अध्यक्ष ओलीमाथिको हमला, नेपाली जनताको सपनामाथिको गम्भिर प्रहार, सशक्त प्रतिवाद गर्छौं – राष्ट्रिय युवा संघ


काठमाडौं। राष्ट्रिय युवा संघ, नेपालले पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको घटनाप्रति घोर विरोध एवम् भत्र्सना गरेको छ । बुधबार युवा संघका अध्यक्ष क्षितिज थेबेले एक विज्ञप्ती निकाल्दै अध्यक्ष ओलीलाई लक्षित गरेर गरिएको ढुंगामुडा प्रहारलगायतका क्रियाकलापको घोर घोर विरोध एवम् भत्र्सना गरेको बताए ।
उनले अध्यक्ष ओलीमाथिको हमला गर्नुले नेपाली जनताको सपनामाथिको गम्भिर प्रहार भएको बताएका छन् । साथै उनले घटनामा संलग्न दोषीहरुलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग पनि गरेका छन् । यस्तै विज्ञप्तिमा उनले अध्यक्ष ओलीमाथिको आक्रमणको घोर निन्दा गर्दै उक्त किसिमको अराजक गतिविधिको सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।
बुधबार बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका पहिचानवादीले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास गरेका थिए । ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ पनि गरिसकेको छ ।
