोरमा पुगेकी हुन् । उनी सरकारी गाडी प्रयोग नगरी आफैँ स्कुटर चलाएर गएकी थिइन् ।
सुरक्षाका लागि खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) भने पछाडि बसेका थिए ।
मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ अनुसार मासुको बिक्री र भण्डारण भइरहेको छ कि छैन भन्ने बुझ्न उनले छड्के अनुगमन गरेकी हुन् ।
अनुगमनका क्रममा मासु भण्डारण गर्ने तरिका, सरसफाइ, स्वच्छता, गुणस्तर र खाद्य सुरक्षा मापदण्डको पालनाबारे उनले जानकारी लिएकी थिइन् ।
उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउनु अधिकार भएको उल्लेख गर्दै मन्त्री चौधरीले ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिएकी छन् ।
