`

निष्कासित नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौँमा अवतरण 

काठमाडौं । अमेरिकाबाट निकालिएका नेपालीहरुलाई बोकेर आएको विमान काठमाडौंमा अवतरण भएको छ।

अहिले विहान करिब १० बजे अवैधानिक नेपाली आप्रवासीहरुलाई लिएर आएको जीआरपी-२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

क्यानका एक उच्च अधिकारीका अनुसार विमानमा १० जना प्रारम्भिक जानकारी आएको छ। ‘यसमा २/४ थपघट पनि हुनसक्छ एकछिनमा थप प्रष्ट हुन्छ’, उनले भने।

अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूलाई नेपाल छोडिएको हो । यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । यसअघि २७ नेपाली काठमाडौं फर्किएका थिए । तर अमेरिका सरकारले नेपालीलाई नेपालमै ल्याएर छोडिदिएको भने यो पहिलो घटना हो ।

नेपालीलाई छोड्न आएको विमानले नेपालबाट केही अमेरिकी नागरिक लिएर जानेछ ।

मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार बर्खास्त

जनकपुरधाम । सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई बर्खास्त गरिएको छ ।

विश्वविद्यालय सिनेटको मङ्गलवार राति बसेको बैठकले उपकुलपति र रजिस्ट्रारलाई हटाउने निर्णय गरेको हो । तत्कालीन जसपा नेपाल नेतृत्वको सरकारले २०८१ मंसिर २१ मा विश्वविद्यालयको उपकुलपतिमा डा. महतोलाई नियुक्त गरेका थियो । सिनेटको बैठकले विश्वविद्यालयको बजेट पारित गर्नुका साथै पहिलेको खर्चलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतलाई बाइपास गरी विश्वविद्यालय भवनको शिलान्यास गरेको भन्दै दुवै पार्टीबीच चरम विवाद छ । दुई पार्टीको लडाइँले विश्वविद्यालय लथालिङ्ग बनेको छ ।

सुखानी हत्याकाण्ड राजतन्त्रको ठाडो आदेशमा भएको अत्यन्त पाशविक हत्या थियोः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सुखानी हत्याकाण्ड अत्यन्त पाशविक र दर्दनाक भएको बताएका छन् । झापा विद्रोहका क्रममा सुखानीमा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘आजकै दिन सुखानीको जंगलमा पञ्चायती जल्लादहरुले हाम्रा प्रिय नेताहरूको दर्दनाक ढङ्गले हत्याकाण्ड रचेको थियो । राजतन्त्रको ठाडो आदेशमा पञ्चायती जल्लादहरुले गरेको त्यो अत्यन्त पाशविक हत्या थियो । त्यो एउटा अमानवीय, एउटा क्रुर र एउटा विवेकहीन हत्या थियो । राजतन्त्र र पञ्चायती शासकहरूले ती वीर नेता र योद्धाहरूलाई जेलमा राख्ने मात्र पनि आँट गरेनन् । उहाँहरूको बाँच्न पाउने मानव अधिकारलाई पनि वास्ता गरेनन् । त्यति मात्र होइन राजतन्त्रले देशका अनेकौँ ठाउँमा अरू सयौँ र हजारौँ योद्धाहरूको हत्या गरे ।’

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

काठमाडौँ । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।

संवैधानिक निकायमा पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको ५२ जनाको नियुक्ति बदरको माग गरिएको रिटको पेसी आजका लागि तोकिएको छ । गत माघ ३० गतेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा ती रिटमाथि सुनुवाइ सुरु भएको थियो ।

यसअघि गत पुस १७ गतेका लागि प्रधान न्यायाधीश राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो ।

अध्यादेशमार्फत भएका नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले १५ वटा रिट दायर गरेका थिए । रिटमा राष्ट्रपतिको कार्यालय शीतल निवास, नेपाल सरकार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।

त्यसबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारीहरू नियुक्त भएका थिए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा विभिन्न व्यक्तिलाई नियुक्ति दिनुभन्दा एक दिनअघि नै अधिवक्ता अर्याल र वरिष्ठ अधिवक्ता त्रिपाठीले २०७७ साल माघ २० गते संवैधानिक आयोगमा हुने नियुक्ति र शपथ ग्रहण रोक्न सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिनिधिसभा बैठकमा सरकारले पाँच अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित पाँचवटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

बैठकमा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘सुशासन प्रवद्र्धनसम्बन्धी अध्यादेश, २०८१’ पनि स्वीकृतिका लागि निर्णयार्थ पेस गरिनेछ ।

सरकारले ६ वटा अध्यादेश ल्याए पनि जसपा, नेपाल र लोसपा विपक्षमा देखिएपछि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ भने सरकारले रोकेर अन्य पाँच अध्यादेश निर्णयार्थ पेस गर्न लागेको हो ।

यसअघि गत २४ माघको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राखे पनि पछि हटाइएको थियो । त्यसको झण्डै एक महिनापछि सरकारले अध्यादेश अगाडि बढाउन लागेको हो ।

नेमकिपाको अध्यक्षमा विजुक्छे सर्वसम्मत चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन भएका छन् । फागुन १६ गतेदेखि सुरु भएको पार्टीको आठौँ महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

बिजुक्छेको नेतृत्वमा २०३१ साल माघ १० गते नेमकिपाको स्थापना भएको थियो । नेमकिपा स्थापना भएदेखि नै विजुक्छे अध्यक्ष छन् ।

श्रममन्त्री भण्डारीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिष्टाचार भेट गरेका छन् ।

मंगलबार मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीच भएको आपसी समझदारी एवं श्रम सम्झौताको कार्यान्वयनका विविध पक्षमा छलफल भएको मन्त्रालयका प्रवक्ता डण्डुराज पाण्डेले जानकारी दिए ।

उनकाअनुसार नेपालबाट जापान पुगी कार्यरत रहेका नेपाली कामदारहरुको सेवा, सुविधा र सुरक्षालगायतका विषयमा मन्त्री भण्डारीले चासो राखेका थिए ।

यसैगरी जापान सरकारको मागबमोजिम पठाइने दक्ष सीपयुक्त कामदारको सन्दर्भमा दुवै पक्षबीच छलफल गरी यथाशीघ्र निष्कर्षमा पुर्याउनुपर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको थियो ।

भेटका क्रममा नेपालका लागि जापानी राजदूत तोरुले नेपाली दक्ष कामदार जापान पठाउने विषय, कामदारका सेवा, सुविधा र सुरक्षाका विषयमा आफू सकारात्मक रहेको बताए ।

नेपाली कामदारका लागि जापान सुरक्षित र आकर्षक गन्तव्य रहेको साथै आगामी दिनमा नेपाली कामदार जापान पठाउने सन्दर्भमा दुवै पक्षले समझदारीका आधारमा सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो ।

परराष्ट्रको काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयोः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकको उद्धार (रेस्क्यु) गर्ने जस्तो मात्र भएको बताएकी छन्।

नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा पर्टीका प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा प्रशिक्षण शाखा प्रमुखका लागि आयोजना गरेको प्रशिक्षणमा मंगलबार उनले भनिन्, ‘अहिले विदेशमा नेपालीहरू यतिधेरै समस्यामा परिरहेका छन् कि परराष्ट्र मन्त्रालयको काम त यसो हेर्दा उनीहरूको उद्धार गर्नेजस्तो मात्र भएको छ।’

मन्त्री राणाले सीमित स्रोत, साधन र जनशक्तिका कारण संसारमा रहेका नेपालीको उद्धारको काम कठिन भएको पनि बताइन्।

अहिले विभिन्न ४० देशमा मात्र नेपाली राजदूताबास रहेका तर नेपाली भने एक सयभन्दा बढी देशमा पुगेका बताउँदै मन्त्री राणाले नेपालीहरू कहाँ र कसरी पुगेका छन् भन्ने बारेको सूचना मन्त्रालयलाई थाहा नहुने र कसैलाई समस्या परेर उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने गरेको बताइन्।

बंगलादेशको उदाहरण दिँदै उनले भनिन्, ‘जस्तो कि बंगलादेशमा मेडिकल पढ्न गएका विद्यार्थीलाई समस्या परेपछि मात्र त्यहाँ कति विद्यार्थी छन् भन्ने कुरा थाहा भयो। तर मिडियामा भने उनीहरूलाई एक दुई दिनमै नेपाल ल्याइहाल्नुपर्यो भन्ने जस्तो गरेर समाचार आउँछ। त्यसबेला पनि ढाकाको दूताबासमा रहेको सीमित जनशक्तिले समन्वय गर्यो। यस्तै अवस्था अन्यत्र पनि छन्, तर हामी जसोतसो काम गरिरहेकै छौं।’

मध्यपूर्वी देशहरूमा घरेलु कामदारका रुपमा जान महिलालाई नेपालले प्रतिबन्ध लगाएको भए पनि अवैधानिक बाटोबाटै महिलाहरू ती देशमा पुगिरहेको पाइएको भन्दै उनले समस्यामा परेका बेला उद्धारका लागि अप्ठेरो पर्न सक्ने बताइन्।

त्यसैले परराष्ट्र मन्त्रालयले संसारका नेपाली डायस्पोरालाई कन्सुलर सेवा उपलब्ध गराउन तथा परम्परागत कूटनीतिभन्दा माथि उठेर नेपालको परराष्ट्र सम्बन्धलाई थप विस्तारित गर्न ओएनएम गरेर थप दरबन्दी सिर्जना गरेको र यसबाट आगामी दिनमा केही सहज हुने उनले बताइन्।

कमिसन बढ्ने भएपछि ग्यास उद्योगीको आन्दोलन फिर्ता

काठमाडौं । खाना पकाउने ग्यासको कमिसन बढ्ने भएपछि ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका छन् । मंगलबार सरकार र नेपाल एलपी ग्यास उद्योगबीच ग्यासको कमिसन मूल्य १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको हो । यो सहमति भएसँगै उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् ।

सरकार र उद्योगीबीच पाँचबुँदे सहमति भएको छ । नेपाल आयाल निगमकाअनुसार प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा मूल्यवृद्धि भए पनि त्यो उपभोक्ताले तिर्नुपर्दैन ।

आयल निगमलाई अहिले प्रतिसिलिन्डिर ३३० रुपैयाँ घाटा रहेको छ । उक्त घाटा पेट्रोल, डिजेल र हवाई इन्धनबाट मेकप भइरहेको निगमले जनाएको छ । अहिले दैनिक रूपमा १ लाख सलिन्डिर बिक्री हुने गरेको निगमले जनाएको छ । उद्योगीसँगको सहमतिअनुसार बढेको मूल्य जोड्दा प्रतिसिलिन्डिर ३४२ रुपैयाँ ७५ पैसा घाटा हुनेछ । ग्यास उद्योगीहरुसँग भएको सहमतिअनुसार आन्तरिक र बाह्य ढुवानी भाडा समायोजन भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगीका समस्याहरु समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । उद्योगीका उपयुक्त मागहरु सरकारले प्राथमिकतामा राख्ने बताउँदै उनले सरकार सबैको हो भन्ने भावनाको विकास हुनुपर्नेमा जोड दिए ।

सीतापाइलास्थित कारखानाबाटै १२० खुकुरी चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको सीतापाइलास्थित कारखानाबाटै खुकुरी चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । भेषबहादुर कामीले सञ्चालन गरेको कारखानाबाट शुक्रबार बिहान १२० वटा खुकुरी चोरी भएको उजुरी प्रहरी वृत्त स्वयम्भूमा परेपछि प्रहरीले खोजतलास शुरू भएको थियो ।

स्वयम्भू वृत्तबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान काठमाडौं महानगरपालिका– १५ रामघाट पुलबाट खुकुरी चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ धुनिवेशी नगरपालिका घर भएर ललितपुर सानेपा बस्दै आएका राजकुमार तामाङ, रौतहट रघुनाथपुर नगरपालिका– ९ का शेखजफ्रे आलम र रौतहट चपुर नगरपालिका– ९ का लालमोहम्मद देवान छन् । उनीहरूको साथबाट प्रहरीले ४५ वटा मात्रै बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उनीहरूले ललितपुरस्थित कोठामा खुकुरी लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । कारखानाका मालिक भेषबहादुरलाई उक्त खुकुरी बनाउन सशस्त्र प्रहरीले ठेक्कामा दिएको थियो ।

ललिता निवास जग्गा प्रकरणः विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं । ललिता निवासको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्ति तथा संस्थाको नाममा कायम गरिएको मुद्दामा विशेष अदालतलेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारले मंगलबार सर्वोच्चमा पुनरावेदन गरेको हो । अख्तियारले ११० जनालाई प्रतिवादी कायम गरी विशेष अदालतमा २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले २०८० फागुन ३ गते गरेको फैसलाबाट केही प्रतिवादीहरूलाई सफाइ र केहीलाई आंशिक सफाइ दिएको भन्दै आयोगले पुनरावेदन गरेको हो ।

प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित

लस एन्जलस । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राविधिक समस्याका कारण सोमबार आफ्नो शक्तिशाली स्टारशिप रकेटको आठौं प्रक्षेपण रद्द गरेको छ ।

प्रक्षेपण ५ः४५ बजेको लागि निर्धारित गरिएको थियो । यद्यपि, प्रक्षेपण काउन्टडाउन टी–४० सेकेन्डमा रोकियो र धेरै मिनेटको लागि होल्डमा रह्यो । कम्पनी टोलीले उडान परीक्षणको लागि अर्को उपलब्ध अवसरको मूल्याङ्कन गरिरहेको छ ।

आठौं उडान परीक्षणले स्टारशिपको माथिल्लो चरणमा फर्काउन डिजाइन गरिएको बहु पुनः प्रविष्टि प्रयोग अघिल्लो परीक्षणमा पुग्न नसकेका उद्देश्यहरूलाई लक्षित गर्नेछ ।

स्पेसएक्सको स्टारशिपका अन्तरिक्ष यान र सुपर हेवी रकेट सामूहिक रूपमा एक पूर्ण प्रयोज्य यातायात प्रणाली प्रतिनिधित्व गर्दछ, जुन चन्द्रमा, मङ्गल र बाहिर लैजान डिजाइन गरिएको हो । 

अमेरिकामा दादुराको प्रकोप बढ्दो

ह्युस्टन । अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन्।

अमेरिकाको दोस्रो ठूलो राज्य टेक्सासमा दादुराका करिब १६० घटना फेला परेका छन्। यो प्रकोप महिनौंसम्म रहन सक्ने चेतावनी राज्यका स्वास्थ्य अधिकारीहरूले दिएका छन्। टेक्सास राज्य स्वास्थ्य सेवा विभागका अनुसार सप्ताहन्तमा टेक्सासमा एक दर्जन दादुराका घटनाहरू पत्ता लगाइएको जनाएको छ।

सोमबार अस्टिनमा जनस्वास्थ्य समितिसँगको सुनुवाइको क्रममा राज्य स्वास्थ्य विभागका आयुक्त डा. जेनिफर शुफोर्डले घटनाहरू नौ काउन्टीहरूमा फैलिएको बताइन्।

‘हामीलाई थाहा छ कि पछिल्लो १० वर्षमा संयुक्त राज्य अमेरिकामा देखा परेका अन्य प्रकोपहरू महिनौंसम्म चलेका छन्। केही साढे दुई महिनासम्म चलेका छन्, तर न्यूयोर्कमा साढे १० महिनासम्म चलेको थियो ,’ शुफोर्डले थपिन्।

पहिलो दुई केसहरू जनवरीको अन्तमा पहिचान गरिएको र त्यसबेलादेखि संख्या बढ्दै गएको छ। सबै केसहरू खोप नगरिएका व्यक्तिहरूमा रहेका छन्। धेरै जसो केसहरू ५ देखि १७ वर्ष उमेरका बालबालिकामा छन्।

टेक्सासले फेब्रुअरी २६ मा दादुराको प्रकोपबाट अमेरिकामा पहिलो मृत्युको रिपोर्ट गरेको थियो। यो केस खोप लगाएका विद्यालय जाने उमेरका बच्चाको थियो। दादुरा एक अत्यधिक सङ्क्रामक श्वासप्रश्वास रोग हो। 

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐनको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

भजनी (कैलाली) । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ठूलो परिमाणमा कारोबार भइरहेको सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक रहेको बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ कैलालीको १२औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले देशको अर्थतन्त्रमा व्यवसायीको भुमिका अतुलनीय रहेको बताए । व्यवसायीलाई लगानीको वातावरण सिर्जना गर्ने कार्यमा राज्य चुक्न नहुने उल्लेख गर्दै उनले भने, ‘व्यावसायिक वातावरण सिर्जना हुँदा त्यसले अर्थतन्त्रलाई मात्रै नभई रोजगारी पनि सिर्जना हुन्छ ।’

देश संघीय प्रणालीमा गइससकेको अवस्थामा व्यवसायीका लागि आवश्यक कच्चापदार्थको उपलब्धता प्रदेश तहबाट हुन आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो । ‘हामीले बनाएका केही ऐन कानुन संशोधन गर्नुपर्ने स्थिति आएको छ ।

आज कानुनी व्यवधानका कारण व्यवसायीले कच्चापदार्थ सहजरूपमा पाउन सकेका छैनन्,’ उनले भने, ‘प्रदेशबाट व्यवसायीलाई कम्तिमा कच्चापदार्थ उपलब्ध गराउन सक्यौँ भने पनि व्यवसायीलाई ठूलो राहत हुन्छ ।’

परम्परागत रूपमा व्यवसायलाई अगाडि बढाउन सरकारले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिए । त्यसका लागि पार्टीको तर्फबाट सदनमार्फत सरकारलाई दबाब दिने उनले बताए । सुनचाँदीलाई बिलासिताको वस्तुका रूपमा कर लगाउनु गलत भएको र त्यसलाई हटाइनुपर्ने उनको भनाइ थियो ।

आफ्ना सांसदहरूलाई बुधबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेको ह्विप

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले बुधबार बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूका ह्विप जारी गरेका छन् ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले मंगलबार सबै सांसदहरूलाई मोबाइल फोनमा सन्देश पठाएर बुधबारको संसद बैठकमा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेका हुन् । सन्देशमा भनिएको छ, ‘फागुन २१ गते १ बजे बस्ने संसद्को बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ ।’

त्यसैगरी अर्को सत्तारूढ नेकपा एमालेले पनि बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जारी गरेको सन्देशमा अनिवार्य सबै सांसदहरूलाई उपस्थित हुन भनिएको छ । सरकारले जारी गरेका ६ वटा अध्यादेश राष्ट्रिय सभाबाट पारित हुने नदेखेपछि अहिलेसम्म पेश गर्न सकेको छैन । जसपा नेपाल र लोसपासँग छलफलपछि बुधबारको सदनमा भूमिसम्बन्धी अध्यादेशबाहेक ५ वटा पेश गर्ने सरकारको तयारी छ ।

यसवर्ष साढे ६ खर्ब घाटाको बजेट आउने

काठमाडौँ । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब साढे ६ खर्ब बराबरको घाटा बजेट ल्याउन सकिने गरी स्रोतको सीमा (सिलिङ) निर्धारण गरेको छ ।

आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६५ करोडको बजेट ‘सिलिङ’ निर्धारण गर्दा आन्तरिक राजस्वबाट १२ खर्ब ६३ अर्ब १० करोड मात्रै प्राप्त हुने अनुमान गरिएको छ । अर्थात् आगामी आर्थिक वर्षका लागि निर्धारण भएको सिलिङअनुसार बजेट ल्याउने हो भने ६ खर्ब ३७ अर्ब ५५ करोड स्रोत अपुग हुनेछ ।

यस्तो अपुग रकमलाई आन्तरिक तथा बाह्य ऋण र अनुदानमार्फत पूर्ति गरिनेछ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपातमा सार्वजनिक ऋण बर्सेनि बढ्दै जानु, ऋणको साँवाब्याज भुक्तानीका लागि ठूलो रकम खर्च हुनु, ऋण लिएको रकम पुँजी निर्माणमा भन्दा चालु प्रकृतिका कार्यमा जानुलाई चुनौतीका रुपमा हेर्ने गरिन्छ ।

