`

टिकापुर घटनामा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्छ : रेशमलाल चौधरी

Nepal One HD १५ जेठ २०८० १५:४५
राजनीति

काठमाडौँ – आम माफी पाएर कारागारबाट रिहा भएका रेशमलाल चौधरीले टिकापुर घटनामा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले टिकापुर घटना दुर्भाग्यपूर्ण घटना भएकाले यसलाई सामान्य घटनाको रूपमा लिन नहुने भन्दै उच्चस्तरीय छानबिन आयोग गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताउनुभएको हो । यसका लागि धरातलमा गएर नागरिकसँग बुझेर घटनाका बारेमा विस्तृत जानकारी लिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले टिकापुर घटनामा कथा एउटा, पटकथा अर्को र फिल्म फरक देखाइएको टिप्पणी गर्नुभयो । त्यही फिल्मको रणभूल्लमा जनता परे पनि वास्तविकता भने फरक रहेको उहाँले बताउनुभयो । चौधरीले टिकापुर घटनाको वास्तविकतालाई छिटै बाहिर ल्याउनका लागि आफूले पनि केही पहलकदमी लिने जिकिर गर्नुभयो । उहाँले आम माफी पाएर आफू रिहा भए पनि आफूहरू हार्‍यो कि जित्यौ भन्ने कुराको अनुभूत जनतामाझ गराउनुपर्ने धारणा राख्नुभयो । चौधरीले टिकापुर घटनालाई कस्तो रूप दिने भन्ने कुरा राज्यले नै निक्र्यौल गर्नुपर्ने जिकिर गर्नुभयो ।

उहाँले टिकापुर घटनालाई राजवन्दीहरुलाई आफूजस्तै छिटो रिहा गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिनुभयो । चौधरीलाई उहाँका समर्थकले नेपालगन्जमा भव्य स्वागत गरेका थिए ।


प्रतिक्रिया