`

रास्वपा र राप्रपालाई कांग्रेसको प्रश्न- भिजिट भिसा भनेको मानव तस्करी हो?

Nepal One HD १९ साउन २०८२ १४:१७
नेपाली कांग्रेस

काठमाडौं।  नेपाली  कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर संसद्मा आवाज उठाउँदै आएका विपक्षी दलप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

बैठकमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)प्रति आक्रामक ढंगले प्रस्तुत भएका हुन् ।

घिमिरेले भिजिट भिसाको विषयलाई झन्डै ७० दिनदेखि प्रतिनिधिसभामा रास्वपा र राप्रपाले गरेको अवरोध तथा बहिष्कार कहिलेसम्म चल्ने हो? भन्दै प्रश्न गरेका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले बैठकको सुरुमै आफ्नो कुरा राख्ने अनि बहिष्कार गर्ने प्रवृत्ति सही नभएको बताए।

‘संसद्मा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाका नाममा मानव तस्कर गरियो भन्ने । भिजिट भिसा भनेको के मानव तस्करी हो ?,’ प्रमुख सचेतक घिमिरेले प्रश्न गरे, ‘भिजिट भिसामा बाहिर कतै पनि नजाने मान्छे को हुनुहुन्छ यहाँ ? कुन सांसद हुनुहुन्छ ? यो के भन्न खोजेको हो ?’

उनले रास्वपा र राप्रपामाथि गोयबल्स शैलीमा झुटो प्रचार गरेर जनतालाई दिग्भ्रमित पारिरहेको आरोप लगाए । घिमिरेले भिजिट भिसाका नाममा दुबै दलले प्रतिनिधिसभालाई दुरुपयोग गरिरहेको समेत आरोप लगाए ।

‘गोयबल्स शैलीमा झुटो कुरो प्रचार गरेर आम जनतालाई दिग्भ्रमित पार्ने र संसद्लाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ, यो बन्द हुनुपर्छ,’ घिमिरेले भने, ‘नेपाली कांग्रेसको गम्भीर आपत्ति छ सभामुख महोदय यसमा । यो प्रथालाई अब अन्त्य गरिएन भने संसद्को गरिमा पनि रहँदैन, महत्व पनि रहँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *