स्थानिय चुनाव सार्ने बहाना खोजिँदै छ?
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सरकारले आवश्यक तयारी अघि नबढाएको भन्दै नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको कार्यशैलीमाथि असन्तुष्टि जनाएका छन् ।
निर्वाचनसम्बन्धी कानुनी र राजनीतिक प्रक्रिया समयमै टुंग्याउन नसकिए निर्वाचन नै अन्योलमा पर्ने उनको चेतावनी छ ।
धादिङ पुगेका पौडेलले निर्वाचनको मिति र प्रक्रियाबारे स्पष्टता नहुँदा सरकार निर्वाचनप्रति गम्भीर छ कि छैन भन्ने आशंका पैदा भएको बताए । स्थानीय तहको वर्तमान कार्यकाल सकिँदासम्म नयाँ जनप्रतिनिधि चयन भइसक्नुपर्ने उनको धारणा छ ।
सरकारले स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने र पालिकाको संख्या घटाउनेजस्ता विषय अघि सारे पनि त्यसअनुसार कानुनी तथा राजनीतिक प्रक्रिया भने अघि बढाउन नसकेको पौडेलको भनाइ छ । निर्वाचनको ढाँचा नै बदल्ने बहस चलाउने तर आवश्यक विधेयक र सहमति जुटाउने काममा ढिलाइ गर्ने सरकारी शैलीले अन्योल बढाएको उनले बताए ।
स्थानीय र अन्य तहका निर्वाचन एकैपटक गर्दा खर्च कम हुन सक्ने प्रस्तावमा कांग्रेस बाधक नबन्ने संकेत पनि उनले दिएका छन् । तर, त्यसका लागि संविधान र कानुनले अनुमति दिन्छ कि दिँदैन भन्ने विषय पहिले स्पष्ट हुनुपर्ने उनको तर्क छ ।
सरकारले स्थानीय तहसम्बन्धी आवश्यक विधेयक संसद्मा पेस गर्ने, राजनीतिक दलहरूसँग छलफल गर्ने र निर्वाचनको कार्यतालिका स्पष्ट पार्ने काम तत्काल गर्नुपर्ने पौडेलको माग छ ।
निर्वाचनलाई कुनै पनि बहानामा अनिश्चित बनाउन नहुने भन्दै उनले कांग्रेस चुनावी प्रतिस्पर्धाका लागि तयार रहेको बताएका छन् । सरकारको ढिलासुस्तीले निर्वाचनको वातावरण नै प्रभावित हुन सक्ने उनको चेतावनी छ ।
