कर्णाली समृद्धिको अभियान थाल्दैछौँ : मुख्यमन्त्री शर्मा


कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिको अभियान थालिएको बताउनुभएको छ ।
नागरिक लगानी कोष शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेतको उद्घाटन कार्यक्रममा आज उहाँले साधन स्रोतले सम्पन्न कर्णालीको विकास र उन्नतिका लागि समृद्धिको अभियान थाल्ने नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो । “कर्णालीमा गरिबी छ,” उहाँले भन्नुभयो, “यद्यपि साधन स्रोतको उच्च प्रयोग हुन सके सिङ्गो राष्ट्रलाई पाल्ने क्षमता राख्छ ।”
‘शिक्षा, स्वास्थ्य र रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने नारालाई मूल आधार बनाएको प्रदेश सरकारले कृषि र वन पैदावरमा आधारित उद्योग स्थापना गर्ने बताउँदै उहाँले प्रतिवर्ष यहाँका १० हजार बेरोजगार युवालाई रोजगार दिएर स्वरोजगार बनाउने नीति लिइएको बताउनुभयो । यसले प्रदेश सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच पूरा गर्ने उहाँले दाबी गर्नुभयो ।
कर्णालीमा वित्तीय संस्थाहरु नागरिक केन्द्रित हुन नसकेको उहाँको भनाइ छ । नागरिकको सेवामा केन्द्रिन हुन नागरिक लगानी कोषलाई आग्रह गर्दै मुख्यमन्त्री शर्माले कर्णाली सरकार कोषको साथमा रहने विश्वास दिलाउनुभयो ।
नागरिक लगानी कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले नागरिकको सुविधालाई केन्द्रमा राखेर सेवा विस्तार गरिएको बताउनुभयो । कोषको शाखा कार्यालय सुर्खेत स्थापनाले नागरिकको पहुँच वृद्धि हुने र यसले कर्णालीको आर्थिक विकासमा सहयोग पुग्ने अध्यक्ष थापाको भनाइ थियो ।