होल्डिङ सेन्टरमा खाना लिएर पुगे जेनजी अभियन्ता (तस्वीरहरू)
काठमाडौं। घरबाट विस्थापित भएर भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीले शनिबार बिहान सडकलाई नै भोजनस्थल बनाउनुपरेको छ।
प्रशासनले होल्डिङ सेन्टरभित्र खाना लैजान रोक लगाएपछि उनीहरू सडकमा बसेर खाना खान बाध्य भएका हुन्।
गास र बासको टुंगो नलाग्दै होल्डिङ सेन्टरसमेत छाड्नुपर्ने दबाब झेलिरहेका परिवारलाई खाना खुवाउन जेनजी अभियन्ता माजिद अन्सारीसहितको समूह शनिबार बिहान त्यहाँ पुगेको थियो। तर, खाना लिएर पुगेको समूहले सेन्टरभित्रै खुवाउन नपाएपछि विस्थापितहरू सडकमा बसेर खान बाध्य भए।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। तर, वैकल्पिक आवासको व्यवस्था नभएसम्म आफूहरू सेन्टर नछाड्ने सुकुम्बासीको अडान छ।
घर भत्किएपछि अस्थायी आश्रयमा पुगेका नागरिकलाई त्यहाँबाट पनि हट्न भनिएपछि उनीहरू थप अन्योलमा परेका छन्।
पुनर्वासको सुनिश्चितता नहुँदै आश्रयस्थल खाली गराउने प्रशासनको निर्देशन र खाना खानसमेत सहज वातावरण नबनेको घटनाले विस्थापित परिवारको दैनिकी कति कठिन बनेको छ भन्ने देखाएको छ।











