`

कांग्रेस आदिवासी जनजातिको हितमा क्रियाशील छः सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवद्र्धन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घद्वारा बुधबार आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीले आदिवासी जनजातिहरूको सशक्तीकरणका लागि ध्यान दिँदै आएको र कांग्रेस देशकै समावेशी पार्टी भएको बताए ।

“कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ छ, संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउन हामी लाग्नेछौँ, आदिवासी जनजातिलगायतका समुदायका चाड पर्वहरूलाई राष्ट्रिय पहिचान दिने कार्यहरूको सुरूवात कांग्रेसको नेतृत्वको सरकारले गरेको हो भन्ने तथ्य यहाँ राख्न चाहन्छु । आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवद्र्धन गर्न कांग्रेस प्रतिबद्ध छ”, सभापति देउवाले भने ।

सभापति देउवाले संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारू आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई स्रोत र साधन सम्पन्न गराउन कांग्रेस सचेत रहेको बताए । उनले कांग्रेस स्थापनाकालदेखि नै आदिवासी जनजातिको हितमा क्रियाशील रहेको बताए ।

उनले कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ रहेको धारणा राखे ।

उनले संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउन आफूहरूले चाहेको बताए । सभापति देउवाले आदिवासी जनजातिलगायत समुदायका चाडपर्वहरूलाई राष्ट्रिय पहिचान दिने कार्यहरूको सुरूवात कांग्रेसको नेतृत्वको सरकारले गरेको बताए ।

प्रहरीको निर्देशनः भिड नियन्त्रणमा बल प्रयोग गर्दा मानव अधिकारको सम्मान गर्नु

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले काठमाडौ उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्रपङ्क्तिमा खटिने प्रहरी कर्मचारीहरूलाई बल प्रयोग गर्दा मानव अधिकारको ख्याल गर्न निर्देशन दिएका छन् ।

बुधबार काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका कार्यालय प्रमुखहरु र अन्य प्रहरी कर्मचारीहरूलाई तामाङले सामुहिक भावनाका साथ ऐक्यवद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक तवरले कार्य गर्न निर्देशन दिएका हुन् ।

उनले बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन गर्नु पर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न अधिकृतहरुलाई निर्देशन दिए । कार्यक्रममा नेपालका प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बिहीबार काठमाडौंमा राजावादीहरुले अवज्ञा आन्दोलन गर्दैछन् । चैत १५ मा काठमाडौंको तीनकुनेमा प्रहरीले अमानवीय तवरले बल प्रयोग गरेको भन्दै सर्वत्र आलोचना भएपछि प्रहरीले भोलि हुने कार्यक्रमलाई लक्षित गरी यस्तो निर्देशन दिएको हो ।

पुटिन आगोसँग खेलिरहेका ट्रम्पको आरोप

वासिङ्टन । वासिङ्टनले युक्रेन युद्धलाई लिएर मस्कोविरुद्ध नयाँ प्रतिबन्धबारे विचार गरिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी भ्लादिमिर पुटिनलाई ‘आगोसँग खेलिरहनुभएको’ चेतावनी दिएका छन् ।

ट्रम्पको यो पछिल्लो आक्रमणले युद्धविराम वार्ताहरू ठप्प भएकामा उनको निराशा देखाएको छ र यो टिप्पणी युक्रेनमा ठूलो ड्रोन आक्रमणपछि उनले पुटिनलाई ‘पूर्ण रूपमा पागल’ भनेको दुई दिनपछि आएको हो ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्ने मस्कोले आफ्ना नागरिकहरूमाथि बढ्दो युक्रेनी आक्रमणको जवाफ दिँदै किएभले शान्ति प्रयासलाई ‘अवरोध’ गर्ने प्रयास गरेको आरोप लगाएको छ ।

हालैका हप्ताहरूमा युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू तीव्र भएका छन् तर पुटिनमाथि शान्ति वार्ता अवरुद्ध गरेको आरोप लगाइएको छ ।

‘भ्लादिमिर पुटिनलाई के थाहा छैन भने यदि यो मेरो लागि नभएको भए, रूसमा धेरै नराम्रा कुराहरू भइसकेका हुन्थे, र मेरो मतलब साँच्चै नराम्रो हो । उहाँ आगोसँग खेलिरहनुभएको छ !’, ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेखेका छन् ।

ट्रम्पले ती ‘साँच्चै नराम्रा’ कुराहरू के थिए भनेर स्पष्ट पारेनन् । तर वाल स्ट्रिट जर्नल र सिएनएन दुवैले ट्रम्पले अब यो हप्ता नै नयाँ प्रतिबन्धहरू बारे विचार गरिरहेको बताएका छन् ।

ट्रम्पले पत्रकारहरूलाई ‘पूर्ण रूपमा’ यस्तो कदम तौलिरहेको बताए । ह्वाइट हाउसले ट्रम्पले ‘सबै विकल्प’ खुला राखेको बताएको छ ।

‘यो युद्ध जो बाइडेनको गल्ती हो र राष्ट्रपति ट्रम्प वार्ताको शान्ति सम्झौता हेर्न चाहेकामा स्पष्ट हुनुहुन्छ । राष्ट्रपति ट्रम्पले बुद्धिमानीपूर्वक सबै विकल्पहरू टेबलमा राख्नुभएको छ’, प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भने ।

बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र गृहमन्त्री छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक छलफलमा जुटेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले मङ्गलबारको संसद बैठक अवरुद्ध गरेपछि छलफलका लागि सभापति देउवा गृहमन्त्री लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

सरकारले बिहीबार संसदमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा विपक्षीको अवरोध हटाउन सरकारमाथि चर्को दबाब छ । प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

मङ्गलबारको संसद बैठक अवरोधपछि समस्या समाधानका लागि सभामुख देवराज घिमिरेले दलका प्रतिनिधिहरूसँग छलफल गरेपनि विपक्षीहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान यथावत राखेपछि आजको बैठक पनि सुचारु हुने सम्भावना कम रहेको छ ।

एकीकृत समाजवादीको कार्यकर्ता भेला बिहीबारदेखि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बिहीबार यहाँ कार्यकर्ता भेला गर्ने भएको छ ।
केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार भेलामा पार्टीका विभिन्न कमिटीका गतिविधिबारे समीक्षा हुनका साथै कमिटी प्रतिनिधिलाई प्रशिक्षण दिइने छ ।

मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानलाई सशक्त बनाउन आवश्यक भएकाले सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने राजनीतिक पार्टीसँगको सहकार्यबारे पनि भेलामा विचारविमर्श हुने उपप्रमुख अर्यालले जानकारी दिए ।

यसैबीच, १८औँ गणतन्त्र दिवसका अवसरमा पार्टीले देशका विभिन्न भागमा सभा, भेला, गोष्ठी, वृक्षरोपण, रक्तदान, दिपावलीलगायत गतिविधि गर्ने जनाइएको छ ।

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । मङ्गलबारको तुलनामा बुधबार सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । बुधबार सुन तोलामा एक हजार ६०० ले घटेको छ । सोही परिमाणको चाँदी १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु दुई हजार पाँच निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बुटवलमा एक युवकले गरे एकै परिवारका तीन जनाको हत्या

बुटवल । बुुटवलको कालिकानगरको होराइजन चोकस्थित मिलिजुली पथमा एक युवकले एक महिला र दुई बालिकाको हत्या गरेका छन् ।

बुटवलको कालिकानगरमा घर भएका ३५ वर्षीय सुजन कोइरालाले बुधबार बिहान पूर्वपत्नी दीपा बस्याल र उनका दुई छोरीहरुको बिभत्स हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

मृतक बालिकाहरु ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमान ढकाल हुन् । मृतक दीपाले सुजनसँग सम्वन्ध बिच्छेद गरेर पाल्पाका शंकर ढकालसँग बिवाह गरेकी थिइन् ।

मृतक दुई बालिका शंकर ढकाल र दीपा बस्यालका हुन् । प्रहरीले हत्यामा संलग्न सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । कोइरालाले यसअघि आफ्नै दाजुको हत्या गरेपछि कारागार चलान भएका र संविधान दिवसका अवसरमा माफी पाएर रिहा भएका थिए ।

सम्वन्ध बिच्छेद भई अर्कैसँग बिवाह गरी गएकी पूर्व पत्नीलाई घरमा बोलाएका र बिहान पख चक्कु र घनले हानेर मारेको देखिएको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिए ।

अमेरिकाद्वारा विदेशी विद्यार्थीहरुका लागि भिसा प्रक्रिया अस्थायीरुपमा बन्द

वासिङ्टन, डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थीहरूका लागि भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ ।

विदेशमन्त्री मार्को रुबियोका अनुसार अब नयाँ विद्यार्थी तथा एक्सचेन्ज भिसा अपोइन्टमेन्ट रोकिएको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार मंगलबार सार्वजनिक भएको उक्त ज्ञापनमा दूतावास तथा वाणिज्य दूतावासहरूलाई ‘नयाँ विद्यार्थी भिसा अपोइन्टमेन्टहरू नदिने’ निर्देशन दिइएको छ ।

यसका साथै, विदेश मन्त्रालयले सबै प्रकारका आवेदनका लागि सामाजिक सञ्जाल निगरानी थप कडा बनाउने तयारी गरिरहेको उल्लेख छ । यो निर्णयले अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरूलाई थप समस्या थपिएको छ।

हालै ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्ने अनुमति फिर्ता लिएको थियो, जसको कारण विश्वविद्यालयको फिलिस्तीन समर्थन प्रदर्शनप्रति देखिएको धारणा र विविधता कार्यक्रमसँग सम्बन्धित रहेको बताइएको छ।

यद्यपि, सो निर्णयलाई हाल एक संघीय न्यायाधीशले अस्थायी रूपमा रोक लगाएका छन् । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टेमी ब्रुसले सो ज्ञापनबारे प्रत्यक्ष टिप्पणी नगरे पनि भनिन्, ‘देशमा को प्रवेश गर्छ भन्ने विषयमा हामी अत्यन्त गम्भीर छौँ।’

रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड(फोटोफिचर)

रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड । नेपाल भाषामा शिलु तीर्थको नाम प्रख्यात रहेको यो कुण्ड समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको छ । निर्मल स्वच्छ पानीले भरिएको यो कुण्ड १३ दशमलब आठ हेक्टर क्षेत्रमा फैलिएको जनाइएको छ ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

राष्ट्रिय कुराँस प्रतियोगिताको चौथो संस्करण जेठ १६ मा हुने

काठमाडौं । नेपाल कुराँस सङ्घको आयोजनामा राष्ट्रिय कुराँस प्रतियोगिताको चौथो संस्करण यसै साता हुने भएको छ ।

यही जेठ १६ गते हुने एकदिने प्रतियोगिताको खेल नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष जीवन राईले जानकारी दिए ।

प्रतियोगितामा सिनियर र जुनियर गरी विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जुनियर महिला/पुरुषमा २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी र ४५ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी सिनियर महिलातर्फ ४८ केजी, ५२ केजी, ६३ केजी र ६३ केजी माथि तौल समूहमा भिडन्त हुनेछ भने सिनियर पुरुषतर्फ ६० केजी, ६६ केजी ७३ केजी, ८१ केजी तथा ८१ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

करिब २२० जना खेलाडीले भाग लिने उक्त प्रतियोगितामा विभिन्न सात प्रदेश र त्रिभुवन आर्मी क्लब, ससस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब गरी तीन विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

हार्वर्डसँग बाँकी सङ्घीय सम्बन्ध तोड्ने ट्रम्प प्रशासनको प्रयास जारी

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयलाई अभूतपूर्व निगरानीको अधीनमा राख्न बाध्य पार्ने पछिल्लो प्रयासस्वरुप अमेरिकी सरकारले हार्वर्डसँग बाँकी रहेका सबै वित्तीय सम्झौता रद्द गर्न चाहेको एक वरिष्ठ अधिकारीले मङ्गलबार बताएका छन् ।

नाम नबताउने शर्तमा ती अधिकारीले भने, “प्रशासनले आज सङ्घीय निकायहरूलाई हार्वर्डसँग कुनै पनि सम्झौताको पहिचान गर्न र ती रद्द गर्न वा अन्यत्र पुनः र्निर्देशित गर्न सकिन्छ कि भन्ने आशयसहितको पत्र पठाउनेछ।”

अमेरिकी सञ्चार माध्यमले १० करोड अमेरिकी डलर बराबरको सम्झौताको अन्त्यसँगै सरकार र देशको सबैभन्दा पुरानो विश्वविद्यालय र विश्वव्यापी अनुसन्धानको केन्द्र रहेको संस्थाबीच व्यवसायिक सम्बन्ध विच्छेद हुने अनुमान गरिएको जनाएका छन् ।

अमेरिकी विश्वविद्यालय प्रशासनलाई ह्वाइट हाउसप्रति ‘जवाफदेही’ बनाउने व्यापक प्रयासका बीच राष्ट्रपति ट्रम्पले विशेष गरी हार्वर्ड विश्वविद्यालयविरूद्ध कडा सजायको माग गरेका छन् ।

उनको प्रशासनले क्याम्ब्रिज, म्यासाचुसेट्स विश्वविद्यालयले यहूदी विरोधी र व्यापक उदारवादी पूर्वाग्रहलाई अनुमति दिएको आरोप लगाएको छ।

हार्वर्डले क्याम्पसमा राजनीतिक झुकावको लेखापरीक्षण र ‘अमेरिकी मूल्यहरूको शत्रुतापूर्ण’ ठानिएका विद्यार्थीहरूमाथि प्रतिबन्धसहित असाधारण उपायहरूको श्रृङ्खलालाई अनुमति दिने आदेशलाई अस्वीकार गरेको छ।

पछिल्लो केही हप्तामा, कुलीन शैक्षिक किल्ला (हावर्ड) को सङ्घीय अनुदानमा अरबौँ डलर रोकिएको छ तर विदेशी विद्यार्थीहरूलाई सहयोग गर्ने क्षमता समाप्त गर्न सरकारले गरेको प्रयासलाई गत शुक्रबार आएको अदालतको आदेशले रोकेको छ ।

विश्वविद्यालयले राष्ट्रपति ट्रम्पको आक्रमण असंवैधानिक भएको र यसले आफ्नो काम गर्ने क्षमतालाई कमजोर बनाउने तर्क गर्दै प्रतिवाद गरिरहेको छ।

सोमबार राष्ट्रपति ट्रम्पले विश्वविद्यालयसँगको बढ्दो द्वन्द्वमा आफू विजयी हुने बताएका थिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हार्वर्ड विश्वविद्यालयका विदेशी विद्यार्थीमा कट्टरपन्थी र समस्या खडा गर्नेहरू पनि सामेल छन्।”

गत हप्ता पहिले अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले हार्वर्डको विदेशी नागरिकलाई भर्ना गर्ने क्षमता खारेज गरेपछि हजारौं विद्यार्थीको भविष्य र उनीहरूले प्राप्त गर्ने आकर्षक आय स्रोतमाथि शङ्का उब्जिएको थियो।

गत महिना उनले भिसा होल्डरको ‘गैरकानुनी र हिंसात्मक गतिविधि’को रेकर्ड नबुझाएसम्म अन्तर्राष्ट्रिय विद्यार्थीलाई विश्वविद्यालयमा प्रवेशमा रोक लगाउने चेतावनी दिएका थिए ।

विश्वविद्यालयले सरकारको ‘स्वेच्छाचारी, कपटपूर्ण, गैरकानुनी र असंवैधानिक कदम रोक्न’ मुद्दा हालेपछि एक न्यायाधीशले तुरुन्तै उक्त कदमलाई निलम्बन गरेका थिए।

हैजाको प्रकोपबाट सुडानमा एक सातामा १७२ जनाको मृत्यु

सुडान । सुडानमा हैजाका घटनामा वृद्धि भएको र एक हप्तामा दुई हजार ७०० संक्रमित र १७२ जनाको मृत्यु भएको सुडानको स्वास्थ्य मन्त्रालयल जनाएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खार्तुम राज्यमा ९० प्रतिशत संक्रमण भेटिएका छन्।’ देशको दक्षिण, मध्य र उत्तरमा पनि संक्रमण देखिएको छ।

गरिबी र सामाजिक रूपमा पछि परेको अफ्रिकी मुलुक सुडानमा हैजाको प्रकोप यसअघि पनि देखिने गरेको भए पनि युद्ध सुरु भएदेखि प्रकोप अझ खराब भएको छ। यहाँ पहिले नै कमजोर रहेको पानी, सरसफाइ र स्वास्थ्य पूर्वाधारहरूलाई युद्धले ध्वस्त बनाएको छ।

गत मंगलबार मन्त्रालयले पछिल्लो तीन हप्तामा दुई हजार ३०० भन्दा बढी हैजाका बिरामीमध्ये ५१ जनाको मृत्यु भएको जनाएको थियो

आरएसएफले यसै महिना खार्तूममा ड्रोन आक्रमण गरेको थियो। आक्रमणबाट तीन वटा विद्युत गृह पनि प्रभावित भएका थिए। तर गत हप्ता आरएसएफलाई राजधानीबाट पूर्ण रूपमा बाहिर निकालिएको थियो।

डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) का अनुसार द्वन्द्वका कारण बिजुली र स्थानीय पानीको सञ्जाल सेवाबाट बञ्चित भएपछि त्यहाँका बासिन्दा असुरक्षित पानीका स्रोततर्फ जान बाध्य भएका छन्।

खार्तूमस्थित एमएसएफका मेडिकल कोअर्डिनेटर स्लेमेन अम्मरले भने, ‘पानी प्रशोधन केन्द्रहरूमा अब बिजुली छैन र नाइल नदीबाट स्वच्छ पानी उपलब्ध हुन सक्दैन।’

विश्व स्वास्थ्य संगठनका अनुसार सुडानको पहिलेदेखि नै कमजोर स्वास्थ्य सेवा प्रणाली युद्धका कारण ‘थप अस्तव्यस्त’ तर्फ धकेलिएको छ।

चिकित्सक संघका अनुसार देशकास्वास्थ्य संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेका कारण यहाँका ९० प्रतिशतभन्दा बढी अस्पतालहरु कुनै न कुनै बेला युद्धका कारण बन्द भएका छन् र स्वास्थ्य संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेको छ।

अहिले तेस्रो वर्षमा प्रवेश गरेको यो युद्धले दशौँ हजारको ज्यान लिइसकेको छ। युद्धले एक करोड ३० लाख विस्थापित गरेको र विश्वको सबैभन्दा ठूलो विस्थापन र भोकमरीको संकट सिर्जना गरेको छ।

त्रिवि क्रिकेट रङ्गशालाको प्यारापिट ढलान सुरु

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको प्यारापिट ढलान मंगलबारदेखि सुरु भएको छ । यही जेठ महिनाभित्र सम्पन्न गर्नेगरी सबै कार्य अगाडि बढाइएका सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले बताए।

रंगशालालाई अन्तरराष्ट्रियस्तरको बनाउने कार्यक्रमअन्तर्गत पहिलो चरणमा पश्चिमी र पूर्वी भागतर्फ गरी कूल १० हजार जना दर्शक अट्ने गरी प्यारापिट बनाउन लागिएको छ । पहिलो चरणमा निर्माण गर्नुपर्ने प्यारापिटलाई १२ भागमा विभाजन गरिएको र त्यसमध्ये आज पहिलो भागको ढलान सुरु भएको कण्ठले जानकारी दिए।

“प्रयोगशालामा गुणस्तर नियन्त्रण गरिएका कङ्क्रिटमाथि उच्चस्तरको ‘फ्लोर हार्डनर’ प्रयोग गरिएको छ । रंगशालाको कङ्क्रिट सतह अत्यधिक घोटिने भएकाले यसको प्रयोग गरिएको हो’, उनले भने,“ रङ्गशालाको भूबनोटअनुसार पश्चिमी र दक्षिणी भागको जमिन मैदानभन्दा अग्लो भएका कारण जमिनकै सतहमाथि पिसिसी गरी ढलान गरिएको छ । पूर्वी भागको जमिन भने मैदान सरहकै भएका कारण पिलर उठाएर आवश्यक स्लोप कायम गरिएको छ । सबै कार्य जेठ महिनाको अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य छ ।”

प्यारापिटबाहेक रातिको समयमा खेल सञ्चालन गर्न आठ वटा फ्लडलाइटसमेत जडान हुँदैछन् । यी सबै कार्यको निरीक्षण गर्न त्यहाँ पुगेका सहरी विकास सचिव गोपालप्रसाद सिग्देलले गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए ।

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा सुमन पुरीलाई हराउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् ।

थेबेले ७९६ मत ल्याउँदा पुरीले ६०८ मत ल्याएका छन् । १ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो ।

चिनियाँ रासायनिक कारखानामा भयानक विष्फोट

बेइजिङ । पूर्वी चीनको एक रासायनिक कारखानामा मङ्गलबार भएको ठूलो विस्फोटका कारण भवनबाट ठूलो मात्रामा धुवाँको मुस्लो उठेको चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।

चीनको समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीका अनुसार राजधानी बेइजिङबाट करिब ४५० किलोमिटर दक्षिणपूर्वमा रहेको शान्दोङ प्रान्तको गाओमी शहरमा अवस्थित युदाओ केमिकल प्लान्टमा स्थानीय समयअनुसार बिहान ११ः५७ बजे विस्फोट भएको हो ।

बेइजिङबाट प्रकाशन हुने पत्रिका सिनजिङबाओको अनलाइन सेवामा प्रसारण गरिएको भिडिओमा आकाशमा धूलो र धुवाँको बाक्लोे मुस्लो उडिरहेको, औद्योगिक क्षेत्रमा आगो लागेको र पसलका झ्यालहरू विस्फोटबाट उडेको देखिन्छ।

भिडियो क्लिपमा सडकको छेउछाउमा भग्नावशेष छरिएको, झ्यालहरू फुटेको कार र पृष्ठभूमिमा रहेका घर तथा भवनहरूलाई प्रभावित पार्ने खालको सुन्तला रङ्गको ठूलो आगोको लप्को पनि देखाइएको छ ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आपतकालीन सेवाका लागि ५५ वटा सवारी साधन र २३२ जना पहिलो उद्धारकर्तालाई घटनास्थलमा पठाएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

चिनियाँ अनलाइन मिडिया द पेपरका अनुसार ४७ हेक्टर (११६ एकड) को जमिनमा फैलिएको युडाओ केमिकलले ‘कम विषाक्त’ कीटनाशकहरू उत्पादन गर्दछ र यहाँ करिब ३०० मानिसहरूले काम गर्छन् ।

यसअघि सन् २०१५ मा बन्दरगाह शहरका रूपमा चिनिने तियानजिनमा ज्वलनशील रसायन भएको गोदाममा भएको विस्फोटमा १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने ७०० जना घाइते भएका थिए।

नाइजेरियाको मध्य क्षेत्रमा आक्रमण, ३० भन्दा बढीको मृत्यु

नाइजेरिया । नाइजेरियाको बेन्यु राज्यको ग्वेर वेस्ट क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म तीनवटा गाउँमा भएका श्रृङ्खलाबद्ध आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ ।

आइतबार अओन्डाना गाउँमा मात्रै कम्तीमा २० जनाको ज्यान गएको र अन्य गाउँहरूमा पनि १० जना भन्दा बढीको मृत्यु भएको जनाइएको छ । स्थानीय बासिन्दा रुथी डान सामका अनुसार केही पीडित दुई वर्ष मुनिका बालबालिका समेत थिए, जसले घटनालाई अझ दर्दनाक बनाएको छ ।

घटनामा मारिएका केहीलाई घटनास्थलकै नजिकै गाडिएको र छिमेकी गाउँहरूमा समेत आक्रमण भएको जनाइएको छ । घटनाको अनुसन्धान जारी रहेको छ ।

प्रधानमन्त्रीले मुठभेडको भाषा बोल्दासमेत कांग्रेस नबोलेकोमा छक्क छुः शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल हुनुनर्पेमा आफ्नो विषयमा छलफल हुनु हाँस्यास्पद भएको बताएका छन् ।

मंगलबार विराटनगरमा नेपाल नाई संघको राष्ट्रिय परिषद उद्घाटन गर्दै कोइरालाले पदाधिकारी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको विषय उठ्ला भन्ने लागेको बताए ।

उनले भने, ‘यो दुर्भाग्य हो । मुलुकमा सिरियस कुरा भइरहेको छ । प्रधानमन्त्रीजीले भर्खरै जेठ १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला भन्ने लागेको थियो । उहाँहरुले यसबारेमा कुरा गर्नुभएन । तर कुरा त मेरै बारेमा मात्रै भएछ। के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?’

कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर–राजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यस बारेमा आधिकारिक रुपमा कहिंकतै नबोलेकोमा आफूलाई छक्क लागेको बताए ।

‘जन्ते बाख्रो’ खुवाउने मौलिक चलचित्रको टिजर सार्वजनिक

काठमाडौँ । देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यममध्येको एक चलचित्रमार्फत हाम्रो सामाजिक मूल्यमान्यता, रीतिरिवाज, आदर्श र जीवनशैलीलाई उजागर गर्ने क्रम देखिएको छ ।

यसै सन्दर्भमा ‘पार्टी प्यालेस’ केन्द्रित विवाह भोजले बजार लिइरहको विद्यमान समयमा ग्रामीण जनजीवनसँग जोडिएको ‘जन्ते बाख्रो’ खुवाउने परम्परामा आधारित चलिचित्र निर्माण भएको छ ।

निर्देशक सिमोश सुनुवारले नेपालको ग्रामीण समुदायमा प्रचलित कथावस्तुमा आधारित भई ‘जन्ते बाख्रो’ चलचित्र तयार गरेका हुन् । चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै विवाहमा बेहुलाका तर्फबाट जन्ती गएका पाहुनालाई बेहुली पक्षले बारी वा खुला ठाउँमा खुवाउने भोज संस्कारलाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक सुनुवारले स्पष्ट गरे ।

‘भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने यो मौलिक परम्परा अहिले गाउँघरबाट हराउँदै गएको छ । लोप हुन लागेको यही सुन्दर र जीवन्त परम्परालाई ‘जन्ते बाख्रो’मार्फत दृश्यमा दस्तावेजीकरण गर्ने उद्देश्यसहित चलचित्र तयार पारेको छु । ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर चलचित्रको विषयवस्तु अगाडि बढेको छ । यसमा अन्य चलचित्र झैँ दर्शकले प्रशस्तै मनोरञ्जन प्राप्त गर्नुहुने विश्वास लिएको छु ।’

चलचित्रमा नेपाली ग्रामीण जीवनशैली र परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले हाम्रा नयाँ पुस्ताका लागि मनोरञ्जनसहति जानकारी प्राप्त हुने उनले बताए ।

चलचित्रमा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गरेका छन् ।

लेखक प्रदीप भारद्वाजले कथा, पटकथा र संवाद लेख्नुभएको उक्त चलचित्रलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । लेखक भारद्वाजले नेपाली चलचित्रमा मनोरञ्जनसँगै संस्कृति र परम्परालाई जोड्ने माध्यम चलचित्र ‘जन्ते बाख्रो’ बनेको बताए ।

‘हामीले चलचित्रमार्फत आफ्नो कला, संस्कृति र परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउनु पर्छ । सोही कारण मैले ती तथ्यलाई समेटेर चलचित्रका लागि कथावस्तु तयार गर्ने प्रयास गरेको छु । यो हामी चलचित्रकर्मीको कर्तव्य पनि हो’, लेखक भारद्वाजले भने ।

उनले श्रव्यदृश्य (ट्रेलर) अगाडि सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाएको जानकारी दिए । काठमाडौँ उपत्यकाको काठ क्षेत्रसहित आसपासका गाउँवस्तीमा छायाङ्कन गरिएको चलचित्र आगामी जेठ २३ गतेदेखि प्रदर्शन हुने बताइएको छ ।

जेठ १५ को आन्दोलन शान्तिपूर्ण र संयमित हुन्छः अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका तीन राजनीतिक दलले यही जेठ १५ गते हुने आन्दोलन शान्तिपूर्ण र संयमित हुने जनाएको छ ।

राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति अभियानद्वारा मंगलबार आयोजित पत्रकार भेटघाटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले आन्दोलन भद्र अवज्ञा प्रकृतिको हुने भएकाले आग्रह प्रर्वाग्रह नराखी स्वतन्त्र अनुगमनका लागि सञ्चारजगत्सँग आग्रह गरे ।

उनले भने, ‘तीन पार्टीको घोषित उपत्यकाव्यापी आन्दोलन संविधान विरोधी नभई संविधानले दिएको सुविधाभित्रै रहेर शान्तिपूर्ण ढङ्गबाट हुनेछ ।’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले अवलम्बन गरेका ‘एजेन्डा’ स्थापित गर्ने क्रममा हुन गइरहेको आन्दोलन शान्तिपूर्ण हुने बताए ।

उनले भने, ‘शान्तिपूर्ण आन्दोलनमा जनताको सहभागिताले राप्रपाको एजेन्डा स्थापित गर्न अन्य राजनीतिक दल र सरकारसँग वार्ताको वातावरण बनाउने छ ।’

राष्ट्रिय शक्ति अभियानका संयोजक केशरबहादुर विष्टले देशमा राजनीतिक स्थिरता र शान्ति सुव्यवस्थालाई सहज तुल्याउन आफूहरुले लामो समयदेखि उठाउँदै आएको मागलाई जनदबाब सिर्जना गरी सम्बोधन गर्न आह्वान गरिएको आन्दोलनलाई सहयोग पुर्याउन सबैसँग अनुरोध गरे ।

आन्दोनल परिचालन समितिका संयोजक नवराज सुवेदीले यही जेठ १५ गतेको आन्दोलन शान्तिपूर्ण, अंहिसात्मक र सत्याग्रहमा आधारित हुने विश्वास दिलाए । उनले आन्दोलनलाई शान्तिपूर्ण तुल्याउन करिब दुई हजारको सङ्ख्यामा स्वयंसेवक परिचालन गरिने जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले एकैपटक १० जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले निजामती सेवाका राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० सचिवहरुको सरुवा गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले प्रशासन सेवा समूहतर्फ सहसचिव भुपाल बराल र इन्जिनियरिङ सेवा तर्फ दिनानाथ मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गर्न स्वीकृति प्रदान गरेको छ भने सार्वजनिक सेवा प्रशारण नियमावली २०८२ स्वीकृत गर्नुका साथै बिज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

त्यस्तै सरकारले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा. कृष्णप्रसाद तिम्सिनालाई नियुक्त गरेको छ । सरकारले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश स्वीकृति दिने, सार्वजनिक सेवा प्रशारण नियमावली, २०८२ स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ ।

दिगो र समावेशी खानेपानी आयोजनालाई अझ सशक्त रूपमा अगाडि बढाउँछौँ: मन्त्री यादव

हेटौँडा ।  खानेपानीमन्त्री प्रदीप यादवले देशमा दिगो र समावेशी खानेपानीका आयोजनाहरूलाई आगामी दिनहरूमा पनि अझ सशक्त रूपमा अगाडि बढाईने बताए ।

आज मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१६ को बृहत शक्ति खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले नेपाली नागरिकलाई सुरक्षित खानेपानी प्रदान गर्नका लागि सरकारले दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई अझ सशक्त रुपमा अगाडि बढाउने बताए। उनले भने, “सरकार नेपाली नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि हरदम प्रयासरत रहेको छ । दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई सशक्त रूपमा अगाडि बढाउने छौँ ।”

यसैगरी मन्त्री यादवले स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा खानेपानी प्राप्त गर्नु प्रत्येक नागरिकको मौलिक अधिकार हो भन्ने मान्यताअनुसार सरकारले खानेपानी क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्दै आएको जिकिर गरे ।“सबैका लागि स्वच्छ पानी भन्ने दृष्टिकोणका साथ सरकार दिगो विकास लक्ष्य अनुरूप प्रत्येक नागरिकका घरसम्म सुरक्षित, गुणस्तरीय र पर्याप्त मात्रामा खानेपानी पुर्‍याउने लक्ष्यमा प्रतिबद्ध छ । खानेपानी तथा सरसफाइ क्षेत्रलाई सुदृढ, समावेशी र दीर्घकालीन समाधानमुखी बनाइने छ,” मन्त्री यादवले भने ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आज उद्घाटन गरिएको बृहत शक्ति खानेपानी आयोजनाले यहाँका नागरिकले शक्ति खोलाको सुरक्षित, स्वच्छ एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने छन भन्ने आफुले पूर्ण विश्वास लिएको बताए । उनले भने, “शक्ति खोला मुहानबाट पानी पम्पिङ् प्रणाली मार्फत उक्त क्षेत्रको उच्च भागमा भण्डारण गरी वितरण गरिने छ । यसको जलस्रोत वर्षा र वरपरका साना छहरा तथा भू–गर्भीय स्रोतबाट प्राप्त हुने तथा खोला आसपासका क्षेत्रहरू कृषि तथा बस्तीका लागि उपयुक्त रहने छन् ।”

सो कार्यक्रमका विशिष्ट अथिती एवं प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले बृहत शक्ति खानेपानी आयोजना हेटौँडा लगायत आसपासका हजारौँ घरधुरीमा स्वच्छ र सुरक्षित पानी पुर्‍याउने गहिरो सोच र दीर्घकालीन योजनाको मूर्तरूप भएको बताए ।

खानेपानी तथा सरसफाईको दीगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय तीनै तहको संयुक्त प्रयास आवश्यक रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका मानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले बताए । उनले भने, “खानेपानी तथा ढल व्यवस्थापन बिभागले सबै स्थानीय तहहरुको खानेपानी, सरसफाई र स्वच्छता कार्ययोजना ९वास प्लान० बनाउन सहयोग गरिरहेको छ । उक्त कार्ययोजनाको प्राथमिकता अनुसार संरचना निर्माण पनि निर्माण गर्दैछौँ ।”

बृहत शक्ति खानेपानी आयोजना सम्पन्न भए पश्चात अब यहाँका आठ हजार ७१९ जना लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौँका प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार यस आयोजना हेटौडा उपमहानगरपालिका–१६ का नागरिकलाई नियमित र भरपर्दो खानेपानी उपलब्ध गराउने महत्वपूर्ण माध्यम भएको र जसले जनस्वास्थ्यमा सुधार ल्याउने अपेक्षा लिईएको छ । उक्त आयोजना कुल (भ्याट, समेत) रु ६ करोड ६७ लाख ६७ हजार ०६३ दशमलब ९२ को अनुमानित लागतबाट निर्माण सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा राप्रपाका नेता एवं प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंह, बागमति प्रदेशका खानेपानी, उर्जा तथा सिचाईमन्त्री श्यामबहादुर खड्का, प्रदेश सांसद प्रेमबहादुर पुलामी, हेटौँडा उपमहा नगरपालिकाका प्रमुख मीनाकुमारी लामा, खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, उपमहानगरपालिका–१६ का वडाअध्यक्ष रामकृष्ण कोईराला, जनप्रतिनिधि, स्थानीयवासी लगायतको सहभागीता रहेको थियो ।

योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट

काठमाडौं ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ ।

मंगलबार  सिंहदरबारस्थित आयोगमा भएको भेटवार्तामा मुलुकको वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता र अन्तरसम्बन्धका विषयमा छलफल भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको छ ।

आर्थिक नीति र मौद्रिक नीतिलाई सामञ्जयपूर्ण ढङ्गले कसरी अघि बढाउन सकिन्छ भन्नेबारे छलफल भएको थियो । मुलुकको अर्थतन्त्रमा कोभिड–१९ महामारी तथा विभिन्न प्राकृतिक विपद्बाट परेको असर न्यूनीकरण गर्दै सोह्रौँ आवधिक योजनाले लक्षित गरेअनुरूपको उच्च, दिगो तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न अबलम्बन गर्नुपर्ने रणनीतिबारे छलफल भएको हो ।

छलफलका क्रममा आयोगका उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्राथामिकिकरण, आयोजना बैङ्कको प्रभावकारी कार्यान्वयन तथा मध्यमकालिन खर्च संरचनालगायत विषयमा आयोगबाट भए गरेका सुधारका कार्यको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै राष्ट्र बैङ्कका गभर्नर पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रलाई प्रवर्द्धन गर्दै लगानीको वातावरण सिर्जना गर्न राष्ट्र बैङ्कले सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखको राजीनामा मागेपछि प्रभावित भएको संसद भोलि ११ बजेसम्मका लागि स्थगित भएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि प्रश्न उठेको भन्दै विपक्षी दलहरूले संसद अवरुद्ध पारेका थिए । उनीहरूले संसदमा नाराबाजी गर्दै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने, भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने लगायत माग गरेका थिए ।

सभामुख देवराज घिमिरेले केही समयका लागि बैठक स्थगित गरेर दलका प्रमुख सचेतकहरूसँग संसद खुलाउने विषयमा छलफल गरेका थिए । तर छलफलमा विपक्षी दलहरु आफ्ना मागबाट पछि नहटेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा विपक्षीको अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएकामा पुनः सूचना टास गरी दिउँसो २ बजेर ३० मिनेटका लागि समय निर्धारण गरिएको थियो ।

आयोजना बैङ्कमा निरन्तर छेडखानी, कानुन लत्याएर बजेटमा मनोमानी

हेमन्त जोशी, काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम २६ (५)मा उल्लेख छ ‘राष्ट्रिय आयोजना बैङ्कमा समावेश नभएको आयोजनाका लागि बजेट विनियोजन गर्न पाइँदैन’ । तर, नियमावली आएको पाँच वर्ष पूरा हुँदा पनि आयोजना बैङ्क (प्रोजेक्ट बैङ्क) प्रभावकारी बन्न सकेको छैन । कानुन मिचेर प्रोजेक्ट बैङ्कमा हुने छेडखानी र बजेटमा अनुकूलता खोज्ने परिपाटी भने हरेक वर्ष दोहोरिइरहेको मात्र छैन नियति नै बनेको छ । निगरानी तथा नियमनकारी निकायहरूले पटक–पटक प्रश्न उठाएको मात्र नभई सुधारका लागि सुझाव दिँदा पनि कार्यान्वयनको गुञ्जायस छैन ।

शक्ति र पहुँचका आधारमा योजना बाँड्ने, पूर्वतयारी नै नभएका आयोजनामा बजेट पार्ने, जथाभावी स्रोत सुनिश्चितता दिनेजस्ता कार्य रोक्न प्रोजेक्ट बैङ्क महत्त्वपूर्ण अस्त्र हुने ठानिएको थियो । तर यही उपकरण नै बजेट अनुशासन मिच्ने औजार बन्न थालेको छ । एकातर्फ बैङ्कमा नराखिएका योजनालाई वार्षिक बजेटमा राख्ने प्रवृत्ति तोड्न सकिएको छैन भने सँगसँगै कानुन र मापदण्ड विपरीत जथाभावी परियोजना प्रविष्ट गर्नेदेखि पूर्वाग्रही नियतले हटाउनेसम्मका काम अघिल्ला आर्थिक वर्षजस्तै यस वर्ष पनि दोहोरिएको छ ।

बजेटसँग छैन तालमेल 

प्रोजेक्ट बैङ्कका आयोजना मात्रै बजेटमा राख्ने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्था यसपटक पनि पूर्णरूपमा कार्यान्वयन हुनसक्ने अवस्था देखिँदैन । यद्यपि, नियमावली कार्यान्वयन हुनेमा आशावादी रहेको अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका अधिकारीहरू बताउँछन् । “अहिले पनि योजना प्रबिष्टिको काम भइरहेको छ । यसमा हामी के–कति सफल हुन्छौँ भनेर बजेट आइसकेपछि थाहा हुन्छ,” अर्थमन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, “हिजो र आज पनि हामी हामी प्रोजेक्ट बैङ्कमै लागिरहेका छौँ । विषयगत मन्त्रालयहरू र योजना आयोगबीच पनि समन्वय भइरहेको छ । नियमावलीको व्यवस्था कार्यान्वयन हुन्छ भन्नेमै छौँ ।”

मापदण्ड विपरीत योजना दर्ता 

चैत मसान्तपछि प्रोजेक्ट बैङ्कमा योजना प्रविष्ट गर्नु सरकार आफैँले बनाएको मापदण्डको बर्खिलाप हो । तर बजेट सार्वजनिक हुने दुई दिन अघिसम्म पनि विभिन्न मन्त्रालयहरूले प्रोजेक्ट बैङ्कमा योजना हालिरहेका छन् । राष्ट्रिय आयोजना बैङ्क (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१ को बुँदा नम्बर ४ (५) मा ‘आयोजना बैङ्कमा अघिल्लो आर्थिक वर्षको फागुन मसान्तभित्र आयोजना प्रविष्टि गरिसक्नुपर्ने’ व्यवस्था छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन हुने नयाँ आयोजनाको हकमा भने चैत मसान्तभित्र आयोजना प्रविष्टि गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारी र योजना आयोगका सहसचिव अर्जुन भण्डारी अहिले पनि योजना प्रविष्टि चलिरहेको स्वीकार्छन् । “यसवर्ष मापदण्ड फागुनमा जारी भयो । चैत मसान्तसम्म सबै आयोजना प्रविष्ट गरिसक्ने अवस्था थिएन । त्यसकारण हामीले अहिले पनि योजना हालिरहेका छौँ । यसको समयावधि बढाउने विषयमा योजना आयोगले केही निर्णय गर्नसक्छ,” योजना आयोगका सहसचिव अर्जुन भण्डारीले रासससँग भन्नुभयो । यस वर्ष आयोगले प्रोजेक्ट बैङ्कमा योजना प्रविष्ट गर्ने समय जेठ १३ गतेसम्मका लागि तोकेको जनाएको छ ।

राजनीतिक दबाब र कर्मचारीको असहयोग

विनियोजन कुशलता र आर्थिक अनुशासन पालनाका लागि प्रोजेक्ट बैङ्कको अपरिहार्यता देखेरै कानुनमा बाध्यकारी बनाइएको थियो । तर राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्र यसमा गम्भीर हुन सकेन । योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ राजनीतिक दबाबका कारण वार्षिक बजेटमा जथाभावी योजना हाल्ने प्रवृत्ति र कर्मचारी संयन्त्रको असहयोगका कारण प्रोजेक्ट बैङ्क सफल हुन नसकेको बताउँछन् । “बजेट बनाउने बेला राजनीतिज्ञहरूले ऐन, कानुन, नियमावली, बजेट अनुशासन सबै कुरा बिर्सन्छन् । नेताहरूले दिएको सूची (प्रोजेक्ट लिस्ट) अनुसार योजना पर्यो कि परेन भन्नेसँग मात्र चासो हुन्छ । दबाब थेग्नै नसकिने हुन्छ,” डा श्रेष्ठ भन्छन्, “प्रोजेक्ट बैङ्कमा राखिएका योजनालाई मात्र बजेट छुट्याउने व्यवस्था गरिनुपर्छ भनेर गत वर्ष हामीले जोडबल गर्दा त्यसमा विषयगत मन्त्रालय र कर्मचारीहरूले सहयोग गरेनन् ।” प्रोजेक्ट बैङ्कसम्बन्धी नियमावलीको व्यवस्था बाध्यकारी बनाउन खोज्दा गत वर्ष एकै पटक ठूलो सङ्ख्यामा आयोजना प्रविष्टि भएको पनि डा श्रेष्ठ बताउँछन् ।

कानुनले बाध्यकारी बनाएको व्यवस्थालाई राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्र दुवैले बुझ्न नसकेको पूर्वसचिव मधुकुमार मरासिनीको पनि बुझाइ छ ।

“प्रोजेक्ट बैङ्कको संवेदनशीलता नबुझ्दा त्यसको परिपालना भएको देखिँदैन । कानुनमा भएको विषय परिपालनाका लागि सबै कर्मचारीलाई तालिम दिनेमा पनि हामी चुकेका छौँ,” मरासिनी भन्छन् “अघिल्लो वर्ष प्रोजेक्ट बैङ्कमा के–कस्ता आयोजना राख्ने हो भन्ने स्पष्टता थिएन । हामीले बाध्य बनाउन खोज्दा एकै पटक धेरैवटा योजनाहरू बैङ्कमा राखिए । त्यसमा पनि अधिकांश पुराना योजना हुन् । बाध्यकारी रूपमा जानुपर्छभन्दा गुणस्तरमा ध्यान पुगेन ।”

जथाभावी ‘इन्ट्री’ 

बजेट पार्नकै लागि प्रोजेक्ट बैङ्कमा जथाभावी आयोजना प्रविष्ट गर्ने र बजेट छर्ने प्रवृत्ति पछिल्ला वर्षहरूमा बढ्दै गएको देखिन्छ । योजना आयोगले उपलब्ध गराएको तथ्याङ्कले पनि त्यसको पुष्टि गर्छ । आयोगका अनुसार परियोजना बैङ्कमा आव २०७७/७८ सम्ममा छ हजार ६४४ आयोजना प्रविष्टि गरिएको थियो । त्यस्तै, आव २०७८/७९ मा ९९, आव २०७९/८० मा ३९, आव २०८०/८१ मा ११ हजार १४ र चालु आव २०८१/८२ मा २२१ वटा आयोजना प्रोजेक्ट बैङ्कमा हालिएको थियो ।

गत वर्ष मात्रै सहरी विकास मन्त्रालयका सात हजार ३७७, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पाँच हजार २९४, खानेपानी मन्त्रालयका दुई हजार ८५९ आयोजना प्रोजेक्ट बैङ्कमा हालिएका थिए । त्यस्तै, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको ६४०, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ६१५, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका २२८ वटा योजना बैङ्कमा प्रविष्ट भए । यति धेरै आयोजना एकै आर्थिक वर्षमा प्रविष्ट हुनु आफैँमा शङ्कास्पद रहेको भनेर त्यसको आलोचनासमेत भएको थियो । विस्तृत परियोजना प्रतिवेदन, प्राविधिक तयारी, लागत विश्लेषण, वातावरणीय मूल्याङ्कनजस्ता काम सम्पन्न नहुँदै आयोजना बैङ्कमा राखिएको आरोप अर्थ मन्त्रालय र आयोग माथि लागेको थियो । तर, तत्कालीन नेतृत्वले भने त्यसको बचाउ गर्दै आएको छ । प्रोजेक्ट बैङ्कमा परेका आयोजनालाई मात्रै बजेट राख्ने भनिएपछि क्रमागत प्रकृतिका, सानो बजेटजस्ता योजना मात्र नभई कार्यक्रमहरू पनि प्रविष्ट भए पनि सङ्ख्या बढेको उनीहरुको दाबी छ ।

महालेखाको प्रश्न

आयोजना बैङ्क प्रभावकारी हुन नसकेको भन्दै महालेखापरीक्षकको कार्यालयले पछिल्ला पाँच वर्षदेखि निरन्तर प्रश्न उठाइरहेको छ । महालेखापरीक्षकको ५८औँ प्रतिवेदन, २०७८ देखि ६२औँ प्रतिवेदन २०८२ सम्म निरन्तर प्रोजेक्ट बैङ्कको प्रभावकारितामाथि प्रश्न उठाइएको छ । प्रोजेक्ट बैङ्कमा प्रविष्ट नगरीकन बजेट बाँडेको देखि मापदण्ड विपरीतका आयोजनालाई बैङ्कमा प्रविष्ट गरेकोसम्ममा कैफियत महालेखाले औँल्याएको छ ।

“सङ्घले तीन करोडभन्दा कम र प्रदेशबाट रु एक करोडभन्दा कम लागतका आयोजना कार्यान्वयन नगरिने उल्लेख भएकामा रु तीन करोडभन्दा कम लागत अनुमान भएका आयोजनाहरू बैङ्कमा समावेश गरी सङ्घीय सरकारबाट कार्यान्वयन गर्नेगरी बजेट विनियोजन भएको देखिन्छ । आयोगले आयोजना बैङ्कमा प्रविष्ट आयोजनाको विश्लेषण र मूल्याङ्कन गर्दा उल्लिखित प्रावधानको अवलम्बन गरेको देखिएन,” महालेखाको ६२औँ प्रतिवेदनमा भनिएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ सम्ममा आयोजना बैङ्कमा प्रविष्ट १८ हजार १२ मध्ये चालु अवस्थाका सात हजार ७०५ आयोजना थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मात्रै चालु अवस्थाको आयोजना सङ्ख्या हेर्दा तीन हजार १८५ वटा देखिन्छ । तर भौतिक मन्त्रालयका लागि सो आर्थिक वर्षमा तीन हजार ९९० वटा योजनाका लागि बजेट छुट्याइयो । अर्थात् प्रोजेक्ट बैङ्कमा प्रविष्ट नभएका ८०५ वटा आयोजनामा बजेट परेको देखिन्छ । त्यस्तै, शहरी विकास मन्त्रालयका चार हजार ९६२ आयोजनालाई प्रोजेक्ट बैङ्कमा प्रविष्ट नगरीकनै बजेट छुट्याइएको थियो ।

यसरी आयोजना बैङ्कमा प्रविष्ट नभएको आयोजनाहरूमा समेत बजेट विनियोजन भएको देखिए पनि महालेखाले प्रश्न उठाएको थियो । योजना आयोग र अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूको वार्षिक कार्यक्रम छलफल र स्वीकृत गर्दा आयोजना बैङ्कमा प्रविष्ट भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव पनि महालेखाले दिएको छ ।

अध्ययनबिना नै प्रोजेक्ट बैङ्कमा ‘कैँची’ 

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोत जुटाउन सकस परेको भन्दै सरकारले आयोजना कटौती गर्ने नीति लिएको छ । सरकारको रातो किताबमा पर्ने तर कार्यान्वयन गर्न नसकिने र नतिजासमेत नदिने आयोजनामा कैँची चल्ने सङ्केत अर्थ मन्त्रालय र योजना आयोगबाट भइरहेका छन् । अघिल्लो वर्ष प्राजेक्ट बैङ्कमा राखिएका सबै आयोजना कार्यान्वयन गर्न सम्भव छैन भनेर करिब आठ हजार हाराहारीमा झारिएको छ । अर्थात् प्रोजेक्ट बैङ्कमा परेका करिब १० देखि ११ हजारको सङ्ख्यामा आयोजनाहरू कटौतीमा पर्ने भएका छन् ।

तर आयोजना कटौती गर्दा कस्तो प्रकृतिका आयोजनालाई बैङ्कबाट हटाउने र त्यसरी हटाउँदा के कस्ता प्रभाव देखिनसक्छ भनेर कुनै अध्ययन भएको देखिँदैन । योजना आयोगले भने आयोजना बैङ्क (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्डअनुसार काँटछाँट गरिएको बताउँदै आएको छ ।
अर्थ मन्त्रालयले पनि स्रोतमा चाप देखिएका कारण यसवर्ष योजनामा भारी कटौती हुने बताउँदै आएको छ । गत वैशाख २७ गते नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पूर्व–बजेट छलफल कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन कुशलता कमजोर भएको र जथाभावी योजना बाँड्ने प्रवृत्ति मौलाएको भन्दै आफूले त्यसमा नियन्त्रणको प्रयास  गर्ने बताएका थिए ।

“बजेट विनियोजन र कार्यान्वयनका बीचमा ठूलो खाडल सिर्जना भएको छ र त्यसो हुनुमा हामी नै जिम्मेवार छौँ । चालु आर्थिक वर्षमा मात्रै ११ हजारभन्दा बढी योजना प्रोजेक्ट बैङ्कमा थपिनुले पनि हाम्रो विनियोजन कुशलता कति छ भन्ने देखाउँछ,” अर्थमन्त्री पौडलको भनाइ थियो, “अहिले म थप खाल्डो खन्न होइन त्यसलाई पुर्न खोजिरहेको छु । मैले यसमा सबै क्षेत्रको साथ खोजेको छु ।” आगामी आर्थिक वर्षको बजेटलाई यथार्थपरक बनाउन प्रयास गर्ने र कार्यान्वयन सुनिश्चितासहितको बजेट ल्याउने उनको दाबी थियो । आगामी आवको बजेट बनाउँदा कुशलतासहितको विनियोजन गर्ने, अनुशासनतर्फ फर्किन प्रयास गर्ने र असीमित दायित्वलाई प्राथमिकीकरण गर्ने भनेर अर्थमन्त्री पौडेलले विभिन्न सार्वजनिक कार्यक्रममा समेत बताउँदै आएका छन् ।

नयाँ मापदण्ड 

राष्ट्रिय आयोजना बैङ्क (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१ अनुसार निश्चित उद्देश्य, लक्ष्य र परिणामका लागि कार्यान्वयन गरिने समयसीमा तथा बजेट लागतसमेत खुलाइएर प्रोजेक्ट बैङ्कमा आयोजना प्रविष्ट गर्नुपर्ने हुन्छ । पूर्वतयारी सम्पन्न भइसकेका, निर्माण सम्पन्न भएपछि सार्वजनिक सम्पत्तिमा वृद्धि वा रूपान्तरण हुने पूर्वाधार, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय तथा अन्य विकाससँग सम्बन्धित कार्यलाई आयोजना मानिने र त्यस्ता आयोजना प्रोजेक्ट बैङ्कमा राखिने मापदण्डमा उल्लेख छ ।
त्यस्तै, आयोजना निर्माणको स्रोत के हो ? भन्नेकुरा पनि खुलाउनुपर्ने हुन्छ । नेपाल सरकारको स्रोत, वैदेशिक तथा आन्तरिक ऋण वा अनुदानमा सञ्चालन हुने सबै खालका आयोजनालाई प्रोजेक्ट बैङ्कमा राख्नुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक–निजी साझेदारीमा सञ्चालन हुने आयोजना, प्रदेश तथा स्थानीय सरकारबाट कार्यान्वयन हुने राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई पनि प्रोजेक्ट बैङ्कमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

मापदण्डअनुसार तीन करोडभन्दा बढी लागत भएका वा विनियोजन भएका आयोजना मात्र प्रोजेक्ट बैङ्कमा प्रविष्टि गर्नुपर्ने हुन्छ । त्यस्तै, चालु प्रकृतिका वा सालबसाली रूपमा कार्यान्वयन हुने आयोजना वा कार्यक्रमबाहेकका अन्य आयोजना मात्र राष्ट्रिय आयोजना बैङ्कमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रोजेक्ट बैङ्कलाई सरकारका अन्य विभिन्न सूचना प्रणालीसँग आबद्ध गर्नुपर्ने व्यवस्था पनि मापदण्डमा राखिएको छ । मध्यमकालीन खर्च संरचना, बजेट व्यवस्थापन सूचना प्रणाली (एलएमबिआइएस), विद्युतीय खरिद प्रणाली तथा एकीकृत ‘अनलाइन’ अनुगमन प्रणालीसँग आयोजना व्यवस्थापन सूचना प्रणालीलाई अन्तरआबद्धता कायम गर्नुपर्ने व्यवस्था रहेको छ । यसका लागि आयोगले तयारीसमेत गरिरहेको सहसचिव भण्डारीले बताए । उनका अनुसार सबै प्रदेश र स्थानीय तहहरूमा पनि प्रोजेक्ट बैङ्क आवश्यक पर्ने भएकाले आयोगको समन्वयमा नै एकीकृत प्रोजेक्ट बैङ्क र सूचना प्रणालीको मापदण्ड बनाउने तयारी रहेको छ ।

नेप्सेमा सामान्य सुधार

काठमाडौँ । साताको तेस्रो दिन शेयर बजार नेप्सेमा सामान्य अङ्कको सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक शून्य दशमलव ८५ अङ्कले बढेर दुई हजार छ सय ७५ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १८ कम्पनीको एक करोड ४२ लाख ९९ हजार तीन सय ९४ कित्ता शेयर ५९ हजार छ सय ३३ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५२ करोड ७८ लाख ३९ हजार पाँच सय ८१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ४०, विकास बैंक एक दशमलव ६६, जलविद्युत् शून्य दशमलव १४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ९५ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । वित्त समूह शून्य दशमलव ६१, होटल तथा पर्यटन शून्य दशमलव ०९, लगानी शून्य दशमलव २६ र जीवन बीमा शून्य दशमलव ५४ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त एक दशमलव १३, निर्जीवन बीमा शून्य दशमलव ५५ र अन्य समूह शून्य दशमलव २० प्रतिशतले घटेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट बैंक लिमिलेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ०९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनी लिमिटेडको रु ६३ करोड ५८ लाख १९ हजार बराबरको १४ लाख ३४ हजार तीन सय ४१ कित्ता शेयर किनबेच भएको छ ।

सुशासनका लागि गम्भीर ढंगले लाग्न सतर्कता केन्द्रलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा केन्द्रका सचिव सरजुकुमार वैद्यले प्रधानमन्त्री ओलीसमक्ष प्रतिवेदन पेस गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको मुख्य कार्यभार लिएर वर्तमान सरकार बनेकाले सोही बमोजिम प्रभावकारी ढङ्गबाट कामकाज गर्न निर्देशन दिए ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेकाले नियमित ‘रिपोर्टिङ’ गर्ने र निर्देशन पालना गर्ने सवालमा केन्द्र अझ सक्रिय हुनुपर्नेमा जोड दिँदै विकास र सुशासनको वाधक भ्रष्टाचार भएकाले यसको नियन्त्रणका लागि सम्बद्ध सबै पक्षले इमानदारीपूर्वक तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

प्रतिवेदनमा १६औँ योजनाको लक्ष्यअनुसार भ्रष्टाचार अन्त्य र सुशासन कायमका लागि केन्द्रले सार्वजनिक निकायबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमन, छड्के जाँचलगायतका काम गर्दै आएको उल्लेख छ ।

अनुगमनका क्रममा कुनै अनियमितता भेटिएमा केन्द्रले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने गर्दछ ।

मन्त्रालयले थाल्यो मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् सुरु हुनु अघि नै आवश्यक पूर्वतयारी तथा रोकथामका लागि तयारी थालेको छ ।

वर्षायाममा विभिन्न सङ्क्रमण, रोग तथा महामारीको सम्भावनालाई दृष्टिगत गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तयारी बैठक गरेर समयमै प्रतिकार्य तथा रोकथाम सम्बन्धमा छ वटा निर्णय गरेको उनको निजी सचिवालयले जनाएको छ ।

विपद् प्रतिकार्य तथा महमामारी नियन्त्रणमा संलग्न स्वास्थ्य अधिकारीहरुसँग आज भएको बैठकमा मन्त्री पौडेलले स्वास्थ्य अधिकारीहरुलाई समस्या समयमा नै पहिचान गरेर तयारी गर्न निर्देशन दिए ।

मन्त्री पौडेलको निजी सचिवालयका अनुसार अब महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार सम्भावित महामारी हुने स्थानको पहिचान गरी सरसफाई र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गर्नेछ ।

साथै, शुद्ध पानीको प्रयोगका लागि स्थानीय तहसम्मै प्रभावकारी सूचना सामग्री सम्प्रेषणका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले काम थाल्नेछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तहका द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरेर आवश्यक सूचना सङ्कलनका साथै तथा तयारी अघि बढाउनेछ ।

महाशाखाले सातै प्रदेशमा स्वास्थ्यजन्य विपद् नियन्त्रणका लागि तालिमप्राप्त व्यक्तिको विवरण अद्यावधिक गरेर आवश्यकताअनुसार खटाउने छ । यसैगरी, राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र तथा राष्ट्रिय तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गरी आवश्यक तयारी थालिने छ ।

‘सङ्क्रामक रोग ऐन, २०२०’ लाई बदलिँदो परिस्थिति तथा आवश्यकताअनुसार संशोधन गर्न स्वास्थ्य सेवा विभागले एक साताभित्र आवश्यक तयारी गरेर मन्त्रालयमा पेस निर्णय बैठकले गरेको छ ।

जेठ १५ को आन्दोलनलाई निष्कर्षमा पुर्याउँछौंः अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ १५ गतेदेखि हुने आन्दोलन निर्णायक हुने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त बिस्तारित बैठकमा अध्यक्ष थापाले भ्रष्ट शासकबाट मुक्ति एवम् सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको बताएका हुन् ।

उनले जेठ १५ को आन्दोलनलाई निष्कर्षमा पुर्याउनेगरी निर्णायक आन्दोलनका रुपमा अगाडि बढाउन खोजिएको बताए ।

उनले आन्दोलन कुनैपनि दल वा सरकारको विरुद्धमा नभइ देशमा १८ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र शासनबाट मुक्तिका लागि भएको पनि बताए ।

उनले भने, ‘यो आन्दोलन एउटा पार्टीको मात्र आन्दोलन होइन । यसमा आवद्ध भएका ३५ दल र समूहहरुको मात्र आन्दोलन पनि होइन । यसलाई आम जनताको खासगरी राष्ट्रवादी विचारधारा राख्ने जनताको साझा आन्दोलनको रुपमा अघि बढाउने हाम्रो प्रयास हो ।’

ललितपुरको बागमती गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

पाटन (ललितपुर)। ललितपुरको बागमती गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ ।

‘स्थानीय स्वामित्व र सहभागिता: पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज ललितपुरको बागमती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो ।

जिल्लाका छवटा स्थानीय तहहरूमध्ये बागमती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा हुने तेस्रो स्थानीय तह हो ।

यसअघि ललितपुरको दक्षिण पूर्वीभेगमा रहेको महाङ्काल गाउँपालिकाले २०८२ वैशाख ३१ गते र काठमाडौँ उपत्यकाभित्रै पर्ने महालक्ष्मी नगरपालिकाले जेठ ११ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी गराए ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले खोप अभियानमा स्वास्थ्य स्वयंसेविकाहरुले पुर्याएको योगदान अतुलनीय भएको बताए ।

‘सबै वर्ग र क्षेत्रलाई समेटेर लैजानुपर्ने दायित्व स्थानीय सरकारको छ, पूर्णखोप सुनिश्चितता तथा दिगोपना सहज छैन, यो कठिन कार्यमा लाग्ने सबैले प्रशंसनीय काम गर्नुभएको छ, यसमा धन्यवाद भन्न चाहन्छु,’ उनले भने । उनले बालमैत्री स्थानीय तह, बालविवाह मुक्त स्थानीय तह घोषणा गर्न ध्यान दिन पनि गाउँपालिकालाई आग्रह गरे ।

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले पूर्णखोप सुनिश्चित घोषणासँगै यसलाई दिगोपना कायम राख्नका लागि क्रियाशील भएर लाग्न स्वास्थ्यकर्मी एवं स्वयमंसेविकालाई अनुरोध गरे ।

‘तपाइँहरूको सहयोगको उच्च मूल्याङ्कन हुन्छ, प्रोत्साहनस्वरूप केही सहयोग उपलब्ध गराउँदै आएका छौँ, भविष्यमा पनि यहाँहरुको योगदानको मूल्याङ्कन गर्नेछौँ’, लोप्चनले भने ।

राष्ट्रिय खोप कार्यक्रम बाल मृत्युदर घटाउने अभिप्रायले लागू गरिएको नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर भुवन पौडेलले बताए ।

‘राष्ट्रिय खोप कार्यक्रममा १५ महिनामुनिका बालबालिकाहरुले क्षयरोग, रोटा, पोलियोमाइलाइटिस, न्युमोनिया, मेनिन्जाइटिस, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, जापानिज इन्सेफ्लाइटिस, दादुरा, रुबेला र टाइफाइडसमेत १३ प्रकारका सरुवा रोगहरु विरुद्धका खोपहरु प्राप्त गरेको र गर्भवती महिलाहरु टिडी, धनुष्टङ्कार र भ्यागुते रोग बिरुद्धको खोप प्राप्त गरिसकेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिन्छ । जुन आज बागमती गाउँपालिकाले सम्पन्न गरेको छ,’ डाक्टर पौडेलले भने ।

बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले तीन वर्षदेखि स्वास्थ्य स्वयमंसेविकाहरूले घरघरमा पुगेर सबै बालबालिकालाई खोप लगाउनका लागि गरेको प्रयासस्वरूप आजको अवस्थासम्म आइपुगेको बताए ।

उनले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यहरूमध्येको यो लक्ष्य हासिल हुँदा स्वस्थ समाज निर्माण र स्वस्थ्य जनशक्ति निर्माणमा योगदान पुर्याएको धारणा राखे ।

ललितपुर जिल्ला खोप अधिकृत राजाराम कार्कीले प्रत्येक स्थानीय तहले खोप सुनिश्चित गर्नु अनिवार्य रहेको बताउँदै खोप सुनिश्चितता स्थानीय तह घोषणा गर्ने जिल्लाकै तेस्रो स्थानीय तह हुन सफल भएकामा बधाई दिए । स्थानीय तहबाट गएको प्रतिवेदन र जिल्ला तहबाट भएको अनुगमनका आधारमा बागमती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गर्ने निर्णय भएको उनले बताए।

बागमती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समीर श्रेष्ठले विगत तीन वर्षदेखि बालबालिकाहरुमा खोप सुनिश्चित भए/नभएको अनुगमन गरेर खोप लगाउन छुटेका बालबालिकालाई खोप दिएर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको जानकारी गराए ।

राष्ट्रियस्तरमा २०३४ सालमा सुरू भएको खोप अभियानमा देशभर १६ भन्दा बढी खोप केन्द्रहरू रहेको र बागमती गाउँपालिकाभित्र मात्रै १९ वटा खोप केन्द्रहरू रहेको उनले जानकारी गराए । यी खोपहरू प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकार भएको उनले जानकारी गराए ।

स्थानीय तह, जिल्ला र प्रदेश हुँदै देशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने नेपाल सरकारको कार्यक्रम रहेको छ । सन् २०१५ मा नेपाललगायत संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले अनुमोदन गरेका दिगो विकासका लक्ष्य हासिल गर्ने नीतिअनुरूप पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान देशैभर जारी रहेको छ ।

चीनको अन्तरिक्ष यात्रा : ब्रह्माण्ड बुझ्ने दिशामा नयाँ पाइला

सिचाङ । चीनले ‘तियानवेन–२’ नामक अन्तरिक्ष यान यही मे २९ गते प्रक्षेपण गर्ने घोषणा गरेको छ । उक्त यानले पृथ्वीको नजिक रहेको एउटा क्षुद्रग्रह तथा ग्रहहरू बीच रहेको एउटा अनौठो पुच्छ्रेताराको अध्ययन तथा नमुना सङ्कलन गर्नेछ ।

‘तियानवेन–२’ चीनको दोस्रो अन्तरिक्ष अन्वेषण मिसन हो, जसले पृथ्वी नजिकको क्षुद्रग्रहु बाट नमुना सङ्कलन गर्ने र ग्रहपथको पुच्छ्रेताराको अध्ययन गर्ने उद्देश्य राखेको छ ।

‘क्षुद्रग्रहुबाट भन्नाले आकाशमा घुमिरहने पिण्डबाट वैज्ञानिक अनुसन्धानका लागि नमुना लिने कार्यलाई जनाइन्छ । तिनीहरूमा पुगेर त्यहाँको माटो, धुलो, ढुङ्गा वा अन्य तत्व सङ्कलन गर्ने कार्यलाई जनाइन्छ । यस्तो नमुना सङ्कलन विशेष वैज्ञानिक यान (अन्तरिक्ष यान) मार्फत गरिन्छ, जसले ती नमुनाहरूलाई पृथ्वीमा फर्काएर ल्याउँछ ।

क्षुद्रग्रहहरूमा अत्यन्त पुराना र जस्ताको तस्तै रहेका तत्वहरू हुने भएकाले ती सौर्यमण्डलको सुरुवाती अवस्था बुझ्नका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । वैज्ञानिकहरूले यस्ता नमुनाहरूको प्रयोग गरेर पृथ्वी, चन्द्रमा, ग्रह र अन्य आकाशीय पिण्डहरूको उत्पत्ति, विकास र रासायनिक संरचना बुझ्न प्रयास गर्छ । यस्ता अध्ययनले भविष्यमा पृथ्वीमा ठोक्किन सक्ने सम्भावित खतराहरूको पहिचान तथा अन्तरिक्षमा खनिज खोज्ने सम्भावनालाई समेत टेवा र्पुयाउँछ ।

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार, तियानवेन दुई यानले ‘२०१६ एच ओ ३’ नामक क्षुद्रग्रहबाट नमुना सङ्कलन गर्नेछ । यो चीनको पहिलोपटक हुने क्षुद्रग्रहबाट नमुना सङ्कलन अभियान हुनेछ । यानले त्यस्तै ‘३११पी’ नामक ग्रहपथको पुच्छ्रेताराको पनि अध्ययन गर्नेछ ।

प्रक्षेपणको सम्पूर्ण तयारी चीनको सिचुवान प्रान्तस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रमा सुचारु रूपमा अघि बढिरहेको छ । प्रक्षेपणका लागि प्रयोग हुने लामो पद यात्राको सयौं दस नामक अग्निबाणमा चाँडै इन्धन भरिनेछ ।

तियानवेन दुई यानले यसअघि सबै पूर्वनिर्धारित प्रक्रिया जडान, परीक्षण, इन्धन भर्ने कार्य, स्थान परिवर्तन, कार्यसामथ्र्य जाँच र संयुक्त परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

अग्निबाणलाई मे १४ गते प्राविधिक क्षेत्रबाट प्रक्षेपण क्षेत्रमा सारिएको थियो । त्यसपछि यसमा यान जडान, छोप्ने संरचना तयार गर्ने, सम्पूर्ण जाँच तथा परीक्षण सम्पन्न गरिएको छ। साथै, विभिन्न नियन्त्रण केन्द्र तथा निगरानी स्थलबीच समन्वयात्मक अभ्यास पनि गरिएको छ ।

‘२०१६ एच ओ ३’ नामक क्षुद्रग्रह, जुन सन् २०१३ मा हवाई टापुमा रहेको एउटा तारादर्शक यन्त्रले पत्ता लगाएको थियो ।

बङ्गलादेशमा मृत्युदण्ड पाएका नेता सर्वोच्च अदालतबाट निर्दोष ठहर 

ढाका ।  बङ्गलादेशको सर्वोच्च अदालतले मङ्गलबार देशको प्रमुख इस्लामी पार्टी जमात–ए–इस्लामीका वरिष्ठ नेता ए.टी.एम. अजहरुल इस्लामलाई मानवीय अपराधको मुद्दामा दिइएको मृत्युदण्ड सजाय रद्द गर्दै रिहा गर्ने निर्णय सुनाएको छ। उनी सन् २०१२ देखि हिरासतमा थिए।

इस्लामसहित पाँच वरिष्ठ नेताहरूलाई विगतमा दोषी ठहर गरिएको थियो, तीमध्ये चार जमात–ए–इस्लामीका र एक प्रमुख बङ्गलादेश राष्ट्रिय पार्टी (बीएनपी) का थिए।

उनका वकिल शिशिर मोनिरले यस निर्णयप्रति सन्तुष्टि व्यक्त गर्दै भने,’उहाँलाई न्याय प्राप्त भएको र बाँकी अन्य अभियुक्तहरूको मुद्दामा पनि पुनरावलोकन आवश्यक छ।’

इस्लामलाई सन् २०१४ मा १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्धको समयमा लगाइएका आरोपहरूमा दोषी ठहर गर्दै मृत्युदण्ड दिइएको थियो।

जमात–ए–इस्लामीले सो युद्धमा पाकिस्तानलाई समर्थन गरेको थियो, जसले बंगलादेशी इतिहासमा गहिरो प्रभाव पारेको छ।

वर्तमान अन्तरिम सरकारले आगामी चुनाव जुन सन् २०२६ भित्र सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ भने राजनीतिक दलहरू समेत चुनावको तयारीमा जुटेका छन्।

भविष्यको पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्छः पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य रहेको बताएका छन् ।

एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले हिमाल आरोहणमा सफलता हासिल गर्ने सम्पूर्ण आरोहीहरूप्रति बधाई दिँदै हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याए ।

मन्त्री पाण्डेले भने, ‘हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ।’

उनले शेर्पा समुदाय, गाइड, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पुर्याउने सबैप्रति विशेष सम्मान समेत व्यक्त गरे । ‘उहाँहरूको समर्पणले पर्वतीय यात्राहरूलाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ,’ मन्त्री पाण्डेले भने ।

सरकार पर्वतारोहणको प्रवद्र्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेले बताए ।

मन्त्री पाण्डेले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतुका रूपमा चित्रित गर्दै भने, ‘यी हिमालहरू पवित्र छन्, र तिनीहरूलाई सुरक्षित राख्नु हाम्रो साझा जिम्मेवारी हो।’

गभर्नर पौडेलको नियुक्तिविरुद्ध रिट दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलविरुद्ध रिट दर्ता भएको छ । पौडेलको नियुक्ति बदरको माग गर्दै अधिवक्ताहरु विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

गभर्नर पौडेलको नियुक्तिविरुद्धको रिटमा नोटमा हस्ताक्षर नगर्न अन्तरिम आदेशको माग गरिएको छ । रिटमा बुधबारका लागि सुनुवाइ तोकिएको छ । उनीहरूले पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारिस र नियुक्ति दुवै गैरकानुनी रहेको दावी गरेका छन् ।

निवेदकहरूले नियुक्तिको क्रममा जालझेल गरिएको तथा पौडेल राजनीतिक दलको सदस्य रहेको दावी गरेका छन् ।

म्याग्दीमा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणाधिन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ वर्षका खेमराज कुमाललको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्साभेटर चालक कुमालको शव एक्साभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणको लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिए । घटनापछि प्रहरी र स्थानीयवासीले एक्साभेटर चालकको शव पहिरोबाट बाहिर निकालेका थिए ।

मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्साभेटर समेत पूर्ण रूपमा क्षति भएको छ ।

दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलव ५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भीरमा सडक निर्माण गरिरहेको छ ।

नासाको चन्द्र अभियानसँग जोडिएको स्टारशिप पुनः परीक्षणमा उत्रिँदै

वासिङटन । मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने एलन मस्कको महत्वाकांक्षी योजनाको केन्द्रमा रहेको स्पेसएक्सको ‘स्टारशिप मेगारकेट’ फेरि परीक्षण उडानको तयारीमा छ । अघिल्ला दुई प्रयासमा यानमा आगो लागेर विस्फोट भएपछि यो परीक्षणमा थप चासो केन्द्रित भएको छ ।

टेक्सासको दक्षिणी भागमा रहेको स्पेसएक्सको स्टारबेस प्रक्षेपण केन्द्रबाट मंगलबार स्थानीय समय अनुसार बेलुका ६ः३० बजे प्रक्षेपण हुने समय तय गरिएको छ ।

एक सय २३ मिटर अग्लो स्टारशिप अहिलेसम्म बनाइएको सबैभन्दा ठूलो यान हो । नासाले पनि आफ्नो ‘आर्टेमिस–३’ मिशन अन्तर्गत अमेरिकीहरूलाई चन्द्रमामा फर्काउने यानको रूपमा स्टारशिपको एक संस्करण प्रयोग गर्ने तयारी गरेको छ ।

तर अघिल्ला दुई परीक्षणमा माथिल्लो भाग विस्फोट हुँदा टुक्राहरू क्यारेबियन टापुहरूमा खसेका थिए, जसले हवाई उडानमा बाधा र्पुयाएको थियो । यसपटक परीक्षण सफल पार्न स्पेसएक्समाथि थप दबाब रहेको छ ।

कम्पनीले परीक्षणमार्फत तीव्र विकासको नीति अपनाएको बताउँदै आएको छ, जसले विगतमा पनि वाणिज्यिक अन्तरिक्ष उडानमा सफलताको आधार तयार पारेको थियो ।

पर्यावरणीय चिन्ता र अनुमति

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले प्रक्षेपणका लागि अनुमति दिँदै हवाई क्षेत्र बन्द गर्ने क्षेत्रफल झन्डै दोब्बर बनाउँदै एक हजार ६०० नौटिकल माइलसम्म विस्तार गरेको छ ।

यस प्रक्रियामा बेलायत, टक्र्स र केकोस टापु, बहामास, मेक्सिको र क्यूबाका अधिकारीहरूसँग समन्वय गरिएको छ ।

एफएएले वार्षिक प्रक्षेपण सङ्ख्या पाँच बाट बढाएर २५ पुर्याउने निर्णय पनि हालै गरेको छ । यसले वातावरणमा नकारात्मक असर नपार्ने बताउँदै संरक्षण समूहहरूको चेतावनीलाई अस्वीकार गरेको हो, जसले समुद्री कछुवा र तटीय चराहरूको जोखिमको चेतावनी दिएका थिए ।

कर र महँगीको असर कम गर्न जापान सरकारको विशेष पहल

टोकियो । जापान सरकारले साना तथा मध्यम व्यवसायहरूलाई अमेरिकाबाट लगाइएको आयात करको असरबाट जोगाउन १५ अर्ब ५० करोड डलरभन्दा बढी बराबरको राहत कार्यक्रम सार्वजनिक गरेको छ ।

अमेरिकाले जापानसहित धेरै देशका सामानहरूमा १० प्रतिशतको आधारभूत आयात कर तथा सवारीसाधन, फलाम र एल्युमिनियममा अझै बढी दरको कर लगाएको छ, जसको प्रत्यक्ष असर जापानी व्यवसायहरूमा परेको छ ।

सरकारले साना व्यवसायहरूलाई सहज ऋण, ऋण सर्तहरूमा सहुलियत तथा सरकारी ऋण संस्थामार्फत आर्थिक सहायता प्रदान गर्ने जनाएको छ ।

मन्त्रिपरिषद्का मुख्यसचिव योशिमासा हायाशीले भने,“अमेरिकी करबाट प्रभावित साना तथा मध्यम व्यवसायहरूलाई पूर्ण समर्थन दिइनेछ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालु वर्षको मार्च महिनामा जापानका सामानहरूमा २४ प्रतिशत बराबरको ‘प्रतिशोधात्मक’ कर घोषणा गरेका थिए, तर त्यो निर्णय जुलाईको सुरुसम्मका लागि रोकिएको छ ।

जापानले ती करहरू पूर्णरूपमा हटाउन आग्रह गरिरहेको छ । त्यसका लागि सरकारी प्रतिनिधि चाँडै चौथो चरणको वार्ताका लागि अमेरिका जाँदै छन् ।

प्रधानमन्त्री शिगेरु इशिबाले आगामी महिना क्यानडामा हुने सात राष्ट्रको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष भेटवार्ता गरेर सहमति जुटाउने सङ्केत दिए ।

अर्कोतर्फ, सरकारले बढ्दो बिजुली तथा ग्यासको मूल्यका कारण जनतामा परेको असर कम गर्न आगामी तीन महिनाका लागि दुई खर्ब ८८ अर्ब बराबरको सहयोग प्रदान गर्ने जनाएको छ ।

यसले प्रत्येक परिवारको मासिक उपभोग खर्चमा तीन हजार डलरको राहत दिने बताइएको छ । साथै, सरकारले अस्पताल, विद्यालय तथा साना उद्योगहरूलाई थप विशेष सहायता प्रदान गर्ने योजना पनि अघि सारेको छ ।

अमेरिका–युरोपेली सङ्घ व्यापार वार्तामा सकारात्मक सङ्केत, भन्सार शुल्क अस्थायी रूपमा स्थगित

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमाथि प्रस्ताव गरिएको ५० प्रतिशत भन्सार शुल्क अस्थायी रूपमा स्थगित गर्ने निर्णय लिएपछि दुई पक्षबीचको व्यापार वार्ता पुनः सकारात्मक दिशामा अघि बढ्ने सङ्केत देखिएको छ । आइतबार राष्ट्रपति ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला फोन डेर लायनबीच भएको टेलिफोन वार्तापछि आगामी जुलाई ९ भित्र निष्कर्षमा पुग्ने लक्ष्य राखिएको जानकारी प्राप्त भएको छ ।

वार्ताको वर्तमान अवस्था

अमेरिकाले अघिल्लो चरणमा युरोपेली सङ्घका विभिन्न वस्तुहरूमा उच्च भन्सार शुल्क लगाइसकेको छ, जसमा सवारी साधन, फलाम, पित्तल लगायतका सामग्रीहरू छन् । हाल केही शुल्कहरू वार्ताका कारण अस्थायी रूपमा रोकिएका छन् । यद्यपि युरोपेली वस्तुहरू अझै १० प्रतिशतको भन्सार महसुल अन्तर्गत परिरहेका छन् ।

युरोपेली सङ्घका तर्फबाट व्यापार आयुक्त मरोस सेफ्चोभिक वार्तालाई सक्रिय रूपमा अगाडि बढाइरहेका छन् । अमेरिकाका वाणिज्य सचिव होवार्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग उनको निरन्तर सम्पर्क भइरहेको छ ।

अमेरिकाको अपेक्षा

राष्ट्रपति ट्रम्पले अमेरिका–युरोपबीचको व्यापार घाटा घटाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले युरोपेली देशहरूले अमेरिकी ऊर्जा सामग्रीको खरिदमा वृद्धि गर्नु आवश्यक रहेको बताए । साथै, उनले केही कर प्रणाली र गैरभन्सार अडचनहरूबारे पनि छलफल अघि सारेका छन्, जसमा मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने प्रस्ताव पनि समावेश रहेको जनाइएको छ । यस्ता प्रस्तावहरूमध्ये केही युरोपेली पक्षका लागि कठिन रहेको बुझिएको छ ।

युरोपेली सङ्घको दृष्टिकोण

युरोपेली सङ्घले व्यापारमा सहकार्य र समझदारी कायम राख्दै आर्थिक स्थायित्व सुनिश्चित गर्न चाहेको जनाएको छ । यसका लागि उसले दुई पक्षीय भन्सार छुटको प्रस्ताव अघि सारेको छ, जसमा औद्योगिक उत्पादनहरू समेत समावेश छन् ।

युरोपेली सङ्घले चीनसँग सम्बन्धित व्यापारिक चुनौतीहरूबारे संयुक्त पहल गर्न सकिने सम्भावनाबारे पनि सङ्केत गरेको छ, यद्यपि प्रत्यक्ष रूपमा चीनको नाम उल्लेख गरिएको छैन ।

यदि वार्ता सकारात्मक रूपमा अघि बढ्न सकेन भने युरोपेली सङ्घले करिब १३६ अर्ब अमेरिकी डलर बराबरका वस्तुहरूमा शुल्क लगाउने विकल्पको समेत विचार गरिरहेको छ । साथै, केही प्रमुख प्रविधि कम्पनीहरूमाथि समेत नियमन कडा पार्न सकिने बताइएको छ ।

युरोपेली आयोगका अध्यक्ष फोन डेर लायनले आइतबारको वार्तापछि वार्तालाई स्पष्ट र निर्णायक रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी महिनामा क्यानडामा हुने सात राष्ट्र समूहको सम्मेलनमा राष्ट्रपति ट्रम्प र अध्यक्ष डेर लायनबीच प्रत्यक्ष भेट हुने सम्भावना रहेको छ, जसबाट व्यापार वार्ता थप सुदृढ हुने आशा गरिएको छ ।

बाजुरामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा मंगलबार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ । नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।

सङ्कटमा रैथाने स्रोत, बीउ जोगाउँदै बैङ्क

काठमाडौँ । “पहिलेपहिले नेपालका हरेक घर नै बीउ बैङ्कजस्तै थिए । हरेक घरमा बीउ भकारी हुन्थे, भित्तामा समेत बीउ राख्ने चलन थियो । केही ढुङ्ग्रोमा, केही फाटेको टोलो (कपडा)मा । सप्रेका चीजबाट बीउ छानेर राख्ने चलन थियो, अनि समय आएपछि आफूले पनि रोप्थे, छिमेकीलाई पनि दिन्थे । बीउसमेत ऐँचोपैँचो हुन्थ्यो । त्यो बीउ मात्र नभई समाज नै रहेछ । अचेल त्यस्तो रहेन”, रैथाने एग्री प्रोडक्टका अध्यक्ष तिलक ढकाल भन्छन् ।

हुन पनि केही दशकअघिसम्म पनि धेरैजसो किसानले आफूलाई चाहिने बीउ परम्परागत शैलीमा संरक्षण गर्थे, त्यसैबाट जैविक खेती प्रणाली जोगाइरहेका थिए । पछिल्लो सयम जलवायु परिवर्तन, आधुनिक बालिहरूको बढ्दो प्रयोग र बजारमुखी कृषि प्रणालीका कारण परम्परागत बीउ संरक्षण अभ्यास सङ्कटमा छ । त्यसैकारण होला नेपालका धेरै कृषि आनुवंशिक स्रोतहरू सङ्कटमा छन् ।

“हाम्रा बाली हराउँदै गएकाभन्दा पनि हामीले उन्नत जातका नाममा तिनलाई छोड्दै गएकाले समस्या भएको हो । रैथाने बाली तथा स्रोतले त पुस्तौँ पुस्तादेखि नेपाली माटो, भूगोल (रिजान), हावापानी (सिजन) चिनेका छन् । पुस्तौँसम्म बीउ बन्ने सामथ्र्य राख्छन् ।

हामी भने धेरै फल्ने र नफल्नेमै झल्झियौँ, सरकारले पनि कृषि आधुनिकीकरणका नाममा रैथाने स्रोतको संरक्षण गर्न सकेन”, ढकाल भन्छन्, “अब चेत्नुपर्ने बेला आएको छ । बीउ नै रहेन भने समस्या झन् विकराल बन्नेवाला छ । त्यसैले हरेक घर र समाजमा रहेका बहुबाली प्रथा, त्यससँग जोडिएका मौलिक सीप र ज्ञान जोगाउँदै जानुपर्छ ।” यसका लागि रैथाने बाली तथा कृषि जैविक विविधताका स्रोत संरक्षण, त्यसको प्रवर्द्धन र बजारीकरणको सुनिश्चितता गरी यसैबाट धनी बन्न सकिन्छ भन्ने सन्देश फैलाउन जरुरी रहेको उनको भनाइ छ ।

अर्का संरक्षण अभियन्ता मथुरा खनाल पनि परम्परागत रैथाने आनुवंशिक स्रोतहरू सङ्कटमा पर्न थालेकामा चिन्ता व्यक्त गर्छन् । “पहिले बाउबाजेका पालामा राम्रो उब्जनी हुने अन्नबाली अचेल देखिँदैनन् । हाम्रो जीवनकालमा खेतबारीमा हुने धान, मकै, गहुँ, फलफूल तथा तरकारी बाली पनि हराउँदै गएका छन्”, उनी भन्छन्, “यसमा बालीको कुरा मात्रै होइन वन स्रोत । सूक्ष्म जीवाणुको कुरा पनि आउँछ । त्यसैले यस्तै अवस्था रहने र बाँकी रहेका लोपोन्मुख, दुर्लभ तथा विशेष गुण भएका कृषि आनुवंशिक स्रोत संरक्षणका लागि पहल नहुने हो भने निकै समस्या आउनेवाला छ ।”

खनालका अनुसार नेपाललाई विश्वकै जीवन्त जैविक विविधताको सङ्ग्रहालय भनिन्छ तर जलवायु सङ्कटका कारण यहाँका धेरै जैविक विविधतामाथि क्षति बेहोर्नु परेको छ । पछिल्लो दशक नेपालका अधिकांश रैथाने स्रोतहरू मानवीय क्रियाकलाप, उन्नत जातको प्रयोग र एेँजेरुजस्ता वनमाराका कारण थप समस्यामा परेको बताउने वातावरणविद् खनाल नेपालका रैथाने र परम्परागत ज्ञानको नाश हुनु अझ डरलाग्दो विषय भएको बताउँछन् ।

“हाम्रा जमिन बाँझो र कृषक पलायन हुँदैछन् । यसको अर्थ हाम्रो परम्परागत ज्ञान नै लोप हुने खतरा छ । रैथाने ज्ञान र श्रम अभ्यास नै लोप हुने अवस्थाले हामी हरेक वस्तुमा परनिर्भरतातर्फ गइरहेका छौँ । यसले हामीलाई कुन दिशातिर लैजाँदैछ भनेर गम्भीर समीक्षा गरौँ”, उनी भन्छन्, “यस्तो अवस्थामा जीन बैङ्कजस्ता प्रविधिको प्रयोगमार्फत स्रोतको संरक्षण र तिनको सामाजिकीकरणका लागि काम गर्नुपर्ने आवश्यकता छ । प्रयोगशालाको उपयोग र परम्परागत कृषि ज्ञानको प्रसारलाई सँगसँगै अगाडि बढाउन लाग्नुपर्छ ।”

मानव स्वास्थ्य, आर्थिक उन्नति र खाद्य सम्प्रभूता प्रकृतिमाथि नै अडेको छ तर यही प्रकृति हिजोआज जटिल समस्यामा छ । विभिन्न अध्ययनले पारिस्थितिकीय प्रणालीको ह्रासले गर्दा विश्वका ४० प्रतिशत मानिस आफ्नो समुन्नतिबाट वञ्चित भएका भनेर औँल्याएका छन् । नेपालकै कुरा गर्ने हो भने यहाँको कृषि जैविक विविधतामा गम्भीर सङ्कट आउँदा धेरै मानिसहरू आन्तरिक आप्रवासन, थातथलोबाट विस्थापन भई गम्भीर आर्थिक, सामाजिक र परम्परागत ज्ञान हस्तान्तरण गर्ने अवस्थाबाट वञ्चित भइरहेका छन् ।

कृषि अनुसन्धान परिषद् (नार्क) कै तथ्याङ्कअनुसार नेपालमा रहेका हजारौँ स्रोतमध्ये करिब ४० प्रतिशत कृषि जैविक विविधता लोप भइसकेका छन् । जबकि यहाँ २४ हजार ३०० प्रजातिमध्ये २८ प्रतिशत अर्थात् छ हजार ६१८ प्रजाति कृषि आनुवंशिक स्रोत रहेका र जसका करिब एक लाख भूमि–जात रहेको बताउने गरिएको थियो ।

जानकारहरूका अनुसार नेपालमा करिब ३० हजार रैथाने बाली छन् । नेपालमा करिब एक हजार २६ प्रजातिका बाली, ५१० घाँसे बाली, ३५ घरपालुवा जनावर, २३६ माछा, २५० जलीय अन्य कृषि जनावर, १७ जलीय वनस्पति, तीन हजार ५०० कीरा र ८०० सूक्ष्म जीवाणु रहेका छन् । नेपाल ११ जाति र २९ प्रजातिका खाद्य बालीहरू तथा छ जाति र १२ प्रजातिका वागवानी बालीहरू उत्पत्तिको प्राथमिक केन्द्र मानिन्छ । यसैगरी, यहाँ विभिन्न जङ्गली नातेदार वनस्पतिमध्ये १० जातिका १३ प्रजाति रहेको भन्ने गरिन्छ ।

नेपाल सरकारको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैङ्क) का सूचना अधिकारी डा मुकुन्द भट्टराई विकासे भनेर विदेशबाट आउने जातहरूले प्राथमिकता पाउँदा नेपालका रैथाने तथा स्थानीय जातहरू ५० प्रतिशतसम्म लोप भइसकेका बताउँछन् ।

“अब सरकार, सबै सरोकार भएकाहरू गम्भीर नबनेमा र स्थानीय जातलाई जथाभावी आधुनिक उन्नत जातले विस्थापन गरिरहेमा आगामी दशक करिब २५ प्रतिशत बालीका जङ्गली नातेदार लोभ भई कृषि जैविक विविधता संरक्षणमा चुनौती थपिने छ”, उनी भन्छन्, “यसर्थ भविष्यको दिगो खाद्य र पोषण सुरक्षाका लागि आनुवंशिक विविधता र बाली प्रजनन प्रणालीमा जोड दिन आवश्यक छ । यसका लागि वर्तमान मौजुदा विविधताको संरक्षण तथा तिनमा अनुसन्धानकर्ता, प्रजननकर्ता र कृषकहरूको पहुँच सुनिश्चित गरिनुपर्दछ ।”

सङ्कट टार्न बीउ बैङ्क

दिगो विकास लक्ष्यले सन् २०३० सम्म सबै मानिसहरूलाई वर्षभरि सुरक्षित, पोषिलो र पर्याप्त खाना सुनिश्चित गर्दै भोकमरी अन्त्य गर्ने र कुपोषणका सबै रूपहरूको उन्मूलन गर्ने भनेको छ । यद्यपि, हालसम्मको अवस्था चिन्ताजनक छ ।

विश्व खाद्य सङ्गठन (एफएओ)को एक ‘रिपोर्ट’अनुसार सन् २०२३ मा अनुमानित रूपमा ७१३ देखि ७५७ मिलियन मानिसहरू (विश्व जनसङ्ख्याको ८.९ देखि ९.४ प्रतिशत) ले भोकको सामना गरेका थिए । यदि यसको मध्यम सीमा (७३३ मिलियन) लाई आधार मान्ने हो भने यो सन् २०१९ को तुलनामा करिब १५२ मिलियनभन्दा बढी मानिसहरू भोकको चपेटामा परेका हुन् ।

नेपालमा ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि पेसामा निर्भर छन् तर कृषि उत्पादनमा ह्रास आँदा बर्सेनि अर्बौं रुपैयाँको खाद्यवस्तु निर्यात गर्नु परिरहेको छ । १५औँ पञ्चवर्षीय योजनाअनुसार नेपालका २१ प्रतिशत जनसङ्ख्यामा पर्याप्त खाद्यको पहुँच छैन । यस्तो अवस्थामा कृषि आनुवंशिक स्रोतमा भने गम्भीर क्षति पुगेको छ । यसले गर्दा उपयुक्त कृषि जैविक विविधताको अभावमा नेपाललगायत समग्र विश्वले गम्भीर खाद्य सङ्कटको सामना गर्नुपर्ने विज्ञहरूले चेतावनी दिने गरेका छन् । यसलाई एफएओको तथ्याङ्कले समेत पुष्टि गर्छ ।

उक्त संस्थाका अनुसार गत बीसौँ शताब्दीमा मात्रै विश्वको बाली विविधतामा पूर्ति गर्नै नसकिने गरी करिब ७५ प्रतिशतले ह्रास आएको छ । उसले आफ्ना विवरणमा भनेको छ, “विश्व जनसङ्ख्या वृद्धिदर, जलवायु परिवर्तन, भूमिको क्षय र विश्वव्यापी सङ्कट तथा द्वन्द्वको सामना गरिरहेको सन्दर्भमा यी आनुवंशिक स्रोतहरूको विविधता हाल र भविष्यका चुनौतीहरूसँग अनुकूलन गर्नका लागि अत्यन्त आवश्यक बनिरहेको छ ।”

यी विविध कारण हाल विश्व्यापी रूपमै कृषि आनुवंशिक स्रोतको संरक्षणका पहल भइरहेका छन् । यसका लागि दिगो विकासको लक्ष्य नं २ को ९५० मा सन् २०२० सम्म बीउ, खेती गरिने बोटबिरुवा, फार्म एवं पशुपालन र तिनका जङ्गली प्रजातिहरुको संरक्षणलाई प्राथमिकता दिई विभिन्न बीउ, बिरुवा एवं लोपोन्मुख पशुहरूको डिएनए बैङ्क र सामुदायिक बीउ बैङ्कको विस्तार गर्न लक्ष्य निर्धारण गरिएको थियो ।

नेपाल सरकारले सो लक्ष्य, जैविक विविधता महासन्धि, खाद्य र कृषिका लागि वानस्पतिक आनुवंशिक स्रोतहरूसम्बन्धी अन्तरराष्ट्रिय सन्धिअनुसारका गतिविधि अगाडि बढाइरहेको छ । कृषि जैविक विविधता नीति २०६३ अनुसार राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैङ्क) स्थापना गरिएको छ । त्यसै आधारमा सामुदायिक बीउ बैङ्क कार्यक्रम कार्यान्वयन निर्देशिका २०६५ र सामुदायिक बीउ बैङ्क स्थापना कार्यान्वयन कार्यविधि २०७२ ल्याई यसको कार्यान्वयन अघि बढाइसकेको छ ।

विक्रम संवत् २०६७ असोज २१ गते स्थापित जिन बैङ्कले कृषि आनुवंशिक स्रोतको सदुपयोग र प्रवद्र्धनका लागि खोज, अनुसन्धान, सङ्कलन र संरक्षणको काम गरिरहेको केन्द्र प्रमुख डा बालकृष्ण जोशीले बताए । खाद्य तथा पोषण सुरक्षा, जीवनस्तर र आर्थिक समृद्धिका निम्ति सम्पूर्ण कृषि आनुवंशिक स्रोतहरुको संरक्षण तथा उपयोगको मिसनसहित बैङ्कले आनुवंशिक स्रोतहरुको मूल्याङ्कन गरी गुण–विशेषका आनुवंशिक चिह्नहरु पत्ता लगाउनाका साथै पूर्वप्रजननद्वारा उन्नत तथा उपयुक्त जात छनोट गर्ने र प्रजननकर्ता तथा कृषकहरुलाई उपलब्ध गराउने गरेको उनको भनाइ छ ।

“विभिन्न कारणले कृषि जैविक विविधतामा एकपछि अर्को सङ्कट निम्ति रहेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष मारमा हाम्रा रैथाने स्रोत र परम्परागत कृषि स्रोतहरू परिरहेका छन् । तिनको संरक्षणका लागि हामीले काम विभिन्न विधिमार्फत काम गरिरहेका छौँ”, डा शर्माले भने, “जिन बैंकमा संरक्षित आनुवंशिक स्रोतहरू तत्काल र भावी प्रयोग, दिगो विकास र प्रजनन कृषि उत्पादनका लागि प्रत्यक्ष प्रयोग, पर्याप्रणालीमा विविधताको संरक्षण, वैज्ञानिक परीक्षण तथा पूर्वबाली प्रजननका लागि प्रयोग हुन्छन् ।”

यसका लागि नेपालमा केन्द्रमा जीन बैङ्क र त्यसअन्तर्गत फिल्ड जिन बैङ्क, तन्तु प्रविधि प्रयोगशाला तथा तन्तु बैङ्क, मल्टिकुलर प्रयोगशाला तथा डिएनए बैङ्क छन्भने स्थानीय किसानसँगको सहकार्यमा देशका विभिन्न स्थानमा ७५ वटा जति सामुदायिक बीउ बैङ्कहरू छन् । विभिन्न प्रकारका यी बैङ्कहरूमा नेपालका करिब ३०० प्रजातिका २० हजारभन्दा बढी कृषि आनुवंशिक स्रोत संरक्षण गरिएका छन् । त्यसबाहेक विश्वका विभिन्न २५ देशका अन्तरराष्ट्रिय बैङ्कमा २५ हजार २९७ नेपालका रैथाने आनुवंशिक स्रोत (बाल तथा वागवानी र सूक्ष्म जीवाणुलगायत) सुरक्षित राखिएको केन्द्र प्रमुख डा शर्माले जानकारी दिए ।

यस बैङ्कमा एक लाख सङ्कलन रोख्ने क्षमताको ५०—१०० वर्षसम्म बीउ संरक्षण गर्ने दीर्घकालीन, ५० हजार क्षमताको १०—१५ वर्षसम्म संरक्षण गर्नसक्ने मध्यमकालीन र प्राकृतिक तापक्रम तथा आद्रतामा अल्पकालीन मौसमी भण्डारण कक्ष रहेका छन् । यहाँ संस्था र व्यक्तिले पनि निःशुल्क रूपमा आफ्ना बीउ राख्नसक्ने ‘लकर’ सुविधा रहेको छ ।

अब गर्नुपर्ने काम

जिन बैङ्क प्रमुख डा शर्माका अनुसार कृषि जैविक विविधताको कुरा गर्दा बाली, पशुपन्छी, घाँसेबाली, कृषि—कीरा, कृषि—सूक्ष्म जीवाणु, जलीय कृषि आनुवंशिक स्रोत गरी छवटा सम्भागलाई नै ध्यान दिनुपर्छ । जिन बैङ्कले यी छवटै सम्भागलाई हेरेर एक सय एक असल अभ्यास भनेर काम गरिरहेको छ । सरकारले कृषि दशकसमेत घोषणा गरेको अवस्थामा अब सरोकार भएकाहरूले रैथाने कृषि स्रोतले खान पुग्दैन भन्ने भाष्य बदल्दै आयातितभन्दा हाम्रै माटो, भूगोल र हावापानी चिनेको स्रोतमा सम्भावना छ भनेर आशा जगाउनुपर्ने डा शर्माको भनाइ छ ।

“यसमा पनि कृषि र गैरकृषि स्रोतहरू छन्, हालसम्म गैरकृषि स्रोतमा बजेट, तोकिएको जनशक्ति, संरक्षण क्षेत्र, निकुञ्जलगायतको पर्याप्त व्यवस्था गरिएको छ । कृषि स्रोतमा भने न बजेट, न शिक्षा, न त मौलिक ज्ञानलाई प्रोत्साहन नीति छ”, उनी भन्छन्, “त्यसैकारण किसान र कृषि क्षेत्र समस्यामा छ । किसानका ग्राहक धेरै हुनुपर्नेमा किसानलाई धेरै ठाउँमा ग्राहक बन्ने उल्टो बाटो बनेको छ । पसलमा बेचेर करोडपति बन्ने तर किसानका उत्पादन नै नबिकेर थप दुःखी बन्ने अवस्था छ, यसलाई सुधार्ने गरी काम गर्नुपर्छ ।”

त्यसका लागि डा शर्मा तीन वटा काम गर्नुपर्ने आवश्यकता औँल्याउँछन् । पहिलो, सरकारले स्थानीय र रैथाने कृषिउपजको पहिचान गरी त्यस्ता स्रोतलाई बिनाकर स्वतः किनबेचको व्यवस्था गर्ने । दोस्रो, किसानको घरघरलाई पसलका रूपमा विकास गर्ने नीति बनाउने र कृषिमार्टहरूमा ६०÷७० प्रतिशत रैथाने स्रोत हुनुपर्ने मापदण्ड बनाएर लागू गर्ने र रैथाने स्रोतमा अनुसन्धान, त्यसको प्रयोग र विस्तारका लागि लगानी बढाउने तथा शिक्षामा जोड दिने । तेस्रो, देशमा कम्तीमा तीनवटा कृषि राष्ट्रिय निकुञ्ज स्थापना र रैथाने कृषि प्रवद्र्धनका लागि कृषि राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्ने ।

यस्तै, नेपालमा हाल ७५ वटा सामुदायिक जिन बैङ्क स्थापित छन्, तीमध्ये करिब ५५ वटा क्रियाशील छन् । गाउँघरमा पाइने स्थानीय जातहरूको संरक्षण तथा कृषकको सहज पहुँच पुग्ने गरी समुदायका किसानहरू नै मिलेर यस्तो अभ्यास गर्ने गरिएको छ । यिनले आफ्नो क्षेत्रमा पाइने बाली, घाँसेबाली, जलीय कृषि वस्तु, पशुपक्षी, किरा, सूक्ष्म जीवाणुको आणुवंशिक विविधता संरक्षण तथा उपयोगमा योगदान गरिरहेका छन् । यी बैङ्कलाई थप व्यवस्थित गर्दै स्थानीय स्रोत, सीप र ज्ञानको सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको सामुदायिक बीउ बैङ्क सङ्घ नेपालका अध्यक्ष पार्वती भण्डारीको भनाइ छ ।

उनी नेपालका रैथाने बालीको संरक्षणका लागि सामुदायिक रूपमा निकै जागरण आएकाले अब यही स्रोतमार्फत आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश फैलाउन जरुरी रहेको बताउँछन् । “हामा रैथाने स्रोतमाथि विभिन्न कारणले सङ्कट आएको छ तर सरकार, सरोकारवाला सबैले यो सङ्कटको सामनाका लागि काम नगरी हुँदैन भन्ने सोचको पनि विकास भएको छ”, उनी भन्छन्, “यसलाई उपयोग गर्दै रैथाने बीउ संरक्षण, त्यससँग जोडिएका ज्ञान प्रवद्र्धन र पुस्तान्तरण तथा उत्पादनको बजार सुनिश्चिततामा लाग्नुपर्ने आवश्यकता छ ।”

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

घोराही। देशभर फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन सुरु गरेको छ । फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा टायल उत्पादन सुरु भएको हो ।

राप्ती गाउँपालिका–२ पुन्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन सुरु गरिएको छ । फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुरूप स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा फोहोरबाट टायल, इन्टरलक, इँटालगायत सामग्री उत्पादन गर्न थालिएको हो ।

राप्ती गाउँपालिका र इको फ्यामिली प्राइभेट लिमिटेड हेटौँडाको सहकार्यमा फोहोरलाई व्यवस्थापन गरेर नगल्ने फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन गर्न थालिएको इको फ्यामिली प्रालिका सुपरभाइजर लालबहादुर चौधरीले बताए ।

सुपरभाइजर चौधरीका अनुसार फोहोरका रूपमा फालिने चाउचाउ, बिस्कुट, भोला, गुट्कालगायत प्लास्टिकबाट टायल, इन्टरलक, टाँक उत्पादन गर्ने योजना भए पनि पहिलो चरणमा टायल उत्पादन गरिएको छ ।

उत्पादित टायलको मूल्य ३५ रुपैयाँ तोकिएको छ । यद्यपि गाउँपालिका भित्रका नागरिकलाई २० प्रतिशत छुटमा दिने व्यवस्था गरिएको गाउँपाकिलाले जनाएको छ ।

लुम्बिनी प्रदेशको राजधानीसमेत रहेको राप्ती गाउँपालिकामा फोहोर व्यवस्थापनको चुनौती बढ्दै गएपछि गाउँपालिकाले नीति नै बनाएर दीर्घकालीन योजना बनाएको गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीको भनाइ छ ।

विक्रम संवत् २०७९ भदौमा भएको सम्झौताबमोजिम गाउँपालिकाले फोहोर सङ्कलन गरेर स्रोत केन्द्रसम्म पुर्‍याइदिने र बाँकी फोहोर वर्गीकरणदेखि प्लास्टिक सामग्री र जैविक मल उत्पादनको काम उक्त कम्पनीले गरिरहेको छ ।

स्वच्छ र हरित पालिका निर्माण गर्ने अभियानअन्तर्गत फोहोरबाट प्लास्टिक सामग्री उत्पादनका लागि गाउँपालिकाले दुई करोड २० लाख रुपैयाँ बढी लगानी गरिसकेको उपाध्यक्ष चौधरीले बताइन् ।

उक्त रकमबाट जग्गा तारबार तथा स्रोत केन्द्रका लागि दुई वटा घर निर्माण गरिएको छ । कम्पनीले यहाँ प्रयोग नहुने फोहोरलाई कबाडमा बिक्री गर्ने र त्यसबाट गाउँपालिकाले निकासी कर लिने गरी सहमति भएको छ । नौ वटा वडा रहेको राप्ती गाउँपालिकाबाट दैनिक आठ ट्र्याक्टर फोहोर सङ्कलन हुँदै आएको छ ।

फोहोर सङ्कलनदेखि वर्गीकरणसम्मको काम गर्न १८ जनाले रोजगारी पाएका छन् । जसमा आठ जना कम्पनीका तर्फबाट राखिएको छ भने १० जना गाउँपालिकाका तर्फबाट राखिएको छ ।