`

बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा शुक्रबार उनले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्थालाई सच्याउनका लागि ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको बताएका हुन् ।

ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेकाले उक्त लक्ष्यलाई पूरा गर्न प्राधिकरणका कर्मचारीको ठूलो मेहनत आवश्यक रहेको बताए । “छोटो समयमा रु ६४ खर्ब लगानी गरेर ठूलो लक्ष्य हासिल गर्दैै गर्दा लाखौँ व्यक्तिले रोजगार पाउनाका साथै राज्यलाई खर्बौं राजस्व आम्दानी हुने र अन्य क्षेत्रसमेत चलायमान हुन्छ”, उनले भने ।

मन्त्री खड्काले विद्युत् प्राधिकरणभित्र रहेका ज्यालादारी कर्मचारीको समस्या बढी रहेकाले यसको समाधानका लागि काम गरिने बताए । “ज्यालादारी कर्मचारी नै बढी दुर्घटना र पीडामा पर्नुभएको छ, उहाँहरूलाई पनि ख्यालमा राखेर सेवासुविधा थप्नुपर्छ भनेर लागेका छौँ, सेवासुविधाबारे मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेखेर पठाएको छ, चाँडै अर्थ मन्त्रालयबाट निर्णय हुन्छ भन्ने अपेक्षा छ”, मन्त्री खड्काले भने ।

मन्त्री खड्काले विद्युत् ऐन चाँडो संसद्बाट पास हुने चरणमा रहेको बताउँदै मुलुकको आवश्यकतालाई हेरेर सरकारले आफ्ना निकायलाई परिष्कृत गर्दै लैजाने बताए । प्राधिकरणलाई ‘अन्डरवन्डलिङ’ गरे कर्मचारीलाई पनि फाइदा हुने उनको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले विदेशमा श्रम गर्न गएका नेपालीले कमाएको रकम जलविद्युत् क्षेत्रमा लगानी ग¥यो भने दीर्घकालीन फाइदा हुन्छ भनेर त्यस्ता रकमलाई जलविद्युत् क्षेत्रमा लगाउन सरकारले काम गरिरहेको बताए । पर्यटन, कृषि, उद्योगभन्दा अगाडि ऊर्जा क्षेत्रबाट फाइदा लिन सक्छौँ भनेर सरकार लागिरहेको उनको भनाइ थियो ।

विश्व बैंक समूहको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक

काठमाडौँ । विश्व बैंक समूहले ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ (२०२५–२०३१) सार्वजनिक गरेको छ । आगामी ६ वर्षका लागि नेपालमा विश्व बैंक समूहको प्रस्तावित रणनीतिक साझेदारी तथा सहकार्यको योजनासहित फ्रेमवर्क ल्याइएको हो ।

शुक्रबार एक औपचारिक कार्यक्रमबीच उक्त फ्रेमवर्क सार्वजनिक गरिएको हो । कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फ्रेमवर्लले नेपालको १६औँ योजनासँग मेल खाने र नेपालको संरचनात्मक आर्थिक रूपान्तरणमार्फत विकास, सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि आवश्यक मार्गचित्र प्रस्तुत गर्ने गरी तयार पारिएको बताए ।

यसले समावेशी आर्थिक वृद्धि, उत्पादनशील रोजगारी, प्रतिस्पर्धात्मकता अभिवृद्धि, दिगो सामाजिक सुरक्षा र जलवायु उत्थानशीलताजस्ता नेपालका प्रमुख प्राथमिकतालाई समर्थन गर्ने अर्थमन्त्री पौडेलको भनाइ थियो ।

“यो फ्रेमवर्क नेपालले सामना गरिरहेका दुई प्रमुख चुनौतीहरू–रोजगारी सिर्जना र विपद् उत्थानशीलता अभिवृद्धि गर्ने तथा हाम्रा नागरिक, विशेष गरी कमजोर वर्गको जीवनस्तर सुधार गर्ने विषयमा केन्द्रित रहेको भन्ने लागेको छ”, अर्थमन्त्री पौडेलले भने, “यसको कार्यान्वयनले नेपालको व्यावसायिक वातावरण सुधार, पूर्वाधारको विकास र पर्यटन प्रवद्र्धन तथा शिक्षा र सीप अभिवृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने विश्वास छ ।”

पूर्वाधार र डिजिटल पहुँच वृद्धिमा गरिने लगानीले आर्थिक वृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा नागरिकको सङ्कट उत्थानशीलता वृद्धि गर्न सहयोग पुग्ने र समुदायलाई आर्थिक र सामाजिक जीवनमा अझ सक्रिय रूपमा सहभागी गराउने आशा गर्न सकिने अर्थमन्त्री पौडेलको भनाइ थियो ।

त्यस्तै, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्यधिक संवेदनशील देशका रूपमा नेपालले विपद्को तयारी, जोखिम न्यूनीकरण र स्रोतको दिगो उपयोगमा प्राथमिकता दिनुपर्ने अवस्था रहेको उनले बताए ।

सार्वजनिक संस्थाको सुदृढीकरण, जवाफदेहिता र प्रभावकारितामा फ्रेमवर्कले जोड दिनु सकारात्मक रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बलियो संस्थाले मात्र विकास लक्ष्यलाई वास्तविक रुपमा रूपान्तरण गर्नसक्ने बताए । सार्वजनिक वित्त व्यवस्थापन, खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैंक समूहसँग सहकार्य गर्न नेपाल प्रतिबद्ध रहेको उनले बताए ।

फ्रेमवर्क सार्वजनिक कार्यक्रममा विश्व बैंक समूहका प्रबन्ध निर्देशक वेनचाई झाङले आन्तरिक रोजगारी सिर्जना गरी आर्थिक वृद्धि हासिल गर्ने र प्राकृतिक प्रकोपप्रति सहनशीलता, जलवायु परिवर्तनद्वारा सिर्जित जोखिम न्यूनीकरणजस्ता विषयलाई प्राथमिकतामा राखेर यो फ्रेमवर्क ल्याइएको बताए । यो फ्रेमवर्कका योजना तथा कार्यक्रम नेपालको १६औँ आवधिक योजना (आव २०८१/८२–२०८५/८६) सँग समन्वय हुने गरि ल्याइएको उनको भनाइ थियो ।

नेपालको विकास आवश्यकता समेतलाई हेरेर १६औँ योजनासँग समन्वय हुने गरी विश्व बैंकले यो फ्रेमवर्क ल्याएको छ । “देशको विकास लक्ष्य र आवश्यकताअनुसार रोजगार सिर्जना गर्ने, दिगो आर्थिक वृद्धि, चरम गरिबी अन्त्य, दिगो पूर्वाधार विकासजस्ता विषयलाई फ्रेमवर्कले प्राथमिकतामा राखेको छ”, प्रबन्ध निर्देशक झाङले भने ।

सोही कार्यक्रममा नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैंक देशीय निर्देशक डेभिड सिस्लेनले नेपालको विकास आवश्यकतासँग समन्वय र सहकार्य हुने गरि यो फ्रेमवर्क आएको तथा यसले रोजगारी सिर्जनालाई केन्द्रमा राखेको बताए ।

जिडिपीको २५ प्रतिशत योगदान रेमिट्यान्सबाट रहेको र अनौपचारिक बेरोजगारी समस्याका रुपमा रहेकाले यसलाई कसरी आन्तरिक उत्पादन बढाएर कसरी सुधार गर्दै जाने भन्नेतर्फ मार्गदर्शन गर्न यो फ्रेमवर्क उपयोगी हुने उनको भनाइ थियो । नेपालका दिगो पूर्वाधार निर्माणसँगै निजी क्षेत्रले नेतृत्व गरेको पर्यटन क्षेत्र विकास गरिनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का दक्षिण एसिया क्षेत्रीय निर्देशक इमाद फाकुरीले नेपालको हकमा आर्थिक विकास र प्रवद्र्धनका लागि निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने र व्यवसाय गर्ने वातावरण सहज बनाइनुपर्ने धारणा राखे । त्यस्तै, साना तथा मझौला उद्योगलाई प्रवद्र्धन गरिनुपर्ने पनि उनको भनाइ थियो ।

संसद संचालनका लागि सत्ता–प्रतिपक्षबीच २ बुँदे सहमति

काठमाडौं । सत्तापक्ष र विपक्षीबीच प्रतिनिधिसभाको अवरोध अन्त्य गरी बैठक सुचारु गर्ने सहमति भएको छ । सत्तापक्ष र विपक्षीबीच दुई बुँदे सहमति भएसँगै १८ दिनदेखि जारी अवरोध हट्ने भएको छ ।

दुई बुँदे सहमतिपत्रमा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिन र अध्ययन गर्न उपयुक्त संयन्त्र गठन गर्ने गरी प्रमुख तीन दलबीच दुई बुँदे सहमति भएको हो । सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षको सहमतिमा रास्वपाले भने विमति जनाएको छ।

‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल

काठमाडौँ । अभिनेत्री वसुन्धरा भुसालले सहकारी अपचलनसम्बन्धी कथामा आधारित रहेर चलचित्र ‘महाभोज’ तयार भएको बताएकी छिन् ।

नेपालको पहिलो चलचित्र ‘आमा’ मासमेत अभिनय गरेकी अभिनेत्री भुसालले सहकारीका नाममा ठगिएका नागरिकको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताका विषयवस्तुलाई सशक्त रूपमा उठाइएको बताइन् ।

उनले भनिन्, “सहकारीमा एक परिवारले बचत गरेको रकम अपचलन हुँदा त्यसले परिवारसँगै समाजमा पार्ने असरलाई देखाएका छौँ । म आफैँ सहकारी पीडित हुँ, मैले यसविरुद्ध आवाज उठाएँ, आन्दोलन गरेँ तर न्याय अझै पाएकी छैन । यो चलचित्र हामीजस्ता अन्यायमा परेका पीडितको आवाज हो । यसले एउटा बुलन्द आवाज उठान गर्छ भन्ने मैले विश्वास लिएकी छु ।”

अभिनेत्री भुसालले सहकारीमा जीवनभरको रकम बचत गरेका मानिसले रकम फिर्ता नपाउँदा जीविकोपार्जनमा कठिनाइ भोग्नुपरेको बतायन् । सहकारीमा बचत गरेको रकम अपचलन हुँदा आफूसहित केही नजिकका नातेदारलाई समस्या परिरहेका कारण उक्त चलचित्रले हालको एउटा सशक्त समस्यालाई उठान गरेको अभिनेत्री भुसालले बताइन् ।

“चलचित्रलाई समाजको ऐना पनि भनिन्छ, त्यसैले समसामयिक विषयलाई यस चलचित्रमा प्रस्तुत गरेका हौँ । यद्यपि, यो सहकारीको विषयमा मात्र केन्द्रित छैन”, उनले भनिन् ।

चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायत कलाकारले अभिनय गरेका छन् ।

उक्त चलचित्रलाई ‘क्लकवर्क क्रियसन’ र ‘पिक्चर फ्रेम’ ले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्र आजदेखि प्रदर्शनमा आएको छ ।

चलचित्र ‘अञ्जिला’ एक सय रुपैयाँमै हेर्न पाइने

काठमाडौँ । नेपाली चलचित्र ‘अञ्जिला’ आजदेखि एक सय रुपैयाँमा हेर्न पाइने भएको छ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीलाई प्रस्तुत गरिएको उक्त चलचित्र प्रदर्शनको एक सय दिन पूरा गर्नै लाग्दा जम्मा सय रुपैयाँमा सो चलचित्र हेर्न पाइने भएको निर्माता प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “अहिलेको प्रविधिमैत्री समयमा चलचित्र प्रदर्शनको एक सय दिन पूरा गर्नु आफैँमा ठूलो उपलब्धि हो । प्रदर्शकसँग सल्लाह गरेर ९३औँ दिनदेखि चलचित्रलाई सय रुपैयाँमै हेर्न पाउने व्यवस्था गरेका छौँ । नेपाली फुटबल र खेलाडीसँग जोडिएको विषयमा बनेको चलचित्र यति सस्तोमा हेर्न पाइने भएपछि अरू के चाहियो, यसबाट अत्यन्त खुसी र हर्षित हुन पाएको छु । यसले आगामी दिनमा अन्य खेलाडीको विषयमा चलचित्र बनाउन चलचित्र निर्माता तथा निर्देशकलाई प्रेरणा मिलेको छ ।”

उनले सामाखुसीस्थित सिटीस्क्वायर मलमा रहेको क्युएफएक्स चलचित्र भवनमा सय रुपैयाँमै ‘अञ्जिला’ हेर्न पाइने बताए । कप्तान सुब्बाको जीवनीमा आधारित सो चलचित्रमा मिलन चाम्सले निर्देशन गरेका हुन्। यसैगरी, कप्तान सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।

“चलचित्र सफल भइसकेको छ, तर पनि प्रेरणादायी चलचित्र हेर्न चाहनेका लागि यो ‘अफर’ ल्याइएको हो । यसले हाम्रो सय दिन पूरा हुने उत्सव मनाएको आभाष गराउँछ”, उनले भने ।

गत वर्ष फागुन २९ मा प्रदर्शन सुरु भएको चलचित्र ‘अञ्जिला’ ले घरेलु ‘बक्सअफिस’मा १० करोडको व्यापार (ग्रस कलेक्सन) गरेको वितरक श्रेष्ठले जानकारी दिए ।

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

-वासुदेव पौडेल, गण्डकी । लहरै गुचमुच्च घरहरू, ढुङ्गैढुङ्गले छपक्क छापिएका बाटाहरू, गाउँको सिरानमा गुम्बा, बीच भागमा जलदेवीको मन्दिर आदि । लम्जुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित सिउरुङ गाउँको विशिष्टता हो यो ।

गुरुङ जाति बाहुल्य यो गाउँ प्राकृतिक रूपमा जति सुन्दर छ सांस्कृतिक रूपमा पनि उत्तिकै आकर्षक रहेको छ । समुन्द्री सहतबाट एक हजार ८५४ मिटर उचाइमा रहेको यो गाउँ यतिखेर प्रकृति र संस्कृतिका माध्यमबाट पर्यटक लोभ्याउँदै आएको छ ।

कृष्णचरित्र, घाटु, लामा, झाँक्री, घ्याप्रिङ, झ्याउरे र रोधीलगायत नाचले यहाँको सांस्कृतिक महत्वलाई उजागर गरिरहेका छन् । गुरुङ जातिका पुराना संस्कृति तथा संस्कार जोगाइराख्न र पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृतिको पुस्तान्तरणका लागि निरन्तर पहल भइरहेको सिउरुङ पर्यटन व्यवस्थापन उपसमितिका सचिव एवम् सिउरुङ घरबास (होमस्टे)का सचिव उमरबहादुर गुरुङले जानकारी दिए । यहाँबाट देखिने हिमालचुली, मनास्लु, डा हर्क पिक, माछापुच्छे«, बौद्ध, लमजुङ, अन्नपूर्णलगायत हिमाल आँखै अगाडि देखिनुले पनि यहाँको महत्व अझै बढाएको छ ।

उनका अनुसार सिउरुङलाई २०६२ सालबाट पर्यटकीय गाउँ बनाउने लक्ष्यका साथ स्थानीयवासी सक्रिय बनेका छन् । गाउँमा कुल ११५ घरधुरी रहेकामा १८ वटा घरमा घरबास सञ्चालन गरिएको छ । सिउरुङमा स्थानीयवासीकै सक्रियतामा विभिन्न कार्यक्रम गर्नका लागि सामुदायिक भवन निर्माण गरिएको छ । घले लामिछाने भाइखलकबाट ६५ लाखको लागतमा भवन निर्माण गरिएको र अन्य पूर्वाधार निर्माणका कामहरू भइरहेका सचिव गुरुङले जानकारी दिए ।

स्थानीयवासीले यहाँ आउने पर्यटकलाई सामुदायिक भवनमा राखेर स्वागत सत्कार गर्नाका साथै सोरेठी, घाटु, कृष्णचरित्र, लोकदोहोरी, रोधिलगायतका परम्परागत नृत्यहरू प्रस्तुत गर्ने गरेको स्थानीयवासी एवम् अर्का होमस्टे सञ्चालक सन्तकाशी गुरुङले जानकारी दिए । यहाँस्थित होमस्टेमा पाहुनालाई जङ्गली च्याउ, रातो भट्ट, लेकाली गुन्द्रुक, रातो चामलको भात, कोदो तथा मकैका परिकार, स्थानीय आलु, घरमौरी, भिरमौरी, टिम्मुरको अचार, सिल्टिमुरको चिया आदिको स्वाद लिने व्यवस्था मिलाइएको छ । स्थानीयवासीले गाउँमै उत्पादन गरेका खाद्यान्नबाट पर्यटकलाई स्वागत गर्ने गरेका छन् ।

होमस्टे सञ्चालन भएयता दैनिक १०÷१५ जनासम्म विदेशी पर्यटक आइरहने बताउँदै सचिव गुरुङले विदेशी पर्यटकका साथै स्वदेशी पर्यटकको आगमन बढ्दै गएको बताए ।

“होमस्टे सञ्चालनका लागि गाउँपालिकासँगै तारा गाउँ रिसोर्ट विकास समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लगायत संस्थाबाट स्थानीयलाई तालिम प्रदान गरिएको छ । यस्तै, गाउँमा सङ्ग्रहालय भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट २० लाख सहयोगका साथै होमस्टेमा सामग्री व्यवस्थापनका लागि विभिन्न समान खरिदका लागि पाँच लाख सहयोग प्राप्त भएको छ”, उनले भने ।

होमस्टे सञ्चालक तथा कार्यपालिका सदस्य पारकाशी गुुरुङले सिउरुङ धेरै पर्यटकीय सम्भावना बोकेको ठाउँ भएको बताउँदै यसको उजागर हुनु जरूरी छ भने । यहाँको पर्यटकीय महत्वलाई उजागर गर्न स्थानीयवासी जागरुक भएका र अब राज्यका सबै निकायको साथ र सहयोग आवश्यक भएको उनले उल्लेख गरे ।

लम्जुुङ सदरमुकाम बेँसीसहरबाट खुदी, तरापु, ढगैं हुँदै सिउरुङ पुग्न करिब २२ किलोमिटर दूरी पार गर्नुपर्छ । यहाँ पुग्न बाटोको भने समस्या छ । बाटोका साथै ठाउँठाउँमा साइनेज पोष्ट, स्थानीय पथप्रदर्शक आदि आवश्यक रहेको उनले बताए ।

गाउँ हुँदै धार्मिक महत्वको दूधपोखरी गइने भएकाले उक्त स्थानसँग गाउँको पर्यटनलाई जोड्नका लागि तीन चरणसम्म दूधपोखरी महोत्सव गरिसकिएको छ । दूधपोखरी जाने मार्गको थुर्जु फाँटमा गरिएको उक्त महोत्सव पछिल्लो समयमा भने निरन्तरता दिन नसकिएको उनले जानकारी दिए ।

सिउरुङबाट थुर्जु–दूधपोखरी हुँदै कास्की जिल्लाको पर्यटकीय गाउँ सिक्लेस–ताङतिङ जाने पदमार्ग रहेको छ । यस्तै, यहाँबाट कालाघिरिङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गको च्याम्चे र नामुनभञ्ज्याङ हुँदै मनाङ पुग्ने दुईवटा पदमार्ग छन् ।

सिउरुङ गाउँलाई दूधपोखरी, गुुरुङ देउराली हुँदै मनाङको तिमाङलगायत स्थान जोड्ने गुरुङ सम्पदा पदमार्गसँग जोड्ने गरी नक्साङ्कनसँगै प्रवर्द्धनात्मक कार्यक्रमसमेत अघि बढाइएका गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले बताए । सङ्घले हालै पोखराबाट लम्जुङको सिङ्दी, पसगाउँ, घनपोखराबाट दूधपोखरी हुँदै सिउरुङलगायतका स्थानको अन्वेषणात्मक पदयात्रा सम्पन्न गरेको उनले जानकारी दिए ।

प्राचीन भेडीगोठ, नुनबोक्ने मार्ग आदिलाई पदयात्रा पर्यटसँग जोड्दै पदमार्गमा पर्ने पर्यटकीय गुरुङ गाउँहरूलाई गुरुङ सम्पदा पदमार्गमा समेटिएको उनले बताए । पदयात्रा पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्दै आर्थिक समृद्धि हासिल गर्नुपर्ने उनको भनाइ छ ।

केयुको ३०औँ दीक्षान्तमा एक हजार १२९ विद्यार्थी दीक्षित

काभ्रे । काठमाडौँ विश्वद्यिालय (केयु) को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा आज विभिन्न तह एवं विधामा एक हजार १२९ विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षान्त समारोह प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षमा सम्पन्न भएको समारोहमा अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत बे्रन्डन जी कारको प्रमुख आतिथ्य तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुजी पन्तको समुपस्थिति रहेको थियो ।

समारोहमा स्कुल अफ आर्टसका १६३, स्कुल अफ एजुकेसनका १०२, स्कुल अफ इञ्जिनियरिङका ६८, स्कुल अफ मेनेजमेन्टका ११०, स्कुल अफ मेडिकल साइन्सेजका ६६१ र स्कुल अफ साइन्सका २५ जना विद्यार्थी दीक्षित भएका हुन् ।

यस्तै समारोहमा विश्वविद्यालयका आर्टस्, एजुकेसन, इञ्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेन्स र साइन्स सङ्कायका पिएचडी तहका १४, डिएम तहका आठ, एमसीएच तहका १०, एमफिल तहका ६९, स्नातकोत्तर तहका ५१३, पिजीडी तहका चार र स्नातक तहका ५१९ जना दीक्षित हुनेछन् ।

दीक्षित हुनेमध्ये ५० दशमलव ९३ प्रतिशत छात्र र ४९ दशमलव ०७ प्रतिशत छात्रा छन् । दीक्षित हुने विदेशी विद्यार्थी भुटान, भारत, श्रीलङ्का र माल्दिभ्स गरी चार देशका ११८ जना अर्थात् १० दशमलव ४५ प्रतिशत रहेको केयुले जनाएको छ ।

समारोहमा विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रधानमन्त्री ओली र कारले संयुक्त रुपमा स्वर्णपदक प्रदान गरेका थिए । चान्सलर स्वर्णपदकमा स्नातकोत्तर तहमा सबभन्दा बढी सिजिपए प्राप्त गर्ने विद्यार्थी दयाराम सिंखडा, भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थी एजल सुजखु, जुद्धबहाुर श्रेष्ठ स्वर्णपदकबाट कृष्णबाबु भट्टराई, रणबहादुर शाह स्वर्णपदकबाट एमबिए तहमा सर्वोत्कृष्ट विद्यार्थी तरुण अग्रवाल, रमेशप्रसाद सिंह स्वर्णपदकबाट स्नातकोत्तर तह एमएस् अर्थोपेडिक्समा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने सुयश तिमल्सिना, महेशनाथ पराजुली स्वर्णपदकबाट स्कुल अफ एजुकेसनअन्तर्गत दुईवर्षे स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने छात्रा युरिशा उपाध्याय र प्रेमराज पन्त स्वर्णपदकबाट स्नातक तह (स्कुल अफ म्यानेजमेन्ट)मा सबैभन्दा बढी सिाजपिए प्राप्त गर्ने विद्यार्थी एजल सुजखुलाई पदक प्रदान गरिएको हो ।

स्कुल अफ इञ्जिनियरिङअन्तर्गत ‘डाक्टर अफ फिलोसफी इन जियोम्याटिक्स् इञ्जिनियसिरङ’मा एक जना, स्कुल अफ मेनेजमेन्टअन्तर्गत ‘ब्याचलर अफ प्राफेसनल हस्पिटालिटी’मा २० जना र स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत ‘डाक्टर अफ मेडिसिन इन पल्मोनरी क्रिटिकल केयर एण्ड स्लिप मेडिशिन’मा एक जना, ‘एमएससी इन कम्युनिटी हेल्थ नर्सिङ’मा एक जना, ‘एमएससी इन साइक्र्याटिक नर्सिङ’मा दुई जना, ‘मास्टर्स अफ साइकोथेरापी इन मस्कुलोस्केलेटल साइकोथेरापी’मा पाँच जनालाई उपाधि प्रदान गरिएको केयुले जनाएको छ ।

समारोहमा कारले माउन्ट सिनाई समन्वय केन्द्र र सहकार्यको नेतृत्व गर्न पाउँदा आफु धेरै भाग्यशाली भएको बताउँदै नेपालको उद्देश्य चिकित्सा शिक्षालाई अगाडि बढाएर, उच्च–गुणस्तरको हेरचाह बढाएर तथा देशभित्र अनुसन्धान अवसरलाई बढावा दिएर नेपालका नागरिकको स्वास्थ्य सुधार गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्लेले समारोहमा उपस्थितलाई स्वागत गर्दै नेपाललागयत संसारकै उच्च शिक्षा यतिखेर परिवर्तनको अति महत्वपूर्ण र निर्णायक चौबाटोमा रहेकाले कक्षाकोठा, प्रयोगशाला र कार्यशालामा आधारित शिक्षण सिकाइमार्फत युवाको मस्तिष्कमा जानकारी, ज्ञान र सीपका रुपमा जुन बोझ बोकाइने पद्दति अन्त्यतिर दोहोरिरहेको बताए ।

तिसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी केयुबाट ४७ हजार ८ सय ३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये पाँच हजार ६६० जना अर्थात् ११ दशमलव ८३ प्रतिशत विद्यार्थी विदेशी रहेको जनाइएको छ ।

कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम निस्कने अपेक्षा व्यक्त गरेकी छन् ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबारको बैठकमा मन्त्रालयको कामकारबाहीका बारेमा जानकारी गराउँदै उनले आफू परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि नेपालका मित्रराष्ट्र तथा विश्व समुदायसँग कूटनीतिक सक्रियता बढाएको बताएकी हुन् ।

मन्त्री डा राणाले भने, ‘कूटनीति भनेको एउटा प्रक्रिया हो । आजको आजै यसबाट प्रतिफल हात लागिहाल्ने पनि होइन । विश्व समुदाय, अन्तर्राष्ट्रिय मञ्चहरू तथा द्विपक्षीय एवं बहुपक्षीय भेटहरूमा नेपालको सहभागिता र संलग्नता बढाई आफ्ना मुद्दा स्थापित गर्ने प्रयास गरिरहेका छौँ । प्रतिफल राम्रै निस्कने छ भन्ने मलाई विश्वास छ ।’

सांसदहरूका प्रश्नको जवाफमा मन्त्री डा राणाले सगरमाथा संवादको आयोजना गरेर जलवायु परिवर्तनका कारण समस्यामा परेको नेपालले यससम्बन्धी आफ्नो ‘एजेन्डा’लाई विश्व समुदायमा स्थापित गर्ने काम गरेको बताइन् ।

कोप ३० देखि आगामी दिनमा विश्वमा आयोजना हुने जलवायुसम्बन्धी कार्यक्रममा सगरमाथा संवादमार्फत पारित कार्ययोजनालाई नै अघि सारिने जानकारी दिँदै उनले सगरमाथा संवादमा नेपालका छिमेकी राष्ट्र भारत र चीनलगायत कैयौँ देश र अन्तर्राष्ट्रिय सङ्घ–सङ्गठनको सहभागिता एवं नेपालका मुद्दामा साथ र सहयोग गर्ने प्रतिबद्धता पनि नेपालको कूटनीतिक उपलब्धि भएको बताइन् ।

नेपालको श्रम गन्तव्य नरहेका र अवैध रूपमा विदेश पुगेका नेपालीका सम्बन्धमा गृह र श्रम तथा रोजगार मन्त्रालयसँगको समन्वयमा काम अघि बढाइएको उनले बताइन् ।

मन्त्री डा राणाले विश्वका कुनै पनि मुलुकमा रहेका नेपाली नागरिकलाई आवश्यक सेवाका लागि ‘पासपोर्ट’ तथा ‘कन्सुलर’ सेवाका टोली खटाएर सेवा दिइएको बताइन् ।

‘नेपालको परराष्ट्र नीतिलाई थप अब्बल र विस्तारित बनाउन तथा विश्वमा विकसित विभिन्न परिस्थितिका कारण नेपाली नागरिकलाई आवश्यक कन्सुलर सेवासमेत प्रदान गर्नका लागि आवश्यक जनशक्तिको व्यवस्थासहितको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर दरबन्दी थप गरी सेवा प्रदान गरिएको छ’, त्यस अवसरमा उनले भनिन् ।

मन्त्री  राणाले अन्तर्राष्ट्रियस्तरमा देखिएको राजनीतिक परिवेशका कारण सहयोगका ‘मोडालिटी’ मा पनि परिवर्तन हुने अवस्था देखिएको भन्दै नेपालले अघि बढाउने कूटनीतिक पहलहरूमा पनि अब विचार गर्नुपर्ने अवस्था रहेको संसदीय समितिमा जानकारी गराइन्  ।

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले असार १५ गते दिउँसो १ बजे बस्ने गरी बैठक तय भएको जानकारी दिएका छन् ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। पौडैलले पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई उपस्थिति हुन आग्रह गरेका छन् ।

नेपाल कसैको मातहतमा रहेन र रहँदैन पनिः प्रधानमन्त्री ओली

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताएका छन् ।

शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सानो राष्ट्र भए पनि कसैको दयामायाले मातहतमा नरहेको उल्लेख गर्दै स्वाधीनताका साथ बसेको बताएका हुन् ।

‘दुनियाँमा नेपाल नेभर कोलोनाइज, कसैको मातहतमा रहेन र रहँदैन पनि, विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पुर्खाले चक्कु लिएर तोपलाई हराएर देशको स्वाधिनता बचाएका हुन्’, प्रधानमन्त्री ओलीले भने ।

उनले ‘नेपाली बहादुर’ मात्रैको परिचयले नपुग्ने भएकाले नेपाली राम्रो जनशक्ति पनि हो भनेर परिचय थप्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले ‘अब नेपालको परिचय इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’ भनी परिचित गराउनुपर्ने बताए ।

उनले भने, ‘नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ ।’

उनले इतिहासका तथ्यहरुले पहिलेदेदिनै नेपालमा ‘रिसर्चर’ भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपललगायत वनस्पतिको महत्व पुर्खाले नै पत्ता लगाएको बताए । ‘अब हाम्रा विद्यार्थी, सीपयुक्त जनशक्तिले रिसर्च र इनोभेसनमा लाग्नुपर्छ’, उनले भने ।

विश्व–पृथ्वी, जल, नक्षेत्र, ब्रमाण्ड शान्ति भनिरहेको अवस्थामा जल, वायु र आकाशमा अशान्ति नहोस् भनी कामना गरिरहेकाले हामी पनि सोहीअनुसार कर्म गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए।

‘पूर्वजदेखि नै सबै क्षेत्रमा शान्ति हुनुपर्छ भन्दै आएका थिए, यसकारण पनि समृद्ध–नेपाल, सुखी–नेपाली भनिएको हो’, उनले भने ।

भिजिट भिसा प्रकरणकाबारेमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

काठमाडौं । राष्ट्रियसभाका सदस्य गंगाकुमारी बेलबासेले भिजिट भिसा प्रकरणको अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छन्।

राष्ट्रियसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा सांसद बेलबासेले नीतिगत रुपमै हुने भ्रष्टाचारको अन्त्य गर्नका लागि उच्चस्तरीय छानबिन आयोग जरुरी भएको बताइन्।

‘नीतिगत भ्रष्टाचारको अन्त्य गर्न एउटा उच्चस्तरीय छानबिन समिति गठन गरी कर्मचारी प्रशासनलाई चुस्तदुस्त बनाउन जरुरी छ’, सदस्य बेलबासेले भनिन्, ‘अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छ, दोषीलाई छोडदिने, निमुखालाई कानुन लगाउने काम गर्नु हुँदै, जोसुकै दोषी भए पनि कानुनी कठघरामा आउँछन् भन्ने अन्तर्राष्ट्रिस्तरमा पनि विश्वास दिलाउन जरुरी छ।’

प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गरेको भए पनि अहिले छानबिन समिति यथाशीघ्र बनाएर अघि बढ्न माग गरेको र राष्ट्रियसभा निरन्तर रुपमा चले पनि उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको बताए ।

सांसद बेलबासेले भिजिट भिसा प्रकरणकै कारण केही दिनदेखि प्रतिनिधिसभा अवरुद्ध भएको र अध्यागमनमा समस्या देखिएपछि कर्मचारी अनुगमनमा तानिएको अवस्थामा अनुसन्धान जरुरी भएको उनको भनाइ थियो।

‘भिजिट भिसामा नेपालीलाई बाहिर लैजाने, अर्को कुनै देश गइसकेपछि दलालमार्फत फेरि अर्को देश लैजाने गरेको देखियो’, उनले भनिन्, ‘ट्राभल ऐजेन्सीहरु, मेनपावर एजेन्ट, कर्मचारी मिलेर भ्रष्टाचारमा मुुच्छिएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा तानेपछि प्रतिनिधिसभा अवरुद्ध छ, त्यसका लागि उच्चस्तरी छानबिन समिति गठन जरुरी छ।’

नेपालमा कानुनी राज्य भएको कुरा अन्तर्राष्ट्रिय जगतलाई देखाउनका लागि पनि छानबिन समिति जरुरी भएको उनको भनाइ थियो।

कडा डेङ्गुको क्रम बढ्दो

डा. शेरबहादुर पुन

गत वर्ष एक परिचित युवाले नाकबाट रगत बगेपछि उपचारका लागि अस्पताल आउनुभएका थिए । उहाँमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । यो अवस्था भनेको कडा वा जटिल डेङ्गुको सङ्केत हो । यसलाई ‘डेङ्गु वार्निङ’ सङ्केतका रुपमा पनि लिइन्छ । गत वर्ष काठमाडौँमा डेङ्गुले खासै चर्चा नपाएको भए तापनि धेरै सङ्क्रमितमा नाकबाट रगत बग्ने समस्या लिएर आउने गरेको चिकित्सकहरुको अनुभव छ । तर गत वर्ष धेरै मानिसहरु सङ्क्रमित भएको अवस्थामा पनि आफ्ना नियमित दैनिकीलाई निरन्तरता दिएका देखिन्थे । यस्तो अवस्थालाई वार्निङ डेङ्गु भनेर नामाकरण पनि गरिएको थियो ।

वार्निङ डेङ्गु हुँदा पनि अधिकांशले स्वस्थ परामर्शसमेत लिने गरेका थिएन । यसरी जटिल डेङ्गु हुनसक्ने प्रबल सङ्केतहरुमध्येको एक नाकबाट रगत बग्ने समस्या ह्वात्तै बढेको अवस्थालाई मध्यनजर गर्दा आगामी दिन जटिल डेङ्गु व्यापक बढ्न सक्ने प्रबल सम्भावनाको अनुमान सहजै गर्न सकिन्छ । यसर्थ, ‘डेङ्गु वार्निङ’ सङ्केतको पनि व्यापक प्रचार गर्नुपर्ने देखिन्छ ।

‘डेङ्गु वार्निङ’ का सङ्केतहरु कस्ता हुन्छन् ?

‘डेङ्गु वार्निङ’ का सङ्केतका बारेमा डेङ्गु निर्देशिकामा समावेश भएको भए तापनि सर्वसाधारणको जानकारी वा चासोमा भने खासै छैन/थिएन । हुन त ‘डेङ्गु वार्निङ’ का सङ्केतहरु विशेषतः उपचारमा संलग्न चिकित्सकहरुलाई उपचार गर्दा बढी उपयोगी हुने वा बिरामीको सम्भावित जोखिमको आकलन गर्न सहज हुने गर्दछ । सङ्क्रमितले ‘डेङ्गु वार्निङ’का केही सङ्केतहरु आफैँले पनि थाहा पाउन सक्दछन् । ‘डेङ्गु वार्निङ’का सङ्केतमा निरन्तर बान्ता हुनु, पेट असाध्य दुख्नु, रक्तश्राप हुनु (नाक, गिजा, महिलाको योनीबाट रगत बग्नु) र अति आलस्य हुनुजस्ता लक्षणहरु पर्दछन् । यीबाहेक अस्पतालमा गरिने जाँच पडतालमा रगतको परीक्षण गर्दा प्लेटलेट्सको सङ्ख्या तीव्र गतिमा घट्नु/हेमाटोकृत बढ्नु, कलेजोको आकार बढ्नु/सुन्निनु अनि एक्स–रे वा भिडियो एक्स–रे (अल्ट्रासाउड) गर्दा छाती वा पेटमा पानी जमेको देखिनु ‘डेङ्गु वार्निङ’ का थप लक्षणहरु हुन् ।

माथि उल्लिखित ‘डेङ्गु वार्निङ’का सङ्केतहरु देखिएमा तुरुन्त नजिकैको अस्पतालमा गएर परीक्षण गरेमा सम्भावित जटिलताबाट बच्न सकिन्छ । घरको परिवारमा एकजना डेङ्गु सङ्क्रमित भई पुष्टि भएको अवस्थामा परिवारको अर्काे सदस्यमा पनि उस्तै लक्षणहरु देखिए परीक्षण गर्ने प्रचलन देखिँदैन । सन् २०२२ मा काठमाडौँमा डेङ्गुको ठूलो महामारी हुँदा सङ्क्रमितको तीनदेखि पाँच गुणा बढीले आफूमा डेङ्गुको लक्षण मिल्दो हुँदा पनि रगत परीक्षण गर्ने गरेको थिएन । यसको निश्चित एन्टिभाइरल औषधि नहुनु अनि दुःखाइ कम गर्ने औषधि मात्र छ भन्ने मान्यताले पनि परीक्षण नगर्ने प्रचलन देखिन्छ । तर चिकित्सकको परामर्शअनुसार रगतको जाँच गर्न सके तीव्र गतिमा घट्दो प्लेटेलेट्सको सङ्ख्यालगायत अरु सङ्केतको आधारमा चिकित्सकलाई बिरामीको उपचार गर्नमा सहज हुने गर्दछ ।

बिरामीमा जटिल डेङ्गु देखिने सम्भावना वा जोखिमलाई धेरै हदसम्म कम गर्न सकिनेछ । माथि उल्लिखित सङ्केतहरुमध्ये नाकबाट रगत बग्ने समस्या काठमाडौँमा ह्वात्तै बढेकाले आगामी दिनहरुमा क्लासिकल डेङ्गुको लक्षणहरुको मात्र प्रचार नगरी ‘डेङ्गु वार्निङ’ का सङ्केतहरुको पनि व्यापक अनि सघन प्रचारको आवश्यकता रहेको देखिन्छ ।

अबको प्रकोप थप घातक हुनसक्ला ?

नेपालमा डेङ्गु पुष्टि भएको २० वर्ष पार गरिसकेको छ । डेङ्गुको तथ्याङ्क केलाउने हो भने नेपालमा दुई/तीन वर्षको अन्तरालमा भाइरस थप घातक अनि आक्रामक हुँदै गइरहेको देखिन्छ । सन् २०२२ मा काठमाडौँमा देखिएको डेङ्गु प्रकोप नेपालको इतिहासमा नै सबैभन्दा बढी सङ्क्रामक अनि घातक थियो । त्यस यता ठूलो प्रकोप देखिएको छैन । यसर्थ, पनि आगामी कुनै पनि समयमा डेङ्गुको प्रकोप देखिन सक्ने अनि त्यो थप घातक हुनसक्ने सम्भावना उच्च देखिन्छ । गत वर्ष ‘डेङ्गु वार्निङ’ का सङ्केतहरुमध्ये नाकबाट रगत बग्ने सङ्क्रमित ह्वात्तै बढेको थियो । त्यस्तै अघिल्ला वर्षहरुमा पनि धेरै सङ्क्रमित महिलाका योनीबाट अत्यधिक रक्तस्रावको समस्या हुने गरेको चिकित्सकहरुको अनुभव छ ।

सन् २०१९ मा पहिलोपटक काठमाडौँले डेङ्गुको ठूलो प्रकोपको सामना गर्दा भने अधिकांश सङ्क्रमितमा क्लासिकल डेङ्गुका लक्षणहरु जस्तैः टाउको दुख्ने, आँखाको गेडी दुख्ने, वाकवाक/बान्ता हुने, शरीरमा स–साना राता बिबिरा आउने, जोर्नी वा मांसपेशी दुख्ने र कतिपयमा पखाला समेत लाग्ने गरेको देखेको थियो । त्यस्तै मानिस सङ्क्रमित पुष्टि हुने बित्तिकै आत्तिने गरेको पनि देखिन्थ्यो । तर अहिले डेङ्गुप्रतिको दृष्टिकोणमा धेरै परिवर्तन भएको देखिन्छ । धेरै सङ्क्रमितहरु ‘डेङ्गु वार्निङ’ को अवस्थामा देखिन्छ । अनि धेरै ‘वाकिङ डेङ्गु’का सङ्क्रमितहरु जटिल अवस्थाका बारेमा अनभिज्ञ देखिन्छन् । तसर्थ, केही वर्षयता ‘डेङ्गु वार्निङ’ का सङ्केतहरु बढ्दै जाँदा जटिल डेङ्गुको सम्भावना अनि मृत्युको सम्भावना वा जोखिम पनि बढेर गइरहेको देखिन्छ । भाइरसको फरक सेरोटाइपले त्यही व्यक्तिलाई पुनः सङ्क्रमण गरे पनि जटिल डेङ्गु देखिन सक्ने विभिन्न अनुसन्धानहरुले देखाएका छन् ।

डेङ्गु सङ्क्रमित नै नहुन सम्भव छ ?

डेङ्गु सङ्क्रमण नहुन लामखुट्टेको टोकाइबाट बच्नु एक मात्र उपाय हो भन्ने गरिन्छ । तर प्रश्न आउँछ  ‘के यो सम्भव छ ?’ यो वास्तविकतामा असम्भव प्रायः देखिन्छ । यसर्थ, पनि होला हाल सम्बन्धित निकायको मुख्य लक्ष्य भनेको ‘शून्य डेङ्गुको मृत्युदर’ देखिन्छ । यसो हुनुमा डेङ्गु फैलाउने एडिस जातको लामखुट्टेको नियन्त्रण असम्भव प्रायः देखेर नै हो । यस्तो असम्भव देखिनुमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा देखिएको उदासीनता र दिनमा बढी लामखुट्टेको सक्रियता नै  हो । उदाहरणका लागि, कुनै चिकित्सकले बिरामी जाँच गरिरहेको बेला लामखुट्टेले टोकेमा तत्काल लामखुट्टे खोज्ने/मर्ने अवस्था रहँदैन । त्यस्तै, विद्यार्थीले कक्षामा अध्यन गरिरहेको बेला लामखुट्टेले टोकेमा पनि मार्न सक्ने अवस्था/सम्भावना हुँदैन । वा जो कोही आफ्नो काममा व्यस्त रहँदा लामखुट्टेले टोके तत्काल मार्नसक्ने सम्भावना नै हुँदैन । यी प्रतिनिधि उदाहरणहरुले पनि लामखुट्टे व्यापक फैलिए लामखुट्टेको टोकाइबाट बच्न असम्भव प्रायः नै देखिन्छ । डेङ्गु सङ्क्रमित हुँदैमा सबैलाई जटिल अवस्था सिर्जना हुने त होइन तर ‘डेङ्गु वार्निङ’का लक्षणहरु देखापरेमा भने जटिलताको सम्भावना बढ्ने हुँदा ‘शून्य डेङ्गु मृत्युदर’ को लक्ष्यमा सफलता पाउन पनि ‘डेङ्गु वार्निङ’का लक्षणहरु मिडियाका विभिन्न मध्यमहरुबाट सघन रुपमा प्रचारप्रसार गर्न ढिला भइसकेको छ । लामखुट्टेको टोकाइबाट बच्न केही सामग्रीहरु बजारमा उपलब्ध भएका देखिन्छन् । तर दैनिक अनि नियमित प्रयोग गर्न सकेन भने लामखुट्टेको टोकाइबाट बच्ने सम्भावना क्षीण नै देखिन्छ ।

अन्तमा, नेपालमा डेङ्गु पुष्टि भएको २० वर्ष पार गर्दैगर्दा भाइरसले आफूलाई थप आक्रामक र जटिल स्वरुपमा प्रस्तुत गर्दै आइरहेको देखिन्छ । काठमाडौँमा सन् २०१९ र २०२२ मा फैलिएको डेङ्गु प्रकोपहरुको बीचमा नै ठूलो भिन्नता देखिएको थियो । अर्थात् सन् २०१९ मा धेरै सङ्क्रमितहरु देखिएको भए तापनि कडा वा जटिलताको तुलना गर्दा सन् २०२२ को कम देखिएको थियो । तर कोभिड–१९ को महामारी सकिएलगत्तै सन् २०२२ मा देखिएको डेङ्गु प्रकोप भने हालसम्मकै सबैभन्दा सङ्क्रामक अनि कडा÷जटिल थियो । यसबाट पनि नयाँ प्रकोपसँगै भाइरस थप सङ्क्रामक र घातक हुने गरेको तथ्याङ्क देखिन्छ । यसो हो भने सन् २०२२ बाट हाल सन् २०२५ सम्म आइपुग्दा खासै ठूलो प्रकोप नदेखिएको अवस्थामा अबको कुनै पनि बेला डेङ्गु विगतको भन्दा थप सङ्क्रामक (धेरै सङ्क्रमित हुनसक्ने) अनि घातक (मृत्युदर बढ्न सक्ने) स्वरुपमा आउने सक्ने सम्भावनालाई नकार्न सकिदैन ।

(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटको संयोजक हुनुहुन्छ)

काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता आइतबारदेखि

काठमाडौं ।  काठमाडौं महानगरपालिका– २६ को आयोजनामा ‘काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता– २०८२’ आइतबारदेखि हुने भएको छ। काठमाडौं महानगरपालिका–२६ ले आज यहाँ पत्रकार सम्मेलन गरी आइतबार असार १ देखि ८ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा वडाध्यक्ष ख्यामराज तिवारीले समग्र खेल क्षेत्रको विकासका लागि वडाले जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए।

‘वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबल कोर्टलगायतका पूर्वाधार भएका कारण पनि वडाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको हो,’ उनले भने। वडाले खेल क्षेत्रको विकासका लागि चालू आवमा रु. ३५ लाख रकम विनियोजन गरेको वडाध्यक्ष तिवारीले बताए।

प्रतियोगिताका संयोजक एवं वडासदस्य प्रवेश श्रेष्ठले आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महानगरपालिकाभित्रका ३२ वटै वडा र काठमाडौंभित्रका अन्य १० नगरपालिकाका खेलाडीको सहभागिता रहने जानकारी दिए। प्रतियोगितामा फुटसल, टेबुलटेनिस, तेक्वान्दो र कराँतेका दुई विधा गरी पाँच विधामा प्रतियोगिता हुने उनले बताए ।

प्रतियोगिताअन्तर्गत फुटसल विधामा प्रथम हुने टोलीलाई रु. एक लाख ५० हजार, उपविजेतालाई रु. ७५ हजार र उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु. १० हजारका दरले प्रदान गरिनेछ। यसैगरी, तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय टोलीलाई क्रमशः रु. ७५ हजार, रु. ५० हजार र रु. २५ हजार तथा उत्कृष्ट खेलाडीलाई रु. १० हजार प्रदान गरिनेछ। महिला तथा पुरुष टेबुलटेनिसतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु. २० हजार, १० हजार र पाँच हजार प्रदान गरिने संयोजक श्रेष्ठले बताए।

यस्तै, डब्लुकेएफ कराँते प्रतियोगिताको महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु. ३० हजार, रु. १५ हजार र रु. १० हजार प्रदान गरिनेछ भने टोली विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु. ५० हजार, रु. २५ हजार र रु. २० हजार प्रदान गरिने जनाइएको छ। कराँतेको आइकेयूतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु. १० हजार, रु. आठ हजार, रु. ६ हजार र रु. पाँच हजार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

कमलकुमार बस्नेत, काठमाडौँ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे । दश नेपाली आरोही एकअर्काका हात समातेर राष्ट्रिय गान गाउँदै पाकिस्तानको केटु हिमालको चुचुरोमा पुगेका थिए ।
हिमाल आरोहणको इतिहासमै ‘विन्टर’ सिजनमा पहिलो पटक नेपाली आरोहीहरुले केटुको शिखर चुमेर विश्व कीर्तिमानी कायम गरेका थिए । संसारकै जोखिमपूर्ण मानिने केटुमा विन्टर सिजनमा सफलतापूर्वक आरोहण गर्नु असम्भव झैँ मानिन्थ्यो । त्यो जोखिमलाई चुनौती दिँदै नेपाली आरोहीले बनाएको विश्व कीर्तिमानी सम्भवतः नेपाली आरोहीको इतिहासकै गर्विलो दिन थियो ।

उनीहरुले आरोहण गरेको खबर विश्वका अधिकांश सञ्चारमाध्यममा ‘ब्रेकिङ न्युज’ बन्यो । किनभने केटु हिमाल आरोहणको ६७ वर्षको इतिहासमा यसअघि कसैले पनि विन्टर सिजनमा आरोहण गर्न सफल भएका थिएनन् । त्यसो त माउन्ट केटुलाई आरोहणको दृष्टिबाट संसारकै जोखिमपूर्ण हिमालका रुपमा चिनिन्छ । सन् १९५२ मा अमेरिकी आरोही जर्ज बेलले केटुबारे भनेका थिए, “इट इज स्याभेज माउन्टेन, द्याट ट्राइज टु किल यु ।” केटु चढ्न जाने आरोहीमध्ये औसतमा २३ देखि २५ प्रतिशत आरोहीको मृत्यु हुने भएकाले पनि केटुलाई चुनौती दिनु भनेको मृत्युसँग पौँठेजोरी खेल्नु हो भनिन्छ । सम्झिँदै भयानक र गर्विलो त्यही टोलीका एक सदस्य हुनुहुन्थ्यो, मिङ्मा डेभिड शेर्पा ।

“विन्टरमा केटु आरोहण हाम्रा लागि ठूलो उपलब्धि थियो, कैयौँ हिमाल कैयौँ पटक आरोहण गरेको अनुभव हुँदा पनि हामीले त्यो क्षणलाई ऐतिहासिक मानेका छौँ”, मिङ्माले भने, “त्यसअघि विन्टरमा गरिएका ४८ वटा प्रयास असफल भएका थिए, हामीले पहिलो प्रयासमै पूरा गर्यौँ ।”

सफल आरोहण हुनुका कारण टिमवर्क हो भन्छन्, मिङ्मा । उनका अनुसार तत्कालीन समयमा सबै नेपालीहरु व्यक्तिगत कीर्तिमानीका लागि केटु आरोहणको योजना बनाएका थिए । सबैलाई कीर्तिमान आफ्नो नाममा होस् भन्ने चाहना थियो । तर त्यसअघिका असफल प्रयासबारे अध्ययन गर्दा टिमवर्क नभएका कारणले हो भन्ने निष्कर्ष निस्कियो । त्यसैले व्यक्तिगत कीर्तिमानभन्दा पनि सामूहिक रुपमा प्रयास गरौँ भन्ने सहमति जुट्यो ।

“हामीहरुबीच कैयौँ पटक छलफल भयो, त्यसमा सामूहिक प्रयासमा मात्रै आरोहण गर्नेमा सहमति जुट्यो, चुचुरोभन्दा १० मिटर तलबाट हातेमालो गर्दै नेपालको राष्ट्रिय गान गाउँदै एक साथ शिखर चुम्ने निर्णय भयो”, मिङ्माले भने, “राष्ट्रिय भावनाले हामीलाई एकजुट बनायो ।”

त्यो घटना केटुको इतिहासमा नयाँ थियो भने मिङ्माका लागि भने तेस्रो विश्व कीर्तिमान । हाल उनका नाममा पाँच वटा विश्व कीर्तिमान छन् । ती सबै केटुसँगै जोडिएका छन् । उनै मिङ्मा यतिबेला छैटौँ विश्व रेकर्डका लागि केटु आरोहणको तयारीमा छन् ।

“म आगामी जुलाईमा सबैभन्दा बढी केटु आरोहण गर्ने आफ्नै रेकर्ड तोड्ने तयारीमा छु”, केही दिनअघि आरोहणसम्बन्धी कार्यक्रममा भाग लिन लन्डन जानुअघिको भेटमा उनले सुनाए । उनका अनुसार पहिलो विश्व रेकर्ड ६१ दिनमै सगरमाथा र केटु आरोहणपछि बनेको थियो । दोस्रो रेकर्ड सन् २०१९ मा केटु आरोहणपछि सबैभन्दा सानो उमेरमा आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढ्ने नाममा बनेको थियो । तेस्रो रेकर्ड १० जनाको समूहमा विन्टरमा केटु आरोहण गरेर भएको थियो । भने चौथो विश्व रेकर्ड सबैभन्दा बढी केटु आरोहण गरेर बनेको थियो ।

सन् २०२३ मा उनले सबैभन्दा छिटो अर्थात् आधार शिविरबाट चुचुरोमा १४ घण्टा २२ मिनेटमा पूरा गरेर पाँचौं विश्व रेकर्ड कायम गरे । अब उनी छैटौँ विश्व रेकर्डका लागि सातौँ पटक केटु आरोहणको तयारीमा छन् ।

मिङ्मा केटु आरोहण गर्न गएको पहिलो पटक सन् २०१३ मा हो । पहिलो पटकको प्रयास असफल भए पनि दोस्रो पटक भने सफल भयो । केटुमा उनका हालसम्म चार वटा प्रयास असफल भएका छन् । “केटु हिमाल आरोहण आरोहण आफैँमा गाह्रो छ, त्यसैले त सगरमाथामा एकै व्यक्तिले ३१ पटक आरोहण गर्दा केटुमा छपटक चढेको रेकर्ड छ”, उनले भने ।

मिङ्मा शेर्पा समुदायको भए पनि हिमाल आरोहण गर्ने उनी गाउँकै पहिलो व्यक्ति हुन् । फक्ताङ्लुङ गाउँपालिकामा जन्मिनुभएका उहाँको बाल्यकाल पनि त्यहीँ बित्यो । गाउँका अधिकांश कि ब्रिटिस लाहुरे हुन्थे भने कि त पैसा हुनेहरु अमेरिका, क्यानडा र युरोपतिर जान्थे । मिङ्माको परिवार कृषिमै निर्भर थियो ।
सन् २००७ ताका विद्यालयमा पढ्दै गर्दा घुम्नका लागि दार्जलिङको योजना बनाएर काठमाडौँ आएका उनी यतै रोकिए । तत्कालीन समयमा मधेसमा आन्दोलन चर्कंदो थियो ।

काठमाडौँमा पनि हरेक दिन बन्दका घटना भइरहन्थे । आन्दोलनका कारण उनी घर जान पाएनन् । काठमाडौँमा बस्न खर्चको जोहो गर्ने क्रममा उनले पर्यटकको भारी बोक्ने काम पाए । दिनको ३०० रुपैयाँ आम्दानी हुन्थ्यो । तै पनि सन्तुष्ट हुनुको विकल्प थिएन । त्यो समयमा चिनेजानेकाहरुले काम मिलाइदिएका थिए ।

भरियाकै काम गर्ने क्रममा मिङ्माले सन् २००९ मा मनास्लुको चार हजार ८०० मिटरको उचाइमा रहेको आधार शिविरमा ‘किचन हेल्पर’को काम पाए । आधार शिविरमा आरोहीहरु देखेपछि उनको मनमा त्यही समय म पनि हिमाल चढ्छु भन्ने रहर पलाएको थियो ।

काठमाडौँ फर्किएपछि भारी बोकेर जम्मा गरेको ३५ हजार खर्चिएर उद्धार र प्रारम्भिकसम्बन्धी आधारभूत तालिम लिए ।  त्यसपछि उनी ताप्लेजुङका दोर्जे खत्रीको सम्पर्कमा पुगे । खत्री तीन पटक सगरमाथा आरोहण गरिसकेका थिए । “उहाँलाई फोन गरेर काम मिलाइदिन भनेँ, उहाँले सन् २०१० मा मलाई सहायक गाइडका रुपमा सगरमाथा आरोहणका लागि लैजानुभयो”, मिङ्माले विगत सम्झँदै भने, “सन् २०१०, २०११ र २०१२ मा उहाँकै साथमा चीनतर्फबाट सगरमाथा आरोहण गरेँ ।”

त्यो समयमा मिङ्मा काठमाडौँबाट प्राइभेट एसएलसी दिँदै थिए । तर आरोहण चल्दै गर्दा एसएलसीको परीक्षा बीचमै छाडेर उनी आरोहणमा गएका थिए । सगरमाथा आरोहणपछि उनले उच्चस्तरीय तालिम लिनु सुरु गरे । तर त्यसको केही समयपछि आरोहणमा समस्या आयो ।

सन् २०१४ मा खुम्बु आइसफलमा १४ जना आरोहीहरुको मृत्यु भयो । त्यसैमा मिङ्माका गुरु दोर्जे खत्री पनि परे । गुरु नै नरहेपछि मिङ्मालाई अब हिमाल नचढ्ने पो हो कि भन्ने हुन थाल्यो । त्यतिखेर उहाँ अर्को कम्पनीमार्फत मकालुको आरोहणमा थिए ।

त्यसको केही समयपछि अर्थात् सन् २०१५ मा सगरमाथाको आधार शिविरमै छँदा भूकम्पले ठूलो धक्का दियो । भूकम्पका कारण आधारशिविरमा १९ जनाको मृत्यु भयो भने ६४ जना घाइते भए । उनी चार दिनसम्म आधार शिविरमै बसेर उद्धारमा सक्रिय छन् । काठमाडौँ फर्किएपछि उनी राहत लिएर सिन्धुपालचोक पुगे । सिन्धुपालचोकमा भूकम्पको दोस्रो ठूलो धक्काले तर्सायो ।

सन् २०१५ को जुलाइमा पाकिस्तानको केटुमा जाँदा अचानक मौसम प्रतिकुल भयो । क्याम्प–३ मा रहेको सबै टेन्टसहित सबै सामग्री हिम पहिरोमा बग्यो । भाग्यले यहाँ पनि मिङ्मा र उहाँको नेतृत्वको ४० जनाको टीम बच्यो ।

हिमालमा पटक–पटक भाग्यले बाँचेपछि अब सक्दो उमेरसम्म यही बिताउँछु भन्ने अठोट लिए । “हिमालमा भएका ठूला घटनामा लगातार बाँचिसकेपछि मर्नु त कर्म रहेछ भन्ने अनुभव भयो, भूकम्पमा मानिसहरु काठमाडौँका घरभित्रै मरेको घटनाले मृत्युदेखि जोखिम लिन नडराउने भन्ने भयो, मनोबल उच्च भएपछि म यो क्षेत्रमा अझ बढी सक्रिय भएँ”, उनले भने ।

मिङ्माले हालसम्म आठ हजार मिटरभन्दा अग्ला हिमाल ३५ पटक सफल आरोहण गरिसकेका छन् । सगरमाथा र मनास्लु नौ÷नौ पटक चढेका छन् भने केटु ६ पटक र बाँकी हिमालका चुचुरोमा एक÷एक पटक पुगेका छन् ।

सुरुवात नै सगरमाथाबाट गरेका मिङ्माले पाँच वटा महादेशका हिमाल चढेका छन् । अर्जेन्टिनाको अकोनकागुवा, अफ्रिकाको किलिमिन्जारो, रसियाको इलब्रस कैयौँ पटक चढेका छन् । अब उहाँको ‘बकेट लिस्ट’मा इन्डोनेसियाको कास्र्टेन्ज पिरामिड र अन्टार्टिकाको भिन्सोन म्यासिफ आरोहण बाँकी छ ।
मिङ्माले सन् २०१६ हिमाल आरोहणसम्बन्धी छ वटा भाग भएको टेलिभिजन कार्यक्रम ‘एभरेष्ट रेस्क्यु’मा काम गर्ने मौका पाए । दुई महिनामा उहाँको टिमले सगरमाथाबाट ५२ जनालाई उद्धार गर्यो । सन् २०१६ मे महिनामा मिङ्मासँग जीवनको सबैभन्दा ठूलो अनुभव पनि छ ।

तत्कालीन समयमा उनी एकैदिन सगरमाथा र ल्होत्से आरोहण गरेर आफ्नो नाममा विश्व रेकर्ड कायम गर्ने योजनामा त्यहाँ पुगेका थिए । योजनाअनुसार सगरमाथाको चुचुरोमा पुग्ने दिन पनि आयो । तर भइदियो के भने, भारत कोलकाताका एक दम्पती सगरमाथा आरोहण गरी फर्केने क्रममा थिए । तर चौथो शिविरमा श्रीमान् एक्लै आए, श्रीमतीको अत्तोपत्तो थिएन । रात ढल्दै थियो । ती महिला माथि नै छुटेको खबर सुन्नासाथ सगरमाथा आरोहणको योजना त्यागेर मिङ्मा उद्धारमा जुटे । ती महिला आठ हजार ६०० मिटरको उचाइमा एक्लै बसेकी रहिछन् । उनी हिउँले हात र खुट्टाका औँला काम नलाग्ने भइसकेको र अनुहार हिउँले डढेको अवस्थामा भेटिइन् ।

मिङ्माको टीमले रातारात उनलाई क्याम्प–फोरमा ल्यायो । भोलिपल्ट बिहान क्याम्प–३ हुँदै क्याम्प–२ मा ल्याएर हेलिकप्टरमार्फत काठमाडौँ पठायो । काठमाडौँमा उपचारपछि उनी बाँचिन्, तर हात र खुट्टाका औँला भने गुमे । ती महिलासँग त्यसयता तीन पटक भेट भइसकेको छ । प्रत्येक भेटमा आफूलाई बचाएकामा धन्यवाद दिन्छन् ।

“छ महिनाअघि काठमाडौँको विमास्थलमा भेट भएको थियो, अहिले त उमेर बढेर होला अनुहार पनि नचिनिने भएको रहेछ, मलाई नामले बोलाउँदै हात देखाएपछि पो चिनेँ”, मिङ्माले भने, “त्यो भेटमा पनि निकै आत्मीय ढङ्गले कुरा गर्दै धन्यवाद दिइन् ।”

मिङ्मा आफूले त्यो दिन लिएको निर्णय जीवनकै सबैभन्दा राम्रो हो भन्छन् । यदि त्यो दिन रेकर्डका लागि आरोहण गरेको भए अहिलेसम्म टुटिसक्थ्यो, तर ती महिला अहिले पनि जीवित छन् । “तत्कालीन समयमा लिएको निर्णयले अहिले पनि गर्व महसुस हुन्छ”, उनले भने ।

हिमाल चढ्ने मिङ्माले आरोहणसम्बन्धी काम गर्न सन् २०१६ मा कम्पनी सुरु गरे । तर व्यवसायको ज्ञान नभएकाले चलेन । सन् २०१८ मा आइपुग्दा ३५ लाख रुपैयाँ डुब्यो । हिमालमा भारी बोकेर कमाएको पैसा व्यवसायमा डुब्यो । पहिलो कम्पनी नचले पनि उनले सन् २०१८ मा निर्मल पुर्जा अर्थात् निम्स दाइसँग मिलेर एलाइट एक्सपेड कम्पनी सुरु गरे । उक्त कम्पनीमा सन् २०२१ मा मिङ्मा तेञ्जी शेर्पा पनि जोडिए ।

अहिले उक्त कम्पनीले हिमाल आरोहणसम्बन्धी काम गर्दै आएको छ । उक्त कम्पनीले स्काइ डाइभिङसम्बन्धी तालिमहरु विभिन्न देशमा सञ्चालन गर्दै आएको छ । सन् २०१९ मा मिङ्मा एकै वर्षमा १० वटा हिमाल चढे । सन् २०१९ मा निर्मल पुर्जासँग मिलेर ‘प्रोजेक्ट पोसिबल’ सम्पन्न भयो । जसमा ६१ दिनमा १४ वटै हिमाल आरोहण गर्ने निर्मल पुर्जाको अभियान सफल पार्न मिङ्माले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

त्यही प्रोजेक्टअन्तर्गत निर्मल पुर्जाले छ महिना छ दिनमा १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान कायम गरे ।
मिङ्माले हिमाल चढेर कमाएको केही पैसा यसै क्षेत्रमै गुमाएका छन्, तर समाजबाट प्राप्त सम्मानमा भने आँच आउन दिएका छैनन् । त्यसैले त मिङ्मा एभरेष्ट बैंक, स्पार्काको ब्राण्ड एम्बेस्डरका रुपमा काम गरिसकेका छन् भने माउन्टेन ड्यु, क्यानोन क्यामरा, एबोटलगायतका ब्राण्डसँग डिजिटल मार्केटिङमा काम गरिसकेका छन् ।

सगरमाथा चढ्न सजिलो भएको हो ?

पछिल्ला केही वर्षयता सगरमाथामा चढ्दा ट्राफिक जाम हुने अवस्था छ । सयौँ मानिसहरु एकसाथ चुचुरोतर्फ गइरहेको तस्बिरहरु देखिन्छन् । मैले मिङ्मालाई सोधेँ, के अहिले हिमाल चढ्न सजिलो भएको हो ? होइन– मिङ्माको जवाफ थियो ।

उनका अनुसार अहिले प्रविधिका कारण सगरमाथाबारे धेरै जानकारी हामीसँग छ । मोबाइलबाटै नेभिगेसन, जिपिएस, मौसम, अल्टिच्युडबारे सजिलै जानकारी पाइन्छ । सगरमाथा आरोहणको बाटोबारे भएका कैयौँ अध्ययन अनुसन्धानका कारण सजिलो बनाएको हो । सुरुमा सगरमाथा आरोहण गर्दा तस्बिर पनि नभएको अवस्थाबाट अहिल थ्रिडी नक्सा पाइन्छ । पछिल्लो समय जलवायु परिवर्तनका कारणले भने असहज बन्दै गएको उनको बुझाइ छ ।

“जलवायु परिवर्तनले हिमाललाई प्रत्यक्ष रुपमा असर गरेको छ, हिउँपर्ने र पानी पर्ने समय फेरिएको छ, मौसम कहिले कस्तो हुन्छ भने अनुमान गर्न कठिन छ,”, उनले भने, “हिमालबारे पर्याप्त जानकारी नलिने, शारीरिक र मानसिक रुपमा तयार नहुँदै आरोहणका लागि जानेहरुका लागि समस्या भने हुन्छ ।” अन्य खेलमा गल्ती गर्दा खेलमात्रै हारिन्छ भने हिमालमा एउटा गल्तीले ज्यान जोखिममा पर्छ । त्यसैले शेर्पाले सहयोग गरिहाल्छन् भन्ने सोचले हिमाल आरोहणका लागि तयार हुनु राम्रो होइन ।

“कतिपय मानिसहरु शरीरले नसक्ने हुँदा पनि शिखरसम्म पुग्छु”, भन्छन्, “ठूलो रकम त्यसैका लागि खर्च गर्नुभएको हुन्छ, त्यस्तो अवस्थामा हामीले उहाँहरुको अवस्था बुझेर निर्णय लिनुपर्ने हुन्छ”, मिङ्माले भने, “कहिलेकाहीँ आरोहीविरुद्ध पनि निर्णय लिनुपर्ने हुन्छ ।” अब सरकारले सगरमाथा आरोहण पूर्व कम्तीमा सात हजार मिटरको एउटा हिमाल आरोहणको नियम ल्याउने हो भने यसले सबैलाई फाइदा गर्ने उनको बुझाइ छ ।

त्यसबाहेक सगरमाथामा फोहर ठूलो समस्या बन्दै गएको मिङ्माको बुझाइ छ । अहिले सरकारले प्रत्येक टीमसँग फोहरका लागि चार हजार डलर धितो राख्छ । फोहर उठाएको प्रमाण देखाएपछि त्यो रकम फिर्ता आउँछ । तर सगरमाथामा फोहर दिनप्रतिदिन बढ्दो छ । त्यसैले आरोही प्रत्येकसँग निश्चित पैसा लिएर आफैँले फोहर व्यवस्थापन गर्नुपर्ने मिङ्माको सुझाव छ । त्यसो हुन सकेमा पाँच वर्षमा सगरमाथाबाट फोहर हटाउन सकिने उनको भनाइ छ ।

भाइ गुमाएको क्षण

आफूसँगै हिमाल आरोहणमा सक्रिय भाइ कासाङको हिमाल चढ्न छाडेको तीन वर्षमा दुर्घटनामा निधन भयो । सन् २०१२ मा भाइले एसएलसी दिएपछि मिङ्माले आफैसँग राखेर हिमालबारे सिकाएका थिए । भाइले किचन हेल्पर सगरमाथा, मनास्लु आमादब्लम र धौलागिरि आरोहण गरिसकेको थियो । धौलागिरि आरोहण पछि दुवै दाजुभाई एउटै पेसामा हुँदा जोखिम हुन्छ भन्ने सोचल कासाङ त्यसबाट टाढिएका थिए । तर त्यसको तीन वर्षपछि काठमाडौँको कपनमा रहेको कम्पनीमा आगलागी हुँदा उनको मृत्यु भयो ।

“भाइ हिमाल आरोहण छाडेपछि मेरै कम्पनीमा व्यवस्थापकीय भूमिकामा सक्रिय थियो, तर अचानक भएको आगलागीले उसलाई अल्पायुमै गुमाउनुपर्यो, त्यो घटना जीवनको निकै पीडादायी क्षण थियो”, उनले भने । उक्त घटना हुँदा मिङ्मा मनास्लुको आधार शिविरमा थिए ।

‘अक्लिमाटाइजेसन’का लागि आधार शिविर पुगेर केही तल झरेका थिए । घटना घटेको आधा घण्टामा फोन आयो । खबर पाएको भोलिपल्ट बिहान मिङ्मासहितको २३ टिम आरोहण छाडेर हेलिकप्टरबाट काठमाडौँ फर्कियो ।

कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दैछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान अनुसार गर्नुपर्ने कामहरु धेरै नै बाँकी रहेको बताएका छन् । उनले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक रहेको पनि औंल्याए ।

शुक्रबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आयोजना गरेको राजनीतिक अधिकार सम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गर्दै सभापति देउवाले अबको बाटो संकल्प र कार्यकारी कामको भएकाले पूर्ण बफादारिताका साथ काम गर्न आवश्यक रहेको बताए ।

उनले कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दै पार्टीको घोेषणापत्र दस्तावेजहरुमा अपांगता सवालहरु स्पष्ट रुपमा उल्लेख गरिने बताए ।

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

वीरगञ्ज । वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज विहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सिर्सियाबाट ड्राईपोर्टतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।

‘बिग्रिएर सडकमै रोकिएको ट्रकसँगको ठक्करमा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ भने एक जनाको उपचार भइरहेको छ’, उनले भने । सो दुर्घटना शुक्रबार विहान ५ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैया टोलका २३ वर्षे रामाकान्त यादव र सोही ठाउँका विजय यादव छन् भने सोही ठाउँका २२ वर्षे विजयकुमार यादवको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

संसदीय समितिमा रास्वपा, एकीकृत समाजवादी र कांग्रेस सांसदको नोकझोक

काठमाडौँ । सांसदहरुले खाडी मुलुकमा नेपाली महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको शुक्रबारको बैठकमा समितिका सदस्यहरुले राजनीतिक दलभित्रै पर्याप्त छलफल बाँकी रहेको बताएका हुन् ।

बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुक संयुक्त अरब इमिरेट्स (युएई) मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल भएको थियो ।

सो बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सहसचिव विनोदकुमार भट्टराईले युएईमा नेपाली घरेलु कामदारको भर्तीसम्बन्धी भएको पाइलट परियोजना अघि बढाउने स्वीकृतिका लागि समितिसँग आग्रह गरे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करले प्रतिबन्ध समाधान नभएको उल्लेख गर्दै घरेलु कामदारका लागि वैधानिक बाटो खुलाउन प्रस्ताव गरेका थिए । उनले खाडीमुलुकमा महिला कामदार पठाउन प्रतिबन्धित भएपछि पनि जबरजस्ती श्रम र बेचबिखन जोखिमको समाधान हुन नसकेको बताए ।

समितिका सदस्यहरु हेमराज राई, रमेश रिजाल र रमा कोइराला पौडेलले यस विषयमा दलीय धारणा बनाउनुपर्ने राय राखे । उनीहरुले दलको धारणासँगै विज्ञहरुसँग पर्याप्त छलफलपछि मात्र उक्त पाइलट परियोजना अघि बढाउन समितिले निर्देशन दिनसक्ने बताए । समितिका सदस्य कृष्णकुमार श्रेष्ठले नेपाली घरेलु कामदार भर्ती र नियुक्तिका क्रममा लाग्ने लागतका विषयमा आपति जनाए ।

समितिका सदस्यहरुले संयुक्त अरब इमिरेट्सको मानव संशाधन तथा इमिरेटीकरण मन्त्रालय र नेपालको श्रम, रोेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच युएईमा नेपाली घरेलु कामदारको भर्तीसम्बन्धी भएको पाइलट परियोजनाबारे छलफल गरे । उक्त परियोजनामा नेपाली घरेलु कामदारले राहदानी शुल्क, योग्यताको प्रमाणपत्र, चिकित्सा परीक्षण, भर्ती शुल्क, प्रवेश भिसा, प्रशोधन खर्च, स्वास्थ्य बिमा, कामदार सुरक्षा कार्यक्रम बिमा र हवाई भाडा लागत व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

समितिका सदस्यहरु रुक्मिणी राना बराइली, महेन्द्रबहादुर शाही, रेखा यादव, सूर्यमान तामाङ, सुरेन्द्रराज आचार्य र अमृता देवी अग्रहरीले विभिन्न खाडी मुलुकमा नेपाली महिला अलपत्र परेका उल्लेख गर्दै उद्धारका लागि सभापतिमार्फत ध्यानाकर्षण गराए । समितिका सदस्यहरुले घरेलु कामदार पठाउने गन्तव्य देशको पारिवारिक कानुनबारे सरकारले ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।

सदस्यहरुबीच नोकझोक

बैठकमा भिजिट भिसा प्रकरणको विषयले प्रवेश पाएपछि सदस्यहरुबीच केही समय नोकझोक चलेको थियो । समितिका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले खाडीमा घरेलु कामदारको विषयसँगै भिजिट भिसा प्रकरणमा अनुसन्धानको माग गरे ।

उक्त विषयमा सांसदहरुको भूमिका सक्रिय नखेदेखिएको भन्दै पराजुलीको टिप्पणीप्रति नेकपा (एकीकृत समाजवादी) का सांसद श्रेष्ठ, नेपाली कांग्रेसका सांसदहरु राजु थापा र कान्तिका सेजुवालले आपत्ति जनाए ।

संसद आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

सुनसरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताएका छन् ।

शुक्रबार  सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको बताए ।

‘केहीबेरमा म संसद किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ’, महामन्त्री थापाले भने ।

उनी तामाङ घेदुङको कोसी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आएका हुन् । उनले देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक सङ्केत देखिएको भन्दै नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यास र जनताका अपेक्षाअनुसार अघि बढ्ने बताए ।

साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

 

रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको रियादले शुक्रबार इरानमा सैन्य र आणविक स्थलहरू विरुद्ध इजरायलले गरेको आक्रमणको कडा निन्दा गरेको छ ।

प्रमुख सैन्य कमान्डरहरू र आणविक वैज्ञानिकहरूको मृत्यु भएको आक्रमणले यस क्षेत्रमा पूर्ण युद्धको डर उत्पन्न गरेको छ र ओमानमा आइतबारका लागि तय गरिएको अमेरिका–इरान आणविक वार्तालाई जोखिममा पारेको छ ।

“साउदी अरब अधिराज्यले भ्रातृपूर्ण इस्लामिक गणतन्त्र इरानविरुद्ध इजरायली आक्रमणको कडा निन्दा र भत्र्सना व्यक्त गर्दछ, यो आक्रमणले यसको सार्वभौमिकता र सुरक्षालाई कमजोर पार्छ र अन्तर्राष्ट्रिय कानून र नियमहरूको स्पष्ट उल्लङ्घन गर्दछ”, विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

यी आक्रमणहरूलाई ‘जघन्य आक्रमणहरू’ का रूपमा वर्णन गर्दै मन्त्रालले भन्यो, “अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले यस आक्रामकतालाई तुरुन्त रोक्ने ठूलो जिम्मेवारी बोकेको छ ।”
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरान विरुद्धको अपरेसन ‘जति दिन लाग्छ त्यति दिन जारी रहने’ बताए ।

तेलको मूल्य १२ प्रतिशतभन्दा बढी बढेका कारण व्यापक द्वन्द्वको डरका साथ तेल समृद्ध यस खाडी मुलुकमा आक्रमणले स्तब्ध बनाएको छ ।

सन् २०२३ मा चीनले साउदी अरेबिया र इरानबीच ऐतिहासिक मेलमिलाप सम्झौताको मध्यस्थता गरेको थियो । साउदी अरब र इरानले लामो समयदेखि मध्यपूर्वका द्वन्द्वहरूमा विपरीत पक्षहरूलाई समर्थन गरेका थिए ।

प्रमुख शिया धर्मगुरु निम्र अल–निम्रलाई मृत्युदण्ड दिएपछि इरानी प्रदर्शनकारीहरूले साउदी कूटनीतिक मिसनहरूमा आक्रमण गरेपछि रियादले सन् २०१६ मा सम्बन्ध तोडेको थियो ।

 

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गरेको छ । साथै आक्रमणमा सशस्त्र बलका प्रमुख, इरानका रिभोलुसनरी गार्डका प्रमुख र शीर्ष आणविक वैज्ञानिकहरूको मृत्यु भएको छ ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इजरायललाई उसले आक्रमणका लागि ‘कटु र पीडादायक’ भाग्यको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । इरानी मिडियाका अनुसार आक्रमणमा एक वरिष्ठ गार्ड कमान्डरको पनि मृत्यु भएको छ ।

इजरायली सेनाका अनुसार इरानले इजरायलतर्फ प्रतिक्रियामा एक सय वटा ड्रोन प्रक्षेपण गरेको र तिनलाई इजरायली रक्षा प्रणालीले रोक्न कोशिश गरिरहेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजलाई उनलाई  इजरायली आक्रमणको पूर्व जानकारी रहेको बताउनुभएको छ । इजरायली सेनाका अनुसार आक्रमणमा दुई सय वटा लडाकू विमान संलग्न थिए । ट्रम्पले तेहरानसँग ‘आणविक बम राख्न सक्दैन’ भनी पनि जोड दिए ।

संयुक्त राज्य अमेरिकाले पनि इजरायली कारबाहीमा संलग्न नभएको स्पष्ट गरेको छ र तेहरानलाई आफ्ना कर्मचारी वा स्वार्थहरूमाथि आक्रमण नगर्न चेतावनी दिएको छ ।

तर तेहरानले इजरायलको अपरेसन ‘संयुक्त राज्य अमेरिकाको समन्वय र अनुमति बिना गर्न सकिँदैन’ भन्दै संयुक्त राज्य अमेरिका ‘परिणामका लागि जिम्मेवार हुनेछ’ भनेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलको अपरेसनले ‘इरानको आणविक संवर्धन कार्यक्रमको मुटु’मा प्रहार गरेको र नतान्जका आणविक सुविधा र आणविक वैज्ञानिकहरूलाई लक्षित गरेको बताए ।
उनले इरान विरुद्धको अपरेसन ‘जति दिन लाग्छ त्यति दिन जारी रहने बताए ।

 

पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत गुजरातस्थित अहमदावादको सरदार वल्लभभाइ पटेल अन्तरराष्ट्रिय विमानस्थलबाट लण्डनका लागि उडेको एयर इन्डियाको एआई–१७१ जहाज विमानस्थल नजिकै दुर्घटनाग्रस्त भई विमानमा सवार २४२ यात्रुमध्ये २४१ जनाको दुःखद् निधन भएको समाचारले मर्माहत बनाएको उल्लेख गरेकी हुन् ।

“म राष्ट्रपति रहेको बखत भारतको औपचारिक भ्रमणका क्रममा गुजरात पुगेका अवसरमा मलाई न्यानो आतिथ्य प्रदान गर्नुभएका तत्कालीन मुख्यमन्त्री विजय रुपाणीकोसमेत उक्त विमान दुर्घटनामा निधन भएको समाचारबाट अत्यन्त दुःखी भएकी छु”, पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेखेकी छन्, “उक्त विमान दुर्घटनामा अमूल्य जीवन गुमाउनुभएका गुजरातका पूर्वमुख्यमन्त्री रुपाणी, दुर्घटनास्थलमा रहेको बीजे मेडिकल कलेजको छात्रवासका विद्यार्थी र स्थानीयका साथै विमानमा सवार यात्रु तथा चालक दलका सदस्यहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।”

पूर्वराष्ट्रपति भण्डारीले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकी छन् ।

उच्च अदालतका चार मुख्य न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ । शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण भएको छ ।झिझरी खोलाको बाढीले गर्ने डबवान र कटान रोक्न लुम्बिनी प्रदेश सरकारको बजेटमा झिझरी खोला झोलुंगे पुल नजिकै तटबन्ध निर्माण गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख आशिष विकले जानकारी दिए।

प्रदेश सरकारको रु ३५ लाख ६२ हजार बजेटमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयद्वारा झिझरी खोला झोलुंगे पुल नजिकै तटबन्ध निर्माण भएको हो।तटबन्ध निर्माणपछि झिझरी खोलाको कटान र डुबानबाट बस्ती जोगिने राप्ती सोनारी गाउँपालिका–९ तल्लो महादेवा निवासी हेम चापागाईँले बताए।

यसैबीच, झिझरी खोलामा पक्की पुल नहुँदा वर्षा याममा साना सवारी आवागमन ठप्प हुने भएकाले महादेवा गाउँका बासिन्दालाई कठिन हुने गरेको छ ।

तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा चार हजार २०० रुपैयाँले वृद्धि भएको छभने चाँदीमा १५ रुपैयाँले बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला सुनको मोल एक लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गत मङ्गलबार एक तोला सुन एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

धम्क्याएको छैन, सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले आफूले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली धम्की नदिएको बताएकी छन् ।

शुक्रबार सामाजिक संजालमार्फत मन्त्री राणाले हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उहाँको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएको बताएकी हुन् ।

उनले भनेकी छन्, ‘उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानुनले जे सजायँ दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो । यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ । बरु मैले म आफू नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ। तर हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।’

यस्तो छ परराष्ट्रमन्त्री राणाको भनाई

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु । हाम्रो परिवारलाई बदनाम गराउने दुसित मनासय सहित सामाजिक संजालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणमा बारेमा उहाँसँग कुराकानी भएको हो ।

उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिलमार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ ।उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानुनले जे सजायँ दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो । यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ ।

बरु मैले म आफू नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ। तर हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।

नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन मिल्दैन। म सोही पार्टीको एक जिम्मेवार सदस्य भएकाले मलाई प्रेस स्वतन्त्रताका बारेमा राम्ररी थाहा छ ।

तर मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनुहुदैन भन्ने मेरो धारणा हो । लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने मेरो धारणा हो । स्वभावैले मिडिया पिडितमैत्री हुन्छ भन्ने मेरो बुझाई हो। यसैका आधारमा राखिएका कतिपय धारणारुलाई प्रेसले धम्कीपूर्ण भाषाका रुपमा बुझ्नु दुःखद हो ।

इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरायली डिफेन्स फोर्सले बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उक्त हमला ‘अपरेशन राइजिङ लाइअन’ नाम दिइएको सैन्य कार्वाहीको एक भाग भएको भन्दै इरान इजरायलको ‘अस्तित्वको लागि’ खतरा भएको बताएका छन् ।

उनले ‘आवश्यकता रहेसम्म आक्रमण जारी राख्ने’ भन्दै इजरायलको हमलाले ‘इरानको परमाणु प्रशोधन कार्यक्रमको मुटुमा नै प्रहार गरेको’ पनि बताए ।

इजरायलले जवाफी हमलाको अपेक्षा गर्दै देशमा संकटकालको घोषणा गरेको छ । इरानको रिभोलुशनरी गार्डस्को मुख्यालयमा इजरायली हमला भएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ । स्थानीय मिडियाले पनि त्यहाँ आगो लागेको र धुवाँ आइरहेको जनाएका छन् ।

इजरायली हमलामा इरानको रिभोलुशनरी गार्डस्का प्रमुख होसेन सलामी मारिएको पनि इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ । इस्लामिक रिभोलुशनरी गार्डस् इरानको सशस्त्र सेनाको एक भाग हो र त्यो देशको सबैभन्दा शक्तिशाली संगठनहरू मध्येमा पर्दछ । इजराली हमलामा मारिएका केही वरिष्ठ नेताहरू मध्येमा उनी पनि एक छन्।

परमाणु उर्जा संगठनका भूतपूर्व प्रमुख फेरेडुन अब्बासी पनि मारिएको बताइएको छ । इजरायली डिफेन्स फोर्सेज् (आईडिएफ)ले आफूले ’इरानले हमला गर्नुभन्दा अगावै, लक्षित एवं संयोजित’ आक्रमण गरेको बताएको छ।

अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् ।

कडरियाले ७३२ मत ल्याए भने पौडेलले ७२५ मत पाए । एक हजार ५५१ मतदातामा रहेको अखिलमा एक हजार ४५० मत खसेको थियो ।

दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । अदालतले गत चैत १५ गते काठमाडौंको तीनकुने भएको राजावादीको प्रदर्शनको घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित सातजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति यस्तो आदेश दिएको हो । अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षमा थुनामा राख्ने आदेश दिएको हो ।

गत चैत १५ मा तीनकुनेमा राजावादी आन्दोलनका क्रममा घटेका घटनाका विषयमा जेठ ११ मा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अहमदावाद विमान दुर्घटनाः एक व्यक्तिको जीवितै उद्धार

अहमदाबाद । अहमदाबादमा भएको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटनामा एक ब्रिटिश नागरिक जीवितै उद्दार गरिएको छ ।

दुर्घटनाग्रस्त विमानको सिट नम्बर ११ ए मा बसिरहेका विश्वासकुमार रमेश हाल अस्पतालमा उपचाररत छन् । प्रहरी आयुक्त जीएस मलिकले भारतीय समाचार संस्था एएनआईलाई फोनमार्फत जानकारी दिँदै भने, ‘एक यात्री जीवित छन्, उनको उपचार भइरहेको छ।’ प्रारम्भिक रिपोर्टअनुसार उक्त सिटमा बस्ने यात्रुको नाम विश्वास कुमार रमेश रहेको पुष्टि भएको छ।’

विश्वास कुमार रमेशले आफैंले मिडियासँग आफ्नो बोर्डिङ पास शेयर गरेका छन्, जसमा सिट नम्बर ११ए स्पष्ट रूपमा उल्लेख गरिएको छ।

उनले दुर्घटनाको क्षण सम्झिँदै भने, ‘उडान  भरेको लगभग ३० सेकेन्डमै एक ठूलो आवाज आयो, त्यसपछि जहाज जमिनमा ठोक्कियो। सबै कुरा अत्यन्तै छिटो भयो।’

अहिले उनलाई स्थानीय अस्पतालमा राखिएको छ भने अन्य पीडितहरूको पहिचान र अवस्था सम्बन्धी जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ । यस दुर्घटनाको विस्तृत विवरण र कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ।

दिगो र समावेशी पर्यटन प्रवद्र्धनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठमाडौंमा सम्पन्न

काठमाण्डौँ । दिगो र समावेशी पर्यटन प्रवद्र्धन सम्बन्धी चार दिने अन्तर्राष्ट्रिय कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, एसियाली उत्पादकत्व संगठन र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको संयुक्त आयोजनामा भएको उक्त कार्यशालामा १४ वटा एपिओ सदस्य रहेका देशहरूबाट १८ जना सरकारी अधिकारी, पर्यटन व्यवसायी र अभ्यासकर्ताहरूको सहभागितामा उक्त कार्यशाला सम्पन्न भएको हो ।

दिगोपन, समावेशिता र सांस्कृतिक विरासतलाई अगाडि बढाउने नीति र अभ्यासहरू डिजाइन र कार्यान्वयन गर्न पर्यटन सरोकारवालाहरू बिच क्षमता निर्माणमा कार्यशाला केन्द्रित रहेको थियो । यसमा समावेशी पर्यटन मोडेलहरू, जिम्मेवार पर्यटनको लागि डिजिटल प्रयासहरू, दिगो पर्यटनको लागि प्रत्ययन, प्रमाणीकरण र मापदण्डहरूका साथै नीति ढाँचा लगायतका विषयक विशेषज्ञ सत्रहरू प्रस्तुत गरिएको छ ।

कार्यशालामा Global Sustainable Tourism Council का प्रमुख आश्वासन अधिकारी डा. मिही काङले पर्यटनमा दिगोपन, यसको विकास, र वातावरणीय, सामाजिक र आर्थिक प्रभावहरूलाई न्यूनीकरणमा यसको भूमिकाको विस्तृत सिंहावलोकन प्रदान गर्दै विशेषज्ञ सत्रहरूको शृङ्खला प्रस्तुत गरेकी छन् । उनले प्रमाणीकरण प्रणाली सम्बन्धमा चुनौतीहरू र फाइदाहरूलाई प्रकाश पार्दै प्रभावकारी पर्यटन नीति, सामुदायिक पुनःउत्थानशीलता र संरक्षणलाई प्रोत्साहन गर्ने अन्तर्राष्ट्रिय उदाहरणहरू प्रस्तुत गरिन् ।

त्यसैगरी Planet Abled की संस्थापक नेहा अरोराले समावेशी पर्यटनको विषयमा विशेषज्ञ सत्रहरू प्रस्तुत गरिन् । साथै नेपालको पर्यटन क्षेत्रमा लामो अनुभव भएका राष्ट्रिय स्रोत व्यक्ति सुदिप भाजु र पंकज प्रधानांगले नेपालको पर्यटन क्षेत्रको विषयमा विशेष प्रस्तुतीकरण गरेका थिए । कार्यशालाको अन्तरक्रियात्मक ढाँचाले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सहभागीहरू, स्रोत व्यक्तिहरू बिच अन्तर सहयोगी सिकाइ र अनुभव आदानप्रदानलाई प्रोत्साहित गरेको थियो ।

कक्षा सत्रहरूको अतिरिक्त, सहभागीहरूले युनेस्को विश्व सम्पदा स्थल पाटन दरबार स्क्वायरको साइट भ्रमणमा भाग लिए, जहाँ उनीहरूले सांस्कृतिक संरक्षण र सामुदायिक संलग्नतासँग पर्यटन विकासलाई सन्तुलनमा राख्ने स्थानीय प्रयासहरूको अवलोकन गरेका छन् । ज्ञान आदानप्रदानलाई महत्त्व दिएर यस कार्यशालाले वातावरणीय रूपमा जिम्मेवार, सामाजिक रूपमा समावेशी र आर्थिक रूपमा लचिलो पर्यटन क्षेत्रहरू विकास गर्न एसिया–प्रशान्त देशहरूलाई सहयोग गर्ने दिशामा एक कदम अगाडि बढाएको छ ।

सन् २००९ पछि पहिलो पल्ट नेपालले आयोजना गरेको एपियो अन्तर्राष्ट्रिय कार्यशालाको सफलताले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रलाई यस प्रकारका कार्यक्रम आयोजना गर्न थप ऊर्जा मिलेको कार्यशालाका सहभागीहरूले बताएका छन् ।

 

एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्यु

काठमाडौँ । भारतको अहमदाबाद भएको एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

बीबीसी हिन्दीकाअनुसार अहिलेसम्म २०४ जनाको शव प्राप्त भएको छ । अहमदाबादबाट लण्डनका लागि उड्नेबित्तिकै विमान दुर्घटनामा परेको थियो । साथै दुर्घटनामा परी घाइते भएका ४१ जनाको उपचारका जारी रहेको पनि प्रहरीले जनाएको छ ।

भारतीय समयअनुसार बिहीबार दिउँसो १ः३८ मा लण्डनका लागि उडेको विमान टेकअफलगत्तै दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।

विमानमा १६९ जना भारतीय, ५३ बेलायतका, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेका एयर इन्डियाले जनाएको छ । विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको बताइएको छ ।

प्रतिपक्षी दलद्वारा सदन अवरुद्ध

काठमाडौं । बिहीबार पनि विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि स्थगित सभामुखले शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरेका हुन् ।

भिजिट भिसा प्रकरणम गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समयदेखि संसद अवरुद्ध हुँदै आएको छ ।

 

मधेस प्रदेशका सांसद सरोजकुमार सिंह पक्राउ

काठमाडौं । मधेस प्रदेश सभाका सांसद सरोजकुमार सिंह पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई नियन्त्रणमा बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।

निर्वाचन क्षेत्र विकास कोषको रकम उपभोक्ता समितिमार्फत कमिसन बुझ्ने गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

उनी जनता समाजवादी पार्टीका सांसद हुन् । महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित उनको घरमा अख्तियारले यसअघि छापा मारेको थियो । त्यस्तै प्रहरीले उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई यसअघि नै अख्तियारले नियन्त्रणमा लिइसकेको थियो।

नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने

काठमाडौं । नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपाली राष्ट्रिय टिमले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्न लागेको जानकारी दिएको हो ।

सिरिज आगामी २७, २८ र ३० सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट स्टेडियममा हुनेछ । नेपालले पहिलोपटक आईसीसी क्रिकेट विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

वेस्ट इन्डिजविरुद्धको सिरिजले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास क्यानले लिएको छ । क्यानले सिरिजको सफल आयोजनामा सहयोग पुर्याउने इमिरेट्स क्रिकेट बोर्डप्रति पनि आभार प्रकट गरेको छ ।

सिआइबी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्छः महानिरीक्षक थापा

काठमाडौँ। प्रहरी महानिरीक्षक दीपक थापाले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी बोकेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्ने बताएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को बिहीबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीलाई थापाले ब्यूरोबाट सम्पादित कार्यले सङ्गठनको साख बढ्ने भएकाले पूर्ण व्यावसायिकता प्रदर्शन गरी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्ने बताए ।

महानिरीक्षक थापाले जटिल र गहन प्रकृतिका अपराधका साथै प्रविधिजन्य अपराध चुनौतीको रूपमा देखापरेको उल्लेख गर्दै भरपर्दो सूचना सङ्कलन, विश्लेषण, उपलब्ध जनशक्ति तथा स्रोतसाधनको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने बताए ।

ब्यूरोबाट विगतमा भएका सफल अनुसन्धान प्रशंसनीय रहेको चर्चा गर्दै बदलिँदो परिपेक्षमा अपराध अनुसन्धानको क्षेत्रमा देखिएका जटिलताको सामना गर्न प्रहरी कर्मचारीले आफूलाई परिष्कृत र परिमार्जित गर्दै उच्च समर्पण भाव र सामूहिक भावनाका साथ इमान्दारीपूर्वक कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

साथै ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीको वृत्ति विकास र ब्यूरोलाई थप आधुनिकीकरण तथा स्रोतसाधन सम्पन्न बनाउन सङ्गठन सदैव क्रियाशील रहेको उनले बताए । सोही क्रममा महानिरीक्षक थापाले आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, लेखा शाखा, सूचना सङ्कलन शाखालगायत अन्य शाखाको निरीक्षण तथा अवलोकनसमेत गरे ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । यसैगरी उक्त कार्यक्रमा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले ब्यूरोको पृष्ठभूमि, स्थापनाको उद्देश्य, कार्यनीति, व्यवस्थापन÷प्रशासन, नीति निर्देशन कार्यान्वयन, महत्वपूर्ण मुद्दाहरूको अनुसन्धान विवरण, अनुसन्धानको क्रममा देखिएका कानुनी समस्या, जटिल एवं प्रविधिजन्य अपराध, समस्या तथा चुनौती, भावी योजना, तालुक कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतका साथै केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अधिकृत तथा जवानको उपस्थिति रहेको थियो ।

राष्ट्रपति रनिङ सिल्डको दोस्रो दिन नयाँ जुनियरमा राष्ट्रिय कीर्तिमान

काठमाडौँ । पन्ध्रौँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन बिहीबार एथलेटिक्समा चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।

छात्र ज्याभ्लिन थ्रो, छात्रा ८०० मिटर दौड र छात्र/छात्राको चार गुणा ४०० मिटर रिलेमा कीर्तिमान कायम भएको हो । पहिलो दिन दुई कीर्तिमान बागमती प्रदेशका प्रवीण राना मगरले छात्र १०० मिटर दौड तथा सुदूरपश्चिम प्रदेशकी सङ्गीता विकले छात्रा ४०० मिटर दौडमा बनाएका थिए ।

दोस्रो दिनको खेल सकिँदा एथलेटिक्समा कुल ६ कीर्तिमान बनिसकेका छन् । तेस्रो तथा अन्तिम दिन शुक्रबार आठ स्वर्णको टुङ्गो लाग्ने छ ।

पहिलो दिन १० र दोस्रो दिन आठ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले २७ वर्षअघिको कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिमान रचे । उनले ५७.४० मिटर थ्रो गर्दै २०५५ साल धीरेन्द्रजङ्ग शाहले बनाएको ५५.५० मिटरको कीर्तिमान भङ्ग गरेका हुन् । कर्णाली प्रदशेका सुशान्त नेपाली दोश्रो तथा सुदूरपश्चिमका लोकेश एडी तेश्रो भए ।

छात्रा ८०० मिटर दौड दुई मिनेट १७ सेकेन्डमा तय गर्दै गण्डकी प्रदेशकी नारायणी भण्डारीले कीर्तिमान बनाइन् । नारायणीले २०८१ सालमा सरिता खड्काले बनाएको दुई मिनेट २८.५ सेकेन्डको कीर्तिमान तोडिन् । बागमती प्रदेशकी भगवती खड्का दोस्रो तथा सुदूरपश्चिमकी सङ्गीता विक तेस्रो भए ।

छात्र चार गुणा ४०० मिटर रिलेमा बागमतीका प्रवीन राना मगर, निरज थारु, हस्त सुनार र शन्तबहादुर दराईको टोलीले कीर्तिमानी स्वर्ण जिते ।

उक्त टोलीले निर्धारित दूरी तीन मिनेट ३० सेकेन्डमा तय गरे । यसअघि चन्द्र बोहरा, अमित, कविर विक र

सुक्वीरको टोलीको नाममा तीन मिनेट ३१ सेकेन्ड २०८० सालको कीर्तिमान थियो । गण्डकी दोश्रो तथा लुम्बिनी तेस्रो बने ।

सोही प्रस्तिपर्धाको छात्रा तर्फ बागमतीकै दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले कीर्तिमान कायम गरे । टोलीले निर्धारित दूरी तय गर्न ४ मिनेट १२.८ सेकेन्ड लगाए । चार मिनेट १७.२ सेकेन्डको कीर्तिमान भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राणाको नाममा थियो । उनीहरुले २०८१ सालमा कीर्तिमान बनाएका थिए । सुदूरपश्चिम दोस्रो तथा गण्डकी तेस्रो स्थानमा रहे ।
छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले स्वर्ण जितिन् । पूजाले ३०.३२ मिटर थ्रो गरिन् । कोशीकी उर्मिला राईले रजत तथा बागमतीकी सिर्जना श्रेष्ठले कास्य जिते ।

छात्र ८०० मिटर दौडमा सुदूरपश्चिमका विक्रम विष्टले शीर्ष स्थान हात पारे । उनले दुई मिनेट ०२.७ सेकेन्डमा निर्धारित दूरी पार गरे । कर्णालीका धीरेन्द्र विक दोस्रो तथा लुम्बिनीका आयुश थारु तेस्रो बने ।

छात्र लङजम्पमा गण्डकीका प्रदीप महतोले ६.६० मिटर जम्प गर्दै पहिलो भए । सुदूरपश्चिमका विवेक चौधरी दोस्रो तथा बागमतीका दीपेन्द्र गिरी तेस्रो भए ।

सो स्पर्धाको छात्रामा बागमतीकी अनिशा थारुले स्वर्ण जितिन् । अनिशाले ५.१८ मिटर जम्प गरिन् । सुदूरपश्चिमकी पवित्रा चौधरीले रजत तथा सुदूरपश्चिमकै रेनुका ऐरले कास्य हात पारे ।

पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो प्रहार

काठमाडौँ । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारुलाई नेकपा बहुमतका कार्यकर्ताले कालो मसी छ्यापेका छन् ।

बिहीबार न्यायाधीश थारुको अदालतभित्र चेम्बरमा बहुमतका नेताहरूले थारुलाई कालो मसी छ्यापेका हुन् ।

जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका आलमलाई जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो ।

भिमादमा कौरा संरक्षणका लागि प्रतियोगिता आयोजना

दमौली (तनहुँ) । तनहुँको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका लागि प्रतियोगिता गरिएको छ। पछिल्लो समय मौलिक कौरा लोप हुँदै गएकाले यसको संरक्षण र प्रवर्द्धन गर्दै युवापुस्तालाई यसप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिएको हो।

लखन थापा मेलमिलाप युवा क्लबले कान्छीबजार मेलाका अवसरमा तनहुँसहित छिमेकी जिल्ला स्याङ्जाको सहभागितामा प्रतियोगिता सम्पन्न गरेको क्लबका पूर्वअध्यक्ष सन्तराम थापाले जानकारी दिए।

मगरको बाहुल्यता रहेको यस क्षेत्रमा कौरा नृत्य प्रख्यात रहेकाले यसको संरक्षण र संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यले क्लबले प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको उनले बताए। उनले भने, “कौरा मगर जातिको संस्कृति हो, यसलाई लोप हुन दिनु हुँदैन भनेर संरक्षणमा जुटेका हौँ।”

प्रतियोगितामा ऋषिङ सांस्कृतिक समूह प्रथम, नेपाल मगर सङ्घ भिमाद इकाई द्वितीय, सिरौले कौरा समूह तृतीय र चित्रे कौरा समूह चौथो भएका छन्। विजयीलाई क्रमशः रु ६० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

विजयीलाई पुरस्कार वितरण गर्दै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले युवाहरूरुले कौरा संरक्षणका लागि थालेको पहल उदाहरणीय रहेको बताए। कौराको उत्पत्ति तनहुँको ऋषिङबाट भएको जनाउँदै उहाँले पालिकाले पनि मौलिक परम्परा र संस्कृति संरक्षण र प्रवर्द्धनमा समन्वय गर्दै आएको उल्लेख गरे।

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एन्ड बिजनेस एशोसिएसन (क्याम्फेबा) का बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको उपस्थितीमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले २०२५ जुन १० मा स्वीट्जरल्यान्डको जेनेभामा सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीपत्रमा दुवै पक्षले रोजगारी, श्रम कानुन, व्यवसायका उत्कृष्ट अभ्यासबारे जानकारी साझेदारी, तालिम, अनुसन्धान, र क्षमता अभिवृद्धिका संयुक्त कार्यक्रमहरूसहित र लगानी प्रवद्र्धनलाई जोड दिइने उल्लेख छ।

समझदारीपत्रमा बिटुबी सहकार्यलाई प्राथमिकता तथा दुवै संस्थाले व्यापारिक साझेदार पहिचान, व्यावसायिक मञ्च बिच सहकार्य र लगानीका अवसरबारे आ–आफ्ना सदस्यहरूलाई सहयोग गर्ने प्रतिबद्धता उल्लेख गरिएको महासंघका अध्यक्ष ढकालले बताए।

यस्तै सम्झौता अनुसार उद्यमशीलता, औद्योगिक सम्बन्ध, मानव संशाधन, व्यावसायिक सुरक्षा, सीप विकास, र लगानी प्रवद्र्धनमा संयुक्त पहल गरिने जानकारी दिए।

यस्तै क्याम्फेबाका उपाध्यक्ष सोक लोरले महासंघ र क्याम्फेबाले महासंघ र क्याम्फेबाका बीचमा भएको यो समझदारीले नयाँ अवसर सिर्जना, बलियो सञ्जाल, र क्षेत्रीय सहकार्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे।

समझदारीको प्रभावकारी कार्यान्वयनका लागि नियमित परामर्श र आवश्यक कार्य व्यवस्था मिलाइने भएको छ।

साझेदारीले नेपाल र कम्बोडियाबीच आर्थिक सहकार्य गहिरो बनाई समावेशी व्यापारिक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

समझदारी पत्र हस्ताक्षर समारोहमा महासंघका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ , कार्यकारिणी सदस्य बाबुकाजी कार्की र क्याम्फेबाका कार्यकारी निर्देशक तेप सोफोआनको पनि उपस्थिती रहेको थियो।

दुर्घटनाग्रस्त एयर इण्डियाको विमानमा थिए चार देशका नागरिक

बीबीसी । भारतमा गुजरात राज्यको अहमदाबादमा आफ्नो विमान दुर्घटनाग्रस्त भएको एयर इन्डियाले जनाएको छ । एयर इन्डियाले उसको सामाजिक सञ्जाल एक्समा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, ‘अहमदाबाद–लन्डन ग्याटविक उडानमा रहेको फ्लाइट नम्बर एआई १७१ आज, १२ जुन २०२५मा एक दुर्घटनामा परेको छ।’

विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेका र ती मध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए ।

भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज अहमद किदवईले एशोसिएटेड प्रेस समाचार एजेन्सीसँग कुराकानी गर्दै एयर इन्डियाको यात्रुवाहक विमान मेघानी नगर भनिने एक आवासीय क्षेत्रमा खसेको बताएका छन् ।

दुर्घटनामा घाइतेहरू भएकाहरूलाई नजिकको अस्पतालमा लगिएको छ । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ‘युद्धस्तरमा तत्काल उद्धार तथा राहतको कार्य गर्न’ निर्देशन दिइएको बताएका छन् ।

अहमदाबादको सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलका एकजना प्रवक्ताले विमानस्थल बन्द गरिएको र अर्को सूचना जारी नभएसम्मका लागि त्यहाँका सबै उडान गतिविधिहरू स्थगित गरिएको बताएका छन् ।

एयर इन्डियाले दुर्घटनाको कारण तथा अन्य जानकारीबारे आफूले सूचना सङ्कलन गरिरहेको र चाँडै त्यसबारे अद्यावधिक गरिने बताएको छ।