`

शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुँदै

Nepal One HD २१ जेठ २०८० ८:५८
प्रमुख खबर

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपी माथिको थुनछेक बहस आजबाट सुरु हुदैँछ ।

हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । सो थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृह मन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपाने लगायतले बयान लिनुभएको थियो। जुन बयान शुक्रवार सकिएपछि आजबाट थुनछेक बहस सुरु हुन लागेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८जनासहितलाई फरार रहेका ३० जनालाई सङ्गठित अपराध, किर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो। 


प्रतिक्रिया