`

अमेरिकाले रोक्यो युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायता

बीबीसी । राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई सबै सैन्य सहायता रोक्का गर्न आदेश दिएका छन् । ह्वाइट हाउसस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की भएको केही दिनपछि अमेरिकाले यस्तो निर्णय गरेको हो।

रुससँग जारी युक्रेन युद्ध अन्त्य गर्नमा आफूहरूको सैन्य सहायताले योगदान पुर्याइरहेको छ वा छैन भन्ने कुराको समीक्षा गरिने अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

अमेरिका युक्रेनलाई सबैभन्दा धेरै सैन्य सहायता उपलब्ध गराउने देश हो । उसले रुसविरुद्धको युद्धमा युक्रेनलाई हवाई प्रतिरक्षा क्षेप्यास्त्रसहित महत्त्वपूर्ण अस्त्रहरू प्रदान गर्दै आएको थियो। युक्रेनी राष्ट्रपति जेलेन्स्की र उनका अमेरिकी समकक्षी ट्रम्प तथा उपराष्ट्रपति जेडी भान्सबीच ह्वाइट हाउसमा भनाभन भएको थियो ।

ट्रम्पले जेलेन्स्कीलाई ‘तृतीय विश्वयुद्ध निम्त्याउन चाहेको’ आरोप लगाएपछि जेलेन्स्की चिढिएका थिए । सोमबार फेरि ट्रम्पले जेलेन्स्कीको आलोचना गर्दै शान्ति सम्झौतालाई समर्थन नगरेमा उनी लामो समय पदमा नरहन सक्ने टिप्पणी गरेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले युक्रेनलाई दिइने सैन्य सहायता रोक्का गरिएकोबारे एउटा वक्तव्य सार्वजनिक गरेका छन्।

‘वर्तमान समयमा राष्ट्रपति ट्रम्प मात्र विश्वका एक नेता छन् जोसँग युक्रेनमा जारी युद्धलाई स्थायी रूपमा अन्त्य गराउने एउटा मौका छ,’ रुबिओले भनेका छन्। युक्रेनलाई सैन्य सहायता रोक्काबारे ट्रम्प प्रशासनको तर्फबाट आएको यो नै पहिलो सार्वजनिक टिप्पणी हो।

तर पूर्वराष्ट्रपति जो बाइडनको कार्यकालमा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का पूर्वनिर्देशक माइकल कार्पेन्टरले चाहिँ ट्रम्पको कदमप्रति आश्चर्य प्रकट गरेका छन्।

थापाथलीमा मेलम्चीको पाइप फुट्यो

काठमाडौं । बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको केही समयपछि काठमाडौंको थापाथलीमा पनि मेलम्चीको पाइप फुटेको छ । मंगलबार बिहान मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर केही पसलहरुमा पानी पसेको छ । त्यस्तै पाइप फुटेपछि सडकसमेत अवरुद्ध भएको छ ।

अहिले पाइप मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ । पाइप के कारणले फुट्यो भन्ने थाहा नभएको प्रहरीको भनाइ छ । यसअघि पनि बबरमहलमा विद्युत प्राधिकरणले काम गर्ने बेलामा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सडक र सरकारी कार्यलय जलमग्न भएका थिए ।

भिडियोः गोविन्द खड्का

प्रतिफल नदिने योजनाका लागि बजेट नमाग्न अर्थ मन्त्रालयको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमासम्बन्धी मार्गदर्शन पठाएको छ ।

बजेटको स्रोत व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण र दबाबमा रहेको उल्लेख गर्दै मन्त्रालयले सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न भनेको छ ।

सबै विषयगत निकायलाई मितव्ययी खर्च, प्राथमिकताका आयोजना छनोट, दोहोरोपन हटाउने र कार्यान्वयन योग्य योजना मात्र समावेश गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मार्गदर्शनअनुसार नयाँ योजना प्रस्ताव गर्दा पर्याप्त तयारी र लागत–लाभ विश्लेषण आवश्यक पर्नेछ भने हाल सञ्चालनमा रहेका योजना सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेछ ।

राष्ट्रिय गौरवका आयोजना तथा अन्य उच्च प्राथमिकताका परियोजनालाई प्राथमिकता दिइने र स्रोतको उपलब्धिमूलक उपयोग सुनिश्चित गर्न स–साना आयोजनामा स्रोत छर्ने प्रवृत्ति निरुत्साहित गरिने मन्त्रालयले जनाएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा परेको दबावलाई मध्येनजर गर्दै सार्वजनिक खर्चको प्रभावकारिता बढाउने र आर्थिक गतिविधि विस्तार गर्नेगरी आगामी आर्थिक वर्षको बजेटमा पर्ने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्न मन्त्रालयले परिपत्र गरेको छ ।

‘आगामी आर्थिक वर्षको बजेट तर्जुमालाई यथार्थपरक, कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन खर्चको दक्षता अभिवृद्धि हुने गरी क्रियाकलाप निर्धारण गरी आफ्नो मन्त्रालय वा अन्तर्गतका आयोजना तथा कार्यक्रम आगामी चैत १५ गतेभित्र मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआईएस)मा प्रविष्ट गरिसक्ने व्यवस्था मिलाउन अनुरोध छ’, पत्रमार्फत् भनिएको छ ।

राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि  १९ खर्ब ६५ को सीमाभित्र बजेट ल्याउन सक्नेगरी सरकारलाई सिलिङ उपलब्ध गराएको छ । सोही सीमाभित्र रहेर वार्षिक कार्यक्रम तथा बजेट प्रस्ताव गर्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ । यस्तै, योजना तथा कार्यक्रम कार्यान्वयनका क्रममा रकमान्तर र कार्यक्रम संशोधन गर्न नपर्ने गरी यथार्थपरक बजेट प्रस्ताव गर्नुपर्ने पनि बजेट तर्जुमा मार्गदर्शनमा उल्लेख छ ।

‘विनियोजन दक्षता कायम गर्न आयोजनाको उद्देश्यसँग प्रत्यक्ष सम्बन्धित क्रियाकलापमा मात्र बजेट प्रस्ताव गर्नुपर्नेछ । आयोजना तथा कार्यक्रममा दीर्घकालीन दायित्व सिर्जना गर्ने प्रकृतिका क्रियाकलाप समावेश गर्नु हुनेछैन’, विषयगत मन्त्रालयलाई आग्रह गर्दै अर्थले भनेको छ, ‘चालु खर्चमा मितव्ययिता कायम गर्ने गरी अत्यावश्यक बजेट मात्र प्रस्ताव गर्ने र अनिवार्य दायित्वका खर्च शीर्षकमा पछि थप निकासा माग गर्न नपर्ने गरी पर्याप्त बजेट प्रस्ताव गर्नुपर्नेछ ।’

एकै प्रकृतिका क्रियाकलाप विभिन्न उपशीर्षक तथा कार्यक्रममा समावेश भएकामा आगामी आर्थिक वर्षदेखि त्यस्ता क्रियाकलापलाई एकीकृत गरी व्यवस्थित गरिनुपर्ने पनि बजेट तर्जुमा मार्गदर्शनमा उल्लेख छ ।

यस्तै, नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव गर्दा पूर्वतयारी पूरा भएका तथा लागत लाभ विशेषणबाट कार्यान्वयनयोग्य देखिएका गुणस्तरीय आयोजना मात्र समावेश गर्न भनिएको छ । हाल कार्यान्वयनमा रहेका आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न हुने भएमा सोको लागि पर्याप्त बजेट विनियोजन गरिसकेपछि मात्र नयाँ कार्यक्रम तथा आयोजनाका लागि बजेट प्रस्ताव गर्नुपर्ने मार्गदर्शनमा जनाइएको छ ।

‘सीमित स्रोतको उपलब्धिमूलक उपयोग गर्न स–साना आयोजनामा स्रोत छर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेछ । क्रमागत आयोजनाको सङ्ख्या घटाउने, कार्यान्वयन हुन नसक्ने तथा कम प्राथमिकताका आयोजना स्थगन गरी कार्यान्वयनयोग्य आयोजना मात्र प्रस्ताव गर्ने व्यवस्था मिलाउनु पर्नेछ’, बजेट तर्जुमा मार्गदर्शनमा भनिएको छ,’आयोजना प्रस्ताव गर्दा राष्ट्रिय योजना आयोगको आयोजना बैङ्कमा प्रविष्ट भएका आयोजना मात्र समावेश गर्नु पर्नेछ । यस्तै, अध्ययन पूरा नभएका नयाँ आयोजना कार्यान्वयनका लागि बजेट विनियोजन नहुने हुँदा त्यस्तो आयोजनाको अध्ययन तथा तयारी कार्यका लागि मात्र बजेट प्रस्ताव गर्नू ।’

बजेट तर्जुमा मार्गदर्शनअनुसार स्रोतको सुनिश्चितता नगरी नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न पाइने छैन । यस्तै, आयोजना प्रस्ताव गर्दा अन्तरतह तथा अन्तरमन्त्रालयमा दोहोरोपना नपर्ने सुनिश्चित गर्नुपर्नेछ । विपद्पछिको पुनःनिर्माण कार्यलाई प्राथमिकता दिई बजेट प्रस्ताव गरिनुपर्ने जनाइएको छ ।

अर्थ मन्त्रालयले स्रोत सहमति दिएका आयोजना तथा कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा सिर्जना हुने दायित्व भुक्तानी गर्न पुग्ने रकम छुट्याएर मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट प्रस्ताव गर्न भनिएको छ । प्राथमिकताको आधारमा कार्यान्वयन निरन्तरता दिनुनपर्ने प्रकृतिका स्रोत सुनिश्चित गरिएका आयोजनालाई समेत पुनः प्राथमिकीकरण गरी स्रोत व्यवस्थापन गरिनुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

विभिन्न आयोजना तथा कार्यक्रममा विधिसम्मत रूपमा भएको खर्चको भुक्तानी गर्नुपर्ने सिर्जित दायित्वको रकम अनिवार्य रूपमा प्रस्ताव गर्न भनिएको छ । यसैगरी, राष्ट्रिय गौरवका आयोजना तथा अन्य महत्वपूर्ण कार्यक्रममा सिर्जना हुने दायित्वलाई भुक्तानी गर्न पुग्ने गरी बजेट प्रस्ताव गर्नुपर्नेछ ।

ससर्त अनुदानका आयोजनाहरूलाई पुनःप्राथमिकीकरण गरी गुणस्तरीय आयोजनामात्र निरन्तरता दिनु भनिएको छ । ‘तयारी पूरा नभएका तथा लगानी विधि सुनिश्चित नभएका नयाँ आयोजना प्रस्ताव गर्नु हुनेछैन । ससर्त अनुदानबाट बेहोर्नुपर्ने कार्यरत जनशक्तिका लागि आवश्यक तलबलगायत अनिवार्य दायित्वमा पर्याप्त रकम प्रस्ताव गर्नुहुनेछ’, मार्गदर्शनमा भनिएको छ ।

समपूरक र विशेष अनुदानका आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्न पुग्ने रकम प्रस्ताव गरी बाँकी रकमको मात्र नयाँ आयोजना प्रस्ताव गर्न सकिनेछ । यस्तै, सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउन चालु प्रकृतिका खर्च घटाउने गरी विनियोजन प्रस्ताव गर्न आग्रह गरिएको छ ।

सफ्ट्वेयर खरिद र परामर्श सेवालगायत खर्च शीर्षकमा पर्याप्त आधार र लागत प्रभावकारिता हेरी एकीकृत प्रणालीको विकासमा सहयोग पुग्ने भएमा मात्र बजेट प्रस्ताव गर्नुपर्नेछ । अबन्डामा कुनै पनि बजेट प्रस्ताव गर्न र अत्यावश्यकीय अवस्थामा बाहेक फर्निचर फिक्चर्स तथा सजावट खर्चमा बजेट माग्न पाइनेछैन ।

मछिन्द्रलाई केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनलमा त्रिभुवन आर्मीलाई २–० ले पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो ।

