टोपबहादुर रायमाझीबारे ओलीले भने : ‘तानिएको हो कि तनाइएको हो अध्ययन गर्दैछौं’


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तानिएको हो कि तनाइएको हो अध्ययन गरिरहेको बताएका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले यस्तो बताएका हुन् ।
उनले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरे । निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने ओलीको भनाई थियो ।
निर्दोषलाई फसाउन खोजे आफूहरूले नसहने उनले चेतावनीसमेत दिए ।
रायमाझीबारे उनले भने, ‘यो तानिएको हो कि तनाइएको हो अध्ययन गर्दैछौं ।’
ओलीले थपे , ‘चार वर्षअगाडि चेक काटेको छ । त्यो पनि उसैसँग रहेको कुरा छ । एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’
पक्राउ पुर्जीपछि आफूले पनि फोन गरेर कुरा गरेको बताउँदै रायमाझी काठमाडौं आउँदै गरेको उनले जनाए । उनले त्यसबारे प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएको बताएका छन् ।