`

शिक्षा क्षेत्र सुधारका लागि पहल गर्न नेविसंघद्धारा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

Nepal One HD १५ जेठ २०८० १४:५३
राजनीति

काठमाडौँ – नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले शिक्षा क्षेत्र सुधारका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । 

सोमबार सिंहदरबारमा नेविसंघका पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति , नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारको निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने लगायतका ३३ बुँदे ज्ञापन पत्र बुझाएको हो । नेविसंघले सङ्घीय शिक्षा ऐन यथाशीघ्र निर्माण गर्नुपर्ने, शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने शिक्षा क्षेत्रमा हुने राजनीति र भागवण्डाको अन्त्य गर्नुपर्ने लगायतका माग राखेका छन् । त्यस्तै सडक, हवाई यातायात र मनोरञ्जन क्षेत्रमा विद्यार्थीहरूलाई ४५ प्रतिशत सहुलियत प्रदान गर्नुपर्ने, नीति तथा कार्यक्रममा छुट भएका अन्य विषयहरूलाई समावेश गर्नुपर्ने लगायतका माग राखिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिनुभयो । 

सुशासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै नेविसंघले सरकारको भ्रष्टाचार विरोधी अभियानमा साथ रहेको बताएको छ । सो क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताउनुभयो । साथै, शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविश्कार र अनुसन्धानको केन्द्रको रूपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोसिस भइराखेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया