`

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

रूपन्देही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । (आज) शनिवार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । कूल ७० बलको सामान गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३९ र दिलिपनाथले अविजित ३१ रन बनाए ।

आर्मीका लागि साहब आलमले तीन र नरेन साउदले एक विकेट लिए । त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले ७५ रन बढीको साझेदारी गरेका थिए । उसका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै नौ चौका र एक छक्काको सहयोगमा ८६ रन बनाए भने कप्तान विनोद भण्डारीले २९ रनको योगदान दिए । त्यसबाहेक विवेक यादवले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङतर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा एक मेडेनसहित ३० रन खर्चेर तीन विकेट लिए । सागर ढकालले आठ ओभरमा २९ रन खर्चेर तीन विकेट लिँदा कप्तान दीपेन्द्र सिंह ऐरीले दुई र ललित राजवंशी र गुलशन झाले समान एक र एक विकेट लिए ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत यस पटक ४६ वटा खेलहरू खेलाइएको थियो । यी सबै खेल पहिलो पटक काठमाडौँ बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रंगशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रंगशालार दांगको लमहिमा रहेको देउखुरी अन्तर्राष्ट्रिय रंगशालामा आयोजना भएको हो । प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोली सहित १० वटा टोलीहरूले सहभागिता जनाएका थिए ।

तीनकुने घटनाबारे न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग

काठमाडाैँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारको तीनकुनेमा राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

शनिबार बसेको केन्द्रीय सचिवालय (भर्चुअल) बैठकले काठमाडौँको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा घटेको घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताएका छन् ।

यस्तै, बैठकले पार्टीको केन्द्रीय समिति बैठक चैत्र १८ गते पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने निर्णय पनि गरेको छ।

केरलापालमा शनिबार भएको झडपमा १६ नक्सलवादी लडाकूको मृत्यु

एजेन्सी । छत्तीसगढको सुकमा जिल्लाको केरलापाल क्षेत्रमा शनिबार भएको मुठभेडमा १६ जना नक्सलवादी सशस्त्र लडाकूको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । 

झडपका क्रममा दुई प्रहरी जवान घाइते भएको प्रहरी महानिरीक्षक सुन्दरराज पीले बताउए । 

अधिकारीहरूका अनुसार जिल्ला प्रहरी र केन्द्रीय प्रहरीले शुक्रबार सुरु गरेको संयुक्त आतङवाद् विरोधी अभियानमा गोप्य सूचनाको आधारमा कारबाही सुरु गरिएको थियो । संयुक्त टोली मार्च २८ मा खोजी अभियानका लागि तैनाथ गरिएको थियो भने गोलीबारी शनिबार पनि जारी छ ।

संयुक्त टोलीले हाल मुठभेडस्थल तथा वरपरको भुभागमा गहन खोजी गरिरहेको छ । भारतीय गृहमन्त्री अमित शाहले २२ मार्चमा संसदमा ३१ मार्च २०२६ सम्ममा देशबाट नक्सलवादीहरूको उन्मूलन हुने बताएको थियो ।  

धवल शम्शेर पक्राउ परेको सूचना पुग्यो संसद सचिवालयमा, अब के हुन्छ पद ?

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शम्शेर राणा पक्राउ परेको सूचना संघीय संसद सचिवालयमा पुगेको छ।

राप्रपा महामन्त्री तथा नवराज सुवेदी नेतृत्वमा रहेको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिु का आन्दोलन परिचालन समितिका प्रमुखसमेत रहेका राणा पक्राउको सूचना संसद सचिवालय पुगेको हो।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद राणा पक्राउको सूचना सचिवालयलाई प्राप्त भएको जानकारी दिए।

संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो ।

प्रतिनिधिसभा नियमावली अनुसार पक्राउ पर्दैमा तत्काल राणाको सांसद पल निलम्बन हुने छैन । प्रहरीले उनी विरूद्ध तीन वर्षभन्दा बढी सजाय माग दाबी गर्दै अभियोग लगायो र उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने त्यस्तो अवस्थामा मात्र उनको सांसद पद निलम्बनमा पर्नेछ ।

यस्तो अवस्थामा राणाले सांसदको रुपमा तलब–भत्ता पाउने छैनन् । उनले सांसदका रूपमा प्राप्त हुने अधिकार पनि प्रयोग गर्न पाउने छैनन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २४८ को ५ अनुसार तत्काललाई भने राणा संसदीय गतिविधिमा सरिक हुने छैनन । राणाले सफाइ पाए वा थुनामुक्त भए त्यसको सूचना सभामुखलाई दिनुपर्छ । त्यसपछि मात्रै राणा संसदीय गतिविधिमा सरिक हुन पाउनेछन् ।

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणालाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको थियो।

उनीहरूलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएको छ।

सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ ।

महासङ्घको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिमा महासङ्घका छ जना सचिव सदस्य रहेका छन् । समितिमा सचिवहरु रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन सदस्य रहनुभएको महासङ्घले जनाएको छ ।

समितिले आजै आक्रमण गरिएका सञ्चारगृहमा गएर अध्ययन गर्न लागेको संयोजक बागचन्दले राससलाई जानकारी दिए । समितिले घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्नेछ । समितिले घटना के, कसरी भयो रु, अब महासङ्घ कसरी अघि बढ्ने रु लगायत विषयमा सुझावसहितको प्रतिवेदन दिने जनाइएको छ ।

पूर्वराजा समर्थित समूहहरुले शुक्रबार तीनकुने क्षेत्रमा आगलागी, तोडफोडलगायत अराजक गतिविधिमा उत्रेका थिए । प्रदर्शनकारीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको थियो । कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा पनि प्रदर्शनकारीले आक्रमण एवं तोडफोड गरेका थिए ।

दोषीलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकहरूले शुक्रबार काठमाडौँको तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड, आगजनी र लुटपाट गरेका क्षेत्रको निरीक्षण गरेका छन् । 

गृहमन्त्री लेखकसहित गृह सचिव गोकर्णमणि दुवाडी र गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी र प्रहरी अधिकृतहरूले आगजनी भएको तीनकुनेस्थित निजी घर, कान्तिपुर टेलिभिजनको कार्यालय, अन्नपूर्ण पोष्ट दैनिक, जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय र कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको निरीक्षण गरेका हुन् । 

निरीक्षणका क्रममा गृहमन्त्री लेखकले सञ्चारगृहमाथिको आक्रमण निन्दनीय भएको र घटनामा संलग्न जोसुकै भए पनि कारवाहीको दायरामा ल्याउने बताए । उनले लोकतन्त्रको महत्त्वपूर्ण अंग सञ्चारमाध्यमलाई ध्वस्त पार्ने कोसिस गरेकामा त्यसको निन्दा गर्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, “लोकतान्त्रिक गणतन्त्रमा आपसी प्रतिस्पर्धा हुन्छन् । जनताको अभिमतअनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ । तर जब व्यवस्थाविरुद्ध कसैले उद्दण्डता प्रदर्शन गर्छ भने त्यसको एकाकार भई प्रतिवाद गर्नुपर्छ ।”

म्यानमामा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो

म्यान्मा । म्यान्माको सागिङ सहरमा केन्द्रबिन्दु भई म्यान्मा र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार एक हजारभन्दा बढी पुगेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

मध्य म्यान्माको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्प आएको थियो ।

भूकम्पले म्यान्मामा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको थियो ।

म्यान्मामा कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको र करिब दुई हजार ४०० जना घाइते भएको म्यान्मा सरकारले विज्ञप्तिमा जनाएको छ । उक्त भूकम्पको कारण बैंककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ ।

भूकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि, प्रकोपको वास्तविक तथ्यांक सरकारले सार्वजनिक गरिरहेको छ भने मृतकको सङ्ख्या अझै बढ्ने आशंका गरिएको छ ।

विमानस्थल तथा सडकहरू बन्द रहेकाले राहत तथा उद्धार सामाग्री पुर्‍याउने काममा समेत समस्या भइरहेको जनाइएको छ ।

तिनकुनेमा भएको हिंस्रक घटनामा संलग्नलाई कारबाही गर्न महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग तथा व्यवसाय महासङ्घले शुक्रबार काठमाडौंको तिनकुनेमा भएको हिंस्रक घटनाको निन्दा गर्दै त्यसबाट भएको क्षतिको परिपूर्ति हुनुपर्ने माग गरेका छन् ।

दुवै महासङ्घले बेग्लाबेग्लै विज्ञप्ति जारी गरी दोषीमाथि कारबाहीको माग पनि गरेका छन् । उनीहरुले विभिन्न माग राखी हुने आन्दोलन तथा प्रदर्शन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

यही चैत १५ गते उक्त स्थानमा भएको आन्दोलनका क्रममा मानवीय क्षतिसँगै धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै महासंघले सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाटलगायत हिंस्रक घटनाबाट क्षति भएकामा त्यसको भत्र्सना गर्दै क्षतिपूर्तिको माग गरेको छ ।

‘संविधानप्रदत्त अधिकारभित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय छ । कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटनाप्रति नेपाल उद्योग वाणिज्य महासङ्घ घोर निन्दा र भत्सर्ना गर्दछ । साथै महासङ्घ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गर्दछ,’ महासङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, नेपाल उद्योग तथा व्यवसाय महासङ्घले पनि आज एक विज्ञप्ति निकालेर विगतदेखि नै देशका उद्योगी– व्यवसायीमाथि आक्रमण गर्दै वित्तीय सङ्घसंस्थालाई ध्वस्त बनाई मुलुकको अर्थव्यवस्थालाई अप्ठ्यारो पार्न आक्रमण भएका, ती आक्रमणको उद्देश्य उद्योगी–व्यवसायी र आम जनतालाई आर्थिक रुपमा कमजोर बनाई राज्यलाई नै असफल बनाउने कुत्सित प्रयत्न भएको भन्दै त्यस्ता गतिविधिको निन्दा गरेको छ ।

शुक्रबार दिउँसो भएको तिनकुने तथा कोटेश्वरलगायत स्थानमा भएका आपराधिक गतिविधिको निन्दा गर्दै महासङ्घले स्वच्छ, पारदर्शी एवं भयरहित वातावरणमा व्यवसाय गर्ने वातावरण निर्माण गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

साथै महासङ्घले शुक्रबारको घटनामा संलग्न सम्पूर्णलाई कानुनी दायरामा ल्याई तत्काल कारबाही गर्न, शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थाका निम्ति सरकारलाई आग्रह गरेको छ । महासङ्घले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबै उद्योगी व्यवसायीलाई सक्रिय रहन अनुरोध पनि गरेको छ ।

भूकम्प प्रभावित म्यान्मामा भारतले पठायो सहायता

नयाँदिल्ली । भारतले मानवीय सहायताका लागि हवाइ मार्गबाट सहयोग पठाएको भारतीय विदेशमन्त्रीले बताएका छन् ।

म्यान्मामा शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले व्यापक क्षति पुर्याएपछि म्यान्माको सैनिक नेतृत्वप्रति वफादार सरकारले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेको थियो ।

म्यान्माको जुन्टा प्रमुख मिन आङ ह्लाइङले अन्तर्राष्ट्रिय सहायताका लागि असाधारण दुर्लभ अपील जारी गरेका थिए । यसले अहिलेसम्म कम्तीमा एक हजार जनाको मृत्यु भएको र एक हजार ६७० जना घाइते भएको सरकारद्वारा पुष्टि गरिएकोे विपत्तिको गम्भीरतालाई सङ्केत गरेको छ ।

विगतका सैन्य सरकार ठूला प्राकृतिक विपत्तिमा पनि विदेशी सहायता झट्ट स्वीकार नगर्ने गरेपनि शुक्रबारको भूकम्पपछि तत्काल अन्तर्राष्ट्रिय सहायताका लागि असाधारण दुर्लभ अपील जारी गर्नुले म्यान्मामा व्यापक मानवीय तथा भौतिक संरचनाको क्षति भएको अनुमान गर्न सकिन्छ ।

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सी–१३० सैन्य परिवहन विमानलाई हाइजिन किट, कम्बल, खाद्यान्नका प्याकेट र अन्य आवश्यक सामग्रीहरू लिएर पठाइएको जानकारी दिए।

उनले भने, “यस उडानमा खोजी तथा उद्धार टोली र मेडिकल टोली पनि रहेको छ । हामी घटनाक्रमको अनुगमन जारी राख्नेछौं र थप सहयोग पठाउने क्रमलाई जारी राख्नेछौँ ।’

मन्त्रीले सामाजिक सञ्जालमा भारतको राष्ट्रिय विपद् प्रतिकार्य निकायका सदस्यहरूले विमानमा सामान लोड गरिरहेको तस्बिरहरू साझा गरेका छन् ।

शुक्रबारको भूकम्पले म्यान्माको दोस्रो ठूलो शहर मान्डालेमा भवन, पुल र सडकहरू भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी भूगर्भविद्का अनुसार म्यानमामा गएको यो एक शताब्दी यताकै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्पको केन्द्रविन्दुबाट सयौं किलोमिटर टाढा रहेको थाइल्याण्डको बैङ्ककमा रहेका भवनहरूमा ठूलो क्षति पुगेको छ।

गैरकानुनी ढङ्गले आर्थिक गतिविधिमा संलग्न भएको आरोप लागेका सुदूरपश्चिमका वनमन्त्रीद्वारा राजीनामा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका छन्  ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शनिबार बिहान पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा मन्त्री चौधरीले गरेका हुन् । गैरकानुनी ढङ्गले आर्थिक गतिविधिमा संलग्न भएको श्रव्य सामग्री सार्वजनिक भएपछि नैतिकताका आधारमा उनले राजीनामा दिएका हुन् ।

उनले भने, ‘म निर्दोष छु, दोषी भए सजाय भोग्न तयार छु ।’ नेपाली कांग्रेसका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उनी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री भएका थिए ।

तिनकुने घटनाका दोषीलाई सरकारले छाड्दैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार पूर्वराजावादी समर्थकहरुबाट आगजनी भएका भवनहरुको अनुगमन गरेका छन् ।

शनिबार गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुलाई साथमा लिएर भवनहरुको स्थलगत अनुगमन गरेका हुन् । त्यसक्रमममा उनले यो कुनै राजनीतिक दर्शनभन्दा पनि अपराधिक काम भएको भन्दै यसको लागि सरकारले आवश्यक कारबाही गर्ने बताए ।

उनले सञ्चारगृहलगायत सम्पूर्ण नागरिकको जीवन रक्षाका लागि पनि कुनै कसर बाँकी नराख्ने बताए । गृहमन्त्रीले सञ्चार एउटा महत्वपूर्ण अंग भएको हुँदा यसलाई ध्वस्त गर्ने कोशिस लोकतन्त्र कै विरुद्धको गतिविधि भएकाले यसलाई गम्भिरतापूर्वक लिने बताए ।

यही नै समय हो सरकारले पूर्वराजाविरुद्ध कडा कदम चालोस्ः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिकस्तरको भएको बताएका छन् ।

शनिबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस विषयमा कडा कदम चाल्न सरकारलाई आग्रह गरे । उनले पूर्वराजा ज्ञानेन्द्रलाई त्यसै छाड्न नहुने बताए ।

उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक स्तरको भएको पहिला पनि देखिएकै हो । अहिले पनि देखियो । यही नै समय हो सरकारले कडा कदम चालोस् ।’

उनले शुक्रबारको घटना हेर्दा प्रहरी र सरकारको तयारी नभएको देखिएको बताए । उनले भने,‘राजधानीको मुटुमा यस्तो विवेकहीन आपराधिक गतिविधि हुँदा प्रहरी समयमा आउन नसक्नु यसलाई गम्भीर समीक्षा सरकारले गरोस् । र आउने दिनमा पूर्ण तयारीमा लागोस् ।’

पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनीविरुद्ध महासंघको विरोध सभा

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनी विरुद्ध विरोध सभा गरेको छ । शुक्रबार राजावादी समूहले काठमाडौंको तिनकुने लगायत केही स्थानमा हिंसात्मक गतिविधी गरेका थिए ।

हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाएका पत्रकार सुरेश रजकको न्यायका लागि नेपाल पत्रकार महासंघले शनिबार बिहान बिरोध सभा गरेको हो । महासंघले स्थापना दिवसका सबै पूर्व निर्धारित कार्यक्रम स्थगित गर्दै विरोध सभा गरेको छ ।

म्यानमारमा भूकम्पबाट दशौं हजार मारिएको आशंका

बीबीसी । शुक्रबार म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । बीबीसीका अनुसार शनिबार बिहानसम्म मृतकको संख्या ६९४ पुगेको छ । त्यस्तै १ हजार भन्दाबढी घाइते भएका सेनाले जानकारी दिएको छ ।

भूकम्पको झट्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो । थाइल्याण्डमा १० जनाको मृत्यु भएको छ । खोज तथा उद्दार जारी रहेकाले मृतकको संख्या दशौं हजार पुग्ने अनुमान गरिएको छ । शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

शुक्रबारको घटनाबाट नयाँ पुस्ताले राजतन्त्रको निरंकुशता र दमन थाहा पाएः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीको शुक्रबारको हिंसात्मक आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको निरंकुशता र दमन थाहा पाएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमार्फत पोखरेलले पत्रकारसहित दुई जनाको ज्यान जाने गरी भएको उग्र आन्दोलनले राजतन्त्रको निरंकुशता र दमन नभोगेको पुस्तलाई थोरै भए पनि बुझ्ने मौका मिलेको बताएका हुन् ।

उनले भनेका छन्, ‘एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरुको कार्यक्रममा भन्दा धेरै जनताको सहभागिता रह्यो । कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रह्यो । राजावादीहरुको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रह्यो । व्यवस्थाको विकल्प दिन्छौ भन्नेहरु आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नु पर्दछ । त्यसमा राजावादीहरु पूर्णतःअसफल भए । बरु उल्टै उनीहरुका क्रियाकलापले राजतन्त्रको निरंकुशता र दमन वेहोर्न नपरेको नयाँ पुस्तालाई त्यसबारेमा थोरै भए पनि बुझ्ने मौका मिल्यो ।’
यस्तो छ पोखरेलको भनाई

हिजो एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरुको कार्यक्रममा भन्दा धेरै जनताको सहभागीता रह्यो । कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रह्यो । राजावादीहरुको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रह्यो । व्यवस्थाको विकल्प दिन्छौ भन्नेहरु आन्दोलनका माध्यमवाट अपिल गर्न र सन्देस दिन सक्नु पर्दछ । त्यसमा राजावादीहरु पूर्णतःअसफल भए । बरु उल्टै उनीहरुका क्रियाकलापले राजतन्त्रको निरंकुशता र दमन बेहोर्न नपरेको नयाँ पुस्तालाई त्यस वारेमा थोरैभए पनि वुझ्ने मौका मिल्यो ।
आजको युग जनचेतनाले भएको लोकतन्त्रको युग हो । कसैको निहित स्वार्थ, प्रतिसोध वा दुरासयवाट आजको नेपाली समाज प्रभावित हुदैन भन्ने सन्देश पुनः दिनुपर्ने भएको छ ।

हिजोको घटनामा जीवन गुमाएकाहरु प्रति भावपूर्ण श्रद्धान्जली । घाइते सबैको शिघ्रस्वास्थ लाभको कामना । सुरक्षा निकायको संयमताले राजावादीहरुको असलियत उदांगिएको छ । आन्दोलनका नाममा नियोजित रुपमा परिचालित अपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटवाट पीडित भएकाहरुलाई राज्यका तर्फवाट यथोचित सम्वोधन आवश्यक छ । जनतालाई आतंकित बनाउने अपराधिक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिने सबैलाई अविलम्व कार्वाहीको दायरामा ल्याउनु आवश्यक छ ।

‘पूर्वराजालाई पक्राउ गरिए देशभरबाट नागरिक सडकमा उत्रिनेछन्’

काठमाडौँ । ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्ने या नजरबन्दमा राख्ने भन्ने तयारी गरिएको भन्दै विरोध गरेका छन् ।

शनिबार विज्ञप्ति जारी गरी सुवेदीले पूर्वराजा ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएकाले त्यस अनुरूप कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिकहरू स्वतःस्फूर्त विरोधमा उत्रने सुवेदीले चेतावनी दिएका छन् ।

चैत्र १५ गते बिहान ११ बजेदेखि काठमाडौँको तिनकुनेमा आयोजना गरिएको आन्दोलन घोषणा सभामा सङ्घर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट नियोजित घुसपैठ गराइएको सुवेदीको बताएका छन् । त्यसपछि प्रहरी दमनका कारण सभा बिथोलिएको उनले दाबी गरेका छन् ।

आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ लगायतलाई पक्राउ पुर्जी जारी गर्ने, कार्यक्रम पश्चात् जनआन्दोलन समितिका सदस्य सचिव रविन्द्र मिश्र, आन्दोलन परिचालन संयोजक धवल शमशेर राणा तथा अधिवक्ता स्वागत नेपाल लगायतलाई पक्राउ गर्ने र आफूलाईसमेत घरमै नजरबन्दमा राख्ने कार्य भएको सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका पूर्वक्रिकेटर स्टुआर्ट ल नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुआर्ट ल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक रूपमा उनको नियुक्तिको घोषणा गरेको हो । स्टुआर्ट ल अष्ट्रेलियाका पूर्व दिग्गज क्रिकेटर तथा अनुभवी प्रशिक्षक हुन् ।

उनी खेलाडीका रूपमा अष्ट्रेलियाको घरेलु क्रिकेटमा लामो समय सक्रिय थिए । उनले क्वीन्सल्याण्डका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए भने अन्तर्राष्ट्रिय क्रिकेटमा पनि अनुभव बटुलेका छन् ।

नेपाली टिमका पूर्व प्रशिक्षक मोन्टी देसाइले पदबाट राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन बनेको थियो । त्यसयता क्यानले विभिन्न प्रशिक्षकहरूसँग छलफल गरेपछि अन्ततः स्टुआर्ट ललाई नियुक्त गर्ने निर्णय लिएको हो ।

रविन्द्र मिश्र र धवलशम्सेर राणा पक्राउ

काठमाडौँ । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उनीहरुलाई शुक्रबार राति पक्राउ गरिएको हो ।

तीनकुनेमा शुक्रबार दिउँसो घटेको घटनाका सन्दर्भमा आवश्यक सोधपुछका लागि उनीँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको छ ।

त्यसैगरी प्रहरीले अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ गरेको जनाएको छ ।

काठमाडौंमा कर्फ्युको समय थपियो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्युको समयावधि लम्ब्याएको छ । यसअघि प्रशासनले शुक्रबार राति १० बजेसम्म कर्फ्यु लागू गरेकोमा स्थिति सहज भइनसकेकाले शनिबार बिहान ७ बजेसम्मका लागि लम्ब्याइएको जनाएको छ ।

यो समयमा काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उल्लेख छ ।

हिंसा भड्काउनेलाई कानूनी कारबाहीको दायरामा ल्याउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले राजधानीको तिनकुनेलगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक घटनाको निन्दा गरेको छ ।

शुक्रबार राति महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले संयुक्त विज्ञप्ति जारी गरी व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधनमा भएको तोडफोड र आगजनीलाई गम्भीरतापूर्वक लिएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, लोकतान्त्रिक गणतन्त्रको स्थापना ०६२/०६३ को जनआन्दोलनबाट सोझै भएको होइन, आन्दोलनले केवल प्रतिनिधिसभा पुनस्र्थापित गरेको थियो । संसद मार्फत अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचन र त्यो निर्वाचनबाट चुनिएका नेपाली जनताका प्रतिनिधिहरुको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको थियो । यो वास्तविकतालाई आजको मितिमा हामी स्मरण गर्न र गराउन चाहन्छौं ।’

उनीहरुले नागरिकमा रहेका कयौं असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट सम्भव भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘नागरिकमा रहेका कयौं असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट सम्भव छ । नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नविनता दिन हामी दृढ ढंगले प्रतिबद्ध छौं । हामी जान्दछौं कयौं कमजोरी भएका छन्, तिनको निदान खोज्न र समाधान पहिल्याउन हामी दृढ छौं । नेपाली समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा सम्बोधन यही संविधानको दायरा भित्रैबाट क्रमशः गर्न सकिन्छ । लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । नेपाली कांग्रेस सबै राजनैतिक दललाई यसमा स्पष्ट ढंगले उभिन अपील समेत गर्दछ ।’

उनीहरुले घाइतेहरुको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गर्दै, हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानूनी कारबाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गरेका छन् ।

तिनकुनेमा राजावादीले आगो लगाएको भवनमा जलेर पत्रकारको मृत्यु

काठमाडौं । काठमाडौंको तिनकुनेको भवनमा भएको आगलागीमा परी एक पत्रकारको मृत्यु भएको छ । आगलागीमा परी एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए । भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो ।

तर जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको छ । अहिले त्यहाँ प्रहरी पसेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ ।

हिंसात्मक घटनाको जिम्मेवार आयोजक हुनुपर्छः गृह मन्त्रालय

काठमाडौं । सरकारले राजावादीहरुको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईले प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी लिनुपर्ने बताएको छ ।

शुक्रबार साँझ पत्रकार सम्मेलन गरी गृह मन्त्रालयका सहसचिव छवि रिजालले घटनाको जिम्मेवारी प्रसाईंले लिनुपर्ने बताएका हुन् ।

उनले सरकारले आन्दोलनका कमान्डर प्रसाईंलाई कारबाहीको दायरमा ल्याइने पनि बताए । राजतन्त्र फर्काउनुपर्ने मागसहित प्रसाईंको नेतृत्वमा शुक्रबार राजावादीको प्रदर्शन हुँदा तोडफोड र आजगनीको घटना भएका थिए ।

तिनकुनेमा राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एक युवकको मृत्यु

काठमाडौं । प्रहरीको गोली लागी घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ । काठमाडौंको तिनकुनेमा राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका काठमाडौंको कीर्तिपुर नगरपालिका–४ का सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिएका छन् ।

गोली लागेपछि उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पतालकाअनुसार महर्जनको घाँटीमा गोली लागेको थियो । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।

एमाले मुख्यालयमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । राजावादीहरुको प्रदर्शन उग भएपछि नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।

प्रदर्शनकारीहरुले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनी गरेको साथै माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा प्रवेश गर्ने प्रयास गरेपछि च्यासलमा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

त्यस्तै एमाले निकट प्रेस चौतारीको नव निर्वाचित पदाधिकारी एवम सदस्यहरुको शपथग्रहण कार्यक्रम पनि अन्योलमा परेको छ । प्रधानमन्त्री केपी ओली पुग्ने भनिएको उक्त कार्यक्रम अन्योलमा परेको हो ।

यता, तिनकुनेबाट अनियन्त्रित बनेका प्रदर्शनकारीले एमाले पार्टी कार्यालय नजिकै रहेको बालकुमारी एउटा ट्याक्सी जलाएका छन् ।

आकस्मिक मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले आज साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । राजावादी प्रदर्शनकारी हिंसात्मक हुन थालेपछि दिउँसो सुरक्षा समितिको बैठक बसेको थियो ।

काठमाडौँको तिनकुने क्षेत्रमा राजावादी तोडफोड र आगजनीमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कफ्र्यु आदेश जारी गरेको छ ।

आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको राजावादीहरुको दाबी

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले देश आजदेखि संक्रमणकालमा प्रवेश गरेको जनाएको छ ।

समितिका प्रवक्ता स्वागत नेपालले शुक्रबार विज्ञप्ति जारी गरी आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको भन्दै गणतन्त्र कागजमा मात्रै सीमित रहेको जनाएका हुन् । पुरानो संसदीय व्यवस्थावादीहरूले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने समेत समितिले चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको छ । गणतन्त्र कागजमा मात्र सीमित रहेको छ । यस अवस्थालाई हुने निश्चित रहेकोले तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न, राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरू समेतलाई स्थितिको गम्भीर र विवेकपूर्ण पर्यवेक्षण गरिदिन समेत आह्वान गर्दछौँ ।’

विद्यालय शिक्षा विधेयक शीघ्र टुङ्गोमा पुर्याउन  दलहरुलाई शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरुले विद्यालय शिक्षा विधेयक दु्रत गतिमा अघि बढाउन सम्बन्धित समितिसमक्ष अनुरोध गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापासहितको छलफलका क्रममा प्रमुख दलका प्रमुख सचेतकले यस्तो आग्रह गरेका हुन् । 

साथै उनीहरुले त्यसमा आफ्नो दलको पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । त्यस अवसरमा मन्त्री भट्टराईले  विधेयक शीघ्र टुङ्गोमा पुर्याउन उपसमितिमार्फत काम भइरहेको उल्लेख गर्दै सहयोगका लागि सबै दलसँग आग्रह गरिन् ।

त्यसअवसरमा शिक्षक आन्दोलनका विषयमा समेत छलफल भएको थियो । सहभागी प्रमुख सचेतकहरुले शिक्षकहरूसँग यसअघि सरकारले गरेका सम्झौताहरूलाई विधेयकमा सम्बोधन गर्न सुझाव दिए । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा हाल दफावार छलफल भइरहेको छ । समितिका सभापति थापाले यस विषयमा थप छलफल गरी विधेयकलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउने जानकारी दिए । 

छलफलमा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का प्रमुख सचेतक हीतराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी थिए ।

बुद्धका सन्देशलाई फैलाउन जरुरी छः पूर्वराष्ट्रपति भण्डारी

लुम्बिनी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धका सन्देशलाई विश्वभर प्रचारप्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छिन् ।

लुम्बिनीमा शुक्रबार थुक्छे छोइलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा र शिक्षाको महत्व आजको समयमा झनै बढेको उल्लेख गराइन् ।

‘गौतमबुद्धले अहिंसा, करुणा र शान्तिको मार्ग देखाउनुभयो । उहाँका शिक्षाले संसारभर करोडौँ मानिसलाई प्रेरित गरेका छन् । तर, आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ’, उनले भनिन्, “त्यसैले बुद्धका शान्ति, करुणा र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन बढेको छ ।’

लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल भएको उल्लेख गर्दै उनले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तरराष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखिन् ।

बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए ।

उनले सङ्घीय सरकारले लुम्बिनीको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रको विकास गुरुयोजनाका आधारमा अघि बढाउनुपर्नेमा जोड दिँदै, त्यसबाहिरका काम नहुनुपर्ने स्पष्ट पारे । उनले गुम्बा निर्माणका नाममा जग्गा रोकिराख्ने वा अधुरो छाड्नेजस्ता प्रवृत्तिको अन्त्य आवश्यक रहेको उल्लेख गरे ।

लुम्बिनी विकास गुरुयोजनाअनुसार ४२ वटा प्लट निर्धारण गरिएका छन् । उनले विश्वभर बुद्धको शान्ति र ज्ञान फैलाउन गुम्बाहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले बुद्ध जन्मस्थलमा यस खालका गुम्बा निर्माण हुँदा पर्यटकीय गतिविधि बढाउन महत्वपूर्ण हुने बताए । उनले लुम्बिनी विकास कोषले स्थानीय नागरिकसँग पनि सहकार्य गरेर आफ्ना कार्यक्रम गर्न अनुरोध गरे ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले यस्ता संरचना निर्माण विकास कोषको गुरुयोजनाअनुरुप नै भएको स्पष्ट पारे । उनले गुम्बा निर्माण गर्न विकास कोषसँग जग्गाको सम्झौता गरेर ओगटिराख्ने प्रचलनको अन्त्य गर्न विकास कोषले जोड दिएको बताए ।

तिनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाएको हो ।

राजावादीको समूहले निजी व्यक्तिको घरमा ढुंगामुढा गरेर आगजनी गरेका छन् । प्रहरीले प्रदर्शन तितरबितर पार्न दर्जनौँ अश्रुग्यास प्रहार गरेको थियो ।

कुलमान हटाइएको बारेमा प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

संसद बैठकको गतिरोध, प्रतिस्थापन विधेयकलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

विपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्ती गरेका विषयलाई लिएर तीन दिनदेखि संसद् बैठक अवरोध गरिरहेका छन् ।

इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न राजावादीलाई प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिक दलहरुको उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।

शुक्रबार समाजवादी मोर्चाले भृकुटीमण्डपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न चेतावनी दिएका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्रले धेरै गल्ती गरेकाले अहिले त्यसको परिणाम भोगिरहेको बताए । उनले भने, ‘अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैनन् । खबरदार ।’ अध्यक्ष प्रचण्डले मण्डलेहरूले अराजकता मचाउन खोजेको आरोपसमेत लगाए ।

उनले मण्डलेहरुको अराजकता थाहा पाउन तिनकुनेको हर्कत हेरे पुग्ने बताए । उनले भने, ‘मण्डलेहरू कस्ता हुन्छन् भनेर थाहा पाउन कतै जानु पर्दैन । तिनकुनेको हर्कत हेरे पुग्छ । १२ वर्ष ढुंग्रामा हाले पनि कुकुरको पुच्छर बाङ्गो भनेझैँ मण्डलेको आमसभा अराजकतामा परिणत भएको छ । मण्डलेले आतंक सिर्जना गर्न खोजेका छन् । प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।’

उनले समाजवादी मोर्चा र व्यक्तिगत तर्फबाट आत्मआलोचना गर्दै अब जनअपेक्षा अनुसार काम गर्ने र इतिहासमा कुडाकर्कट बनिसकेकाहरूले टाउको उठाउन चाहेको आन्दोलनलाई अन्त्य गर्ने बताए ।

उनले भने, ‘जनयुद्धको नेतृत्वकर्ता, शान्ति सम्झौता, गणतन्त्र घोषणा र संविधान निर्माणको नेताको हैसियतले देशभरका जनतालाई भन्न चाहन्छु, समस्या विगतमा केही त्रुटी गरेकाले पनि पैदा भएका छन् ।

‘हामी गणतन्त्रवादीहरूले केही कमजोरी गरेकैले दलाल, नोकरशाहीहरूले पनि थुप्रै लाभ लिने अवसर प्राप्त गरे । तर, अब त्यसलाई सच्याइनेछ । गल्तीबाट शिक्षा लिएर पुनः मजदुर, किसान, उत्पीडित जनता, महिला, मुस्लिम सबैको पक्षमा काम गर्न अर्को क्रान्तिको नेतृत्व गर्न हामी तयार भएका छौं । यो कुरा मञ्चबाट औपचारिकताको लागि मात्र भनिराखेको छैन । एउटा नयाँ आन्दोलन, नयाँ क्रान्तिको नेतृत्वद्वारा अहिले देखिएको समस्या समाधान गर्न चाहन्छौं ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीहरुले मिलेको आशंका व्यक्त गरे । उनले सरकारले उल्टो काम गरेको देख्दा प्रधानमन्त्री ओली राजावादीसँग मिलेको हुनसक्ने बताए ।

उनले भने, ‘भित्रभित्रै उहाँ, हिजो पनि कहीँ न कहीँ मिल्न खोज्नुहुन्थ्यो। गणतान्त्रिक आन्दोलन हाम्रो माधवजीको नेतृत्वमा चल्दैगर्दा उहाँ बयलगाढावाला सिद्धान्तको प्रतिपादक हुनुहुन्थ्यो ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई नकारात्मक गुरुको संज्ञा दिए । उनले भने, ‘माधवजीले अघि स्वर्ग र नर्कको कुरा गर्नुभयो । उहाँले जे भएको हो, त्यही भन्नुभयो, तर निष्कर्ष त्यो होइन । मलाई नर्कतिर र उनी स्वर्गतिर गएको होइन । उनी नर्कतिर मलाई स्वर्गतिर फर्काइदिएको हो । मलाई स्वर्गमा जान प्रेरित गरे यस अर्थमा केपी ओलीलाई धन्यवाद छ ।’

राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड

काठमाडौं । राजावादी कार्यकर्ताले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् ।

राजावादीको एक समूहले आलोकनगरस्थिति एसको कार्यालय पुगेर ढुंगामुढा गरेका हुन् ।

ढुंगामुढा प्रहारबाट कार्यालयमा क्षती पुगेकाे छ ।

अब यो मुलुक शाही वंशतर्फ फर्कन सक्दैनः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले फेरि राजावादीहरुलाई वंशको शासन ल्याउने कल्पना नगर्न आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वंशको शासन ल्याउन खोजे त्यसले ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन् ।

उनले जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले कसैको दासता स्वीकार्न तयार नरहेका बताए । उनले भने, ‘अब यो मुलुक शाही वंशतर्फ फर्कन सक्दैन । राणातन्त्रतर्फ र वंश र परिवारको शासनतिर मुलुक फर्कन सक्दैन, जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले कसैको दासता स्वीकार्न तयार छैनन् । वंशको शासन ल्याउन खोजे त्यसले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

उनले आजको कार्यक्रम कास्टिङ मात्रै भएको बताए । अध्यक्ष नेपालले सत्तामा बस्नेहरुको कमजोरीका कारण जनता असन्तुष्ट बनेका बताए ।

सत्तामा फर्किने सपना नदेख्न पूर्वराजालाई विप्लवको चेतावनी

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सामन्तवादीहरूलाई शासन गर्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सत्तामा फर्किने सपना नदेख्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका हुन् ।

उनले देशमा पूर्वराजा ज्ञानेन्द्रजस्ता शासकको खाँचो नभएको बताए । उनले भने, ‘नेपालमा ढलेको ध्वस्त भएको शासक फर्किने सम्भावना छैन । श्वेत आतंकवादीहरूले आतंक फैलाइरहेका छन् । सामन्तीका भूतहरूले शासन गर्ने सपना नदेखे हुन्छ ।’

उनले संसारभर सार्वभौमिकतामाथि हमला हुँदै आएकाले दलहरू सचेत हुनुपर्ने बताए ।

तिनकुनेमा एक घरमा आगजनी र तोडफोड(फोटोफिचर)

काठमाडौं । राजावादीको प्रदर्शन बिथोलिएपछि काठमाडौंको तिनकुनेमा एक घरमा आगजनी भएको छ । त्यसअघि घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए ।

तिनकुनेमा राजावादीको प्रदर्शनका क्रममा प्रहरीले हवाइ फायरसमेत गरेको थियो । आगो निभाउन गएको दमकललाई समेत अवरोध गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो ।

म्यान्मार र थाइल्यान्डमा शक्तिशाली भूकम्प

बीबीसी । म्यान्मारको मध्यभागमा आएको ७.७ म्याग्निट्यूडको भूकम्पका कारण म्यान्मार र सीमावर्ती थाइल्यान्डका बैंककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु सगाइङ सहरबाट १६ किलोमिटर टाढा छ। उक्त भूकम्प जमिनभन्दा १० किलोमिटर तल उत्पन्न भएको यूएसजीएसले जनाएको छ । भूकम्पका कारण बैंककमा निर्माणाधीण एउटा ३०–तले भवन भत्किँदा ४३ मजदुर सम्पर्कविहीन भएका थाई अधिकारीहरूले बताएका छन् ।

भूकम्पका कारण म्यान्मारको राजधानी नेपिएडोमा केही क्षति पुगेको विवरण छ। थाइल्यान्डबाहेक दक्षिणपश्चिम चीनमा पनि धक्का महसुस गरिएको थियो । बैंककमा भवनहरूमा क्षति पुगेको छ भने म्यान्मारको राजधानीमा सडकहरू भत्किएका छन् ।

बैंककमा भुइँचालो थेग्न सक्ने गरी भवन निर्माण नगरिएका हुनाले ठूलो क्षति पुगेको हुन सक्ने ठानिएको छ। थाई सरकारले आपतकालीन बैठक बोलाएको छ । अधिकारीहरूका अनुसार बैंककमा भत्किएको ३०–तले निर्माणाधीन भवनमा ५० जना मजदुर थिए।

तीमध्ये सात जना बाहिर निस्किन सफल भए भने ४३ जना फसेका छन् । म्यान्मारमा सैन्य शासकहरूले पहिलादेखि नै सञ्चारमाध्यम र इन्टरनेटमा नियन्त्रण गरेका हुनाले त्यहाँबाट सूचना आउन सकेको छैन ।

राजावादीले निषेधित क्षेत्र तोड्न खोजेपछि तिनकुने बन्यो रणमैदान(भिडियोसहित)

काठमाडौं । राजावादीहरूको समूह र प्रहरीबीच तिनकुनेमा झडप भएको छ । राजावादीहरूको समूह तिनकुनेबाट नयाँबानेश्वरतिर प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।

प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहारसमेत गरेको छ । प्रहरीले राजावादीहरूको प्रदर्शनमा सहभागीहरूलाई तिनकुने रिङरोडबाट भित्र छिर्न नदिन नयाँ बार लगाएको थियो । प्रहरीको बार तोडेर बानेश्वरतिर प्रवेश गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो ।

हस्तक्षेपका क्रममा दुर्गा प्रसाईं सवार गाडी तोडफोड भएको छ । प्रहरीले बल प्रयोग गरेपछि राजावादी नेताहरू तिनकुनेको चौरमा बनाइएको मञ्चबाट भागेका थिए ।

प्रतिनिधिसभाको बैठक बस्न बस्दै नबसी स्थगित, अब आइतबारका लागि बोलाइयो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले शुक्रबार जारी गरेको सूचनामा आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गरेका हुन् ।

विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान लिएपछि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन ।

राजनीतिक, आर्थिक र प्रशासनिक क्षेत्रका समस्या दलको नेतृत्वले समाधान गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भट्टराईले शुक्रबार राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटमा लोकतान्त्रिक राज्यप्रणालीमा स्वाभाविक रूपमा बेलाबखत देखापरिरहने राजनीतिक, आर्थिक, सामाजिक, सामरिक, प्रशासनिक क्षेत्रका समस्या दलहरूका नेतृत्वले नै आपसी सम्वाद र सहमतिबाट समाधान गर्नुपर्नेमा कुराकानी भएको भट्टराईले जानकारी दिएका छन् ।

भेटपछि भट्टराईले भनेका छन्, ‘आज सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसंग राष्ट्रपति निवासमा भेटेर देशको समसामयिक परिस्थितिवारे संवाद गर्ने सुअवसर प्राप्त भयो । देशको प्रमुख अभिभावकको नाताले राष्ट्रपतिज्यूमा लोकतान्त्रिक राज्यप्रणालीमा स्वाभाविक रूपमा बेलाबखत देखापरिरहने राजनीतिक, आर्थिक, सामाजिक, सामरिक, प्रशासनिक क्षेत्रका समस्या दलहरूका नेतृत्वले नै आपसी संवाद र सहमतिबाट हल गरून् र जनताले लामो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरून् भन्ने सदीक्षा रहेको अनुभूति भयो । सबै जिम्मेवार राजनीतिक दल र नेतृत्वको ध्यानाकर्षण होस्।’

तीर्थ यात्रामा गएका दाङका चार जनाको भारतको बहराइचमा दुर्घटनामा मृत्यु

दाङ । भारतमा तीर्थ यात्रामा हिँडेका दाङको तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।

दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ बिहीबार भारतको बहराइचमा दुर्घटना भएको जनाइएको छ ।

सोही दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए ।

अन्य दुई जनाको पहिचान हुन बाँकी छ । अन्य दुई जना पनि तुलसीपुर निवासी नै रहेको वडाध्यक्ष जीसीले बताए । गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ । गाडीमा सवार अन्य पाँच जना घाइते छन् । उनीहरुको भारतमै उपचार भइरहेको जनाइएको छ ।