मछिन्द्रलाई जित दिलाउन सनिस श्रेष्ठ र स्टेफन जमाह जलीले गोल गरे । मछिन्द्रले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो । मछिन्द्रले यसअघि प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि पनि जितेको थियो ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको विजेता बनेसँगै मछिन्द्रले १५ लाख ११ हजार १११ र उपविजेतामा आर्मीले पाँच लाखसहित प्रमाणपत्र र मेडल पाएका छन् । प्रतियोगिताको तेस्रो संस्करणमा दुई विदेशीसहित नौ टोलीले सहभागिता जनाएका थिए ।

चलचित्र सहर सञ्चालन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि महानगरले लियो सुझाव

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चलचित्र क्षेत्र सम्बद्ध अधिकारीहरुसँग ‘चलचित्र सहर सञ्चालन व्यवस्थापन कार्यविधि’ मस्यौदामा छलफल गराएको छ ।

महानगरपालिकाले तर्जुमा गरेको मस्यौदामाथि चरणवद्ध रुपमा क्षेत्रगत सुझाव लिने क्रममा सोमबार छलफल गराएको हो । त्यसक्रममा, रचनात्मक उद्योगको विकास, विस्तार र व्यवस्थापनका लागि चलचित्र विधाबाट काम गर्ने योजना बनाएको बताउँदै उपप्रमुख सुनिता डंगोलले, चलचित्र उद्योग बचाउन स्थानीय सरकारको तहबाट गर्न सक्ने कामसँग सम्बन्धित पृष्ठपोषण प्रदान गर्न आग्रह गरिन् ।

‘हरेक कामसँग सम्बन्धित सम्भावना जति हुन्छन्, चुनौती पनि त्यति नै हुन्छन् । ती चुनौती छिचोल्न दायित्व निर्वाह गर्नुपर्ने कार्यालयहरुका बिचमा सहकार्य गर्नुपर्छ ।’ उनले भनिन्, ‘चलचित्रमार्फत रचनात्मक उद्योगमा काम गर्न अहिलेसम्म कुनै पनि प्रकारको कानुनी व्यवस्था नभएकोले कार्यविधि तर्जुमा गरिएको हो । यसलाई सरोकारवाला, प्रयोगकर्ता तथा लाभग्राही सबैले अपनत्व बोध गर्न सक्ने बनाउन चाहेका छौँ । सम्भव भएसम्म धेरै व्यक्ति, पदाधिकारी र संघसंस्थाबाट पृष्ठपोषण लिने योजना बनाएका छौँ ।’

त्यसक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, सिर्जना बचाउन महानगरपालिकाले गरेको प्रयासमा सम्बद्ध पक्षबाट सहयोगको अपेक्षा प्राप्त हुने अपेक्षा राखे । यस्तै विधायन समितिका संयोजक मचाराजा महर्जनले, चलचित्र उत्पादनका हरेक चरणमा काम गर्ने सबै पक्षको कुरा सुनेर मस्यौदालाई अन्तिम प्रारुप दिइने बताए ।

सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार, क्षेत्रगत पृष्ठपोषण लिएर कार्यविधिको मस्यौदालाई अन्तिम ढाँचा प्रदान भइरहेको छ ।

मस्यौदा समितिका संयोजक एवं कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले मस्यौदा कार्यविधिमा प्रस्तुतिकरण गरेपछि महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने, नेपाल चलचित्र बोर्ड, योजना शाखा प्रमुख गिरिश शर्मा, नेपाल पर्यटन बोर्डका अनुसन्धान, योजना तथा अनुगमन महाशाखाका वरिष्ठ अधिकृत जयशक्ति सर्राफसहित पदाधिकारीले तहगत कानुनी व्यवस्थाको एकरुपताका विषयमा सुझाव दिए ।

यस्तै नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले चलचित्र उत्पादनदेखि यसको बजारको चक्र समेटिनु पर्ने, नेपाली चलचित्रकर्मीहरुको प्रोत्साहन र प्रवर्धनमा सहुलितय प्रदान गर्नुपर्ने सुझाव राख्नुभयो ।

यस्तै युनेस्को काठमाडौँ कार्यालय, संस्कृति विभागका प्रमुख नभा बस्न्यात थापा, व्रिटिस काउन्सिल, कला विभागका कार्यक्रम संयोजक प्रीतिका थापाले स्थानीय र राष्ट्रिय कार्यक्रमलाई अन्तरराष्ट्रिय क्षेत्रसँगको समन्वयका विषयमा जोड दिए । चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष समीर बलामीले चलचित्रको प्रवर्धनका लागि चलचित्र पत्रकारहरुको स्थानलाई समेट्न आग्रह गरे ।

छलफलमा सहरी योजना आयोगका सदस्यहरु बाबुराम भट्टराई, इञ्जिनियर शैलेन्द्र झा, अन्तरराष्ट्रिय सल्लाहकार सन्तोष गिरीसहित महानगरपालिकाका विभागीय प्रमुखहरु सहभागी थिए ।

चलचित्र क्षेत्रको विकास र विस्तार तथा यससँग सम्बन्धित उद्योगको सञ्चालन, संरक्षण र प्रवर्धनका लागि आवश्यक पर्ने नीति, अनुसन्धान र विकासका लागि संस्थागत संरचना र काम कार्यविधिमा प्रस्ताव गरिएको छ ।

उद्योगमा आवद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबिच समन्वय सहकार्य गरेर स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरुलाई प्रोत्साहन गर्ने, समुदाय, संस्कार, संस्कृति, परम्परा जस्ता मौलिकता प्रवर्धन तथा स्थानीयबासीको आय वृद्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने कार्यविधिअन्तर्गत हुने मुख्य क्रियाकलाप हुन् ।

चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा र वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, महिला, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गर्ने, चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार र स्तरोन्नति गर्ने काम यससँग सम्बन्धित छन् ।

पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने संरचना निर्माण गरेर लागतप्रभावी चलचित्र निर्माणको वातावरण सिर्जना गर्ने ल्यान्डस्केप डिजाइन, विश्व सम्पदा क्षेत्रहरुको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला सम्वर्धनहरू, चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पुर्याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराउने विषय मस्यौदा कार्यविधिमा छन् ।

चलचित्र स्टुडियो, पोष्ट उत्पादन सुविधाहरू, चलचित्र विद्यालयहरु, उद्योगका विधागत सिप र सिकाइहरुलाई प्रवद्र्धन गर्ने, अभिलेख, पुस्तकालय र संग्रहालयको विकास गर्ने, स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई, साना र मध्यम आकारका उद्यम सञ्चालन गर्न सहयोग गर्ने कार्यक्रम यसमा उल्लेख छन् । तथ्य तथ्याङ्क निर्माण गर्ने, व्यञ्जन, कला र शिल्प, हस्तकला उद्योगको प्रवद्र्धन, मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनी चलचित्र क्षेत्रको विकास र प्रवर्धनका क्षेत्र हुन् ।

अन्तरराष्ट्रिय स्तरका उद्यमीलाई चलचित्र सहरसँग जोड्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिट जस्ता ठूला कार्यक्रम सञ्चालन गर्न आवश्यक हुन्छ ।

विश्वभरका चलचित्र निर्माता, लगानीकर्ता तथा वितरकलाई सञ्जालमा जोड्नुपर्छ । अन्तर्राष्ट्रिय साझेदारी र सहयोगका क्षेत्र विस्तार योजना बनाउनुपर्छ । सदस्य अन्तर्राष्ट्रिय नगरहरुमा विद्यार्थी, कलाकार, अनुसन्धानकर्ता र साझेदार बीच ज्ञान, सिप र अनुभव आदान प्रदानको वातावरण उपलब्ध गराउनु पर्छ । यी विषयहरु कार्यविधिमा प्रस्ताव गरिएको छ ।

परराष्ट्रमन्त्री र गृहमन्त्रीद्वारा प्रकृति लम्सालका परिवारसँग भेट

भैरहवा । परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकले भारतको उडिसास्थित केआईआईटी कलेजमा शंकास्पद मृत्यु भएकी प्रकृति लम्सालको परिवारसँग भेट गरेका छन् ।

बुटवलस्थित प्रकृतिको मामाघर पुगेर आफू र गृहमन्त्रीले बुवाआमासँग भेट गरेको परराष्ट्रमन्त्री राणाले जानकारी दिएकी छन् । भेटमा प्रकृतिको न्यायका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको परिवाजनलाई जानकारी गराएका मन्त्री राणाले बताएकी छन् । केआईआईटीमा प्रकृति केही दिनअघि कलेजकै छात्रावासमा मृत भेटिएकी थिइन् ।

