प्रधानमन्त्री प्रचण्डकाे आरोप : एमाले र राप्रपा राजनीतिक अस्थिरतातिर अग्रसर भए (पूर्णपाठ)


काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले एमाले र राप्रपा राजनीतिक अस्थिरतातिर अग्रसर भएको आरोप लगाउनुभएको छ ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारबाहिर रहेका पार्टीहरूलाई समेत जोडेर राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रयत्नशील रहेपनि राष्ट्रसामु स्थिरताको प्रतिबद्धता जनाएका दुई दल अस्थिरतातिर अग्रसर भएको आरोप लगाउनुभएको हो ।
उहाँले राजनीतिक स्थिरताको प्रतिविद्धतासहित सरकार गठन गरेको भन्दै फेरि विश्वासको मत माग्नुपर्ला भनेर नसोचेको जिकिर गर्नुभयो । न्यूनतम साझा कार्यक्रम नै बनाएर सहमतिको आधार तयार गरेको र विगतका मतभेदलाई नउठाउने समझदारी गरेपनि केही पक्षबाट त्यसको पालना नभएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रका सङ्कट र सम्भावना दुवैले राष्ट्रिय सहमतिको माग गरेको बताउनुभयो ।
उहाँले वर्तमान सरकारले गरेको प्रयासका कारण अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको क्रममा रहेको जिकिर गर्नुभयो । संसारभरिका कूटनीतिक र आर्थिक नियोगहरूलाई वैदेशिक लगानीका लागि परिचालनको सुरुआत भइसकेको युवा जनसङ्ख्याबाट जनसाङ्ख्यिक लाभ लिन मुलुकभित्रै रोजगारीको व्यवस्थाका लागि हाल सञ्चालनमा रहेका रोजगारी सम्बन्धी संस्था, आयोजना तथा कार्यक्रमलाई एकीकरण र पुनर्संरचना गरी नतिजामुखी बनाउन खोजिएको उहाँले बताउनुभयो ।
शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई चाँडै टुङ्ग्याउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि उहाँले बताउनुभयो ।
उहाँले सरकार नेपालको विकासको नयाँ मोडेलको तयारीमा रहेको बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा खर्च कटौती र उपलब्ध स्रोतको अधिकतम उपयोग हुने क्षेत्रमा बजेट विनियोजनमा जोड दिएको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सबै सरकारी सेवाहरूको लागत र समय पनि घटाएर अनलाइन प्रणालीबाटै सबै सेवा चुस्त र सहज रूपमा उपलब्ध गराउन आवश्यक काम भइरहेको बताउनुभयो ।