`

करार कर्मचारीदेखि राहत शिक्षकसम्म सामाजिक सुरक्षा कोषमा

Nepal One HD ११ मंसिर २०८३ १६:५३
प्रशासन

काठमाडौं । सरकारले करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ । सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित प्रणालीमा समेट्ने उद्देश्यले सरकारले यस्तो पहल थालेको हो ।

नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा बिहीबार आयोजित कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षा सबै श्रमिकको साझा अधिकार र सुरक्षित भविष्यको आधार भएको बताइन् ।

मन्त्री बादीका अनुसार चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोषका लागि विनियोजन गरिएको एक अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई कोषमा आबद्ध गराउने प्रक्रिया सुरु गरिएको छ ।

यस व्यवस्थाले लामो समयदेखि सामाजिक सुरक्षाको पहुँचबाट बाहिर रहेका अस्थायी प्रकृतिका कर्मचारीलाई समेत योगदानमा आधारित सुरक्षा प्रणालीमा समेट्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आबद्ध गराउन सरकारले विशेष सह-योगदानको व्यवस्था अघि बढाएको छ । स्थानीय तहको सहयोगमा कोषमा आबद्ध हुने श्रमिकका लागि सङ्घीय सरकारले हाललाई एक प्रतिशत बराबरको योगदान रकम जम्मा गरिदिने व्यवस्था गरिएको मन्त्री बादीले जानकारी दिइन् ।

सरकारले प्रधानमन्त्री, मन्त्री तथा सङ्घीय सांसदहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ । यसबाट औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रका श्रमिकलाई एउटै सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको लक्ष्य रहेको छ ।

कोषमा आबद्ध योगदानकर्ताले प्रचलित व्यवस्था र योजनाअनुसार औषधोपचार, स्वास्थ्य सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षालगायतका सुविधा प्राप्त गर्न सक्नेछन् ।

साथै, सरकारको यो पहलले सामाजिक सुरक्षाको पहुँच विस्तार गर्नुका साथै अस्थायी रोजगारी र अनौपचारिक श्रममा निर्भर नागरिकको भविष्य सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *