`

म्यान्मामा ’कू’ विरोधी समूहद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि आंशिक युद्धविरामको घोषणा

म्यान्मा । म्यान्मारमा शक्तिशाली भूकम्पका कारण उद्धार कार्य र अन्य राहत कार्यमा सहयोग पुर्याउन यहाँको एक सशस्त्र विद्रोही समूहले आइतबारदेखि लागु हुने गरी दुई साताका लागि आंशिक युद्धविरामको घोषणा गरेको छ ।

पिपुल्स डिफेन्स फोर्स (पिडिएफ) ले सन् २०२५ मार्च ३० देखि भूकम्प प्रभावित क्षेत्रमा रक्षात्मक कार्यबाहेक आक्रामक सैन्य कारबाहीमा दुई साताको युद्धविराम लागू गर्नेछ,” छायाँ ‘नेशनल युनिटी गभर्नमेन्ट’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

निर्वासनमा रहेको सरकारले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा सुरक्षा, यातायात र अस्थायी उद्धार र चिकित्सा शिविर स्थापना सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घ र गैरसरकारी संस्थासँग सहकार्य गर्ने बताएको छ ।

मध्य म्यान्मारको सागाइङ शहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र भूकम्पका कारण कम्तीमा एक हजार ६४४ जनाको मृत्यु भएको छ भने थाइल्याण्डमा १७ जनाको मृत्यु भएको छ ।

म्यान्मारको सेनाले सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको नागरिक सरकारलाई सत्ताच्युत गरेयता गृहयुद्धको सामना गर्दै आएको छ ।

सुकीको नागरिक सरकारलाई सत्ताच्युत गरेकोमा पिडिएफ र जातीय सशस्त्र सङ्गठनहरू दुवैले विरोध गरेका छन् । जसमध्ये धेरै समूह आफ्नो स्वतन्त्रताको लागि दशकौँदेखि लडिरहेका छन्। छाँया ‘राष्ट्रिय एकता सरकार’मा ‘कू’मा सत्ताच्युत भएका अधिकांश सांसदहरू छन्, जो जुन्टालाई अपदस्थ गर्न लागिपरेका छन् ।

म्यान्माको भूकम्प पीडितलाई बेलायतद्वारा एक करोड पाउण्ड दिने घोषणा

लण्डन । बेलायतले म्यान्माका लागि एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

म्यान्मामा शुक्रबार गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको र राहत तथा उद्धार कार्यमा सघाउनका लागि बेलायत सरकारले सहायताको घोषणा गरेको हो।

भूकम्पका कारण म्यान्मामा एक हजार ६०० भन्दा बढीको मृत्यु हुनुका साथै व्यापक क्षति भएको छ।

बेलायती विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बेलायतको यो कोषले भूकम्पबाट अति प्रभावित क्षेत्रमा खाद्यान्न, पानी, औषधि र आवासका सामानको आपूर्ति लागि सहायता गर्नेछ।”

विकास मन्त्री जेनिफर च्यापम्यानले भने, “बेलायतको आर्थिक सहयोगमा सञ्चालित स्थानीय साझेदारहरूले पहिले नै म्यान्मामा मानवीय सहयोग गरिरहेका छन्। “यस दुःखद घटनापछि म म्यान्माका जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु।” 

म्यान्माको मध्य भागमा गएको ७.७ म्याग्निच्यूडको भूकम्पपछि सेनाप्रति वफादार (जुन्टा) सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि विरलै गर्ने आग्रह गरेको थियो।

बेलायतले यसअघि जुन्टासरकारसँग निकटता भएका व्यक्ति र संस्थामाथि प्रतिबन्ध लगाएको थियो।

राजावादीहरुको आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने

काठमाडौं । ‘राजतन्त्र पुनस्र्थानाका लागि संयुक्त जनआन्दोलन समिति’ को संयोजकमा जगमान गुरुङ तोकिएका छन् ।

गत शुक्रबार तिनकुनेको आन्दोलन हिंसात्मक बनेसँगै आन्दोलनका संयोजक नवराज सुवेदी घरमै ‘नजरबन्द’ छन् । आफू नजरबन्दमा परेपछि सुवेदीले गुरुङलाई जिम्मेवारी सुम्पिएका हुन् ।

काठमाडौंको कुनै मन्दिरमा बसेको छु, भागेको छैनः दुर्गा प्रसाईं(भिडियोसहित)

काठमाडौं । राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंले आफू नभागेको बताएका छन् । आइतबार भिडियो सन्देश जारी गरी शुक्रबार काठमाडौंको तिनकुनेमा राज्यले आफूलाई मार्ने उद्देश्यले हिंसा भड्काएको आरोप लगाएका छन् । उनले निजी घरको छतमा प्रहरी जाँदा अवस्था बिग्रेको उनको भनाइ छ ।

उनले भने, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।’ उनले आफू हाल काठमाडौंको कुनै एक मन्दिरमा बसेको बताएका छन् ।

सत्तापक्ष र विपक्षी विरोधमा उत्रिएपछि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले अघिल्ला बैठकहरु जस्तै प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरे ।

प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरुले पनि सदन सञ्चालनका लागि दबाब दिदै आ–आफनो ठाँउबाट उठेका थिए । त्यसपछि सभामुख घिमिरेले दुवै पक्षलाई स्थान ग्रहण गरी सभा सञ्चालनका लागि वातावरण बनाउन पटक–पटक आग्रह गरे ।

त्यसक्रममा दुवै पक्षले आफ्नो अडान कायम राखेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरे ।

विदेशबाट फर्काइएका २१ वटा मूर्ति पाटन र राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नेपालबाट चोरी भएर मूर्तिहरु संसारको जुनसुकै कुनामा पुगेको भएपनि फिर्ता ल्याएरै छोड्ने वचनवद्धता व्यक्त गरेका छन् ।

आइतबार नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका थप २१ वटा पुरातात्विक महत्वका मूर्तिहरु नेपाल फर्काएर पाटन संग्रहालय र राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘हाम्रा सम्पदाहरु संसारको कुनै पनि कुनामा पुगोस्,नेपालीहरुले हाम्रा आफ्ना सम्पदाहरु चिन्छन् । त्यसको महत्व जान्दछन् र त्यसलाई फर्काएर ल्याउने कुरामा संसार भरी फैलिएका नेपालीहरुले योग्यता राख्दछन् । नेपालको सम्बन्ध विश्वव्यापी भएको छ । चोरीका मुर्तिहरु नेपाल फर्काएँछौं भन्ने सकारात्मक सन्देश दिन सफल भएका छौं ।’

उनले विगतमा नेपालका महत्वपूर्ण पुरातात्विक मूर्तिहरु कसरी विदेश पुगे भन्दै प्रश्न गरे । उनले जुन ठाउँबाट चोरी भएका हुन् सोही ठाउँमा उक्त मूर्तिहरु प्रतिस्थापन गरिने बताए ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्रालय मातहतमा रहेको पुरातत्व विभागले हालसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, तिब्बत, भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्वका मूर्तिहरु, नयाँ कलात्मक वस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरुको प्रयासबाट फिर्ता भइसकेका छन् ।

अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रियालगायत देशहरुबाट थप अरु मूर्तिहरु फिर्ताका लागि कुटनीतिक पहल भइरहेको मन्त्रालयले बताएको छ । हालसम्म संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका प्रातात्विक महत्व भएका वस्तुहरुको संख्या १०४ पुगेको छ ।

झापामा २० हजार हेक्टरमा चैते धानखेती

झापा। झापामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान रोपेको जनाएको छ ।

परम्परागत खेतीभन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादनसमेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकीकरण प्रदर्शन कार्यक्रमअन्तर्गत मेसिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गरेको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।

उनले यसवर्ष १२० हेक्टर जमिनमा आधुनिक कृषि यान्त्रिकीकरणको प्रयोग गरेर चैत धान रोपाइँ भएको बताए । उनका अनुसार विगतमा ज्ञान केन्द्रले नमूना परीक्षणका लागि गरिएका सबै कृषि समूह र सहकारीले यस वर्ष पनि निरन्तर कृषि यान्त्रिकीकरणकै प्रयोग गरेर चैते धानखेती गरेका छन् ।

स्थानीय पालिकाहरुको सहयोगमा किसान समूहको छनोट गरी केन्द्रले विगतदेखि नै हर्दिनाथ–१ धान लगाउन प्रोत्साहन गर्दै आएको छ । उनले भने, ‘अन्य धानको तुलनामा राम्रो उत्पादन हुने हुँदा यही धानको बीउ रोप्न सिफारिस गर्ने गरेका छौँ।’ यो धानको बीउ राखेको दिनदेखि १२० दिनमा पाक्ने उनको भनाइ छ ।

यसवर्ष गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिकामा कृषक समूहअन्तर्गत कृषियन्त्र प्रयोग प्रदर्शन गरिएको छ।

छनोटमा परेका कृषि समूहलाई केन्द्रले धानको बीउ, बीउ राख्ने ट्रे र प्राविधिकलगायतमा सहयोग गरेको जनाएको छ ।

पाथीभरा केबलकार निर्माणलाई यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न आदेश दिएको छ ।

यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न आदेश दिएको हो । इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई बोलाएको छ ।

सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गराइने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गराउने निर्णय गरेका छन् ।

आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बीमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय गरेका हुन् ।

अर्थ मन्त्रालयले सहमति जनाइसकेकाले स्वास्थ्य बीमा बोर्डलाई थप स्रोत प्राप्तिका लागि बाटो खुलेको छ । हालसम्म कोष नै सक्रिय नहुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत प्राप्त हुने रकम नै कोषको आयस्रोत बनेको थियो ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा कोषलाई बलियो पारेर मात्र स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न सकिने विश्वास व्यक्त गरे । मन्त्री पौडेलले आगामी दिनमा स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा आधारित रहेर थप सुधार कार्य सरकारले अघि बढाउने बताए ।

केही समयअघि सार्वजनिक गरिएको बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनले राज्यबाट वेतन खाने कर्मचारीको तलबको एक प्रतिशत कर्मचारी र बाँकी एक प्रतिशत राज्यले दिनुपर्ने तथा स्वास्थ्यमा असर पर्ने पदार्थको करको रकम कोषमा जाने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ ।

स्वास्थ्य बीमा कोष बलियो पार्न अहिलेको निर्णयले योगदान दिने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।

स्थगित भएको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही सोमबार (भोलि) हुने भएको छ ।

क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्रा डा. कृष्णप्रसाद न्यौपानेले भोलि बिहान ८ः०० देखि अपराह्न ४ः०० बजेसम्म निर्वाचन हुने जानकारी दिए ।

उच्च अदालत पाटनले निर्वाचन सम्बन्धमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि क्याम्पसले नयाँ मिति तोकिएको थियो । यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी संगठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन अल्पकालीन अन्तरिम आदेश दिएपछि स्थगन भएको थियो ।

क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी संघबाट दीपकराज जोशी, अनेरास्ववियु (क्रान्तिकारी)बाट प्रविन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलबहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

त्रिवि केन्द्रीय क्याम्पसमा छ हजार १४६ मतदाता रहेका छन् ।

तिनकुने घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका छन् ।

संसद् भवन नयाँबानेश्वरमा आइतबार भएको राजनीतिक दलका प्रमुख सचेतकसँगको बैठकमा उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन आग्रह गरे ।

अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने सभामुख घिमिरेले बताए ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि चैत १८ गतेको बैठकमा सम्बोधन गर्ने उल्लेख गरे ।

उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेता प्रचण्डबीच टेलिफोन संवाद भएको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले आजै सर्वदलीय बैठक आह्वान गरेका छन् ।

यसैबीच, सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जनाएका छन् ।

सदन संचालनका विषयमा प्रधानमन्त्री र प्रचण्डबीच टेलिफोन संवाद

काठमाडौँ सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका छन् ।

संसद् भवन नयाँबानेश्वरमा आइतबार भएको राजनीतिक दलका प्रमुख सचेतकसँगको बैठकमा उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन आग्रह गरे ।

अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने सभामुख घिमिरेले बताए ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि चैत १८ गतेको बैठकमा सम्बोधन गर्ने उल्लेख गरे ।

उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेता प्रचण्डबीच टेलिफोन संवाद भएको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले आजै सर्वदलीय बैठक आह्वान गरेका छन् ।

यसैबीच, सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जनाएका छन् ।

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् ।

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिए । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमसँगै संसद र सरकार सञ्चालनका विषयहरूमा छलफल हुने बताइएको छ ।

कुलमान र हितेन्द्रको रिटको पेसी प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरिएका कुलमान घिसिङको मुद्दाको पेसी सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा परेको छ ।

प्रधानन्यायाधीश राउत र सुवेदीको इजलासले कुलमानले माग गरेअनुसार अन्तरिम आदेश दिने/नदिने भन्नेबारे आदेश दिनेछ ।

यसअघि गत शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

घिसिङ र अहिले कार्यकारी निर्देशक नियुक्त हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरूले सरकारको निर्णय अन्यायपूर्ण रहेको जिकिर गर्दै न्यायिक पुनरावलोकनको माग गरेका छन् । दुबैको मुद्दा यही इजलासले हेर्नेछ ।

पूर्वराजाद्वारा महानगरको जरिवानाको पत्र बुझ्न अस्वीकार

काठमााडौं । निर्मल निवासले काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न अस्वीकार गरेका छन् ।

आइतबार बिहान जरिवानाको पत्र लिएर महानगर प्रहरी बलको टोली निर्मल निवास पुगेको थियो । तर पत्र बुझ्न अस्वीकार गरेपछि महानगरको टोली त्यसै फर्किएको छ ।

पत्र बुझ्न नमानेपछि अब हुलाकमार्फत् जरिवानाको पत्र पठाइने महानगरले तयारी गरेको छ । शुक्रबारको राजावादीको हिंसात्मक प्रदर्शनपछि महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तिराउने निर्णय गरेको थियो ।

महानगरले विभिन्न नौ शीर्षकमा पूर्वराजा शाहलाई जरिवाना तोकेको थियो । शुक्रबारको राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, तिनकुने, जडीबुटी र सिनामंगल क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोड गर्नुका साथै सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवाना तोकिएको छ ।

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

काठमाडौँ । निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आइतबार तोलामा ६०० रुपैयाँले बढेर एक लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार २५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत

काठमाडौँ । विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब ४० करोड प्रदान गर्ने भएको छ ।

बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आइतबार स्वीकृत गरेको हो । यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मतसम्भार तथा सबलीकरणका निम्ति स्वीकृत गरिएको वासिङ्टन डिसीस्थित विश्व बैंकको प्रधानकार्यालयले जनाएको छ ।

नेपालको पुल प्रणालीले दुर्गम र सहरी समुदायको जीवन यापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरहरूका साथ अन्य आधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका तथा बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक एवं जलवायुजन्य जोखिमले पुलजस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका निम्ति वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मुस्ताङमा साइकलयात्रामा रमाउँदै विदेशी पर्यटक

मुस्ताङको जोमसोमबाट वारागुङ मुक्तिक्षेत्रको कागबेनी, झोङ, पुटाक, छेङ्गुरहुँदै मुक्तिनाथ प्रस्थानका लागि साइकलयात्रामा निक्किएका इजरायली पर्यटक ।

तस्बिर : सुन्दरकुमार थकाली/रासस

निर्मल निवासको भयले थिच्दा निरीह भए पूर्वपञ्चहरुः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्मल निवासको ‘थ्रेट’का सामु राप्रपा निरही देखिएको टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले आँखो देखा सत्यलाई निर्मल निवासको भयले थिच्दा राप्रपा निरीह देखिएको बताएका हुन् ।

पोखरेलले भनेका छन्, ‘बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ’जनकमाणडर’ तोकिएका दुर्गा प्रसाइंद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनीको ओभाने बन्ने असफल कोशिस गरिरहेका छन् राजावादीहरु । तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ । राजावादी र पूर्वपञ्चहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाईं र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरैभएपनि विश्वास गर्थे होला नेपाली जनताले । घटना घटेको दिनसम्म राप्रपाको संस्थापन पक्षलाई लागेको त यस्तै थियो । तर निर्मल निवासको ’थ्रेट’का सामु उनीहरु निरही देखिए र भन्न थाले ’प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले’ । आँखो देखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्वपञ्चहरुको नियती ।’

सिरहाको मिर्चैयाका १३ वटा निजी स्वास्थ्य संस्था बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुरधाम । सिरहाका अधिकांश निजी स्वास्थ्य संस्था मापदण्डविपरीत भएको पाइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको मिर्चेयामा शनिबार १४ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् ।

अनुगमनपछि सेवा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका १३ अस्पताल तथा पोलिक्लिनिक बन्द गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंह नेतृत्वको टोली मिर्चेया बजार प्रवेश गरेको जानकारी पाएलगत्तै अनुमति बिना सञ्चालनमा रहेका आठ स्वास्थ्य संस्थाका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सम्पर्कविहीन भएका थिए ।

मुख्यमन्त्री सिंहले भनेका छन्, ‘सिरहाको मिर्चैयामा १४ वटा निजी स्वास्थ्य संस्था अनुगमन गरें । जसमध्ये १३ वटालाई बन्द गर्ने र मनकामना मिड इस्टर्न अस्पताललाई १५ दिन भित्र मापदण्ड पूरा गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुगमन गराएर संचालन गर्न निर्देशन दिएको छु।’

बन्द गराइएका अस्पतालहरूमा समित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर (पोलिक्लिनिक), सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिक समावेश छन् ।

यस्तै, १५ शय्याको अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालले मापदण्ड पुरा नगरी २५ शय्याभन्दा बढीको सेवा सञ्चालन गरिरहेको भेटिएकाले १५ दिनभित्र मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ। प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव एवं जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरका अनुसार अस्पतालले एनेस्थेसियाका चिकित्सक बिना नै मेजर शल्यक्रिया गरिरहेको थियो भने भेन्टिलेटरसमेत उपलब्ध थिएन ।

अनुगमनका क्रममा सिद्धकामना हस्पिटल प्रालिका सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पतालमा उपचार गराइरहेका आठ बिरामी र उनीहरूका कुरुवालाई अस्पतालभित्र छाडेर बाहिरबाट सटर बन्द गरी फरार भएका थिए।

घटनास्थलमा भेटिएका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। जनस्वास्थ्य अधिकृत ठाकुरले निर्देशनअनुसार अस्पताल बन्द गरिएकाले नियन्त्रणमा लिइएका दुईजनालाई शनिबार नै रिहा गरिएको बताए ।

मुख्यमन्त्री सिंहले मधेस प्रदेशका हालसम्म १५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरिसकेका छन् । तीमध्ये १७ अस्पताल मात्र मापदण्डअनुसार सञ्चालन भइरहेको पाइएको छ भने १०८ अस्पताल बन्द गराइएको छ। नवीकरण नगराएका २५ अस्पताललाई प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ। यसमध्ये पाँच अस्पताल मापदण्ड पूरा गरेपछि पुनः सञ्चालनको अनुमति पाएका छन्।

प्रतिनिधिसभाको बैठक बस्दै, कुलमान प्रकरणबारे प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने छन् । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै उक्त विधेयक प्रस्तुत गर्ने छन् । का

नून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्ततु गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई प्राधिकरणको प्रवन्ध निर्देशकबाट बर्खास्त गरेको बारेमा जवाफ दिने भएका छन् ।

यसअघि विपक्षी दलहरुले कुलमान बर्खास्त प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै लगातार सदन अवरुद्ध गर्दै आएका छन् । शुक्रबार सभामुखसँगको छलफलमा प्रधानमन्त्रीले आजको बैठकमा यसबारे जवाफ दिने सहमति जुटेको थियो ।

‘नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औँ ग्रेजुएसन फेसन शो’

अनुकल्पित प्रभानम् शीर्षकमा ‘नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औँ ग्रेजुएसन फेसन शो’मा मोडलिङ गर्दै मोडलहरु ।

तस्बिरः प्रदीपराज वन्त

नेपाल सुपर लिगको उद्घाटन खेलमा ललितपुर र काठमाडौँ रेजर्स बराबरीमा

काठमाडौं । अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको नेपाल सुपर लिगको तेस्रो सिजन शनिबारबाट दशरथ रङ्गशालामा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्बाङले गरेका थिए अध्यक्ष नेम्बाङले अफिसियलहरूलाई म्याच बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन भएको थियो

। उद्घाटन खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्सले २–२ गोलको बराबरी खेलेका छन् । प्रतियोगितामा सात टिमको सहभागिता रहनेछ ।

त्रिभुवन विश्विद्यालयका उपकुलपति बरालले दिए पदबाट राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा दिएका छन् । उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।

बराल गत वर्ष फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए । बराल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालमा उपकुलपति नियुक्त भएका थिए ।

निरंकुश शासन लाद्ने मनसायकासाथ तिनकुनेमा घटना घटाइएको होः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार तिनकुनेमा भएको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।

शनिबार बसेको पार्टी पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा घटना भएको निष्कर्ष निकालेको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले राजावादीहरूको पूर्वयोजनाअनुरुप निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको निष्कर्ष निकालिएको जानकारी दिए ।

उनले भने, ‘पूर्वयोजनाअनुसार सिधै यहाँ–यहाँ आक्रमण गर्ने भनेर भनिएको छ। यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ।’

बैठकमा गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाका विषयमा जानकारी गराउँदै प्रहरीले राजावादीको सभास्थलमा गोली र टियर ग्यास प्रहार नगरेको बताएका थिए ।

बैठकले निरंकुश शासन लाद्ने मनसायका साथ घटना घटाइएको भन्दै त्यसको भत्र्सना गरेको छ । कांग्रेसले तोडफोड र आगजनीमा संलग्नलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

अराजक गतिविधि नियन्त्रणमा निर्मम ढंगले प्रस्तुत हुन महानिरीक्षक थापाको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले शान्ति सुव्यवस्था कायम राख्न र नागरिकको जीउधनको सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

शनिबार प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक थापाले आफ्नो क्षेत्रमा कुनैपनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

उनले आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन पनि निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षक थापाले सीमित स्रोतसाधनको अधिकतम् प्रयोग गरी धैर्यताका साथ थप संवेदनशील भएर प्रहरी कर्मचारीहरूले आफ्नो काम कारवाही गर्नुपर्ने उल्लेख गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनले अवैध हातहतियार ओसारपसार, विष्फोटक पदार्थ ओसारपसार, तस्करी एवम् गुण्डागर्दी लगायतका अराजक गतिविधि नियन्त्रणमा निर्मम ढंगले प्रस्तुत हुनसमेत निर्देशन दिएका छन् ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति थियो भने काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू एवम् जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

