गठबन्धन अबको ५ वर्षसम्म जनताको अपेक्षा पुरा गर्न एक भएर अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच वर्ष जनताको अपेक्षा पुरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन काँग्रेसले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसदलाई विघटित नहुनेगरि गठबन्धन दलहरू जनताको अपेक्षा पुरा गर्न एकीकृत रूपमा अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले मुलुकलाई स्थिरता राखेर नै मुलुकको विकासको आकाङ्क्षा पुरा हुने जिकिर गरे । अहिले राजनीतिमा देखिएका वितृष्णा, अर्थतन्त्रका समस्याहरू, व्यवसायीहरूको पिडा लगायत मुलुकमा देखिएका नकारात्मक सङ्केतहरूलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने उनले बताए । उनले अहिले बाहिर हल्ला चले जस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको धारणा राखे ।
महामन्त्री शर्माले अव मुलुकको आर्थिक अवस्था सुधार गर्नका लागि व्यापार घाटा नियन्त्रण तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।