`

तनहुँको बिजुली राष्ट्रिय ग्रिडमा जोड्न प्रसारण लाइन निर्माण तीव्र

Nepal One HD १० मंसिर २०८३ १५:३४
अर्थ समाचार

काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादन हुने १४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी तीव्र पारिएको छ । यसका लागि निर्माण भइरहेको दमौली-भरतपुर २२० केभी प्रसारण लाइनको समग्र भौतिक प्रगति ८३.५ प्रतिशत पुगेको छ । प्रसारण लाइनको मार्गमा पर्ने रुखमध्ये ५० प्रतिशत कटान भइसकेको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार तनहुँ र चितवनका वन क्षेत्रमा रुख कटान तथा प्रसारण लाइन निर्माणका काम एकसाथ अघि बढाइएको छ । टावर निर्माण र तार तान्न आवश्यक स्थान खाली गर्ने उद्देश्यले वन क्षेत्र व्यवस्थापनलाई तीव्रता दिइएको हो ।

प्रसारण लाइन निर्माणका लागि सरकारले तनहुँ र चितवनमा गरी कुल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले २०७९ मङ्सिर २० गते दिएको स्वीकृतिअनुसार चितवनमा २५.२७ हेक्टर र तनहुँमा ६७.४६ हेक्टर वन क्षेत्र प्रयोग हुनेछ । उक्त क्षेत्रमा रहेका कुल ९ हजार १२७ रुख कटान गर्न अनुमति दिइएको छ ।

प्रसारण लाइन निर्माणको प्याकेज-३ अन्तर्गत भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले करिब ३५ किलोमिटर लामो प्रसारण लाइन निर्माणको जिम्मा पाएको छ । यस खण्डमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ ।

आयोजनाका अनुसार हालसम्म ८३ वटा टावरको जग निर्माण सम्पन्न भएको छ भने ८१ वटा टावर जडान भइसकेका छन् । तर, ३४.७० किलोमिटर लामो प्रसारण लाइनमध्ये हालसम्म २.२ किलोमिटरमा मात्रै तार तानिएको छ ।

टावर निर्माणमा उल्लेख्य प्रगति भए पनि तार तान्ने कामले अपेक्षित गति लिन सकेको छैन । वन क्षेत्रको रुख कटान, स्थान व्यवस्थापन र बाँकी संरचना निर्माण समयमै सम्पन्न गर्नु आयोजना व्यवस्थापनका लागि चुनौती बनेको छ ।

प्रसारण लाइनको मार्गमा पर्ने तनहुँतर्फका सबै १७ सामुदायिक वनमा रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ । डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी कटान गर्न अनुमति दिएपछि तनहुँतर्फको स्वीकृति प्रक्रिया पूरा भएको हो ।

प्रसारण लाइनको मार्गमा देवघाट गाउँपालिकाका पाँच तथा बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाका छ-छ वटा सामुदायिक वन पर्छन् । चितवनतर्फ पनि वन क्षेत्र व्यवस्थापन तथा रुख कटानको काम भइरहेको आयोजनाले जनाएको छ ।

तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माण भइरहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न दमौली-भरतपुर प्रसारण लाइन महत्वपूर्ण हुनेछ ।

आयोजनाको निर्माण तीनवटा प्याकेजमा विभाजन गरिएको छ । प्याकेज-१ अन्तर्गत बाँध निर्माणको जिम्मा सोङ्दा कालिका जेभीले पाएको छ भने प्याकेज-२ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरण निर्माणको काम चीनको सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ । प्याकेज-३ मा दमौली-भरतपुर प्रसारण लाइन निर्माण भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *