`

बीमा प्राधिकरणमा उजुरीको थुप्रो, तीन महिनामा ९४ मात्रै फर्छ्यौट

Nepal One HD ११ मंसिर २०८३ ११:१७
प्रशासन

काठमाडौं । बीमा कम्पनीबाट दाबी भुक्तानी नपाएको भन्दै नियामक निकाय पुग्ने बीमितको समस्या समाधानमा नेपाल बीमा प्राधिकरणको गति सुस्त देखिएको छ। चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा प्राधिकरणले कुल ३९३ उजुरीमध्ये ९४ वटाको मात्रै फर्छ्यौट गरेको छ। अर्थात्, दर्ता तथा जिम्मेवारी सरेर आएका कुल उजुरीमध्ये ७६ प्रतिशतभन्दा बढी अझै निरूपण हुन बाँकी छन्।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज मसान्तसम्म २९९ वटा उजुरी विचाराधीन अवस्थामा छन्। समीक्षा अवधिमा ७४ वटा नयाँ उजुरी दर्ता भएका थिए। तीमध्ये ५४ वटा केन्द्रीय कार्यालय र २० वटा प्रदेश कार्यालयमा दर्ता भएका हुन्। गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ३१९ वटा उजुरीसमेत जोड्दा कुल उजुरीको संख्या ३९३ पुगेको थियो।

त्यस्तै, गत आर्थिक वर्षको तुलनामा नयाँ उजुरी दर्ता हुने संख्या घटे पनि फर्छ्यौटको गति झन् सुस्त बनेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २०६ वटा नयाँ उजुरी दर्ता भएका थिए। यस वर्ष भने नयाँ उजुरीको संख्या ७४ मा झरेको छ। तर उजुरी समाधानमा भने प्राधिकरणले अपेक्षित गति लिन सकेको देखिँदैन।

अघिल्लो वर्षको पहिलो तीन महिनामा प्राधिकरणले २८१ वटा उजुरी फर्छ्यौट गरेको थियो। चालू आर्थिक वर्षमा यो संख्या घटेर ९४ मा सीमित भएको छ। यसरी एक वर्षको अवधिमा उजुरी फर्छ्यौट संख्या ६६.५ प्रतिशतले घटेको छ।

फर्छ्यौट भएका ९४ उजुरीमध्ये ७५ वटा फैसला र १९ वटा आपसी सहमतिमार्फत टुंग्याइएको प्राधिकरणको तथ्यांक छ। यसले अधिकांश विवाद औपचारिक निर्णय प्रक्रियाबाट समाधान भएको देखाउँछ।

बीमा दाबी भुक्तानीमा ढिलाइ, दाबी अस्वीकार, दाबीअनुसारको रकम नपाउनु तथा कम्पनीको सेवाप्रति असन्तुष्टि बीमितले प्राधिकरणमा उजुरी गर्नुपर्ने प्रमुख कारण हुन्। यस्तो अवस्थामा नियामक निकायबाट छिटो र प्रभावकारी न्याय पाउने अपेक्षा बीमितको हुन्छ। तर सयौं उजुरी लामो समयसम्म विचाराधीन रहँदा बीमितले पाउनुपर्ने राहतसमेत प्रभावित हुने जोखिम बढेको छ।

साथै, नयाँ उजुरी घट्दैमा बीमितका समस्या समाधान भएको अर्थ लाग्दैन। बरु पुराना उजुरीको चाङ घटाउन नसक्नु र फर्छ्यौट दर कमजोर हुनु प्राधिकरणका लागि चुनौती बनेको छ। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *