गाजामा बमबारी, शिक्षा मन्त्रालयका उपसचिव र पत्नीसहित पाँचको मृत्यु
एजेन्सी। युद्धविराम भएको घोषणा गरिए पनि गाजामा इजरायली आक्रमण थामिएको छैन । बिहीबार बिहान मध्य गाजाको देर अल–बलाहस्थित आवासीय भवनमा गरिएको हवाई आक्रमणमा गाजाको शिक्षा मन्त्रालयका उपसचिव खालिद अबु नादा र उनकी पत्नीको ज्यान गएको छ ।
आवासीय अपार्टमेन्टलाई नै निशाना बनाएर गरिएको आक्रमणमा उनीहरू मारिएका हुन् । चिकित्सा स्रोत र घटनास्थलका संवाददाताका अनुसार आक्रमणमा अन्य केही व्यक्ति घाइते भएका छन् । भग्नावशेषबीच उद्धार तथा घाइतेको उपचारको काम गरिएको थियो ।
अबु नादा गाजाको शिक्षा तथा उच्च शिक्षा मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत थिए । युद्धले तहसनहस पारेको शिक्षा क्षेत्र पुनः सञ्चालन गर्ने प्रयासमा उनी संलग्न थिए । विद्यालयका भग्नावशेष हटाउने, क्षतिको मूल्यांकन गर्ने र विद्यार्थीलाई पठनपाठनमा फर्काउने तयारीबारे उनले यसअघि सार्वजनिक रूपमा जानकारी दिएका थिए ।
त्यही दिन उत्तरी गाजाको अल–शाती शरणार्थी शिविरमा पनि ड्रोन आक्रमण भएको छ । सर्वसाधारण भेला भएको स्थानमा गरिएको उक्त आक्रमणमा थप तीन प्यालेस्टिनीको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको समाचारमा उल्लेख छ । दुई छुट्टाछुट्टै आक्रमणमा गरी पाँच जनाले ज्यान गुमाएका हुन् ।
इजरायली सेनाले गाजामा हमासका एक वरिष्ठ सदस्यलाई लक्षित गरी कारबाही गरेको दाबी गरेको छ । तर शिक्षा मन्त्रालयका उपसचिव र उनकी पत्नीको मृत्यु भएको घटनाबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।
सन् २०२५ अक्टोबर १० देखि युद्धविराम लागू भएको भनिए पनि गाजामा आक्रमण र मानवीय क्षति रोकिएको छैन । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता मात्रै इजरायली आक्रमणमा १ हजार ६ सय ७९ प्यालेस्टिनीको मृत्यु भएको छ भने ६ हजार १ सयभन्दा बढी घाइते भएका छन् ।