स्रोत अनुमान समितिले निर्धारण गरेको सीमाअनुसार नै बजेट आउने हो र सोही अनुसार खर्च पनि हुने हो भने आगामी आर्थिक वर्षमा मात्र मुलुकलाई करिब ६ खर्ब ऋण थपिने देखिन्छ ।

ठूलो आकारको बजेट ल्याउन ऋणलाई स्रोतका रुपमा देखाउने तर आन्तरिक राजस्व भने बढ्न नसक्ने स्थिति हरेक वर्ष आउने गरेको छ । आगामी आर्थिक वर्षको सरकारी राजस्व वृद्धिको अनुमान हेर्ने हो भने चालु आर्थिक वर्षको बजेटमा राखिएको लक्ष्यकै हाराहारीमा छ ।

यद्यपि, चालु आर्थिक वर्षको संशोधित अनुमानभन्दा १० दशमलव तीन प्रतिशतले आन्तरिक राजस्व प्राप्ति बढ्ने आँकलन स्रोत अनुमान समितिले गरेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले रु १२ खर्ब ६० अर्ब ३० करोड आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो ।

तर बजेटको मध्यावधि समीक्षामार्फत राजस्वको लक्ष्य घटाएर रु ११ खर्ब ४५ अर्ब २६ करोड बराबर मात्रै प्राप्ति हुने अनुमान गरिएको छ । मध्यावधि समीक्षामार्फत राखिएको राजस्व सङ्कलनको लक्ष्यका तुलनामा आगामी आर्थिक वर्षमा करिब १० प्रतिशत राजस्व बढ्ने अनुमान गरिनु विगतको भन्दा कम र यथार्थपरक रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी बताउँछन् ।

‘चालु आवको बजेटको मध्यावधि समीक्षाका आधारमा हामीले आगामी आर्थिक वर्षको आन्तरिक राजस्वको अनुमान गरेका हौँ । विगतमा २०’२२ प्रतिशत सम्म राजस्व वृद्धिको अनुमान गर्ने गरिन्थ्यो । तर अहिले हामीले १० प्रतिशत मात्रै गरेका छौँ । यो यथार्थपरक र विधिमा आधारित छ’, उनले भने ।

आगामी आर्थिक वर्षका लागि १९ खर्ब हाराहारीको बजेट ल्याउन सकिनेगरी सीमा निर्धारण गर्दा करिब साढे ६ खर्ब बराबर स्रोत अपुग हुने देखिन्छ । उक्त रकम वैदेशिक ऋण तथा अनुदान र आन्तरिक ऋण उठाएर पूर्ति गर्नुपर्ने हुन्छ ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा वैदेशिक सहायता २८ दशमलव आठ प्रतिशतले बढ्ने आँकलन स्रोत अनुमान समितिको छ । आगामी आर्थिक वर्ष वैदेशिक अनुदान ४५ अर्ब र वैदेशिक ऋण रु दुई खर्ब ३५ अर्ब नौ करोड प्राप्त हुने अनुमान समितिको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षामार्फत वैदेशिक ऋण र अनुदान प्राप्तिको लक्ष्य पनि संशोधन गरेको थियो । चालु आर्थिक वर्षका लागि रु दुई खर्ब १७ अर्ब ६७ करोड वैदेशिक ऋण लिने सरकारको लक्ष्य रहेकामा गत माघमा मध्यावधि समीक्षामार्फत त्यसलाई घटाएर रु एक खर्ब ८० अर्ब ८४ करोड कायम गरिएको छ ।

त्यसैगरी चालु आवमा रू ५२ अर्ब ३३ करोड वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकामा बजेट समीक्षामार्फत त्यसलाई घटाएर रु ३६ अर्ब ६३ करोड कायम गरिएको छ । आगामी आर्थिक वर्षका लागि स्रोतको अनुमान गर्दा वैदेशिक ऋण उपलब्ध गराउने भनेर दातृ निकायबाट प्राप्त प्रतिबद्धतालाई हेरिएको भए पनि वैदेशिक अनुदान प्राप्तिमा केही फरक पर्नसक्ने आयोगका उपाध्यक्ष अधिकारी बताउँछन् ।

विशेषगरी अमेरिकी अनुदान सहयोगका रुपमा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेसनमार्फत प्राप्त हुने रकम निरन्तरता हुन्छ वा हुँदैन भन्ने विषयले आगामी आर्थिक वर्षको वैदेशिक अनुदान प्राप्तिमा पनि फरक पर्ने उनको भनाइ छ ।

आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्ने स्रोत देखाउँदा आन्तरिक ऋणको आकार पनि चालु आर्थिक वर्षको भन्दा बढाउन खोजिएको छ । सरकारले चालु आर्थिक वर्षका लागि तीन खर्ब ३० अर्ब आन्तरिक ऋण लिने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि भने तीन खर्ब ५७ अर्ब ४६ करोड बराबर स्रोत आन्तरिक ऋण उठाएर पूर्ति गर्न सकिने अनुमान गरिएको छ ।

घाटा बजेट ल्याउने अभ्यास विश्वभर नै रहेको र आन्तरिक स्रोतले धान्नेभन्दा ठूलो आकारको बजेट ल्याउनु आलोचनाको विषय नरहे पनि ऋण लिएको रकम कहाँ र कसरी खर्च हुन्छ भन्ने कुराले भने महत्व राख्ने आयोगका उपाध्यक्ष अधिकारी बताउँछन् ।

‘घाटा वित्त परिचालन गर्ने संसारभरको अभ्यास छ । त्यो रकम कहाँ खर्च हुन्छ भन्ने महत्त्वपूर्ण हो । यसमा आलोचना भनेको सापेक्ष विषय हो । पहिलेको भन्दा निकै यथार्थपरक र वास्तविकतामा आधारित भएर स्रोतको अनुमान गरिएको छ,’ उनले भने ।

नेप्सेमा ३० अंकको गिरावट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । मंगलबार नेप्से ३० दशमलव ३६ अङ्कले घटेर २ हजार ८ सय ४६ दशमलव ३० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा फाइनान्सर उत्पादन समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै बैंक, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको शेयर १ प्रतिशतभन्दा धेरैले घटेको छ । आज सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ ।

बजार उच्च अङ्कले घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३ सय १८ वटा कम्पनीका २ करोड ६३ लाख कित्ता शेयर १२ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएको छ ।

तत्काल पार्टी एकीकरण सम्भव छैन तर, ‘इस्यु’का आधारमा कार्यगत एकता गर्न सकिन्छः झलनाथ खनाल

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हाल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका हुन् ।

मंगलबार प्रेस सङ्गठन नेपालद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा खनालले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएकाले हाल यसको सम्भावना नरहेको स्पष्ट पारे । तर उनले महत्त्वपूर्ण ‘एजेन्डा’का आधारमा कार्यगत एकता गर्न सकिने बताए ।

‘तत्काल पार्टी एकीकरण सम्भव छैन तर, ‘इस्यु’का आधारमा कार्यगत एकता गर्न सकिन्छ । जस्तै, अहिले राष्ट्रियतामाथि खतरा छ । यस्तो अवस्थामा वामपन्थी मात्र होइन, सबैले एकताबद्ध भएर उभिनुपर्छ,’ खनालले भने ।

पूर्वप्रधानमन्त्री खनालले संविधानअनुसार ऐन निर्माणको प्रक्रिया सहजै अघि बढ्न सक्ने भए पनि सरकारले अनावश्यक रूपमा अध्यादेश ल्याएको उल्लेख गरे ।

‘संविधानअनुसार सामान्य प्रक्रियाबाट ऐन बनाउन कसैले अवरोध गरेको छैन । यस्तो अवस्थामा अध्यादेश ल्याउनु गलत हो,’ खनालले भने । खनालले वर्तमान सरकारलाई सङ्कटको भारी बोकेर हिँडिरहेको आरोप लगाए।

पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी छ : गृहमन्त्री लेखक

भैरहवा । गृहमन्त्री रमेश लेखकले पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी रहेको बताएका छन्। रुपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयको आज एक कार्यक्रमबिच उद्घाटन गर्दै उनले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई पर्यटक र आमसेवाग्राहीसँग नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्न आग्रह गरे।

कर्मचारीको व्यवहारले नै मुलुकको अवस्था बताउने उल्लेख गर्दै गृहमन्त्री लेखकले सचेत भएर सौहार्दपूर्ण तरिकाले सेवा दिन कर्मचारीलाई निर्देशन दिए। ‘अध्यागमन भनेको मुलुकको ऐना हो,’ उनले भने, ‘कर्मचारीले सेवा दिँदा सभ्यता र विनम्रतापूर्वक ढंगले दिनुपर्छ। कहिलेकाहीँ पर्यटक र अन्य सेवाग्राही कागजी प्रक्रिया नमिलेपछि रिसाउन सक्छन्, तर यस्तोवेला कर्मचारी विनम्रतापूर्वक प्रस्तुत हुनुपर्छ। सेवाको भावनाले काम गर्नुपर्छ। रिसाउने र सेवाग्राहीलाई गलत व्यवहार गर्ने छुट कर्मचारीलाई छैन।’

गृहमन्त्री लेखकले यहाँ निर्माण गरिएका पूर्वाधारले रुपन्देहीको बेलहिया नाकालाई मुलुककै ठुलो नाकाका रूपमा स्थापित गरेको बताए। मुलुकका सीमा क्षेत्रमा १३ अध्यागमन कार्यालय रहेका र ती कार्यालयले पर्यटकलाई नेपालमा घुमफिर गर्न सहज बनाएको उनको भनाइ थियो।

‘पछिल्ला दिनमा सबै नाकाबाट पर्यटक आगमन राम्रो पाइएको छ। यो ठाउँ बुद्ध जन्मस्थल भएकाले धार्मिक पयर्टनको सम्भावना छ। सरकारले पर्यटनमैत्री वातावरण बनाइरहेको छ, पर्यटकको आगमनलाई व्यवस्थित गरिरहेका छौँ,’ गृहमन्त्री लेखकले भने, ‘सरकारको लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो। पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउँछ।’

नेपालीहरू संसारकै सबैभन्दा राम्रो संस्कृतिमा हुर्किएका नागरिक भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा जस्तो व्यवहार हुन्छ, नेपालबारे पर्यटकले त्यही बुझ्ने बताए। वर्तमान सरकारले समृद्धिलाई पछ्याइरहेको उनको भनाइ थियो।

‘सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने तथा लगानी र व्यवसायीमैत्री वातावरण बनाउने काम गरिरहेको छ,’ गृहमन्त्री लेखकले भने, ‘परिणाम तत्कालै नदेखिए पनि बिस्तारै नतिजा आउँछ।’ सरकारले संविधानको रक्षा गर्दै मुलुकमा दिगो शान्ति, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ थियो।

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा राम्रा संकेतहरू देखापरेको गृहमन्त्री लेखकले बताए। ‘सरकारका कामको निजी क्षेत्रबाट प्रशंसा भएको छ। हामीले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न केही अध्यादेश जारी गरेका छौँ, ती अध्यादेशमा समेटिएका विषयवस्तुको सबैले प्रशंसा गर्दै छिटो कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिएका छन्,’ उनले भने। गृहमन्त्री लेखकले अध्यादेश केही समयमै पारित हुने र आर्थिक क्षेत्रमा थप सुधार आउने दाबी गरे।

सोही कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले लुम्बिनीको प्रवेशद्वार भएकाले यहाँको विकासमा लागिपरेको बताए। सीमा क्षेत्रको सडक लामो समय नबन्दा धुलोले स्थानीय र पर्यटकलाई हैरानी भएको उनको भनाइ थियो। ‘यो ठाउँको विकास हुँदा मुलुकले पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने धेरै आधार छन्,’ प्रमुख खाँले भने।

१० करोड २५ लाखको लागतमा उक्त कार्यालय भवन निर्माण गरिएको हो। अपांगमैत्री र भूकम्प प्रतिरोधी रहेको यो भवनमा अग्नि नियन्त्रण उपकरण जडित छ।

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र

काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतलाई तीव्र पारिएको जनाएको छ ।

आउँदो बर्खायाममा यातायात अवरोध नभई नियमित सञ्चालन हुनसक्ने गरी रोशी क्षेत्रमा मर्मत भइरहेको कार्यालयले जनाएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मत गरिरहेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाइ बनाउने तथा अप्ठेरो भएको स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको छ ।

क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम भइरहेको छ । कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने जनाइएको छ ।

राजमार्गको धुलिखेल–नेपालथोक र नेपालथोक–खुर्कोट सडकखण्ड अस्थायी रुपमा मर्मतका लागि सरकारले हालका लागि रु २१ करोड २५ लाख बजेट विनियोजन गरेको छ । सो बजेटबाट गर्ने कामको डिजाइन भइरहेको र डिजाइन सकिएपछि लागत स्टिमेट निकालेर ठेक्का प्रक्रियामा जाने योगेशले बताए । हाल काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोला बगरको कच्ची सडकमा कष्टकर एवं जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

डिभिजन सडक कार्यालयद्वारा गरिएको अध्ययनले भकुण्डेदेखि नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न रु नौ अर्ब ६६ करोड लाग्ने अनुमान गरिएको छ ।

“अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि, वाल लगाउने भन्नेबारे थप छलफलपछि निष्कर्ष निस्कनेछ”, योगेशले भने । पुनर्निर्मित सडकमा ‘आसफाल्ट कङ्क्रिट’सहित दुई लेनको सडक हुने योगेशले बताए । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो ।

कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ । 
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी सो विषयबारे जानकारी गराएको हो । योसँगै कम्पनी स्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी काम सहज हुने मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

यस प्रणालीको प्रयोग गरी भौतिक रूपमा कार्यालयमा उपस्थित नभईकन कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण प्रक्रियाहरू सम्पन्न गर्न सकिने तथा यस प्रणालीबाट कार्यालयमा आवेदन दिन सकिने, प्राप्त आवेदनहरू प्रणालीबाटै स्वचालित रूपमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने, नाम स्वीकृति र कम्पनी दर्ताका निवेदनहरू एक तहबाट टुङ्गो लगाइने व्यवस्था मिलाइएको जनाइएको छ । 

यस प्रणालीमा नागरिकतालगायत व्यक्तिगत विवरणका लागि राष्ट्रिय परिचयपत्र प्रणाली, करदाताको स्थायी लेखा नम्बर लिनेलगायत कार्यका लागि एकीकृत कर प्रणाली तथा लेखापरीक्षकको विवरणका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको प्रणालीसँग आबद्ध गरी कम्पनीले सम्बन्धित विवरण प्राप्त गर्न सक्ने प्रावधान राखिएको र अन्य सरकारी प्रणालीहरूसँग आबद्ध गरी सूचनाको सहज प्राप्ति र प्रमाणीकरणको प्रबन्ध गर्दै लगिने जनाइएको छ ।

“यस प्रणालीको सदुपयोग गरी आफ्नो कम्पनी प्रशासनसँग सम्बन्धित काम कारबाही ‘अनलाइन’ प्रणालीमार्फत सम्पादन गर्नु हुन एवं प्रणाली सञ्चालन गर्दा आइपर्ने समस्या समाधान तथा प्रणाली सुधारका लागि पृष्ठपोषणसमेत प्रदान गर्नु हुन सरोकारवाला सम्पूर्ण महानुभावहरूमा अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।

नेपालमा राम्रो काम गर्न खोज्दा त्यसको विरोध र झुटो आरोप लगाउने लहर चल्योः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राम्रो काम गर्न खोज्दा त्यसको विरोध र झुटो आरोप लगाउने लहर चलेको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा मंगलबार आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काम गर्न खोज्नेविरुद्ध भ्रम र अवरोध सृजना गर्ने प्रवृत्तिलाई चिर्नुपर्ने बताए । उनले भने, ‘हामीलाई कसैको अनावश्यक विरोधसँग मतलव छैन। नचाहिने प्रदूषित कुरा हामी बोकेर हिँड्दैनौं। हामीलाई देशको विकास र परिवर्तन गर्नुछ। विरोधका लागि विरोध गर्ने प्रवृत्ति आफैं सेलाएर जान्छ।’

प्रधानमन्त्रीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताए । उनले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने बताए ।

श्रमिकको मन प्रशन्न नभईकन उद्योग–व्यवसायका काम सहजरुपमा अघि बढ्न नसक्ने भन्दै प्रधानमन्त्रीले श्रमिकहरु रोजगारदातामा रुपान्तरण हुन सक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए।

बाफिया र धितोपत्र सम्बन्धी विधेयकलाई चाँडो टुङ्ग्याउन अर्थ समितिलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं ।उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) र धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई संसद्बाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा अर्थ मन्त्री पौडेलले बाफिया र धितोपत्र सम्बन्धी विधेयकलाई समितिमा छलफल चाँडो टुङ्ग्याएर प्रतिनिधिसभामा छलफलका लागि लगिनुपर्ने बताए ।

“भन्सार विधेयकसँगै वाफिया र धितोपत्र सम्बन्धी विधेयकमाथिको छलफल चाँडो सकेर चैत मसान्तभित्र समितिको प्रतिवेदन सहित प्रतिनिधिसभामा पुग्नेछ भन्ने अपेक्षा गरेको छु,” उनले भने ।

कानून निर्माणका काम सुस्त भएको भनेर समिति र सदनको प्रभावकारिता माथि जनस्तरबाट समेत आलोचना हुने गरेको उनले उल्लेख गरे । “विधि निर्माणको काम सुस्त भयो भन्ने आलोचना आउने गरेका छन् । यसमा सरकारको ध्यानाकर्षण भएको छ । राष्ट्रिय आवश्यकता समेत हेरेर बढी प्राथमिकताका कानून निर्माणमा शीघ्रता दिनुपर्नेछ,” अर्थमन्त्री पौडेलले भने ।

अर्थ समितिको आजको बैठकमा ‘भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन माथि छलफल भएको छ । व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउने, भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट हटाउनुपर्ने, कर्मचारीको तजबिजी अधिकार घटाउनुपर्ने, वस्तुहरुको क्वारेन्टाइन तथा गुणस्तर परीक्षणका लागि पर्याप्त पूर्वाधार तयार पारिनुपर्नेलगायतका विषयमा सांसदहरुका संशोधन आएका छन् ।

भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकुल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार सङ्गनठको व्यापार सहजीकरण सम्झौताको पक्षधर राष्ट्र हो ।

यी सम्झौता अनुसार संशोधित क्योटो महासन्धिका प्रावधानमध्ये सामान्य प्रावधान सदस्य भएको तीन वर्षभित्र तथा सङ्क्रमणकालीन मापदण्ड पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नु पर्ने महासन्धिमा उल्लेख छ । त्यस्तै, व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधान भन्सार ऐन नियमबाट सम्वोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

मेलम्चीको पाइप फुट्दा थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी

काठमाडौं ।  थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ।

यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो। यसपटक भने समस्या समाधान छिटो गरिएको छ। बबरमहलमा नेपाल विद्युत् प्राधिकरणका कारण पाइप फुटेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए।

पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रुपमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने उनले बताए। बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ। त्यहीँबाट लगिएको फोहर पानीको पाइप पनि बिग्रिएको अवस्थामा भेटिएको प्रवक्ता राईले बताए।

पाइप खरिद गर्दा ‘थर्ड पार्टी इन्स्पेक्सन’ गरेर ल्याएको लिमिटेडले जनाएको छ। मानवीय कारणले केही समस्या भएको भए त्यसलाई सच्याइने जनाइएको छ।

थापाथलीमा फुटेको पाइपलाई अहिले लिमिटेडले व्यवस्थापन गरिसकेको छ। त्यस क्षेत्रमा केही दिनमा पूर्ववत् अवस्थामाझैँ पानी वितरण गरिने प्रवक्ता राईले बताउनुभयो। यसका लागि लिमिटेडको प्राविधिक समूहले अहिले पाइप फुटेको थापाथली क्षेत्रमा काम गरिरहेको छ।

खानेपानीसँग सम्बन्धित बाहेकका सरकारी निकायले सडक खन्दा समन्वय नगर्दा धेरै ठाउँका पाइपमा समस्या हुने गरेको छ। कहिलेकाहीँ पानीको चापले पनि पाइपमा समस्या हुने गरेको लिमिटेडले जनाएको छ।

इन्डोनेसियाद्वारा नवीकरणीय ऊर्जा परियोजनामा ठूलो लगानी

जकार्ता । इन्डोनेसियाले यस वर्ष करिब ४० अर्ब डलर बराबरको २० भन्दा बढी ऊर्जा परियोजना बनाउने योजना गरिरहेको छ ।

यसले घरेलु प्रशोधन क्षमता बढाउने ऊर्जा मन्त्रीले बताए ।

कोइलामा निर्भर इन्डोनेसिया दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र मध्ये एक हो । राष्ट्रपति प्रबोवो सुब्यान्टोले गत वर्ष कोइला ऊर्जा उत्पादनलाई चरणबद्ध गर्न र शताब्दीको मध्यसम्ममा शून्य उत्सर्जनमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

“हामीले करिब ४० अर्ब अमेरिकी डलरको लगानीका २१ वटा आयोजना प्रस्तुत गरेका छौँ । यी परियोजनाहरू इन्डोनेसियाको अर्थतन्त्र बढाउन र तेलदेखि घरेलु क्षमतामा सुधार गरेर रोजगारी सिर्जना गर्ने ठूलो प्रयासको हिस्सा हुन् ।”

“हामी यो गर्नेछौं ताकि उत्पादनलाई वास्तवमा आयात विकल्पको रूपमा घरेलु रूपमा बजारमा ल्याउन सकियोस्,” बहलिलले भने।

करिब ५ लाख ब्यारेल क्षमताको तेल प्रशोधन केन्द्र र तेल भण्डारण सुविधा पनि निर्माण गरिने उनले बताए ।

“यो स्पष्ट छ कि लगानी गुणस्तरीय रोजगारी सिर्जना गर्ने, मूल्य थप्ने र राज्यको राजस्व बढाउन र हाम्रो राष्ट्रिय आर्थिक वृद्धि गर्ने उद्देश्य हो ।”

सरकारले दानन्ताराको प्रारम्भिक बजेट २० अर्ब डलर हुने बताएको थियो । दानन्तारा इन्डोनेसियाको सार्वभौम सम्पत्ति कोष हो, जुन सन् २०२५ मा राज्यको स्वामित्वमा रहेको सम्पत्ति व्यवस्थापन गर्न सुरु गरिएको थियो ।

प्राबोवोले दानान्तारा र अन्य परियोजनाहरूको कोषमा कटौती गरेपछि गत महिना धेरै इन्डोनेसियाका सहरहरूमा विद्यार्थीहरूको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो ।

जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू ।

तस्बिर : विजय रावत / रासस

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल चिकित्सक संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताउदै भने,‘संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकहरूले यो पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नु हुनेछ भन्ने पनि विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रतात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पारे ।

उनले देशका दूरदराजहरूमा अझै पनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको भन्दै यो अवस्थालाई गम्भीरतापूर्वक लिएर देशका कुना, कुनामा दक्ष, विज्ञ चिकित्सकहरूको सेवा पुर्याउन आवश्यक रहेको बताए । उनले भने,‘आजको यस विशेष अवसरमा सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन म आह्वान पनि गर्दछु ।’

राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य शिक्षा अब्बल हुँदै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु सुखद पक्ष भएको बताउदै नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैंले अनुभव गरेको उल्लेख गरे ।

उनले स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू विदेशिनेक्रम बढ्नु चिन्ताको विषय भएको बताउदै यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने बताए ।

देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि आउने दिनहरूमा नेपाल चिकित्सक संघको भूमिका अझ प्रभावकारी हुने राष्ट्रपति पौडेलको भनाइ थियो ।

सो अवसरमा लिजेन्ड ईन मेडिसिनबाट डा गौरीशंकरलाल दास, डा मृगेन्द्रराज पाण्डे, डा दिनेशनाथ गंगोल, डा डिबी कार्की र डा सरस्वती पाध्येयलाई राष्ट्रपति पौडेलले सम्मान गरेका थिए ।

अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ- प्रचण्ड

नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट गरेका छन् ।

कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरे ।

‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं’– अध्यक्ष प्रचण्डले भने– ‘सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्, त्यसैले यो सरकार जटि टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ । हामी जनताको बीचमा गइसकेका छौं, हामीलाई जनतातिरै ठिक छ ।’

उनले तथाकथित दुई तिहाईको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै अध्यादेश पास हुने अवस्था नरहेको बताए । ‘केही अध्यादेश त पास नहुने दिशातिर गइ नै सके, बाँकी पनि पास हुन्छन् जस्तो लाग्दैन, भए पनि यसबाट जनतालाई केही फाइदा हुँदैन’– उनले भने ।

प्रचण्डले पार्टीले सुरु गरेको जनतासँग माओवादी, तराई मधेश जागरण अभियानले पार्टीको जनतासँगको सम्बन्ध थप जीवन्त बनाउँदै लगेको बताए । यसले राष्ट्रिय एकतालाई मजबुत बनाउन पनि ठूलो योगदान गर्ने उहाँले विश्वास व्यक्त गरेका छन् । अभियान पूरा हुँदासम्म पार्टी र जनताबीचको सम्बन्ध अझ बढी प्रगाढ हुँदै जाने उनले बताए ।

‘अहिले हामी अभियान भनेर नेताहरु जाने भाषण गर्ने फर्कने गरिरहेका छैनौं’– उनले भने– ‘जहाँ जान्छौं, त्यहाँका स्थानीय जनताकै घरमा बस्छौं, जनताले खाने खाना खान्छौं र ती क्षेत्रका जनताले भागेका समस्याबारे खुलेर छलफल गर्छौं । जनतासँगै उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, बार एसोसियशनजस्ता नागरिक समाजका अगुवा संस्थाहरुसँग पनि अन्तर्क्रिया गर्छौं, यसबाट पनि सम्बन्धि जिल्लाको अवस्था बुझ्न सहज भएको छ ।’

यसरी पार्टीलाई समाजका सबै वर्ग समुदायसँग जोड्ने, जनताले भोगिरहेका समस्याको पहिचान गर्ने, स्थानीय कला संस्कृतिमार्फत सम्बन्धित समुदायको पहिचानलाई थप सुदृढ गर्दै राष्ट्रिय एकताको नयाँ आधार तय गर्ने काम अभियानले गर्ने उनले स्पष्ट गरे । अध्यक्ष प्रचण्डले अभियानका क्रममा आउने जनताका गुनासा, अपेक्षा र आवश्यकतालाई केन्द्रित गरेर पार्टीले पहल लिनसक्ने ठाउँमा कार्यक्रम बनाएर अघि बढाउने, सरकारले गर्नुपर्ने कामका लागि ध्यानार्षण गराउने र राष्ट्रियस्तरमै सम्बोधन गर्नुपर्ने विषयमा संसदमा आवाज उठाउने बताए ।

हुलाकी मार्ग दक्षिण नेपालको समृद्धि र उत्पीडित समुदायको पहिचानसँग जोडिएको उल्लेख गर्दै उहाँले हुलाकी मार्ग दशकौंको सपना भए पनि अलपत्र परेकाले आफूले दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७३ सालमा गरेको भारत भ्रमणका क्रममा भारतीय लगानी सुनिश्चित गरेर निर्माण प्रक्रियालाई अघि बढाएको जानकारी दिए ।

विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी

दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि सयपत्रिका फुल ढकमक्क फुलेका छन् । उनी बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त छन्। उनले भने, ‘आजभोलि फूल रु चार सय किलो र माला रु सात सय ६५ देखि रु सात सय ९० सम्ममा बिक्री गर्दै आएका छु ।’

चाडपर्वमा मात्रै नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन् । आम्दानीको पाटो पनि राम्रो भएको छ, उनको फूलखेतीबाट । फूलखेती गर्नुभन्दा अघि उनी वैदेशिक रोजगारमा थिए । ‘विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँं’, उनले भने, ‘बाहिरी देशमा कमाएको भन्दा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ ।’

रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताएका रोकामगरले जिल्लामा दसैँ, तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका हुन् । उनले विगत १२ वर्षदेखि फूलखेती गर्दै आएका छन् । उनले गएको तिहारको समयमा डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेका थिए भने हाल दुई कठ्ठामा सयपत्रीका फूल उत्पादन गरिहेका छन् । अहिले घोराही, तुलसीपुर, लमहीलगायत ठाउँबाट फूलमालाको माग आइरहेको बताउँछन् ।

‘जिल्लामा चाडपवको समयमा मात्र फूलखेती गर्ने किसान धेरै भएकाले बेमौसमी समयमा मागअनुसारको फूलमाला पुर्याउनै सकिरहेको छैन’, उनले भने, ‘यो समयमा फूल चिसोका कारण मर्नेे भएकाले धेरै जोगाउन समस्या भएको हुँदा बढी क्षेत्रफलमा फूलखेती गर्न सकिँदैन, फागुन पहिलो हप्ताबाट बिक्री गर्न सुरु गरेको फूल जेठसम्म रहने छ ।’ विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगायतका कार्यमा फूलमाला बिक्री भइरहेको उनी बताउँछन् ।

घोराही–१४, झिङ्गौरामा यही फागुन २ देखि १८ गतेसम्म सञ्चालन भएको छैटौँ कृषि, पर्यटन तथा व्यापार महोत्सवमा किसान मगरले फूल, माला तथा विभिन्न फूलका बिरुवा बिक्री गरेर रु एक लाख ५० हजार बढी आम्दानी गरेको बताउँछन् । साथै उनले विवाहको माला पनि तयार पारेर बिक्री गर्दै आएका छन् । उक्त माला रु एक हजारमा बिक्री गर्ने गरेका छन् । किसान मगरले माला बनाउनका लागि विजलीको फूल पनि उत्पादन गरेका छन् ।

हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्ने

पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी चैत १८ देखि पोखराबाट ल्हासा उडान सुरु गर्ने जनाएको हो । सो उडान हुने घोषणासँगै यहाँका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

पोखरालाई अन्तरराष्ट्रियस्तरमा थप परिचित गराउने उद्देश्यसहित सुरु गरिने यो उडानले चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष बितिसक्दा पनि व्यावसायिक उडानले निरन्तरता पाउन सकेको छैन । यस्तो अवस्थामा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्दा चिनियाँ पर्यटक भित्रिने आशा जागेको व्यवसायीहरुको प्रतिक्रिया छ ।

‘पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुँदा व्यवसायीहरूमा ठूलो आशा थियो, तर अपेक्षाकृत अन्तरराष्ट्रिय उडान नहुँदा त्यो उत्साह केही अधुरो भएको थियो, अब भने पोखराबाट चीनको ल्हासासम्म उडान सञ्चालन हुने खबरले पर्यटन क्षेत्रमा नयाँ आशा जागेको छ’, होटेल सङ्घका केन्द्रीय सदस्य भरतराज पराजुलीले भने,‘यसले विशेषगरी चिनियाँ पर्यटकको आगमन बढाउने मात्र होइन, पोखरालाई अन्तरराष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’ उनले उडानसँगै नेपालले प्रभावकारी रणनीति अपनाएर चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि गर्न सकिने बताए ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल पोखरा भ्रमण वर्ष २०२५ घोषणासँगै हुन लागेको यो उडानले पोखरामा चिनियाँ पर्यटक भित्र्याउन बाटो खुल्ने बताउँछन्। ‘यो उडानले चिनियाँ पर्यटकको आगमन बढाएर स्थानीय पर्यटन व्यवसायलाई मजबुत बनाउने मात्र होइन, पोखरालाई दक्षिण एसियाकै प्रमुख पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्नेछ’, पौडेलले भने ।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पोखरा–ल्हासा उडान पोखराको पर्यटन प्रवर्द्धनका लागि ठूलो उपलब्धि हुने बताए । उनले भने,‘यसले नेपाल–चीनबीचको पर्यटन सम्बन्धलाई मजबुत बनाउने र चिनियाँ पर्यटकलाई सहज यात्रा अनुभव प्रदान गर्नेछ ।’

लामिछानेका अनुसार नेपालमा चिनियाँ पर्यटकहरूको सङ्ख्या कोभिड–१९ अघि उच्च विन्दुमा थियो । २०१९ मा एक लाख ६९ हजार ५४३ चिनियाँ पर्यटक नेपाल आएका थिए । कोभिड महामारीपछि उक्त सङ्ख्या घटे पनि पछिल्लो समय सुधार हुँदै गएको छ ।

२०२३ मा करिब एक लाख चिनियाँ पर्यटक नेपाल आएका थिए । पोखरा ल्हासाको पहिलो उडानमा पोखराबाट पोखरा महानगरपालिकाको अगुवाइमा पर्यटन व्यवसायीसहित विभिन्न क्षेत्रका १२७ जनाले उडान भर्नेछन् भने चीनबाट करिब एक हजार पर्यटक पोखरा आउने तयारीमा रहेको जनाइएको छ ।

हिमालय एयरलाइन्सका प्रवक्ता विजय श्रेष्ठका अनुसार सुरुआती चरणमा हप्तामा एकपटक उडान हुनेछ, मागअनुसार उडान क्रमशः वृद्धि गरिने छ । हिमालय एयरलाइन्सको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान भर्ने र नेपालमा वार्षिक १० लाख चिनिँया पर्यटक भित्र्याउने रहेको श्रेष्ठको भनाइ छ ।

टीकाथलीमा बोरिङ खन्दा निस्कियो आगोको ज्वाला

ललितपुर । ललितपुरको टीकाथलीमा बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ । मंगलबार बिहान बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको हो ।

पानी निकाल्न बोरिङको पाइप गाड्ने क्रममा आगोको ज्वाला निस्किएको हो । आगोको ज्वाला निस्केपछि स्थानीयल पानी हालेर निभाउने प्रयास गर्दा पनि निभेको छैन ।

ऊर्जामन्त्री खड्काद्वारा शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कपिलवस्तुको विजयनगर गाउँपालिका–२, ३ र ४ को ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको शङ्करपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ गरेका छन् ।

ऊर्जामन्त्री खड्काले जलस्रोत व्यवस्थापन आयोजनाले निर्माण गर्न लागेको उक्त योजनाको आज शुभारम्भ गरेका हुन् । उक्त ताल निर्माणका लागि आयोजना कार्यालयले बाबुल लुम्बिनी सांस्कृतिक जेभी सिद्धार्थनगर रुपन्देहीसँग गत पुस २ गते ठेक्का सम्झौता गरेको थियो । आयोजना निर्माणसँगै उक्त गाउँपालिकाका एक हजार ७१५ घरधुरी लाभान्वित हुने आयोजनाका प्रमुख अविनाशी सिग्देलले जानकारी दिए ।

आयोजनाको शुभारम्भ गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले धेरै आयोजनाहरु सम्झौता भएर अलमलमा पर्ने गरेकामा उक्त आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिए ।

“आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न स्थानीय समुदाय चनाखो बन्नुपर्छ, आयोजनाको सम्पन्नतासँगै यहाँको कृषि क्षेत्रको विकासमा सहयोग पुग्छ,” मन्त्री खड्काले भने ।

उक्त कार्यक्रममा मन्त्री खड्कासँगै सांसद एवं पूर्वमन्त्री सुरेन्द्र आचार्य, सिँचाइ विभागका महानिर्देशक देवराज निरौलालगायत स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । उक्त आयोजना दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ । आयोजनाको लागत १९ करोड रहेको छ । 

सरकारी अस्पतालमा थन्किएका ५०० उपकरण राष्ट्रिय आविष्कार केन्द्रले २३ लाखमा गर्‍यो मर्मत

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरुमा बिग्रिएर थन्किएका ५०० उपकरणको मर्मत सम्पन्न गरेको छ ।

गत भदौ १८ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिग्रिए पनि मर्मत अभावमा थन्किएका १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गरेका थिए । मन्त्री पौडेलको उपस्थितीमा भएको सम्झौतापछि हालसम्म १० वटा संघीय अस्पतालमा उल्लिखित परिमाणमा उपकरण मर्मत भएको हो ।

६ सय ६१ वटा उपकरणको मूल्यांकन गरिएकामा पाँच सय मर्मत सम्पन्न भएको केन्द्रका इञ्जिनियर उमेश किरातीले बताए । केन्द्रले २३ लाख २० हजार रुपैयाँमा ती सामग्री मर्मत सम्पन्न गरेको उनले जानकारी दिए । ‘हामीले बजार मूल्य सर्वेक्षण गर्दा नेपालमा बजार मूल्य २४ करोड ३० लाख लाग्ने जानकारी पाएका छौं,’ उनले भने । उनका अनुसार यसले सरकारको निकै न्यून खर्चमा ती उपकरणको मर्मत भएको छ ।

‘बाँकी अस्पतालबाट पनि आग्रह आएमा उपकरण मर्मत गर्न हामी तयार छौं,’ उनले भने । केन्द्रले गरेको मर्मतमा सामान्य तार जोड्ने देखि थप सामग्री मगाएर गरिएका जटिल मर्मत पनि छन् । ’कतिपय अस्पतालमा तारसम्म मर्मत नगरेर राखिएका उपकरण पनि भेटियो,’ उनले भने, ‘ती सबैको मर्मत भएको छ ।’

केन्द्रका प्रमुख महावीर पुनले हालसम्म पाँच सय उपकरण मर्मत भएको भन्दै यो सक्रियताका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल पुनले लेखेका छन्, स्वास्थ्य मन्त्रीज्युको सक्रियतामा १७ वटा संघीय अस्पतालका उपकरण मर्मत सम्भार गरी दिने सम्झौता गरेको थियो । सोही सम्झौताअनुरुप अहिलेसम्म ५ सय जति उपकरण मर्मत गरेको र करोडौं रुपैयाँ बचत भएको प्रगति रिपोर्ट छ ।

स्वास्थ्य मन्त्री पौडेलले केन्द्रलाई धन्यवाद दिंदै सहकार्य जारी रहने बताएका छन् । ‘संघीय अस्पतालको सेवा विस्तारमा महत्वपूर्ण यो सहयोगका लािग धेरै धन्यवाद महावीर दाइ । मर्मत भएका उपकरणका कारण पहिलेभन्दा धेरैले सहयोग पाउने वातावरण बनेको छ,’ मन्त्री पौडेलले लेखेका छन्, स्वदेशी सीपको प्रयोग गरेर अस्पतालको सेवा सुधार गर्ने हाम्रो अभियानमा तपाईंसँगको साथ र सहकार्य निरन्तर रहनेछ ।’

जापानको श्रम बजार स्थिर

टोकियो । जापानको बेरोजगारी दर जनवरीमा २.५ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको तुलनामा अपरिवर्तित रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

एक वर्ष अघिको तुलनामा ६ लाख ५० हजारले वृद्धि भएर जनवरीमा महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६ करोड ७७ लाख ९० हजार पुगेको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बताएको छ ।

मानिसहरूले स्वेच्छाले जागिर छाडी नयाँ काम खोजेका कारण बेरोजगार व्यक्तिहरूको सङ्ख्या जनवरीमा महिनामा ३.३ प्रतिशतले घटेर मौसमी बेरोजगारीमा समायोजित हुँदा १७ लाख ६० हजार पुगेको हो ।

जापानको राष्ट्रव्यापी काम–देखि–आवेदक अनुपात जनवरीमा १.२६ थियो, अर्थात् त्यहाँ प्रत्येक १०० जागिर खोज्नेहरूको लागि १२६ जागिरहरू थिए, जुन अघिल्लो महिनाको तुलनामा ०.०१ अङ्कले बढेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयबाट जारी भएको तथ्याङ्कले देखाएको छ ।

केही कम्पनीले श्रमिक अभावका कारण जागिरको दरबन्दी बढाउँदै लगेको छ भने कतिपयले बढ्दो लागतका कारण नयाँ कर्मचारी भर्ना गर्न सङ्घर्ष गरिरहेको मन्त्रालयले जनाएको छ ।

चलचित्रमा नयाँ पुस्ता र ‘होस्टेल’को प्रयोग

काठमाडौँ । निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण चलचित्रप्रति आकर्षण बढेको पाइन्छ । सोही कारण बेलाबखतमा यस क्षेत्रमा नयाँ अनुहारको आवश्यकता खड्किने गर्छ । एक दशकअघि देखि नयाँ पुस्ताका रूपमा प्रदीप खड्का, अनमोल केसी, सलोन बस्नेतको आगमन भएको कारण नयाँ पुस्ता चलचित्र भवनसम्म पुगे । उनीहरूले आफ्नो पुस्तालाई मुख्य कलाकारका रुपमा मात्र पाएनन्, आफ्नो कथा, लवज र जीवनशैली पनि पाए । 

नेपाली चलचित्रमा नयाँ अनुहार ल्याउने श्रेय ‘होस्टेल’ शृङ्खलालाई जान्छ । प्रदर्शन भइसकेको ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’ बाट चलचित्रमा ‘डेब्यु’ गरेका अभिनेता अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेनलगायत अहिले स्थापित बनिसकेका छन् । कुनै समय नयाँ कलाकारलाई चलचित्रमा ल्याउन ‘होस्टेल’ शृङ्खला उपयुक्त मानिन्थ्यो । तर, विविध कारणले यसको दोस्रो शृङ्खलापछि तेस्रो बन्न धेरै समय लाग्यो । ‘होस्टेल रिट्न्स’ प्रदर्शन भएको एक दशकपछि यसको तेस्रो शृङ्खला ‘होस्टेल ३’ तयार भएर आउँदो फागुन २३ मा प्रदर्शन हुँदैछ । 

यसपटक चलचित्र निर्माण, निर्देशनदेखि अभिनय गरेका कलाकार नयाँ छन् । विशेषतः यसलाई ‘नयाँ पुस्ता’ को चलचित्र भन्न सकिन्छ । यस चलचित्र ‘होस्टेल ३’ मार्फत अभिनय यात्रा प्रारम्भ गरेका पदम तामाङ भारतको सिक्किममा बसोबास गर्छन् । आफ्नै ‘युट्युब च्यानल’मार्फत विभिन्न हास्य व्यङ्ग्यात्मक कार्यक्रम निर्माण गरिरहेका तामाङले ती सब छाडेर चलचित्रमा अभिनय रोजे ।
“मलाई बेलाबखतमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आउँथ्यो तर केहीमा कथा र केही पात्रमा आफूलाई पाउन सकेको थिइनँ । साथै, मैले निर्माण गर्ने ‘कन्टेन्ट’लाई युट्युबमा दर्शकले रुचाउनु भएको थियो, मसँग जोडिएका सबैले बल्ल मेहनत फल पाउनुभएको थियो । अर्थात् हाम्रो राम्रो दिन सुरु भएको थियो । त्यही भएर ती सब छाडेर, सिक्किम छाडेर नेपाल आएर चलचित्रमा अभिनय गर्ने आँट आएको थिएन”, अभिनेता तामाङले भने । 

यद्यपि ‘होस्टेल ३’ बाट प्रस्ताव आएपछि उनका सबै सहकर्मी र परिवारले समेत नयाँ यात्रा सुरू गर्न प्रोत्साहन गरे । सोही कारण उनले पुरानो परिचयलाई चट्ट छाडेर नयाँ परिचयको सुरुआत गर्नुभएको छ । यस्तै, कथा अभिनेत्री सिम्रन पन्तको पनि रहेको छ । विद्यालयमा अभिनय गर्दा कहिले एक्लै चलचित्र हेर्न समेत नपाएकी उनी अहिले चलचित्रमा अभिनेत्री बनेकी छन् ।

बेलाबखतमा परिवारसँग चलचित्र भवन पुग्दा उनलाई खुसी मिल्ने रहेछ, सोही कारण उनले उच्च शिक्षासँगै कलात्मक पाटोलाई समेत बढाउँदै लगिन् । फलतः ‘अडिसन’मार्फत उनी अभिनेत्रीका रुपमा छानिइन् । “मैले अभिनयको प्रशिक्षण पनि लिएकी थिएँ । तर, यसअगाडि केही चलचित्रमा काम गर्ने तय भए तापनि त्यो बनेनन्, त्यसकारण प्रस्ताव आउनु नयाँ थिएन । होस्टेलको तेस्रो शृङ्खला बन्दैछ भन्ने थाहाँ पाएपछि म खुसी भएँ । मैले अभिनय गर्दैछु भन्ने तय भएको दिनको उत्साहलाई मैले शब्दमा बयान गर्न सक्दिन”, अभिनेत्री पन्तले भनिन् । 

उनी खुसी हुनुको कारण अभिनेता तामाङ झैँ ‘होस्टेल’ शृङ्खलाको दर्शक भएर हो । उमेरले चालिस पुगेका कलाकारहरुको भीडमा आफ्नै पुस्तालाई चलचित्रमा पाउँदा अभिनेत्री पन्त दङ्ग परिन् । किनकि युवाको होस्टेल जीवन मात्र नभई ‘टिन एज’ मा आउने उतारचढाव समेत चलचित्रमा समावेश गरिएको थियो । या भनौँ तन्नेरी पुस्ताको कथा र व्यथा चलचित्रमा थियो । तेस्रो शृङ्खला अर्थात् ‘होस्टेल ३’ मा नयाँ पुस्तासँगै जोडिएको विषय भएपछि ‘कुल ब्वाई’ नामक ‘टिकटकर’का रुपमा परिचय बनाएका पारसबम ठकुरी ठूलो पर्दामा अभिनय गर्न सहमत भइन् । 

“प्रस्ताव गरिएको पात्र आफू झैँ लाग्नाका साथै आफ्नै जस्तोको कथा लागेपछि चलचित्रमा काम गर्ने सोच बनाएको हुँ । फेरि कुनै न कुनै समयमा आफूलाई भिन्न परिचय दिनु नै थियो । म सानो क्यामेराबाट यहाँसम्म आइपुगेको छु । म परिचय फेर्न त आएको हुँ, तर धरातल नछाडेर । आफूले सपना देखियो र त्यसलाई पूरा गर्न इमान्दारिताका साथ लागियो भने निश्चय सफलता पाइन्छ भने उदाहरण बन्न सकूँ जस्तो लाग्छ”, अभिनेता ठकुरीले भने । 

उनलाई चलचित्रमा काम गर्न सहज लाग्नाका कारण नै आफ्नै जस्ता र उमेर समूहका कलाकार तथा प्राविधिक थिएँ । सबै नयाँ र उस्तै उमेर समूहको भएकै कारण सजिलै चलचित्र बन्यो । सामाजिक सञ्जाल वा निःशुल्क दर्शकले रुचाउनु भए तापनि ठूलो पर्दामा हेर्न आउने हो कि होइनन् भन्ने डर त सबैलाई छ । तर, आफूले गरेको कामप्रति सबै ढुक्क छन् । यसै चलचित्रमार्फत अभिनयको सुरुआत गर्ने अर्का कलाकार हुन्, आशिष घिमिरे । छ वर्षको उमेरदेखि हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ मा ‘धुन्धुकारी’ को भूमिकामा लगातार पाँच वर्षसम्म अभिनय गर्नुभएका अभिनेता घिमिरे कलाकार केदार घिमिरेका छोरा हुन् । 

बुबा टेलिशृङ्खला र चलचित्रमा स्थापित भए तापनि अभिनेता घिमिरेले केही साङ्गीतिक श्रव्यदृश्यमा लेखक र निर्देशन समूहमा रहेर काम गर्नाका साथै आरोहण गुरुकुल नाटकघरमा नाट्यकर्मी सुनिल पोखरेलसँग अभिनय सिके । उनले केही सडक नाटक, नाट्यकर्मी पोखरेलको निर्देशनमा तयार भएको ‘गच्छामि’ नामक नाटक र रामभजन कामतले निर्देशन गरेको ‘काल’ नामक नाटकमा अभिनय गरेपछि चलचित्रमा अभिनय गरे । “चलचित्र बन्दैछ र चाहिएको पात्र म गर्न सक्छु भन्ने लागेपछि ‘अडिसन’ दिएँ । निर्माण समूहले खोजे झैँ पात्र भए तापनि धेरै पटक अडिसन दिएपछि म छनोट भएको हुँ । म मेरो बुबाको नाम र पहिचानभन्दा पनि आफ्नै कामले चिनिन चाहन्थे । सोही कारण आफूले सक्दो मेहनत गरेर चलचित्रसम्म आएको हुँ”, अभिनेता घिमिरेले भने । 

अभिनेता घिमिरेसँगै अन्य तीन कलाकारको पनि पहिलो चलचित्र भएकाले नर्भस, उत्साह र डर सबैमा थियो । एकआपसमा घुलमिल हुनाका साथै कार्यशाला (अभिनय प्रशिक्षण) गरे तापनि छायाङ्कनको पहिलो डर सबैमा थियो । किनकि यहाँ आफ्नो कारणले चलचित्र निर्माण गर्न तयार प्राविधिकसहितको टिमको काम बिग्रिन्थ्यो । “हामी सबैको उस्तै उस्तै मनोभाव रहेछ । किनकि प्राविधिक सबै पोख्त हुनुहुन्थ्यो । हाम्रो कारणले उहाँको कामसमेत सफल हुन्थेन । तर, छायाङ्कन अगाडि हामीले होस्टेल शृङ्खलामा अभिनय गर्नुभएका पुराना कलाकारलाई भेटेर उहाँको अनुभव सुनेका थियौँ, त्यसले हामीलाई आत्मविश्वास बढाउन मदत गर्यो”, अभिनेता ठकुरीले भने । 

‘होस्टेल’मा अभिनय गर्ने अभिनेता गौरव पहाडी र सलोन बस्नेतले सुनाएको अनुभव आफ्नो भन्दा फरक नपाएको अभिनेत्री पन्तले बताइन् । नयाँमा सबै उस्तै हुने वा उही मनोविज्ञान हुने भएपछि सबै कलाकारलाई थप ऊर्जा प्राप्त भयो । त्यही ऊर्जाले उनीहरूलाई छायाङ्कन गर्ने दृश्यमा आफ्नो पात्रलाई जीवन्त बनाउन मदत गर्यो । 

चलचित्रमा अन्य ‘डेब्यु’ कलाकार रिहान गिरी, हिना नगरकोटी र समा पराजुली पनि छन् । उनी सम्पूर्ण कलाकार चलचित्र ‘होस्टेल ३’ को सार्वजनिक प्रचार सामग्रीमा आत्मविश्वासी देखिइन् । पात्रलाई जीवन्त बनाएको प्रतिक्रिया दर्शकले सामाजिक सञ्जालमा दिएका छन् । दर्शक प्रतिक्रियाकै कारण अभिनेता तामाङ अब अभिनयलाई निरन्तरता र युट्युबमा नयाँ ‘कन्टेन्ट’ तयार गर्ने तयारीमा छन् । “म आगामी दिनमा हास्य कलाकारकै रुपमा देखिन्छु भन्ने लागेको छ । किनकि यसमा पनि मेरो पात्रले गर्ने गतिविधिले चलचित्र हेर्न आउनु हुने दर्शक हाँस्न बाध्य बन्नु हुन्छ । साथै, आफ्ना रोकिएको कामको पनि सुरुवात गर्छु”, अभिनेता तामाङले भने । 

व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि नयाँ अनुहारले चलचित्रमा नयाँ दर्शक तान्न सक्ने भएको र विषयवस्तुसँगै ‘होस्टेल’ शृङ्खलाको ‘लिगेसी’ लाई अगाडि बढाउन नयाँ पुस्ताको चलचित्र बनाएको निर्देशक सशान कँडेलले बताए । “म आफैँ निर्देशकका रुपमा नयाँ भएकाले मैले प्रतिभा भएका र मेहनत गर्नसक्ने नयाँ पुस्तालाई चलचित्रमा ल्याएको छु । उहाँहरू सबै आउँदो केही वर्षमा सर्वाधिक खोजिने कलाकारका रुपमा परिचित बन्नुहुनेछ भन्ने मलाई लागेको छ । तर, अहिलेको जस्तै मेहनती र सरल भने रहन सक्नुपर्छ”, निर्देशक कँडेलले भने । 

यसअगाडिका ‘होस्टेल’ का दुई शृङ्खलाले नयाँ पुस्तालाई कलाकारितामा स्थापित गराउनाका साथै व्यावसायिक सफलता पनि हासिल गरेको थियो । ‘होस्टेल ३’ को व्यापार आउँदो केही सातामा थाहा हुने भए तापनि यसमार्फत चलचित्रमा भित्रिएका नयाँ पुस्ताको चर्चा भने अहिले नै बढिरहेको छ ।

सिमेन्ट उद्योगीले सहमति कार्यान्वयन नगरे विकल्प खोज्न बाध्य हुने मन्त्री भण्डारीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगी र निर्माण व्यवसायीहरुसँग छलफल गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले सिमेन्टको मूल्य नघटेको गुनासो गरेपछि सोमबार दुवै पक्षसँग सिंहदरबारमा छलफल गरिएको हो ।

छलफलका क्रममा निर्माण व्यवसायीहरूले सिमेन्ट उत्पादकहरूले बढाएको मूल्य यथावत् राखेको गुनासो गरेका छन् भने उत्पादकहरूले मूल्य घटेको दाबी गरेका छन् ।

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले अधिकांश सिमेन्ट उद्योगीहरूले बढेकै मूल्यमा कारोबार गरिरहेको गुनासो गरे । “जिल्ला दररेटमा केही रकम थप गरेर बिक्री गर्न भएको सहमति कार्यान्वयन भएको छैन, केही उद्योगीले धेरथोर मूल्य घटाए पनि अधिकांशको मूल्य यथावत् छ ।” उनले भने । सिमेन्ट उत्पादकहरूले कार्टेलिंग समेत गरिरहेको निर्माण व्यवसायीको आरोप छ ।

यता सिमेन्ट उत्पादकहरूले भने गत महिना मन्त्री भण्डारीकै पहलमा भएको सहमतिलाई कार्यान्वयन गरेको दाबी गरेका छन् । उनीहरूले जिल्ला दररेट कायम गर्ने बेलाको औसत मूल्य भन्दा १ सय १५ रुपैयाँ बढीमा सिमेन्ट बिक्री गरिरहेको दाबी गरेका छन् । उक्त मूल्य भन्दा दायाँबायाँ भएको अवस्थामा आफूहरू कारबाही सहन तयार रहेको उनीहरूको प्रतिबद्धता छ ।

सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष रघु नन्दन मारुले भने, “हामीले मन्त्री ज्यू सामु गरेको प्रतिबद्धता पूर्ण पालना गरेका छौँ, कुनै कम्पनीले उधारोमा कारोबार गर्दा केही रकम बढी लिएको हुन सक्ला तर समग्रमा त्यस्तो छैन, अहिले हाम्रो जुन सहमति छ त्यसैका आधारमा कारोबार भइरहेको छ ।” उनले सिमेन्टमा कार्टेलिंग नभएको दाबी समेत गरे ।

उद्योग मन्त्री भण्डारीले सिमेन्ट उद्योगीले सहमति कार्यान्वयन नगरेको अवस्थामा सरकारले अन्य विकल्प खोज्न बाध्य हुने बताए । गत महिना सिमेन्टको भाउ अस्वभावीक रूपले बढाइएको आम उपभोक्ता तथा निर्माण व्यवसायीको गुनासो थियो ।

यसको सहजीहकरणका लागि मन्त्री भण्डारीले सम्बधीत पक्षसँग पटक पटक संवाद गर्दै उपयुक्त मूल्य निर्धारणका लागि पहल गरेका थिए । सिमेन्ट उत्पादक र निर्माण व्यवसायी एक अर्काका परिपूरक भएकाले नजिकको दुरी बनाएर अघि बढ्न सुझाव दिए ।

तोलामा १४ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक हजार चार सय र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन मंगलबार बढेर प्रतितोला एक लाख ६९ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा किनबेच हुने महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ ।

बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता संचालन गर्न लागेको हो ।
यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतिहरुको समाधान खोज्न समेत सहयोग पुग्नेछ ।

प्रतियोगितामा सहभागि प्रतिस्पर्धीहरुले बैंकले तोकेका विभिन्न विषयहरुमा केन्द्रित रही आफ्ना धारणाहरु प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ ।

ग्लोबल आइएमई बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरु प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको छ । डिजिटल बैंकिङ सेवाहरुलाई थप प्रभावकारी बनाउन नविनतम् धारणाहरुलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकहरुले बैंकको वेवसाइटमार्फत दर्ता गर्नुपर्ने छ ।

यस ह्याकाथन प्रतियोगिता दुई चरणमा हुनेछ । जसअन्तर्गत पहिलो चरणमा अनलाइन पेपर प्रस्तुती र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ ।

पहिलो चरणको लागि प्रतियोगिहरुले अप्रिल ४, २०२५ सम्ममा अनलाइन पेपर प्रस्तुती गर्नुपर्ने छ । साथै, दोस्रो चरणअन्तर्गत मे १, २०२५ मा अनसाइट ह्याकाथन हुनेछ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दाबढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्राउने काम गर्दै आएको छ ।

बालेनलाई प्रश्नः प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्रपस्न नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा संघीय सरकारले लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि यो चर्चाको विषय बनेको छ । सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गर्दै आएका छन् । मेयर साहले तीन दिनअघि लेखे, प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे । मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!’

यसअघिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काठमाडौँ टावरको नक्सा पास प्रक्रियामा मुछिएपछि महानगरले कारबाहीका लागि सिफारिस गरेको थियो ।त्यसयता महानगरमा प्रमुख प्रशासकीय अधिकृत खाली छ । प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भनेर मेयर साहले पुस २४ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका थिए । तर सरकारले अहिलेसम्म पठाएको छैन । जसका कारण महानगरका सरसफाइ कर्मचारीले तलब पाउन सकेका छैनन् । प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि मेयर साहले प्रधानमन्त्रीविरुद्ध आक्रोश पोखेका हुन् ।

मेयर साह यतिमा रोकिएनन्, सोमबार मेयर साहले फेरि प्रधानमन्त्रीमाथि आक्रोश पोखे । मेयर साहले प्रमुख कार्यकारी अधिकृत टिकाउने नाममा भ्रष्टलाई संरक्षण गर्न नसकिने बताएका छन् ।

उनको प्रश्न थियो, ‘के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नु पर्ने हो ?’ उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला । तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईकै हो । अनि जति भ्रम फैलाए पनि, हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो ।सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु ।’

मेयर साहले यसरी लगातार प्रधानमन्त्रीमाथि आक्रोश पोखेपछि नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मेयर साहमाथि आक्रोश पोखेका छन् । उनले बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्रपस्न समेत नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्ने ? भन्दै मेयर साहमाथि आक्रोश पोखेका हुन् ।

मन्त्री पाठकले सामाजिक संजालमा लेखेका छन्, ‘यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही पनि गर्न नसक्ने, छानबिन समिततिको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्रपस्न समेत नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्ने ? के हो बालेन भाइ तिम्रो पारा ? हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौं । नियम, कानुन र कार्यविधि भन्दा माथि कोही हुँदैन र तिमी पनि छैनौ । चार भागको एकभाग पनि पुँजीगत खर्च गर्न नसक्नेका कुरै चर्का । तिम्राजस्ता चर्काकुरा अरुहरुलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाइ ।’