`

व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान

भोजपुर । भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन् ।

यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएको स्थानीय किसान प्रदीप तामाङले बताए । हाल किसानले पुराना बगानको संरक्षणसँगै नयाँ बिरुवा धमाधम विस्तार गरिरहेको उनी बताउछन् ।

“हाम्रो क्षेत्रका धेरै किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका छन्”, उनले भने, “सुन्तलालाई एकपटक विस्तार गरेपछि सामान्य हेरचाह गरेपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ । अन्य बालीको तुलनामा सुन्तलालाई बाँदरले कम नोक्सान गर्ने भएकाले पनि किसानले सुन्तलाको व्यावसायिक खेती रोजेको देखिन्छ ।”

वडा कार्यालयले सुन्तलाखेतीमा लाग्ने किसानलाई बिरुवा वितरणसँगै प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ । यहाँको भङ्गेरी तथा पालुवा सुक्खा क्षेत्र भए पनि वडाले सिँचाइका लागि आवश्यक सहयोग गरेपछि किसानलाई सहजता भएको उनको भनाइ छ । सिँचाइका लागि वडाले कुलो निर्माण, प्लाष्टिक पोखरी, पाइप वितरण लगायत काम गरिरहेको उनले जानकारी दिए ।

भोजपुर –६ मा कृषि तथा फलफूलखेतीका लागि उपयुक्त भूगोल रहेकाले वडाले सुन्तलासँगै कृषि क्षेत्रको विकासमा जोड दिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले बताए । यहाँ देखिएका कृषि क्षेत्रका समस्यालाई ध्यानमा राख्दै खेती विस्तारका लागि आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष कार्कीको भनाइ छ ।

खेती प्रणालीका लागि मुख्य रूपमा सिँचाइको समस्या रहेकाले वडाले कुलो, प्लाष्टिक पोखरी निर्माण तथा किसानका आवश्यकताका आधारमा पाइप वितरण गर्दै आएको उनले बताए । मेहनत गरे यहाँ नै किसानले व्यावसायिक कृषि गरेर जीविकोपार्जन गर्ने वातावरण रहेको उनले बताए ।

“कृषि क्षेत्रको विकासका लागि हामीले विभिन्न किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने, “यो सदरमुकामसँग जोडिएको वडा हो । किसानले उत्पादन गरेका कृषि उपजको बेचबिखनका लागि सहजता छ । किसानलाई व्यावसायिक योजनाका आधारमा सहयोग गर्दै आएका छौँ । खास गरेर हामीले यहाँ माटो र भूगोल सुहाउँदो खेती प्रणालीमा ध्यान दिएका छौँ ।”

चार सयले बढ्यो सुन तोलामा

काठमाडौँ । गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आइतबार बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको छभने चाँदीको मोल भने स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल एक लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत जेठ २७ एक तोला सुन एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी दुई हजार १६५ मा कारोबार भएको थियो । जेठ २८ गते एक लाख ९१ हजार ३०० जेठ २९ गते एक लाख ९२ हजार ९०० तथा जेठ ३० र ३१ गते प्रतितोला सुन रु एक लाख ९७ हजार १०० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरानको आक्रमणबाट ६ इजरायलीको मृत्यु

बीबीसी । इजरयलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात पनि कायम रह्यो । दुवै तर्फबाट एक अर्काको देशमा गोलाबारी भइरहेको छ ।

इजरायली आक्रमणपछि प्रत्याक्रमणमा उत्रेको इरानले शनिबार राति मध्य इजरायलमा थप क्षेप्यास्त्रहरू प्रहार गरेको छ । इजरायली डिफेन्स फोर्सेस आईडीएफले पनि राति नै तेहरानमा हवाई आक्रमण गरेको बताएको छ । सले इरानको रक्षा मन्त्रालयसहित इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित क्षेत्रहरूलाई आफूले निसाना बनाएको बताएको हो ।

पछिल्लो इरानी हमलामा परेर इजरायलमा कम्तीमा ६ जनाको ज्यान गएको र १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

तेल अभिभको दक्षिणमा रहेको बात याम क्षेत्रमा एउटा भवनमा इरानले प्रहार गर्दा ती व्यक्तिहरूको मृत्यु भएको बताइएको छ । इरानले तम्राह क्षेत्रमा पनि आक्रमण गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन्।

रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं । भारत उत्तराखण्डको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाइलटसहित सात जनाको मृत्यु भएको छ । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान छ । मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनास्थलमा एसडीआरएफ र स्थानीय प्रशासनको टोली परिचालित भइसकेको जानकारी दिएका छन् ।

संसदीय सुनुवाइ समितिद्वारा सर्वोच्चमा सिफारिस तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा सिफारिस भएका तीन न्यायाधीश र न्याय परिषद्मा सिफारिस एकजना सदस्यमा उजुरी आह्वान गरेको छ ।

समितिले आइतबार सूचना जारी गरी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाका सम्बन्धमा कुनै सूचना वा उजुरी दिन आह्वान गरेको हो ।

त्यसैगरि न्याय परिषद्को सदस्यमा सिफारिस भएका वरिष्ठ अधिवक्ता महेश नेपालका सम्बन्धमा पनि कुनै उजुरी भए दिन समितिले आह्वान गरेको छ ।

गत जेठ २७ गते न्याय परिषद्ले पोखरेल, पौडेल र थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।

विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै लैजाने अनेरास्ववियुको निर्णय

 

काठमाडौँ । अनेरास्ववियुले सामुदायिक विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै लैजाने निर्णय गरेको छ ।

ललितपुर, च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार बसेको अनेरास्ववियुको पहिलो बैठकले सामुदायिक विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै सर्वसुलभ र गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने निर्णय गरेको अध्यक्ष डा सुजन कडरियाले जानकारी दिए ।

शिक्षामा रहेको वर्गीय र संस्थागत विभेदको अन्त्य गर्दै, शिक्षाजस्तो आधारभूत हकलाई निजीकरणको दुश्चक्रबाट मुक्त गरी सार्वजनिक शिक्षाको सुदृढीकरणमा केन्द्रित हुने नीतिगत अभियानमा अडिग रहने प्रतिबद्धता जनाइएको उनले बताए ।

बैठकले चार सचिवको कार्यविभाजनसमेत गरेको छ । अध्यक्ष डा कडरियाका अनुसार आर्थिक सचिवमा आकाश घर्तिमगर, सङ्गठन सचिवमा गोपाल नेपाल, प्रचार सचिवमा समिमबाबु खान र विदेश सचिवमा रचना सापकोटालाई जिम्मेवारी दिइएको छ ।

कडरियाले ३२ वर्षमुनिका युवाहरू मात्र नेतृत्वमा रहने निर्णयले ‘कक्षाकोठासँग जोडिएको वास्तविक विद्यार्थी नेतृत्व’ पाएको धारणा राखे । अनेरास्ववियुमा उमेर हद लागू भएपछि ‘जेन जी’ पुस्तासँग सङ्गठनलाई जोड्ने कामले औपचारिक मान्यता पाएको उनले बताए ।

बैठकले नेपालको जनसङ्ख्यामा युवाको अनुपात उच्च रहेकाले यसलाई राष्ट्रनिर्माणमा क्रियाशील बनाउने र स्वदेशमा रोजगारीका अवसर सिर्जना गरी ‘ब्रेन ड्रेन’ न्यूनीकरण गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बिहीबार राति सम्पन्न निर्वाचनबाट डा कडरियाको नेतृत्वमा एक सय ५१ सदस्यीय नयाँ कमिटी निर्वाचित भएको थियो ।

ग्वार्को फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको छ । फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ ।

निरीक्षणका क्रममा मन्त्री दाहालले फ्लाई ओभर निर्माण नौलो अभ्यास भएकाले केही ढिला भएको बताए । अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले बताए ।

सडक विभागका महानिर्देशक डा विजय जैसीले मुख्य संरचनाको निर्माण पूरा भएको भन्दै केही दिनभित्रमा सार्वजनिक यातायात सञ्चालन गरिने जानकारी दिए ।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले अब फ्लाई ओभरको मध्य भागमा ‘डिभाइडर’ राख्ने र केही सामान्य कामहरू बाँकी रहेकाले यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

२३ दिन भित्रै बाँकी काम पूरा भएपछि यातायात सञ्चालनका लागि खुला गरिने उनले जानकारी दिए ।
पूर्वनिर्धारित समयमा निर्माण पूरा हुन नसकेपछि मन्त्री दाहालले पटकपटक निरीक्षण र अनुगमन गरेपछि तीव्र गतिमा काम गर्न निर्देशन दिए ।

सो फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।

दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षा पछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिइएको शनिबार उद्धारकर्ताले जनाएका छन् ।

राष्ट्रपति सिरिल रामाफोसाले प्रभावित प्रान्तको भ्रमण गरी जलवायु परिवर्तनका कारण विनाशकारी प्रकोपको सामना गर्नु परेको बताए ।

भारी वर्षाले पूर्वी केपमा पानी चार मिटर भन्दा बढी उचाइमा पुगेको अनुमान गरिएको जनाइएको छ ।
बाढीको कारण हजारौँ घर, सडक, विद्यालय तथा स्वास्थ्य सुविधाहरू डुबेको बताइएको छ ।

बाढी र पहिरोबाट माथाथा सहर सबै भन्दा बढी प्रभावित थियो जुन रंगभेद विरोधी पूर्व राष्ट्रपति स्वर्गीय नेल्सन मण्डेलाको जन्मस्थल कुनु गाउँ नजिकै छ ।राति पानी घर भित्र पसेपछि घर भित्र फसका शवको बरामद तथा जिवितहरुको उद्धार गरेको उद्धारकर्ताहरूले बताएका छन् ।

मृतकमध्ये कम्तीमा छ जना बालबालिका र तीन जना वयस्कहरू बाढीमा बगेको स्कुल बसमा रहेको जनाइएको छ ।

शनिबार रुखमा टाँसिएर बसेका तिन जना विद्यार्थीलाई उद्धार गरिएको र चार जना अझै बेपत्ता रहेको जनाइएको छ ।हरित जलवायु कोषका अनुसार दक्षिण अफ्रिका जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा छ ।

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

संयुक्त राष्ट्रसंघ । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै बन्द गर्न आग्रह गरेका छन् । शुक्रबार इजरायलले इरानमा आक्रमण गरी इरानको आणविक सुविधाहरूलाई क्षति पुर्‍यायो ।

इरानको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डता उल्लङ्घन गर्ने इजरायलको कार्यको चीनले निन्दा गर्दछ, संयुक्त राष्ट्रका लागि चीनका स्थायी प्रतिनिधि फु कङ्गले भने ।

चीन तनाव र द्वन्द्वको विस्तारको विरोधमा भएको जनाउँदै उनले इजरायली अपरेसनको परिणामको बारेमा चिन्तित रहेको सुरक्षा परिषद्को आपतकालीन बैठकमा बताए।

द्वन्द्वको वृद्धिले कसैको हितमा काम नगर्ने बताउँदै इजरायललाई तत्काल सबै सैन्य दुस्साहस बन्द गर्न र थप तनावबाट बच्न आग्रह गरेका छन् ।

उनले चीनको पक्षबाट सम्बन्धित पक्षहरूलाई राष्ट्रसङको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको पालना गर्न, र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न र क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न आह्वान गरे ।

हालको घटनाक्रमको नकारात्मक प्रभाव बारे चिन्ता व्यक्त गर्दै चीन सधैँ वार्ताको माध्यमबाट इरानको आणविक सवाललाई शान्तिपूर्ण समाधान गर्न प्रतिबद्ध रही आक्रमणको विरोध गरेको उनले बताए ।

आणविक सन्धिको एक पक्षको रूपमा, इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगको अधिकारलाई पूर्ण रूपमा सम्मान गर्नु पर्ने उनले उल्लेख गरे ।

उनले इजरायलमाथि प्रभाव भएका देशहरूले रचनात्मक भूमिका खेल्नु पर्ने र सुरक्षा परिषद्ले आफ्ना प्रस्तावको कार्यान्वयन सुनिश्चित गरी शान्ति कायम गर्ने बडापत्रमा लिपिबद्ध माध्यमहरू प्रयोग गर्नु पर्ने बताएका छन् ।

नेपालमा पनि मनाइयो विश्व ‘वेलनेश’ दिवस

काठमाडौँ । नेपालमा स्पा र वेलनेशमार्फत पर्यटन प्रर्वद्धन गर्न विश्व ‘वेलनेश’ दिवस मनाइएको छ । स्पा सङ्घ नेपालले विश्व वेलनेश दिवसका अवसरमा शनिबार काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलदेखि नेपाल पर्यटन वोर्ड भृकुटीमण्डपसम्म प्रभातफेरी आयोजना गरेको हो ।

विश्व वेलनेश दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले मसाज, स्पा, थेरापी, वेलनेशमार्फत पर्यटन प्रवद्र्धनका लागि स्पा सङ्घ नेपालले खेलेको भूमिका सराहनीय रहेको बताए ।

उपाध्यक्ष सापकोटाले वेलनेस मनोरञ्जनको साधन नभएर स्वास्थ्य र आर्थिक समृद्धिको आधार हुनसक्ने बताए । उनले नेपालको पर्यटन मौसममा निर्भर रहेकाले यसलाई वर्षभरि नै सञ्चालन गर्न वेलनेश पर्यटनको अवधारणालाई बोर्डले जोड दिएको बताए । पर्यटकको बसाइ अवधि बढाउन पनि वेलनेश पर्यटनबाट सहयोग पुग्ने उनको भनाइ थियो ।

पाटा नेपालका अध्यक्ष खेमराज लकाइले विश्व स्वास्थ्य सङ्गठनले अबको दशकको मुख्य समस्या मानसिक स्वास्थ्य रहने र त्यसबाट मुक्तिका लागि आरोग्य पर्यटनलाई जोड दिनुपर्ने बताए । स्पालाई मनोरञ्जनबाट पर्यटकीय सम्पदा मान्नु सराहनीय रहेको उनको भनाइ थियो ।

स्पा सङ्घ नेपालका अध्यक्ष सुरेश पुरीले व्यस्त र तनावपूर्ण जीवनलाई कम गर्नका लागि स्पा र वेलनेशको महत्वपूर्ण भूमिका रहेको बताए । सन् २०१२ मा पहिलोपटक टर्कीमा वेलनेश दिवस मनाउन सुरु गरे पनि नेपालमा भने दोस्रो वर्ष उक्त दिवस मनाउन लागिएको छ ।

अवसरमा ठमेल पर्यटन परिषद्का महासचिव बद्री तिमिल्सिना, नेपाल होटल एशोसियसनका सदस्य अश्लेसा कार्कीलगायतले नेपाललाई वेलनेस पर्यटनको सम्भावनाकाबारे बोलेका थिए ।

स्पा सङ्घ नेपालका महासचिव अमृत थोकरले प्रत्येक वर्षको जुनको दोस्रो शनिबार विश्व वेलनेश दिवस मनाउँदै आइएको जानकारी दिए । हाल विश्वका १७० देशमा उक्त दिवस मनाउँदै आएको महासचिव थोकरले बताए ।

पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

गण्डकी । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले रु १५ लाखभन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन्।

सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गरेकामा ३० हजार किलोग्राम बिक्री गरेका छन्। प्रतिकूल मौसमका कारण रु पाँच लाख बरबरको हानि भएको किसान आचार्यले जानकारी दिए। निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन्।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो। उक्त तरबुजा फलाए वापत महानगरपालिकाले उहाँहरुलाई रु पाँच हजार नगदसहित पुरस्कृत गरेको थियो।

सुरौदीसहित यसवर्ष पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। परीक्षणका रूपमा गरिएको तरबुजाखेती यसवर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ। महानगरपालिकाले तरबुजाखेतीका लागि बीउ र मलचिङमा सहयोग गरेको उनले बताए।

पोखरा महानगर क्षेत्रका वडाहरूमध्ये वडा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको छ। यसवर्ष पोखरामा करिब चार सय टन (रु दुई करोड बराबर) को तरबुजा उत्पादन भएको छ। महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टीकर तयार गरी प्रदान गरेको शाखा प्रमुख कडरियाले जानकारी दिए।

संसद अनन्तकालसम्म रोक्ने भन्ने कुरा थिएन : अध्यक्ष प्रचण्ड

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन् ।

शनिबार झापाको दमकमा आयोजित कोच, धिमाल, मेचे, सन्थाल, झाँगड र उराऊसहित पाँच वटा मोर्चाको संयुक्त सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘हामी यथास्थितिवाद र प्रतिगमन विरुद्धको लडाइँमा छौं। एकातिर दलाल पुँजीवादीहरूको घेराबन्दी छ भने अर्कातिर गणतन्त्रको विरोधमा सक्रिय प्रतिक्रियावादी शक्तिहरूको चुनौती छ। हामी यसका विरुद्ध दृढतापूर्वक लड्नुपर्नेछ।’

प्रचण्डले पछिल्लो समय संसद अवरोध गर्नुको उद्देश्य सरकार फाल्ने नभई भ्रष्टाचारविरुद्ध सुशासनको मुद्दालाई प्राथमिकता दिलाउने रहेको स्पष्ट पारे ।

‘हामीले संसद अनन्तकालसम्म रोक्ने भन्ने कुरा थिएन। सदनमा नागरिकता, विद्यालय शिक्षा, निजामती सेवा जस्ता विधेयकहरू संसदमा वर्षौंदेखि अल्झिएका छन्। ती विधेयकहरू सरकारमा रहँदा हामीले नै संसदमा दर्ता गरी अघि बढाएका थियौं। यी जनतासँग जोडिएका, शान्तिप्रक्रियासँग र संघीयता कार्यान्वयनसँग सम्बन्धित विषय हुन्, जसलाई पूर्णता दिन आवश्यक छ। हामीले सरकारलाई एक महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्यौं र संसद खोलियो,’ उनले भने ।

उनले भने, ‘माओवादी केन्द्रले सधैं नीति, बहस र विचारमा आधारित राजनीति गर्दै आएको छ, न कि पद र शक्ति हत्याउने उद्देश्यले। हामी अहिले कांग्रेस र एमालेसँग संसदमा जनताको मुद्दा उठाएर बहस गर्न चाहन्छौं। सरकार बनाउने कुरा हाम्रो प्राथमिकता होइन ।’

प्रचण्डले हाल माओवादी केन्द्रप्रति जनतामा समर्थनको लहर देखिएको अवस्थामा पार्टीलाई बदनाम गर्ने नियोजित षड्यन्त्रहरू भइरहेको गम्भीर आरोप समेत लगाए ।

‘देशको बृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक छ’

काठमाडौं ।  नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका एमाले र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक भएको बताएका छन् ।

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भए पनि मुलुकको बृहत्तर हितका लागि द्विदलीय साझेदारी आवश्यकयक भएको बताए ।

‘कांग्रेस र हामी मुख्य प्रतिस्पर्धी दल पनि हौँ । लोकतन्त्रका ‘स्टेक होल्डर’ पनि हौँ’, उनले भने, ‘प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्छौं । हामीबीच सहकार्य आवश्यक छ ।’ उgले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि निजी क्षेत्रमा आशा बढेको र रोकिएका विकासका काम अगाडि बढेको दावी गरे ।

उपमहासचिव ज्ञवालीले संविधान समयअनुसार लचिलो बनाउन परिमार्जन आवश्यक रहेको बताए । उनले सबै वामपन्थी दलबीच एकता हुनुपर्नेमा जोड दिए ।

देशविदेशमा नेपाली खाना प्रर्वद्धन गर्दै ‘सेफ’ कँडेल

 

काठमाडौँ । जापानमा लामो समय ‘सेफ’ रहेका अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल नेपाली खाना विश्वका विभिन्न मुलुकमा प्रर्वद्धनमा क्रियाशील छन् । उनी नेपाली खानाको विश्वव्यापी प्रर्वद्धन अभियानमा लागेका छन् ।

बागलुङको काठेखोला–६ का कँडेल कुनै समय जापानमा नेपाली परिकारको प्रर्वद्धनमा लागेका छन् । जापानको अनुभव अहिले विश्वका विभिन्न देशमा नेपाली खानाको प्रर्वद्धनमा उनी जुटिरहेका छन् । भारत, जापान, अमेरिका, क्यानडा तथा अन्य मुलुकको भ्रमण गरी नेपाली खानाको प्रचार अभियानमा सक्रिय हुन् ।

सेफ कँडेलले हालै पाककलासम्बन्धी विश्वस्तरीय पुस्तक ‘टिमुर’ प्रकाशन गरेका छन् । अर्का सेफ दुर्गा खड्कासँगको सहलेखनमा उहाँको भोजनलिपि ‘कुकबुक’ प्रकाशोन्मुख  छ । उनले स्वदेश तथा विदेशमा गरी ४० भन्दाबढी रेस्टुराँमा सयौँ सेफलाई आफ्नो ज्ञान तथा सीप सिकाएका छन् । उनी पुस्तक लेखन र कार्यक्रममार्फत हजारौँलाई पाककलाको ज्ञान बाँड्ने अभियानमा हुन् ।

सेफ कँडेल र  खड्काको पाककलामा आधारित भोजनलिपि  अभियानअन्तर्गत अहिले देशका विभिन्न जिल्लाबाट नेपाली खाना सङ्कलन गरी व्यावसायिक प्रर्वद्धनमा जुटेका छन् । पाककलामा नाम कमाएका  गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मणप्रसाद भण्डारी, शिवहरि घिमिरे र नयाँपुस्ताका पूर्ण श्रेष्ठ, अजुवी चाम्लिङ, इङ्वा सुब्बालगायत विभिन्न सेफहरुसँगको अनुभव आदानप्रदानले पनि भोजनलिपि स्वाद कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ ।

उनीहरुसँगको सहकार्यले नेपाली खाना प्रर्वद्धन अभियानले छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएको छ ।

विगत १८ वर्षको दौरानमा जापानमै मात्र आधा दर्जनभन्दा बढी रेस्टुराँ सञ्चालन गरी यस क्षेत्रको उच्च अनुभव उनले सँगालेका छन् । जापानिज, इण्डियन, थाइ र नेपाली परिकारलाई फ्यूजन गरी परम्परागत परिकारलाई आधुनिक शैलीमा नवीन एवं सृजनात्मक ढङ्गले प्रस्तुत गर्दै तिनीहरूको मौलिकता कायम राख्न पनि उनी खप्पिस छन् ।

भोजन लिपि स्वादको चौथो संस्करण असार १५ गते

अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करण आगामी असार १५ गते काठमाडौँमा हुने भएको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर कार्यक्रम गर्न लागिएको नेपाली खाना प्रर्वद्धनमा अभियानले जनाएको छ ।

कार्यक्रम धान–चामल र दुग्धजन्य पदार्थका परिकारको प्रर्वद्धनमा आधारित रहने अभियानका संयोजक देवीप्रसाद सापकोटाले जानकारी दिएका छन् । चौथो संस्करणमा मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफीलगायत मौसमी कृषिउपजको पनि प्रर्वद्धन गरिनेछ ।

अभियानले यसअघि यही जेठ १८ गते काठमाडौँमा तेस्रो संस्करण सम्पन्न गरिसकेको छ । नेपाली साङ्गीतिक धुनसहित प्रस्तुत संस्करणमा खानाका विभिन्न २५ परिकार राखिएको थियो ।

भोजनलिपि स्वादमा अधिकांश नेपाली कृषिउपजबाट बनेका परिकार राखिएका थिए । मोही, कोदो, मकै, फापर सिस्नो, कटहर, च्याउका परिकार राखिएको थियो । बेलको सर्वत, निगुरो, खुवा, पान–लड्डुबाट बनेका परिकार पाककलाका विशेष आकर्षण थिए ।

भोजनलिपि स्वादका सर्जक कँडेलले नेपाली खानालाई नेपाली संस्कृति र आध्यात्मिक पक्षसँग पनि जोडेर लैजान उपयुक्त हुने बताउँछन् । आजको संसारमा मानिसले स्वादका अतिरिक्त जीवन पनि खोजिरहेको उल्लेख गर्दै उनले नेपाली खानाले संसारलाई एउटा अमूल्य औषधिरुपी उपहार पनि दिनसक्ने विचार व्यक्त गरे ।

नेपाली खाना प्रर्वद्धन अभियानको संयोजनमा हुँदै आएको भोजनलिपि स्वाद स्वदेश तथा विदेशमा गरी १०० भाग सञ्चालन गरिने अभियानका संयोजक सापकोटाले जानकारी दिए । नेपाली खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन यो अभियान थालिएको हो ।

हालसम्म झापा, इलाम, पाँचथर, दोलखा, धनुषा, चितवन, नवलपरासी, कास्की म्याग्दी बागलुङ, रोल्पा, जुम्लालगायत ३५ जिल्लामा परिकार प्रस्तुत गरिसकिएको छ । काठमाडौँ बाहिर सातै प्रदेशका राजधानीलगायत मुख्य सहरमा पनि अभियान चाँडै सुरु गरिने भएको छ ।

धादिङमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

धादिङ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ सोप्याङखोलामा शनिबार बिहान मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।

हाप्सेचौरतर्फबाट फोकटपुर आउँदै गरेको बा प्र ०२–०५० प ९६२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा थाक्रे गाउँपालिका–८, फोकटपुरका २२ वर्षीय सुमन थापाको मृत्यु भएको हो ।

मुख र ढाडमा गम्भीर चोट लागेका थापालाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक स्वास्थ्य केन्द्र गजुरी पुर्याइएको थियो ।

‘दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको देखिन्छ’, उपचारका क्रममा निजको मृत्यु भएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक सुवास हमालले हमालले भने ।

‘दुई बुँदे सहमतिकाबारेमा पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट गरेर निष्कर्षमा पुग्छौं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीले २०८४ मा बहुमत नल्याए देश थप संकटमा फस्ने बताएका छन् ।

शनिबार काठमाडौंमा दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामकै कारणले अहिले माओवादीप्रति आकर्षण बढेको बताए ।

श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए/नभएको बारेमा समीक्षा हुनुपर्ने बताएका छन् ।

उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग दुई बुँदे सम्झौता भएपछि संसद खुलेको बताए । उनले त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेकाले पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको र अध्यक्षले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुगेको हुनसक्ने बताए ।

उनले भने, ‘देशलाई संकटबाट मुक्त गराउन हाम्रो पार्टीको नेतृत्व आवश्यक छ । ०८४ को चुनाव आउँदैछ । देश बर्बाद भयो भन्ने अनि माओवादीलाई बहुमतको सरकार बनाउने ठाउँमा पुर्याउन सकेन भने देश झन् संटकमा फस्छ ।’