मिश्र र राणालाई २४ घण्टाभित्र रिहा गर्न राप्रपाको अल्टिमेटम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार काठमाडौंको तिनकुनेमा आन्दोलन भड्किनुमा सरकार जिम्मेवार रहेका ठहर गरको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सरकारकै कारण हिंसात्मक स्थिति सृजना भएको ठहर गरेको हो ।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताए । उनले सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको देखिएको बताए ।

त्यस्तै बैठकले तिनकुनेमा भएको घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ । त्यसैगरी बैठकले पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ ।

२४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने निर्णय गरेको अध्यक्ष लिङ्देनले बताए ।

चामुण्डा माई र बालकुमारी माईको मिलन गराएर मनाइयो जात्रा

काठमाडौँ । घोडे जात्राका अवसरमा ललितपुरस्थित चामुण्डा माई र बालकुमारी माई देवीलाई खटमा राखेर टोल टोलमा घुमाइ एकापसमा मिलन गराएर जात्रा मनाइएको छ । परम्पराअनुसार मंगलबजार क्षेत्रमा पुगेपछि दुवै देवीलाई मिलन गराई पुन:आफ्नै मन्दिरमा राखिने गरिएको छ ।

ललितपुर महानगरपालिका वडा नं ९ र ११ को पहलमा धिमे बाजासहित पूजाआजा गरी विभिन्न रुटमा घुमाएर आज घोडे जात्रा अवसरमा पाटनका स्थानीयले यो जात्रा मनाएका हुन् । स्थानीयलाई रोग व्याधि, भयबाट मुक्त गराउन तथा भौतिक बाधा अड्चन नहोस् भनेर पाटन नगरभित्र लिच्छवीकालदेखि नै यो जात्रा मनाइँदै आएको यस क्षेत्रका स्थानीयले बताएका छन् ।

किंवदन्तीअनुसार दिदी बालकुमारी माईलाई बहिनी चामुण्डा माईले तीन पटक परिक्रमा गरेपछि दुवै देवीलाई पुन:आफ्नै मन्दिरमा राखिने गरिएको चामुण्डा माई जात्रा व्यवस्थापन समितिका सचिव राजेश्वर महर्जनले जानकारी दिए ।

यस क्षेत्रका स्थानीयले भेला भई खानाका परिकार खाएर नाँचगान गरी एक अर्कामा मिलन र खुसी साटासाट गर्दै नायखी बाजाको तालमा देवीको परिक्रमा गराई यो जात्रा मनाएका छन् ।

ट्रम्प प्रशासनद्वारा युएसएडको औपचारिक योजनाको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था युएसएडलाई प्रभावकारी रूपमा ‘पुनर्गठन’ गर्ने घोषणा गरेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज विदेश मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) ले सन् २०२५ को जुलाई १ सम्ममा विभागलाई युएसएडका केही कार्यहरू पुनः समेट्ने गरी पुनर्गठन गर्ने आफ्नो आशयबारे कांग्रेसलाई सूचित गरेका छन्।’

विदेश मन्त्रालयले प्रशासनको प्राथमिकतासँग मेल नखाने ‘युएसएड’का बाँकी कामहरू बन्द गर्ने योजना बनाएको छ। उनले भने, ‘दुर्भाग्यवश युएसएडका कार्यक्रममा लाभ धेरै कम थियो र लागत धेरै उच्च थियो। संस्था धेरै पहिले नै आफ्नो मूल अभियानबाट पछि हटेको थियो।’

गत जनवरीमा पदभार ग्रहण गरेपछि रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि अमेरिकी वैदेशिक सहायता रोक्का गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। यसपछि युएसएआइडीका विभिन्न कार्यक्रमहरूमा नाटकीय कटौती गरियो र महत्त्वपूर्ण मानवीय सहायताका लागि केही छुटहरू दिइयो।

सन् १९६१ मा अमेरिकी कंग्रेसले सिर्जना गरेको स्वतन्त्र एजेन्सीमाथि सहायता रोक्काले स्तब्ध र निराश बनाएको छ। विदेश सम्बन्धसम्बन्धी समितिमा सिनेटका डेमोक्र्याट संसद्हरूले यस कदमको निन्दा गर्दै एक विज्ञप्तिमा भनेका छन्, ‘पुनर्गठनले ‘युएसएडका कुनै पनि कार्यक्रमहरू कार्यान्वयन गर्न असम्भव मात्र बनाउनेछैन, तर विदेश विभागमाथि थोपरिएको बोझले यसको मूल मिसनमा विशेष व्यवधान निम्त्याउनेछ।’

‘यो प्रस्ताव गैरकानुनी, खतरनाक र गलत छ,’ विज्ञप्तिमा भनिएको छ। बन्द हुनुअघि युएसएडले करिब ४३ अर्ब अमेरिकी डलरको वार्षिक बजेट व्यवस्थापन गरेको थियो, जुन विश्वको मानवीय सहायताको ४० प्रतिशतभन्दा बढी हो। ट्रम्पले पदभार ग्रहण गरेलगत्तै त्यहाँका अधिकांश कर्मचारीलाई प्रशासनिक बिदामा राखिएको थियो।

युएसएडका कर्मचारीहरूलाई शुक्रबार एक पत्रमार्फत कानुनले आवश्यक नपरेका सबै रोजगारी हटाउने योजनाबारे जानकारी गराएको विभिन्न अमेरिकी सञ्चार संस्थाहरूले जनाएका छन्।

पत्रमा स्वतन्त्र निकाय युएसएडका कार्यबाहक प्रमुख जेरेमी लेबिनले अमेरिकी विदेश मन्त्रालयले आगामी महिनाहरूमा युएसएडका अधिकांश स्वतन्त्र कार्यहरू बन्द गर्ने योजना बनाएको बताएका छन्।

केरलापालमा भएको झडपमा १६ नक्सलवादी लडाकूको मृत्यु

छत्तीसगढ ।   छत्तीसगढको सुकमा जिल्लाको केरलापाल क्षेत्रमा शनिबार भएको मुठभेडमा १६ जना नक्सलवादी सशस्त्र लडाकूको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

झडपका क्रममा दुई प्रहरी जवान घाइते भएको प्रहरी महानिरीक्षक सुन्दरराज पीले बताए ।

अधिकारीहरूका अनुसार जिल्ला प्रहरी र केन्द्रीय प्रहरीले शुक्रबार सुरु गरेको संयुक्त आतङवाद् विरोधी अभियानमा गोप्य सूचनाको आधारमा कारबाही सुरु गरिएको थियो । संयुक्त टोली मार्च २८ मा खोजी अभियानका लागि तैनाथ गरिएको थियो भने गोलीबारी शनिबार पनि जारी छ ।

संयुक्त टोलीले हाल मुठभेडस्थल तथा वरपरको भुभागमा गहन खोजी गरिरहेको छ । भारतीय गृहमन्त्री अमित शाहले २२ मार्चमा संसदमा ३१ मार्च २०२६ सम्ममा देशबाट नक्सलवादीहरूको उन्मूलन हुने बताएको थियो ।

कुनै पनि आन्दोलन र प्रदर्शनीबाट नागरिकलाई खतरामा नपार्न सरोकारवालाको आग्रह

गण्डकी । जुनसुकै नामका आन्दोलन र प्रदर्शनीबाट आमनागरिकको जीवन खतरामा नपार्न सरोकार भएकाहरूले सबै पक्षलाई आग्रह गरेका छन् । शनिबार पोखरामा समसामयिक राजनीतिक विषयका सम्बन्धमा प्रजातान्त्रिक विचार समाज नेपालद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय भेलामा सहभागी वक्ताहरुले कुनै पनि आन्दोलनका नाममा मानवीय तथा भौतिक क्षति पुर्याउने काम दण्डनीय भएको बताएका हुन् ।

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले धर्मलाई राजनीतिसँग जोड्न नहुने धारणा राखे । लोकतन्त्रले हिंसा गर नभनेकाले हिंसा दण्डनीय अपराध भएको बताउँदै उनले भने, “राष्ट्रियताको प्रतिक राजा हुन सक्दैनन्, राजा खोपीमा हुँदा पनि राणाले देश जोगाएकै थिए । हरेक नेपालीमा राष्ट्रप्रतिको माया हुन्छ ।”

समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले देशमा राजनीतिक अस्थिरता ल्याउने काम कहीँ कतैबाट हुन नहुने बताउँदै लोकतन्त्र समृद्ध मुलुक निर्माणका लागि उत्कृष्ट व्यवस्था भएको धारणा राखे । लोकतन्त्रमा सबै अट्न सक्ने र शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न पाउने अधिकार हुँदाहुँदै पनि आन्दोलनका नाममा मानवीय तथा भौतिक क्षति पुर्याउने कार्य दण्डनीय भएको उनले बताए ।

समाजका वरिष्ठ उपाध्यक्ष ईश्वरीराज लौडारीले असन्तुष्टिका विषयलाई सम्बोधन गर्न संविधान संशोधनमार्फत पनि अगाडि बढ्न सकिने धारणा राख्दै प्रदर्शनका नाममा द्वन्द्व सृजना गरी नागरिकको जीवन खतरामा पार्न नमिल्ने बताए ।

महिला उपाध्यक्ष अनार बस्नेतले बिपीको सिद्धान्त र विचारलाई आमजनता माझ अझै प्रभावकारी रूपमा लैजानुपर्ने आवश्यकता औँल्याइन् । समाजका महासचिव डा वासुदेव भण्डारीले लोकतन्त्रमा नागरिक स्वतन्त्रता रहेको बताउँदै यसको विकल्प अरु हुन नसक्ने धारणा राखे । 

समाजका कास्की जिल्ला अध्यक्ष डा वीरबहादुर कार्कीले विभिन्न कार्यक्रमका माध्यमबाट बिपीको विचारलाई जनसमक्ष पुरयाउनुुपर्नेमा जोड दिए । समाजका केन्द्रीय सदस्य कमलमोहन वाग्लेले लोकतन्त्रमा सुशासन दिन नसक्नुले जनतामा असन्तुष्टि पैदा भएको बताउँदै राजनीतिक दल जनताप्रति समर्पित भएर काम गर्नुपर्नेमा जोड दिए । संविधानको सवल र कमजोर पक्षका बारेमा सार्वजनिक रूपमा छलफल गर्न जरुरी भएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, समाजका केन्द्रीय सदस्य ऋषिराम सापकोटा, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जिवी पौडेल, प्राडा यामबहादुर पौडेल क्षेत्री, कमलमोहन वाग्ले, प्राडा पद्मशरण रेग्मी, नरेन्द्र गुरुङलगायत वक्ताले बिपीको चिन्तनलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प नभएको धारणा राखेका थिए ।

भेला तथा अन्तरक्रियाले समाजको आठ बुँदे धारणा सार्वजनिक गरेको छ । धारणापत्रमा जुनसुकै नाममा गरिने आन्दोलन र प्रदर्शनबाट आमनागरिकको जीवन खतरामा पार्न नहुने उल्लेख गरिएको छ ।

जनताको अथक प्रयासबाट प्राप्त परिवर्तन कुनै दल, नेता, गुट र स्वार्थ समूहलाई पोस्नका लागि नभएको भन्दै धारणापत्रमा पछिल्लो दुई दशक दलीय, गुटीय र नेताको शासन बलियो बनाउने ध्येयमा लाग्दा जनतामा निराशा छाएको उल्लेख गरिएको छ ।

जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिलाः पूर्वराष्ट्रपति भण्डारी

लुम्बिनी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०६२/६३ को जनआन्दोलनले महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला निर्माण गरेको बताएकी छन् ।

उनले जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी पारित ‘विशेष प्रस्ताव’ को जगमा उभिएर २०७२ सालमा जारी संविधानले महिलाको ३३ प्रतिशत प्रतिनिधित्वको संवैधानिक व्यवस्था गरेको बताइन् ।

रुपन्देहीस्थित सिद्धार्थनगर नगरपालिकाद्वारा आयोजित ‘लुम्बिनी प्रदेशभित्रका महिला जनप्रतिनिधिहरूका बीचमा कार्यसम्पादनमा आइपरेका समस्या र समाधान’ विषयक अन्तरसंवाद कार्यक्रमलाई आज सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले वर्तमान संविधानमा महिलाका आधारभूत अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित भएकाले नै तीनै तहका सरकार, संसद् तथा नीतिनिर्माण निकायमा महिलाको सहभागिता उल्लेखनीय रूपमा वृद्धि हुनुका साथै उनीहरूको भूमिका झन् सशक्त हुँदै गएको बताएकी हुन् ।

यसैगरी, शिक्षा, स्वास्थ्य, रोजगारी, सम्पत्तिको स्वामित्व र श्रम सहभागिताजस्ता क्षेत्रमा उल्लेखनीय सुधार भएसँगै नेपालको समग्र लैङ्गिक विकास सूचकाङ्कमा पनि सकारात्मक प्रगति देखिएको उनको भनाइ थियो । ‘यसैको परिणामस्वरुप महिला सशक्तीकरण र लैङ्गिक समानताको क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिहरू विश्व महिला आन्दोलनका लागि प्रेरणादायी बनेका छन्,’ उनले भनिन्, ‘हालसम्म प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधान प्रदत्त महिला अधिकारको पूर्ण कार्यान्वयन गर्न तथा पूर्ण लैङ्गिक समानताको लक्ष्य हासिल गर्ने हाम्रो अभियानलाई हामीले निरन्तरता दिनुपर्दछ ।’

पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो निर्वाचनका क्रममा राजनीतिक दलहरूबीच भएका गठबन्धनका कारण कतिपय अवस्थामा संवैधानिक प्रावधानविपरीत महिला प्रतिनिधित्वको अनुपात घटेको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्दै आगामी निर्वाचनमा राजनीतिक दलहरूले यस विषयमा विशेष ध्यान पुर्‍याउन आग्रह गरिन् ।

उनले प्रदेश तथा स्थानीय तहमा अधिकांश महिला जनप्रतिनिधिहरू समानुपातिक प्रणालीबाट आएका र अधिकांश पुरुष सांसदहरू प्रत्यक्ष निर्वाचन प्रणालीबाट आएको उल्लेख गर्दै महिला भएकै कारण समानुपातिक प्रणालीबाट आएका जनप्रतिनिधिलाई विभेद हुने गरेको गुनासो आउने गरेको बताइन् ।

यस खालको विभेद हुनु भनेको दुःखद् मात्र नभएर संविधान र कानुनी मापदण्ड प्रतिकूल हुने उनको भनाइ थियो । ‘जनप्रतिनिधि महिला भनेका सामान्य महिला होइनन्, उनीहरू जनताले चुनेका नेता हुन् । त्यसैले, उनीहरूमाथि हुने कुनै पनि प्रकारको विभेद स्वीकार्य हुँदैन,’ उनले भनिन्, ‘यस्तो विभेदको प्रतीकार गर्दै अधिकार सुनिश्चित गर्न उनीहरूले पनि आवश्यक राजनीतिक, प्रशासनिक तथा व्यवस्थापकीय क्षमताको अभिवृद्धि गर्न आवश्यक छ ।’

पूर्वराष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि सञ्चालन भइरहेका दिवाखाजा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय अग्र्यानिक खाद्य पदार्थको प्रयोग गर्नुमा जोड दिइन् । उनले यसले नवपुस्ताको स्वास्थ्य र पोषणमा सुधार गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाउने भएकाले कार्यक्रमलाई सफल बनाउन लुम्बिनी प्रदेशका महिला जनप्रतिनिधिहरूको बृहत् भेलामार्फत आग्रह गरिन् ।

घोडेजात्रामा नेपाली सेनाद्वारा अश्वकला प्रदर्शन(फोटोफिचर)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८१ का अवसरमा नेपाली सेनाद्वारा शनिबार टुँडिखेलमा आयोजित समारोहको अवलोकन गरेका छन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपप्रधानमन्त्री, मन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे । समारोहमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए ।

घोडाले गर्ने सामान ओसारपसार, यात्राको साधन, कृषि, शिकार, लडाइँ, उत्सव, खेलका झलक पनि कार्यक्रममा देखाइएका थिए । त्यस अवसरमा कुकुरबाट पनि विभिन्न कला प्रदर्शन गराइएका थिए । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरे ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमसहित मनाउने गरिन्छ । किंवदन्तीअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहेको जनाइएको छ ।

हामीले पचासौं हजार जनता सडकमा नउतारेको भए ठूलो दुर्घटना हुन्थ्योः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाले शुक्रबार पचासौं हजार जनता सडकमा उतारेर ठूलो खतरा टारेको दाबी गरेका छन् ।

शनिबार प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनमा प्रचण्डले समाजवादी मोर्चाले हिजो कार्यक्रम राखेकै कारण धेरै धनजनको क्षति हुनबाट बचेको बताएका हुन् ।

उनले भने, ‘यदि समाजवादी मोर्चाले पचासौं हजारौं जनता हिजो सडकमा नउतारेको भए धेरै ठूला दुर्घटना हुने खतरा थियो । हामीले हिजो कार्यक्रम राखेकै कारणले धेरै धनजनको क्षति हुनबाट बच्यो ।’

उनले शुक्रबार नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पक्षगमन फेरि एकचोटी नयाँ सन्दर्भसहित आपसमा टुक्रिइरहेको बताए । प्रचण्डले हिजो कार्यक्रम राखेकोप्रति आफूलाई धेरैले बधाई र धन्यवाद सुनाएको पनि बताए ।

उनले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘गणतन्त्रवादीले निरङ्कुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गरेर जनतहितमा अगाडि बढ्ने यो सही समय हो । सरकारले यो बेलामा कडा कदम चाल्यो भने हाम्रो समर्थन हुन्छ, तर सरकारले फेरि सम्झौता गर्ने र उनीहरुलाई मनोमनी गर्ने अवसर दियो भने त्यसले देशलाई फाइदा गर्दैन ।’

मोर्चाले शुक्रबार काठमाडौंको. भृकुटीमण्डपमा खबरदारी सभा राखेको थियो । यता राजावादी समूहले भने तीनकुनेमा जनप्रदर्शनको कार्यक्रम राखेका थिए । राजावादी समूहको उक्त कार्यक्रम विथोलिँदा ठूलो जनधनको क्षति भएको छ ।

धवलशम्सेरलाई पक्राउ गरिएको संसद सचिवालयलाई जानकारी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशम्शेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद सचिवालयलाई दिएको छ ।

नेपालको संविधानको धारा (१०३) को उपधारा (६) बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

‘सम्माननीय सभामुखलाई सम्बोधन गरेर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रतिनिधिसभा सदस्य जवरालाई पक्राउ गरिएको पत्र सचिवालयलाई प्राप्त भएको छ, प्रवक्ता गिरीले भने ।

पूर्वराजालाई बालेनले काटे सात लाख ९३ हजार जरिवानाको पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र पठाएको छ । शुक्रबार काठमाडौंको तिनकुने–कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रूपैयाँ जरिवानाको पत्र काटेको हो ।

पूर्वराजाको समर्थनमा उनकै निर्देशनमा भएको प्रदर्शनले महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड र फोहोरमैला गरेको भन्दै महानगरले जरिवाना तिराउन लागेको हो ।

ज्ञानेन्द्रका समर्थकले लगाएको आगो निभाउन पुगेको महानगरको दमकलमा समेत उनीहरूले तोडफोड गरेका थिए ।

हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्नः सचिव भट्टराई

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक गतिविधि गर्नेलाई माफी नदिइने बताएका छन् । साथै उनले हिंसा भड्काउनेलाई कारबाहीको दायरामा ल्याइने बताए ।

अखिल नेपाल किसान महासङ्घ काभ्रेपलाञ्चोक जिल्ला कमिटीको शनिबार बनेपामा आयोजित सातौँ जिल्ला अधिवेशनमा उनले आन्दोलनका नाममा गरिएका हिंस्रक गतिविधिको निन्दा गर्दै सरकारले दोषीलाई कारबाही गर्ने बताए ।

उनले आन्दोलनाका नाममा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र आगजनी गर्ने जोसुकैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गर्नुपर्नेमा जोड दिँदै हिंसात्मक  गतिविधि गर्ने छुट कसैलाई नभएको बताए । 

एमाले पोलिटब्युरो सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले राजतन्त्र फर्कने कोरा कल्पना नगर्न सुझाउँदै देशका प्रमुख राजनीतिक दल र नेपाली जनता सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले यो व्यवस्थालाई सुदृढ बनाउनेतर्फ लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरे ।

कसैले चाहदैमा गणतान्त्रिक शासन व्यवस्था परिवर्तन हुँदैन् : देउवा

लुम्बिनी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताए ।

लुम्बिनीमा आज आयोजित नेपाली लेखक सङ्घको आठौँ अधिवेशनको उद्घाटन समारोहमा उनले नेपाली जनता गणतन्त्रका सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताए ।

सभापति देउवाले पूर्वराजाका नाममा भएका गतिविधिको निन्दा गरे । उनले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको स्पष्ट गरे। उनले देशमा गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहदैमा यो व्यवस्था परिवर्तन हुँदैन भने । हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा सभापति देउवाको जोड थियो ।

दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ

काठमाडौं ।  तीनकुने घटनामा संलग्न भएको भन्दै प्रहरीले दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डरलाई पक्राउ गरेको छ।

‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी नेपाली सेनाका पूर्व क्याप्टेन हुन् । उनलाई बालाजु क्षेत्रबाट आज पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा राजभण्डारी पनि सहभागी थिए । प्रदर्शन हिंसात्मक हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।

उनले आजै मात्र पत्रकार मृत्युको कारण राज्यपक्ष भएको आरोप लगाउँदै फेसबुक स्टाटस राखेका थिए । घटनापछि दुर्गा फरार प्रसाईंलाई प्रहरीले खोजिरहेको छ । प्रसाईंको नेतृत्वमा शुक्रबार काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा पत्रकारसहित दुई जनाको ज्यान गएको छ भने करोडौंको धनमाल क्षति भएको छ ।

कांग्रेसले बोलायो आकस्मिक रूपमा पदाधिकारी बैठक

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्। 

बुढानिलकण्ठस्थित निजी निवासमा देउवाले सो बैठक दिउँसो ४ः३० बजे बस्नेगरी बोलाएका हुन्।

सो बैठकमा तीनकुने, कोटेश्वर, बालकुमारी र जडिबुटी क्षेत्रमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शन तथा समसमायिक राजनीतिक बिषयमा छलफल हुने जनाइएको छ ।