संसद खुलाउन भएको दुई बुँदे सहमतिका बारेमा विभिन्न प्रतिक्रियाहरु आइरहेकाले त्यसबारेमा पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट गरेर निष्कर्षमा पुग्ने बताए । उनले हाल आफ्नो पार्टीले लिएको मुद्दा नछाड्ने र भ्रष्टाचार विरुद्धको अभियान जारी राख्ने प्रतिक्रिया दिए ।

प्रतिफल आउने खालको सडक आयोजनाको अध्ययन मन्त्रालयले गरिरहेको छः मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रतिफल पनि दिन सक्ने खालको आयोजनाको खोजी भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा ‘दोलालघाट–चर्नावती सुरुङ्ग मार्ग निर्माण’ विषयक अन्तरक्रियामा उनले प्रतिफल आउने खालको सडक आयोजनाको अध्ययन मन्त्रालयले गरिरहेको बताएका हुन् ।

उनले भने,‘आयोजनाहरु अगाडि बढाउँदा जनताको घनावस्ती भएको ठाउँ धेरै जनतालाई प्रभाव पार्ने ठाउँलाई प्राथमिकता दिन्छौं । यस्ता आयोजनाहरुको पनि खोजी गरिरहेको छौं । जुन आयोजनाले प्रतिफल पनि दिन सकोस्।’

त्यस्तै उनले दोलालघाट–चर्नावती सुरुङ्ग मार्ग निर्माणको विषयमा विभिन्न समस्या र चुनौतीहरु देखिएको भन्दै त्यसलाई पार गर्दै अगाडि बढ्नुपर्ने बताए ।

मन्त्री दाहालले अन्य विकासित देशहरुमा जनताको चासोले नै विकास सम्भव भएको भन्दै विकास निर्माणमा गहिरो चासो जनताले राख्यो भने देशछिटै अगाडि बढ्न सक्ने धारणा राखे ।

आर्मीका तिलक सुनुवारलाई शैलुङ अल्ट्रा रेसको उपाधि तिलक सुनुवारलाई

रामेछाप । शैलुङ अल्ट्रा रेसको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा महिला र पुरुष खुल्ला ५५ किमी र पाँच किमी दौड समावेश गरिएको थियो ।

सुनापाति ३ साँदीडाँडाबाट सुरु भई सुनापाति डाँडा, लहरे माने, भागे डाँडा, खाँडादेवी मन्दिर, गाल्पा भन्ज्याङ, अग्लेश्वर डाँडा, दोरम्बा बजार, सहिद पार्क, डाँडाकटेरी, घले डाँडा हुँदै सैलुङमा पुगेर खेल सम्पन्न भएको थियो ।

एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा प्रतियोगिताको ५५ किमी दौड रामेछापको उमाकुण्ड गाउँपालिका घर भएका त्रिभुवन आर्मी क्लबका तिलक सुनुवारले जितेका छन् ।

उनले ५५ किलोमिटरको दुरी ५ घण्टा ७ मिनेटमा पार गरेका हुन् । सुनुवारले विजेताले नगद १ लाख रुपैँया पुरस्कार जितेका छन् ।

प्रतियोगितामा ताप्लेजुङ घर भएका नेपाल आर्मीका चन्द्रबहादुर लिम्बु उपविजेता बनेका छन् । उनले सो दुरी ५ घण्टा ८ मिनेटमा पार गरे । उपविजेताले ५० हजार रुपैँया नगद पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै तेस्रो हुने नेपाल आर्मीकै सोलुका अर्जुन कुलङले २५ हजार रुपैँया नगद प्राप्त गरेका छन् । उनले पाँच घण्टा ११ मिनेटमा सो दुरी पार गरेका हुन् ।

प्रतियोगितामा चौथो हुनेले १० हजार र पाँचौँ स्थानमा रहनेले ५ हजार रुपैँया जितेका छन् । छैटौँदेखि १० औँ स्थानमा आउनेले जनही एक हजार रुपैँया पाएका छन् ।

यस्तै ५ किलोमिटर दुरीको विजेता नेपाल आर्मीका अर्जुन बुढाले १२ हजार नगद पुरस्कार पाएका छन् । बुढाले सो दौड १८ मिनेट ४० सेकेन्डमा पुरा गरेका थिए ।

उपविजेता आर्मीकै सूर्यराज राईले १९ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरी ८ हजार रुपैँया नगद प्राप्त गरेका छन् । तेस्रो हुने नेपाल आर्मीका बुद्धराम तामाङले २० मिनेट ८ सेकेन्डमा दुरी पुरा गरी ५ हजार नगद प्राप्त गरेका छन् ।

सो प्रतियोगितामा चौथो हुनेले ३ हजार र पाँचौँ हुनेले २ हजार रुपैँया पुरस्कार पाएका छन् । छैटौँदेखि १० औँ स्थानमा रहनेले जनही १ हजार रुपैँया प्राप्त गरेको छन् ।

भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती

भोजपुर। भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती गरिएको छ । प्रदेश सरकारबाट प्राप्त रु सात लाख र किसानसँगको साझेदारीमा रामप्रसाद राई गाउँपालिकामा कफीखेती सुरु गरिएको हो ।

नमूना कफीखेती विस्तार गर्ने लक्ष्यले गुराँस सहकारी संस्थामा आबद्ध आठ जना कृषकहरूको समूहले दुई हजार दुई सय बिरुवा रोपेर कफीखेती सुरु गरेको वडा नं ८ का अध्यक्ष बाचकुमार राईले जानकारी दिए। यो क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल रहेकोले वडाको पहलमा बजेट माग गरी कफीखेती प्रवर्द्धन तथा विस्तार भइरहेको वडाध्यक्ष राईले बताए।

वडाध्यक्ष राईले भने,’खोक्सिक क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल मानिन्छ । कृषकलाई कफीखेतीका माध्यमबाट आयआर्जनमा जोड्न यो कार्यक्रमले टेवा पुग्ने विश्वास छ ।’

विगतमा सामान्य रुपमा कफीखेती गरिरहेको भए पनि यो कार्यक्रमले वृहत रुपमा खेती विस्तारमा टेवा पुगेको गुराँस सहकारी संस्थाका उपाध्यक्ष मनोज राईले बताए।

‘हाम्रो क्षेत्रमा सामान्य रुपमा कफीखेती गरिरहेका थियौँ’, उनले भने, ‘धेरै मात्रामा विस्तार गर्ने सोच भए पनि आर्थिक अभावमा गर्न सकिएको थिएन । कार्यक्रम सञ्चालन भएपछि हामीलाई खेती विस्तारको लागि हौसला मिलेको छ ।’

रामप्रसाद राई गाउँपालिकासँगै हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानहरूले कफीखेती गरिरहेका छन् । यहाँका किसानले उत्पादन गरेको कफी, धरान, इटहरी, विराटनगर काठमाडौँ हुँदै जापान, कोरियासम्म निर्यात हुने गरेको कफी व्यवसायी सुनिल श्रेष्ठले बताए।

अर्गानिक (जैविक) कफीको विदेशी बजारमासमेत माग रहेको उनको भनाइ छ । भोजपुरमा उत्पादन भएको कफी संकलन गरेर बाहिरका बजारमा आफूले बिक्री गर्दै आएको श्रेष्ठले जानकारी दिए । कफीले बाह्य बजारमा राम्रो मूल्य पाउन थालेपछी यहाँका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् ।

भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती

भोजपुर। भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती गरिएको छ । प्रदेश सरकारबाट प्राप्त रु सात लाख र किसानसँगको साझेदारीमा रामप्रसाद राई गाउँपालिकामा कफीखेती सुरु गरिएको हो ।

नमूना कफीखेती विस्तार गर्ने लक्ष्यले गुराँस सहकारी संस्थामा आबद्ध आठ जना कृषकहरूको समूहले दुई हजार दुई सय बिरुवा रोपेर कफीखेती सुरु गरेको वडा नं ८ का अध्यक्ष बाचकुमार राईले जानकारी दिए। यो क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल रहेकोले वडाको पहलमा बजेट माग गरी कफीखेती प्रवर्द्धन तथा विस्तार भइरहेको वडाध्यक्ष राईले बताए।

वडाध्यक्ष राईले भने,’खोक्सिक क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल मानिन्छ । कृषकलाई कफीखेतीका माध्यमबाट आयआर्जनमा जोड्न यो कार्यक्रमले टेवा पुग्ने विश्वास छ ।’

विगतमा सामान्य रुपमा कफीखेती गरिरहेको भए पनि यो कार्यक्रमले वृहत रुपमा खेती विस्तारमा टेवा पुगेको गुराँस सहकारी संस्थाका उपाध्यक्ष मनोज राईले बताए।

‘हाम्रो क्षेत्रमा सामान्य रुपमा कफीखेती गरिरहेका थियौँ’, उनले भने, ‘धेरै मात्रामा विस्तार गर्ने सोच भए पनि आर्थिक अभावमा गर्न सकिएको थिएन । कार्यक्रम सञ्चालन भएपछि हामीलाई खेती विस्तारको लागि हौसला मिलेको छ ।’

रामप्रसाद राई गाउँपालिकासँगै हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानहरूले कफीखेती गरिरहेका छन् । यहाँका किसानले उत्पादन गरेको कफी, धरान, इटहरी, विराटनगर काठमाडौँ हुँदै जापान, कोरियासम्म निर्यात हुने गरेको कफी व्यवसायी सुनिल श्रेष्ठले बताए।

अर्गानिक (जैविक) कफीको विदेशी बजारमासमेत माग रहेको उनको भनाइ छ । भोजपुरमा उत्पादन भएको कफी संकलन गरेर बाहिरका बजारमा आफूले बिक्री गर्दै आएको श्रेष्ठले जानकारी दिए । कफीले बाह्य बजारमा राम्रो मूल्य पाउन थालेपछी यहाँका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् ।

आठ सय ७२ औद्योगिक प्रतिष्ठानलाई अनुमतिपत्र प्रदान

जनकपुरधाम । धनुषामा आठ सय ७२ औद्योगिक प्रतिष्ठानलाई अनुमतिपत्र प्रदान गरिएको छ। गुणस्तर तथा नापतौल कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ८८१ वटा व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नयाँ नापतौल यन्त्र र अनुमतिपत्र प्रदान गरेको हो।

अनुमतिपत्र नलिई नापतौल यन्त्रको प्रयोग गरेका एक हजार ८७२ जना व्यवसायीलाई कारबाही गरेको छ । उनीहरुले आफूखुसी ढक तथा तराजु र ‘डिजिटल’ नापतौल यन्त्रको प्रयोग गरेका थिए । उनीहरूलाई कारबाही गरेर कानुनको दायरामा ल्याइएको उक्त कार्यालयका प्रमुख सुनील यादवले बताए।

दश महिनामा दुई हजार ३७२ जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरेको तथा सर्लाही, महोत्तरी एवं रामेछापमा नापतौल यन्त्रको प्रयोग, नापतौल जरिवाना तथा कानुनी कारबाहीसम्बन्धी जानकारी गराइएको छ । सो अवधिमा ४१ लाख १२ हजार ८४० राजस्व सङ्कलन भएको जानकारी उनले गराए।

पार्टीको महाधिवेशन २०८३ मंसिर अघि नै हुन्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन २०८३ मंसिर अघि नै हुने दाबी गरेका छन् ।

शनिबार पार्टीको प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले ०८४ को चुनावपछि अधिवेशन हुन्छ भन्ने भ्रमबाट निस्कन आग्रह गरेका हुन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवा, शेखर कोइराला, शशाङ्क कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भनेपनि नसर्ने बताए ।

उनले भने, ‘महाधिवेशनका बारेमा कोही पनि दुविधामा नरहनु होला । हामीसँग लास्ट डेट भनेको ०८३ को मंसिर हो । त्यहाँसम्म पुर्याउनु हुन्न ।’

महामन्त्री थापाले पार्टीमा गुटबन्दी अन्त्यका लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने पनि बताए । उनले कांग्रेसमा अहिले ८ लाख ६६ हजार क्रियाशील सदस्य रहेका भन्दै नयाँ थप्दा १२ लाख पुगेपनि सबैले सभापति चुन्न पाउने गरी जानुपर्ने बताए ।

इजरायलविरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान

तेहरान । इरानी विदेश मन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टानियो गुटेरेससँग फोन वार्तामा द्वन्द्व उक्साएकोमा इजरायली सेना विरुद्ध तत्काल कारबाही गर्न आग्रह गरेका छन् ।

फोन वार्तामा अराघचीले इजरायली आक्रमणले इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको अधिकारमाथी प्रहार गरेको उल्लेख गरेका छन् । यसलाई उनले आफ्नो देश विरुद्धको स्पष्ट आक्रमणको रूपमा वर्णन गदै राष्ट्रसँङ्घको बडापत्रको धारा–५१ अनुसार आफ्नो रक्षा गर्ने तेहरानको सङ्कल्पलाई पुष्टि गरेका छन् ।

उनले राष्ट्रसङ्घीय सुरक्षा परिषद् तथा समग्र संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने कुरामा जोड दिँदै आक्रमणको कडा निन्दा गरेका छन् । इरानमा भएको आक्रमणका लागि इजरायललाई जवाफदेही बनाउन तत्काल ठोस कदम चाल्नुपर्ने समेत उनले बताए ।

तेहरान र वासिङ्टन बीच वार्ता चलिरहेको समयमा इरानी आणविक सुविधाहरूलाई लक्षित गरी गरिएको आक्रमणको राष्ट्रसङ्घीय महामसचिव गुटेरेसले निन्दा गरेका छन् । उनले तनावको वृद्धि रोकी यस क्षेत्रमा शान्ति र स्थिरता पुनस्र्थापना गर्न संयुक्त राष्ट्र संघको पूर्ण क्षमता प्रयोग गर्ने बताए ।

बाराबाट ३९ लाखभन्दा बढीको मोवाइल पार्ट्स बरामद

बारा । सशस्त्र प्रहरीले बाराबाट ३९ लाख रुपैयाँभन्दा बढीको मोवाइल पार्ट्स  बरामद गरेको छ ।

सशस्त्र प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–३ डम्पिङ्ग साइटबाट शनिबार ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न मोवाइलको पार्ट्स  बरामद गरेको जनाएको छ ।

रक्तदाता बढाउन चितवनमा रक्तदान महोत्सव

चितवन । उपचारका लागि रगतको अभाव भएपछि ब्लड डोनर्स सोसाइटी चितवनले शनिबार रक्तदान महोत्सव गरेको छ । विश्व रक्तदाता दिवस २०२५ का अवसरमा उद्योग सङ्घको प्रदशनी केन्द्रमा रक्तदान महोत्सव आयोजना गरिएको हो ।

महोत्सवको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक समारोहबीच उद्घाटन गरिन् । उनले अस्पतालको केन्द्र बन्दै गरेको चितवनमा आयोजित महोत्सवले रगतको अभाव हुने समस्या समाधान गर्नेमा विश्वास व्यक्त गरिन् ।

प्रमुख दाहालले भनिन्, “मानव जीवनको महत्वपूर्ण काम रक्तदान पनि हो, जसले कसेको ज्यान बच्न सक्छ, रक्तदातालाई प्रोत्साहन गर्न आवश्यक छ ।”

जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले नयाँ रक्तदाता खोजेर रक्तदानमा उत्प्रेरित गर्नुपर्ने बताए । समाजमा युवालाई रक्तदान गर्दा शरीरमा हानी हुँदैन भन्ने ज्ञान दिन जरुरी रहेको उनको भनाइ छ । सोसाइटी चितवनका अध्यक्ष एकराज पाठक, सोसाइटीका रत्ननगर नगरपालिका अध्यक्ष रमेश नेपाललगायतले रक्तदानबारे चर्चा गरेका थिए ।

महोत्सवमार्फत ७५ प्रतिशत नयाँ रक्तदाता ल्याउने अपेक्षा लिइएको सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीले बताए ।

एक दिनमा एक हजार ५०० युनिटभन्दा बढी रगत सङ्कलन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको जनाइएको छ । त्यस अवसरमा १०० भन्दाबढी पटक रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको थियो ।

सोसाइटीका अनुसार हाल चितवनका अस्पतालमा दैनिक १५० युनिट रगतको माग छ । अहिले प्रादेशिक रक्तसञ्चार केन्द्रमा औसतमा ३० देखि ४० युनिट मात्र रगत उपलब्ध हुँदै आएको छ ।

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै त्यसमा हरेक नेपालीको सहयोग आवश्यक भएकामा जोड दिएका छन् ।

अन्नपूर्ण मिडिया नेटवर्कले आज यहाँ आयोजना गरेको विद्युतीय सवारीसाधन ‘इभी र्‍याली’मा उनले वातावरण संरक्षणलाई जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने जोखिमलाई दृष्टिगत गरेर तदनुरुप नीति निर्माणमा लागेको बताए ।

अर्थमन्त्री पौडेलले भने, “स्वच्छ वातावरणको सुनिश्चितता कुनै देश विशेषको नभएर सिङ्गो पृथ्वीको साझा चासो हो । एकातिर विकासका आवश्यकतालाई सम्बोधन गर्नुछ भने अर्कोतिर स्वच्छ वातावरण निर्माण । ‘सगरमाथा संवाद’ आयोजना गरेर हामीले वातावरण संरक्षणका निम्ति हामी प्रतिबद्ध रहेको सन्देश दिएका छौँ ।”उनले विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा सरकार दृढतापूर्वक उभिएको बताए ।

कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मिडियाको काम समाचार सम्प्रेषण मात्र नभई वातावरण संरक्षणमा पनि भएकाले आफूहरू त्यो अभियानमा लागेको बताए ।

राप्ती प्रादेशिक अस्पतालमा बिग्रिएको एक वर्षसम्म पनि मर्मत गरिएन डायलासिस मेसिन

दाङ। दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन बिग्रिएको एक वर्षभन्दा बढी भए पनि मर्मत हुन सकेको छैन । अस्पतालमा १४ वटा मेसिनमध्ये हाल पाँच वटा मेसिन बिग्रिएका छन् ।

नौ वटा मेसिन भने चालु अवस्थामा रहेको अस्पतालका डायलासिस शाखा प्रमुख लिना बडेलले बताइन् । मर्मत गर्नका लागि काठमाडौँबाट इञ्जिनियर नै आउनुपर्ने भए पनि इञ्जिनियर आउन नमानेको उनको गुनासो छ। “इञ्जिनियरहरूलाई बोलाएको हो”, उनले भनिन्, “तर पुराना डिजाइनका भएर होला, उहाँहरू आउनु मान्नुभएको छैन ।” डायलासिस मेसिन बिग्रिँदा निकै समस्या हुने गरेको छ ।

घर पायक डायलासिस गर्न चहानेहरूलाई समेट्न नसकिएको उनले बताइन् । तुलसीपुरकै बिरामीहरूलाई पनि घोराही, लमही, बुटवलसम्म लैजानुपर्ने अवस्था रहेको उनले जानकारी दिइन् ।

अहिले नियमित ७२ जनाले सेवा लिइरहेका छन् । अस्पतालमा डायलासिसका लागि दाङसहित सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्यूठानलगायतका ठाउँबाट बिरामी आउने गरेका छन् ।

गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै

बागलुङ । सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराधसम्बन्धी घटना पनि बढेको पाइएको छ। पछिल्लो चार वर्षमा गण्डकी प्रदेशमा मात्रै दुई हजार ९५१ उजुरी परेका छन्।

यस अवधिमा सबैभन्दा बढी कास्की र सबैभन्दा कम मनाङमा उजुरी परेका छन्। कास्कीमा एक हजार ६८३ र मनाङमा तीन जनाले उजुरी दिएका छन्। नेपाल प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रहरी निरीक्षक प्रकाश पौडेलका अनुसार कास्कीमा आर्थिक वर्ष २०७८/७९ मा ११४ वटा, आव २०७९/८० मा २३२ वटा, आव २०८०/८१ मा ९३८ र चालु आवको वैशाख मसान्तसम्म ३९९ वटा मुद्दा परेका छन्।

नवलपुरमा आर्थिक वर्ष २०७८/७९ मा ३१ वटा, आव २०७९/८० मा ४४ वटा, आव २०८०/८१ मा २०२ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३९९ वटा मुद्दा परका छन्। तनहुँमा आर्थिक वर्ष २०७८/७९ मा १९ वटा, आव २०७९/८० मा ५२ वटा, आव २०८०/८१ मा १३७ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४१ वटा मुद्दा परको प्रहरी निरीक्षक पौडेलले बताए।

स्याङ्जामा आर्थिक वर्ष २०७८/७९ मा २४ वटा, आव २०७९/८० मा ३३ वटा, २०८०/८१ मा ७३ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २९ वटा मुद्दा परेका छन्। बागलुङमा आर्थिक वर्ष २०७८/७९ मा नौ वटा, आव २०७९/८० मा नौ वटा, आव २०८०/८१ मा ३५ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २८ वटा मुद्दा परको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

गोरखामा आर्थिक वर्ष २०७८/७९ मा १९ वटा, २०७९/८० मा ११ वटा, आव २०८०/८१ मा ६४ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २४ वटा मुद्दा परेका छन्। लम्जुङमामा आर्थिक वर्ष २०७८/७९ मा साइबर अपराधसम्बन्धी उजुरी परेको छैन। आर्थिक वर्ष २०७९/८० मा चार वटा, आव २०८०/८१ मा ७१ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २६ वटा मुद्दा परेको पौडेलको भनाइ छ।

पर्वतमा आर्थिक वर्ष २०७८/७९ मा १० वटा, आव २०७९/८० मा १७ वटा, आव २०८०/८१ मा ५२ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ११ वटा मुद्दा परेका छन्। म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ मा छ वटा, आव २०७९/८० मा छ वटा, आव २०८०/८१ मा ३६ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २४ वटा मुद्दा परेका छन्। मनाङमा आर्थिक वर्ष २०७८/७९ मा साइबर अपराधसम्बन्धी उजुरी परेको छैन भने आव २०७९/८० मा एउटा वटा, आव २०८०/८१ मा एउटा र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एउटा वटा मुद्दा परेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । नेपाल प्रहरी प्रदेश कार्यालयमा २०७८/७९ मा दुई वटा, आव २०७९/८० मा तीन वटा, आव २०८०/८१ मा १३ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एउटा पनि मुद्दा नपरेको उनको भनाइ छ।

सबैभन्दा बढी उजुरी गर्ने फेसबुक प्रयोगकर्ता

गण्डकी प्रदेशमा साइबर अपराधसम्बन्धी सबैभन्दा बढी उजुरी गर्ने फेसबुक प्रयोगकर्ता छन् भने कम उजुर गर्नेमा ह्वाट्सएप प्रयोगकर्ता छन्। चार वर्षमा दुई हजार ५४६ जना फेसबुक प्रयोगकर्ताले उजुरी दिएका छन् भने ७३ जना ह्वाट्सएप प्रयोगकर्ताले उजुरी दिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । प्रहरी निरीक्षक पौडेलका अनुसार १७७ जना टिकटक, ८१ जना इन्स्टाग्राम ७३ जना अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले उजुरी गरेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा १९० जना, आव २०७९/८० मा ३१३ जना, आव २०८०/८२ मा एक हजार ५४२ जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ५०१ जना फेसबुक प्रयोगकर्ताले उजुरी दिएका छन् । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा २५ जना, आव २०७९/८० मा ४९ जना, आव २०८०/८२ मा २९ जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ७५ जना टिकटक प्रयोगकर्ताले उजुरी दिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा छ जना, आव २०७९/८० मा ३८ जना, आव २०८०/८१ मा २० जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १७ जना इन्स्टाग्राम प्रयोगकर्ताले उजुरी दिएका छन्।

आर्थिक वर्ष २०७८/०७९ मा चार जना, २०७९/८० मा नौ जना, आव २०८०/८२ मा २१ जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १९ जना ह्वाट्सएप प्रयोगकर्ताले उजुरी दिएका छन्। चार वर्षमा ७३ जना अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले उजुरी दिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

प्रहरीले तयार गरेको तथ्याङ्कअनुसार सामाजिक सञ्जाल ह्याकसम्बन्धी बढी उजुरी परेको छ। ह्याकसम्बन्धी एक हजार ८०६ जना, फेक आइडीसम्बन्धी ६७४ जना, ठगीसम्बन्धी ३४, गालीगलौजसम्बन्धी ११३ जना, अश्लिल गतिविधिसम्बन्धी २०५ जना र अन्य साइबर अपराधसम्बन्धी ६८ वटा उजुरी परेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा परेका ६६६ उजुरीमध्ये ४३० वटा फछ्र्यौट भएका छन्। २३६ उजुरी भने फछ्र्यौटका क्रममा छन्।

सबैभन्दा बढी युवा पीडित

प्रदेश प्रहरी कार्यालय गण्डकीको तथ्याङ्कलाई हेर्दा साइबर अपराधबाट सबैभन्दा बढी युवापुस्ता पीडित भएको देखिन्छ। विद्यालय र क्याम्पस पढ्ने उमेर समूहका विद्यार्थी र आफै केही गर्नसक्ने युवा साइबर अपराधबाट पीडित बनेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ देखि हालसम्म २६–३५ उमेर समूहका एक हजार ६१ जना पीडित भएका छन्।

सोह्र वर्ष मुनिका ५८ जना, १६–२५ उमेर समूहका ८३६ जना पीडित भएका छन् । त्यस्तै, ३६–४५ उमेर समूहका ६२७ जना, ४६–६० उमेर समूहका २६९ जना, ६० वर्ष माथिका ५४ जना र अन्य उमेर समूहका ४६ जना पीडित बनेका छन् ।

किन युवापुस्ता बढी पीडित छन् ?

साइबर अपराधसम्बन्धी कानुनबारे सचेत नहुँदा घटनाहरु हुने गरेको अधिवक्ता राम शर्माले बता । साइबर अपराध कम गर्नका लागि सामाजिक सञ्जाल प्रयोगकर्ता सचेत हुन जरुरी रहेको बताए। साइबर कानुन नेपालमा भएको हुँदा यसको कार्यान्वयन अलि प्रभावकारी हुन नसक्दा घटना हुने गरेको उनको भनाइ छ।

अधिवक्ता शर्माले भने, ‘अहिले मर्यदाविपरीत तस्बिर र भिडियो पोस्ट गर्ने प्रचलन जस्तो भयो, यसले स्वयं व्यक्ति र समाजलाई पनि राम्रो गरेको छैन, हरेक नागरिक सचेत नभएसम्म यस्ता किसिमका अपराधका घटना कम गर्न गाह्रो हुन्छ।’ चिनजानका आधारमा मोबाइल बैंकिङका पासवर्ड अरुलाई दिने र अपरिचित लिङ्क खोल्दा धेरैको फेसबुक ह्याक हुने गरेको धेरै मानिसहरु पीडित हुनुपरेको शर्मा बताउँछन्।

मुलुकी ऐन तथा अन्य ऐनका विभिन्न दफा लगाएर कानुन कारबाही हुँदै आएकामा विसं २०६३ बाट भने विद्युतीय कारोबार नियन्त्रणसम्बन्धी विशेष ऐन नै ल्याई हाल लागू भइरहेको उनले बताए। यस ऐनको दफा ४४ देखि दफा ५८ सम्म विभिन्न प्रकारका कसुरको उल्लेख गरी सो प्रमाणित भएमा कानुनअनुसार रु ५० हजारदेखि पाँच लाखसम्म जरिवाना तथा छ महिनादेखि पाँच वर्षसम्मका जेल सजाय कसुर अपराधको मात्रा हेरी अदालतले तोक्नसक्ने कानुनी प्रावधान छ।

टेक्सासमा बाढीका कारण दश जनाको मृत्यु

वासिङटन । दक्षिणी अमेरिकी राज्य टेक्सासमा भारी वर्षाका पछि आएको बाढीका कारण कम्तिमा दश जनाको मृत्यु हुनुका साथै धेरै व्यक्तिहरू बेपत्ता भएका अधिकारीहरूले जनाएका छन् ।

केएनएसका अनुसार टेक्सासको सान एन्टोनियो सहरमा वर्षा पछि सडकहरूमा बाढी आउदाँ सवारी साधनहरू समेत अवरुद्ध भएको जनाइएको छ ।

सान एन्टोनियो फायर विभागले पीडितहरूको खोजी गरिरहेको जनाइएको छ । हालसम्म मृतकको सङ्ख्या दश पुगेको सहरका अधिकारीहरूले पुष्टि गरेका छन् ।

सान एन्टोनियो मेयर रोन निरेनबर्गले सामाजिक सञ्जाल एक्समा बाढीमा ज्यान गुमाएका हरूको खोजी जारी राख्ने बताएका छन् ।

सहरका अधिकारीहरूले बाढी प्रभावितको उद्धार र अनुसन्धान भइरहेको बताएका छन् । वैज्ञानिकहरूले लामो समयदेखि मानव निर्मित जीवाश्म ईन्धन उत्सर्जन द्वारा सञ्चालित जलवायु परिवर्तनले उच्च वर्षा जस्ता चरम मौसम घटनाहरूको सम्भावना बढाइरहेको चेतावनी दिएका छन् ।

संसदबाट महत्वपूर्ण ऐन पारित गर्न दुई बुँदे सहमतिः प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई बुँदे सहमति संसदबाट ऐन पारित गर्नका लागि भएको बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले निजामती सेवा ऐन, शिक्षा सेवा ऐनलगायत महत्त्वपूर्ण ऐनहरू पारित गराउन ढिला भएकाले सदन खुलाउने सहमति गरिएको बताएका हुन् । उनले दुई बुँदे सहमति र आफ्नो पार्टीका उपाध्यक्ष अग्नि सापकोटाबीच कुनै साइनो नभएको जिकिर गरे ।

उनले भने, ‘वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्या छन्, त्यस्तो केही पनि होइन, यो कुरा र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन।’

उनले भिजिट भिसा प्रकरण छानबिनको मुद्दा नछाडेको जिकिर पनि गरे । उनले यस प्रकरणमा एक महिनाभित्र छानबिन समिति बनाउने सहमति भएपछि तत्काललाई संसद् बैठक चल्न दिने सहमति गरिएको बताए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने अडान राखेर जेठ १३ देखि निरन्तर संसद् बैठक अवरुद्ध पारिरहेको माओवादी केन्द्रले शुक्रबार सत्तापक्षसँग दुई बुँदे सहमति गरेको छ ।

इरानद्वारा इजरायलमा जवाफी क्षेप्यास्त्र हमला

बीबीसी । इजरायली हमलाको जवाफमा इरानले गएराति इजरायलमा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ । हमलाहरू जारी रहँदा इजरायली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका छन् ।

तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसेलममा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् । अन्य इजरायली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन् । उक्त जवाफी हमलापछि ४० जनाको इजरायली अस्पतालहरूमा उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूले एकजनाको मृत्यु भएको उल्लेख गरेका छन् । शनिबार बिहानैदेखि दुवै पक्षबाट भएका हमलामा तेहरानमा समेत विस्फोटनका आवाज सुनिएका छन् ।

संयुक्त राष्ट्र सङ्घका लागि इरानी राजदूतले शुक्रबारदेखिका इजरेली हमलामा वरिष्ठ सैन्य अधिकारीहरूसहित ७८ जनाको मृत्यु भएको र ३२० जना भन्दा बढी घाइते भएको बताउँदै त्यसमा अधिकांश सर्वसाधारणहरू रहेको उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रममा सम्झौता गर्न आग्रह गर्दै त्यसो नभए ‘अझ क्रूर’ इजरायली आक्रमण हुनसक्ने चेतावनी दिएका छन् ।

इजरायली सञ्चारमाध्यमहरूले इरानी प्रतिआक्रमण सुरु भएदेखि एक व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएका छन् । इरानको आणविक कार्यक्रमसँग सम्बन्धित स्थान र व्यक्तिहरूमाथि लक्षित गरेर इजरेलले गरेको अभूतपूर्व हवाई आक्रमणको जवाफमा पछिल्लो हमला भएको हो ।

इजरायली प्रधानमन्त्रीले इरानलाई चेतावनी दिँदै थप आक्रमणहरू हुने क्रममा रहेको जनाएका छन् । बेन्जमिन नेतन्याहूले यस आक्रमणलाई इतिहासकै सबैभन्दा ठूलो सैन्य कारबाहीहरू मध्ये एकको रूपमा उल्लेख गरेका छन् ।

यातायात कार्यालय चितवनका एक कर्मचारी १ लाख ८५ हजार नगदसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चितवनमा छापामारी दुई जनालाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले कार्यालय सहायक ४९ वर्षीय इन्द्रजित गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने ३१ वर्षीय बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिएको छ । त्यसक्रममा कार्यालय सहायक गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद समेत बरामद भएको छ ।

उपभोक्ता अदालतले ठगिएका उपभोक्तालाई दिन थाल्यो न्याय, ६० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने निर्णय

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको सक्रिय पहलमा गठन भएको उपभोक्ता अदालतले ठगिएका उपभोक्तालाई न्याय दिलाउन थालेको छ ।

उपभोक्ताको हक र हितको संरक्षणका लागि अदालतले शुक्रबार मात्र २ वटा मुद्दामा फैसला सुनाउँदै करिब ६० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । सबैभन्दा ठूलो क्षतिपूर्तिको निर्णय ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि विरुद्धको मुद्दामा भएको हो ।

बुढानीलकण्ठ–९ का बसन्त गौतमले हस्पिटल विरुद्ध दायर गरेको मुद्दामा ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने निर्णय भएको छ । गौतमले आफ्ना ९८ वर्षीय पिता हरिहरप्रसाद गौतमको ओम हस्पिटलमा उपचार गराएका थिए ।

तर, उपचारमा लापरवाहीका कारण केही समयमै उनको मृत्यु भएको भन्दै गौतमले अदालतमा उजुरी दिएका थिए। अदालतले उक्त मुद्दामा ८० प्रतिशत क्षतिपूर्ति अस्पतालबाट र बाँकी दुई जना डाक्टरबाट भराउने फैसला गरेको छ ।

त्यस्तै, मोटरसाइकल खरिदमा ठगीको मुद्दामा काठमाडौंका नातीबाबु खड्काले ३ लाख ९३ हजार रुपैयाँ क्षतिपूर्ति पाउने फैसला भएको छ । खड्काले जमलस्थित जीआरएस टु युजर्स अटो प्रालिबाट मोटरसाइकल खरिद गरेका थिए ।

तर, विग्रेको मोटरसाइकल परेपछि रकम फिर्ता नपाएको भन्दै अदालतमा मुद्धा दायर गरेका थिए । यसअघि संविधान बनेको दशकौँसम्म गठन हुन नसकेको उपभोक्ता अदालत मन्त्री भण्डारीकै पहलमा स्थापना भई २०८१ चैतदेखि सञ्चालनमा आएको हो ।

अदालत सञ्चालनमा आएयता यसले उपभोक्तालाई न्याय दिलाउने उल्लेखनीय काम गर्दै आएको छ । उपभोक्ता अधिकारको संरक्षण र व्यवसायिक पारदर्शिता कायम गर्न उपभोक्ता अदालतको सक्रियता महत्वपूर्ण भएको भन्दै सर्वसाधारणले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् ।

माधव नेपालको सांसद पद निलम्बन भएको सभामुखले गराए जानकारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पद निलम्बनको सूचना सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा पढेर सुनाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै सभामुखले स्वतः निलम्बनको कानुनी प्रवधानबारे संसदलाई जानकारी गराएका हुन् ।

अख्तियारले नेपालमाथि पताञ्जलीको जग्गा हिनामिना प्रकरणमा साढे १८ करोडभन्दा बढी बिगो दाबीसहित उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।

गृहमन्त्री सदनमा बोलिरहँदा रास्वपाले वेल घेर्दै मागे राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा वेल घेराउ गरेको छ ।

सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि सांसद सांसहरूले वेल घेराउ गरेका हुन् ।

शुक्रबार अपराह्न सुरू भएको बैठकमा रास्वपा र राप्रपाका सांसदहरूले विरोध जनाएका थिए। त्यसैबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई समय दिएका हुन्।

गृहमन्त्री लेखकले रोष्ट्रममा पुगेर धारणा राखिरहँदा रास्वपा सांसदहरू वेल घेराउ गर्दै उनको राजीनामा र छानबिन समिति गठनको माग गरिरहेका छन्।

विपक्षी दल राप्रपाका सां‌सदहरू भने उठेर विरोध गरिरहेका छन्।

नाराबाजीबीच गृहमन्त्रीले भने: भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

त्यसक्रममा उनले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको भन्दै त्यसको खेद व्यक्त गरे ।  ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय कार्यालय प्रमुख भिजिट भिसाका सम्बन्धमा अख्तियारले बोलाएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हुँ  । त्यसबारेमा मेरो समेत संलग्नता छ भनेर सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन,उक्त कार्यमा मेरो कुनै संलग्नता छैन । हुन सक्दैन’, गृहमन्त्री लेखकको भनाइ छ ।

उनले आफ्ना विरुद्ध नियोजित र राजनीतिक आक्रमण गर्न खोजेको बताए ।

‘संवैधानिक निकायले छानबिन गरिरेहको अवस्थामा कुनै सरकारसँग जोडेर जवाफ दिने हो भने कतिपय माननीयसँग जोड्ने हो भने र जवाफ दिने हो भने हिजोका दिन मन्त्रीहरु पदासिन हुँदा भ्रष्टाचारमा कतिले जवाफ दिएको र यसको जवाफ दिने तागत विपक्षीलाई छ,’ प्रश्न गर्दै उनले भने ।

गृहमन्त्री लेखकले बोल्दैगर्दा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ ।

गृहमन्त्री बोल्दा बोल्दै राजीनामा माग्दै संसद्मा रास्वपाको चर्काे नाराबाजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको आन्दोलन जारी राखेको छ । आजको संसद् बैठकमा  गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको बैठकमा बोल्न सुरु गरेपछि विरोधमा रहेका रास्वपाका सांसदहरु वेलमा प्रवेश गर्दै नारावाजी गरेका छन् ।

उनीहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै वेल घेराउ गरेका हुन् । रास्वपाले सत्ता र प्रतिपक्षबीच भएको दुईबुँदे सहमतिलाई अस्वीकार गरेको छ ।

सम्बोधन गर्दै गृहमन्त्री लेखकले भने, “मेरो राजनीतिक जीवन सार्वजनिकजस्तै छ । प्रश्न उठ्न सक्ने र जवाफ दिन सक्ने सम्बन्धित व्यक्तिको अधिकार हुन्छ । मेरा विरुद्धमा नियोजित रुपले आक्रमणको प्रयास भएको छ । यसमा खेद व्यक्त गर्न चाहन्छु ।”

उनले संविधानबाट अधिकार प्राप्त गरेको संवैधानिक निकायले भ्रष्टाचारका विषयमा छानबिन गरेको विषयमा सरकारसँग जोड्ने हो र सरकारले जवाफ दिने हो भने हिजोको दिनमा पदासिन हुँदा मन्त्रालयमा भएको भ्रष्टाचारका विषयमा कतिले जवाफ दिनुभयो ? भनी प्रश्न गरेका थिए ।

 

 

माओवादीले वीरतापूर्वक आत्मसमर्पण गर्‍याे : राजेन्द्र लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले माओवादी केन्द्रले सत्ता पक्षसँग आत्मसमर्पण गरेर संसद खुलाउन भुमिका खेलेको आरोप लगाएका छन् ।

‘प्रमुख प्रतिपक्षी दलले बिरता र बहादुरीपुर्वक आत्मसमर्पण गरेको सुनियो,’ लिङदेनले भने ।

माओवादी केन्द्रको प्रमुख सचेतक हितराज पाण्डेले संसद खुलाउन भुमिका खेल्नु अनुरोध गरे पछि उनले सो टिप्पणी गरेका हुन् । नेकपा एमाले र माओवादी केन्द्र बिच दुइ बुदेँ सहमति भए पछि राप्रपाले सो टिप्पणी गरेका हो ।

तीन दल एक ठाउँमा भएपछि सभामुखले पेलेरै अघि बढाए संसद्

प्रतिनिधिसभाको बैठकमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र एक ठाउँमा उभिएपछि सभामुख देवराज घिमिरेले संसद् बैठक पेलेरै अघि बढाएका छन्।

आजको बैठक कार्यसूचीमा प्रवेश गरेको जानकारी गराएर सभामुख घिमिरेले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिए।

लगत्तै प्रतिपक्षी दुई दल रास्वपा र राप्रपाले उठेर विरोध जनाए। केहीबेर सभामुखले उनीहरूलाई आसनग्रहण गर्न आग्रह गरे पनि उनीहरूले आफूहरूलाई पहिले बोल्न दिन आग्रह गरे पनि सभामुखले पाण्डेलाई बोल्न आग्रह गरे।

त्यसपछि रास्वपा र राप्रपाका सांसदले टेबुल ठोकिरहे पनि पाण्डेले सदन सञ्चालन गरेर जनताका विषय यहाँ छलफल गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको बताए।

पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल

काठमाडौँ । नेपाली सेफ टङ्क सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुरेन्ट ‘उत्कृष्ट अवार्ड’ को उपाधि जित्न सफल भएको छ ।

बागलुङका सेफ सापकोटाले पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालन गरेको इटालियन रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ युरोपकै शीर्ष १०औँ स्थानमा परी ‘अवार्ड’ जित्न सफल भएकोे जानकारी दिए ।

यसरी युरोपका ५० उत्कृष्टमध्ये १०औँ र पोर्चुगलमा सर्वोत्कृष्ट पिज्जा रेष्टुरेन्ट बन्न सफल भएका सञ्चालक सापकोटाको योगदान र भूमिकालाई कदर गर्दै ‘उत्कृष्ट पिज्जा अवार्ड’ र ‘परफर्मेन्स अफ द इयर २०२५–रोबो अवार्ड’ बाट उनी सम्मानित भएका छन् । ‘फिफ्टी टप पिज्जा युरोप’ ले स्पेनको राजधानी म्याड्रिडमा आयोजना गरेको कार्यक्रममा सेफ सापकोटालाई ‘अवार्ड’सहित पुरस्कृत गरेको हो ।

यसरी प्रत्येक वर्ष प्रदान गरिने अवार्डअन्तर्गत यस वर्ष ‘युरोपको उत्कृष्ट १०औँ पिज्जेरिया’ र ‘परफर्मेन्स अफ द इयर २०२५–रोबो अवार्ड’ प्राप्त गरेको रेष्टुरेन्ट सञ्चालक सापकोटाले जानकारी दिए । ‘र्फोनो दी ओरो’ युरोपको उत्कृष्ट १०औँ र पोर्चुगलको सर्वोत्कृष्ट रेष्टुरेन्ट बन्नसमेत सफल भएको उनले बताए ।

“एउटा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्ट युरोपकै उत्कृष्ट १० भित्र पर्न सफल हुनु नेपाल र नेपालीका लागि गौरवको विषय हो”, खुसी व्यक्त गर्दै सापकोटाले भने, “उत्कृष्ट १० को अवार्ड पाउने पोर्चुगलकै पहिलो रेष्टुरेन्ट बन्नु आफ्नो व्यावसायिक जीवन र इतिहासकै ठूलो उपलब्धि हो ।”

‘फिफ्टी टप पिज्जा युरोप’ एक अन्तरराष्ट्रिय गाइड हो, जसले हरेक वर्ष उत्कृष्ट पिज्जा रेष्टुरेन्टहरूको मूल्याङ्कन गर्दै शीर्ष ५० सूची सार्वजनिक गर्दछ । स्वाद, गुणस्तर, सेवा, वातावरण, परम्परागत पिज्जा निर्माणको शैली तथा ग्राहक सन्तुष्टिलगायतका मापदण्डहरूका आधारमा उत्कृष्ट रेष्टुरेन्ट मूल्याङ्कन तथा वर्गीकरण गरिने प्रावधान छ ।

करिब २८ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका बागलुङ, दमेकका सापकोटाको राजधानी लिस्बनमा ३ इटालियन र १ नेपाली गरी ४ रेष्टुरेन्ट सञ्चालनमा छन् । पाककलामा उत्कृष्ट कला कौशल प्रदर्शन गरेकै कारण उनले दर्जनौँ ‘अवार्ड’ तथा पुरस्कारसमेत प्राप्त गरिसकेका छन् । केही महिनाअघि मात्रै इटालियन खानाको परम्परा, खानपानको शैली, खानाको स्वाद, व्यञ्जन र परिकारलाई समेटेर सापकोटाले निर्माण गर्नुभएको इटालियन खानासम्बन्धी वृत्तचित्र ‘इटालीको स्वाद’ यहाँ सार्वजनिक गरिएको थियो।