त्यसपछि त्यहाँ नेपाली विद्यार्थीले प्रकृतिको न्यायका लागि आवाज उठाएका थिए । केही विद्यार्थी नेपाल पनि फर्किएका छन् । तर, दुवै देशका अधिकारीहरूको पहलपछि कलेजको वातावरण सामान्य बन्यो । भारतस्थित नेपाली दूतावासका अधिकारीहरू कलेजमै पुगेर नेपाली विद्यार्थीको सुरक्षाका लागि समन्वय गरेका थिए ।

नैतिक मूल्य-मान्यता, सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन्ः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताएका छन् ।

सोमबार सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताए ।

उनले भने,‘जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारीलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ ।’

राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै, योग शिक्षा, स्वस्थ जीवनशैली र मानवसेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गरे ।

उनले दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको बताए ।

उनले नेपालको निजामती प्रशासनिक क्षेत्रमा निष्ठा, इमान्दारिता र कर्तव्यपरायणताको उदाहरणीय प्रतिमान स्थापित गरेका लमजुङ, दुराडाँडाका स्वर्गीय नरकान्त अधिकारी तथा न्याय प्रशासनको क्षेत्रमा उच्चतम इमान्दारिता, कर्तव्यनिष्ठा र क्षमताको परिचय दिएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश, सुखौरा, तनहुँ निवासी स्वर्गीय भैरवप्रसाद उपाध्यायको सम्मानमा स्थापित यी पुरस्कारहरू उनीहरूको योगदानको प्रतीक भएको बताए ।

उनले नरकान्त योग राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएका प्रा. डा. विद्यानाथ उपाध्यायले नेपाली समाजमा शिक्षाको प्रवद्र्धन, योग तथा अध्यात्मको क्षेत्रमा पुर्याएको योगदान भैरव सदाचार राष्ट्रिय पुरस्कार पाउने मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले न्यायप्रतिको निष्ठा एवम् नेपालको संक्रमणकालीन समयमा देशलाई स्थायित्व प्रदान गर्न पुर्याएको योगदान प्रशंसनीय रहेको बताए ।

लेबनानका राष्ट्रपति साउदी अरब भ्रमणमा

बेरुत। लेबनानका राष्ट्रपति जोसेफ खालिल औनले कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका लागि सोमबार साउदी अरबको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनले यसै वर्ष जनवरीमा लेबनानको राष्ट्रपतिका रूपमा शपथ लिएका थिए ।

रियाद र वासिङ्टनको समर्थनप्राप्त पूर्व सेना प्रमुख औन जनवरी ९ मा लेबनानको राष्ट्रपति निर्वाचित भएका थिए। उनको निर्वाचनले लेबनानमा राजनीतिक र आर्थिक संकटका बीच दुई वर्षभन्दा बढी समयदेखिको शक्ति शून्यता अन्त्य गरेको थियो ।

इजरायलसँगको विनाशकारी युद्धका क्रममा लेबनानको इरान समर्थित हिजबुल्लाह कमजोर भएपछि उनको निर्वाचन सम्भव भएको थियो ।

उनको कार्यालयका प्रवक्ताले भने, ‘लेबनान र समग्र अरब क्षेत्रको सुरक्षा तथा कूटनीतिक सम्बन्ध र लेबनानका लागि साउदी अरबको सैन्य सहायतालाई नवीकरण गर्न उहाँको भ्रमण फलदायी हुने विश्वास गरिएको छ।’

लेबनान र साउदी अरबबीचको सम्बन्ध वर्षौँदेखि तनावपूर्ण रहँदै आएको छ । सन् २०१६ मा रियादले लेबनानी सेनालाई दिइने तीन अर्ब अमेरिकी डलरको सैन्य सहायता रोकेको थियो ।

‘मेरो भ्रमणका क्रममा म सम्भव भएसम्म सैन्य सहायता पुनः सक्रिय बनाउन प्रयास गर्नेछु,’ एक अन्तर्वार्तामा भनेका थिए ।

लेबनानसँगको ‘ऐतिहासिक सम्बन्ध’ र क्षेत्रीय तथा विश्वव्यापी खेलाडीको रूपमा साउदी अरबको भूमिकाका कारण आफूले साउदी अरबलाई आफ्नो पहिलो गन्तव्यका रूपमा रोजेको राष्ट्रपति औनले बताए।

उनले भने, ‘साउदी अरबले हामीलाई दुवै देशको हितमा सम्बन्ध पुनर्स्थापित गर्न र हालका अवरोधहरू पार गर्न मद्दत गर्नेछ भन्ने मेरो विश्वास छ।’

लेबनानले ‘भिजन २०३०’ अर्थात् तेलभन्दा बाहिरको अर्थतन्त्रलाई विविधीकरण गर्ने रियादको पहलसँग सहकार्य गर्न सक्ने बताउँदै उनले ‘सामान्य आर्थिक सम्बन्ध निर्माण’ हुनेमा आशा आशा व्यक्त गरे ।

‘यसले साउदी नागरिकहरूलाई आफ्नो दोस्रो घर लेबनान फर्कन अनुमति दिनेछ भने लेबनानीहरू पनि साउदी अरबसँग पुनः जोडिन उत्सुक छन्,’ उनले भने।

लेबनानमा सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछि हतियार राख्ने एक मात्र समूह हिजबुल्लाह लेबनानमा प्रमुख शक्तिका रूपमा रहँदै आएको छ । औनले ‘सकारात्मक तटस्थताको नीति’ र ‘अरब देशहरूसँग सर्वोत्तम सम्बन्ध’ को पनि प्रतिज्ञा गरे।

ट्रम्पले आफ्नो योजना मङ्गलबार संसदमा पेश गर्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने भएको छ । उक्त अवसरमा उनले अमेरिकी राष्ट्रपतिका रूपमा संयुक्त राज्य अमेरिका र विश्वका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन् । सन् २०२० को चुनावमा पराजयपछिको चार वर्षपछि अमेरिकी संसद भवनमा हुने उनको यो पहिलो सम्बोधन हो ।

रिपब्लिकन राष्ट्रपतिले आफ्नो कार्यकालको पहिलो ४३ दिनमा जारी गरिएको कार्यकारी आदेशको पुनरावलोकन गर्ने र बाँकी एक हजार ४१९ दिनको खाका पेश गर्ने अपेक्षा गरिएको छ ।

अलाबामाका सिनेटर तथा पूर्व फुटबल प्रशिक्षक टोमी ट्युबरभिलले इन्स्टाग्राममा भनेका छन्, “राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनको अहिलेसम्मको जितलाई उजागर गर्ने र आगामी चार वर्षका लागि ‘गेम प्लान’ प्रस्तुत गर्नेछन् ।

“एउटा कुरा निश्चित छ, यो पूर्व राष्ट्रपति जो बाइडनको नेतृत्वमा विगत चार वर्षमा हामीले भोगेको ‘जोकर शो’भन्दा धेरै फरक हुनेछ,” रिपब्लिकन सांसद ट्युबरभिलले भने ।

– प्रतिविम्ब परिवर्तन –

ट्रम्पले आफ्ना अर्बपति सल्लाहकार एलन मस्कसँग मिलेर राष्ट्रपतिको ‘मेक अमेरिका ग्रेट अगेन’ एजेन्डा कार्यान्वयन गर्न कडा र छिटो प्रयास गर्ने आशय देखाइसकेको छ, चाहे यसको अर्थ, उनको अधिकारको संवैधानिक सीमाको परीक्षण गर्नु वा सहयोगीहरूसँगको सम्बन्धलाई तनावपूर्ण बनाउनु नै किन नहोस्।

पदभार ग्रहण गरेदेखि नै ट्रम्पले एकतर्फी रूपमा संघीय निकायहरू विघटन गर्र्ने, हजारौँ सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने र क्युबाको ग्वान्टानामो बेस्थित अमेरिकी सैन्य शिविरमा कागजातविहीन आप्रवासीहरूलाई राख्न थालेका छन् ।

उनले क्यानडालाई गाभ्ने, आवश्यक परेको खण्डमा आर्थिक बल प्रयोग गर्ने र संयुक्त राज्य अमेरिकालाई बलियो बनाउन युरोपेली सङ्घ गठन गरिएको दाबीसमेत गरेका छन् ।

शुक्रबार ओभल अफिसमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ट्रम्पको असाधारण चर्काचर्कीमा उनले आफ्ना युक्रेनी समकक्षीको आलोचना गरेको थियो यो अमेरिकी प्रतिविम्ब परिवर्तनको पछिल्लो उदाहरण मात्र थियो।

सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिनः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकका मेयर बालेन साहले प्रमुख कार्यकारी अधिकृत टिकाउने नाममा भ्रष्टलाई संरक्षण गर्न नसकिने बताएका छन् ।

सोमबार सामाजिक संजालमार्फत मेयर साहले प्रश्न गरेका छन्, ‘के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नु पर्ने हो ?’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरुलाई दुश्मन नसम्झिन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला । तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईकै हो । अनि जति भ्रम फैलाए पनि, हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो ।सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु ।’

यस्तो छ बालेनको भनाई

भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ । उदाहरणहरूः
१. भ्यू टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको भन्ने प्रचारित भ्रम
कहिलेदेखि नक्सापास मेयरले गर्न थाले ? सामान्य कानुनको ज्ञान राख्नेले पनि भन्न सक्छ कि यसको अधिकार मेयरसँग हुँदैन । कानुनले यही भन्छ । अनि यो एगदष्अि एचष्खबतभ एबचतलभचकजष्उ ले नक्सापास गर्ने अधिकार कार्यपालिकालाई दिइएको छ । अनि नक्सा पास गर्न बसेको व्यक्ति स्वयंले नक्सापास गरिसकेपछि पनि बारम्बार दुई महिनासम्म पीपीपीमा कसरी नक्सापासको काम गराउने भन्ने विषयमा बैठक बसेको प्रमाण हामीसँग सुरक्षित छ ।

२. कार्यकारी टिक्दैन भनेर फैलाउन खोजिएको भ्रम

अहिलेसम्मको हाम्रो कार्यकालमा ४ जना कार्यकारी हटेका छन् । ४ मध्ये २ लाई हटाउनुको कारण उनीहरू भ्रष्टाचारमा संलग्न रहेको भनेर हो । के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नु पर्ने हो ? २ जनालाई सरकारले हटाएको हो, त्यो पनि महानगरलाई जानकारीसमेत नदिएर ।

हामीले भ्रष्टाचारमा जोडिएकाले हटाएका हौँ । सरकारले के कारण हटायो ? हामीले २ जना भ्रष्टहरूलाई हटाउँदा कार्यकारी टिक्न दिएन भन्ने सरकारले उत्तिनै संख्यामा तर असल काम गरेर बसेकालाई हटाउँदा काठमाण्डौँमा असल कार्यकारी टिक्न सरकारले नै दिदैन भन्ने अर्थ लाग्दैन र ? यदि ति २ जना मध्ये कुनै एक कार्यकारी नहटाएको भए यो कुरा नै आउदैन थियो त ।

३. काठमाडौँमा कार्यकारी जना मान्दैनन् भन्ने लज्जास्पद, लाचार र गैरजिम्मेवार भनाई

सरकारले आफु मातहतका एकजना कर्मचारीलाई आवश्यकता अनुसार काममा लगाउन सक्ने रैनछ भन्ने त यहाँबाट नै पुष्टि भयो । अहिले कर्मचारी जान मान्दैनन् भन्दै राजधानीको महानगरमा कर्मचारी पठाउन नसक्ने सरकारले भोलि दंगाग्रस्त क्षेत्रमा सिडिओ जान मानेनन् भनेर पठाउन नसक्ला, अपराध रोक्न पुलिस जान सकेन भनेर पठाउन नसक्ला । एउटा घातक उदाहरण त नवलपरासी पश्चिमको सामूहिक झडपले पनि देखाएको छ ।
आफ्नो कर्मचारीमा नियन्त्रण नभएको, कर्मचारीको विश्वासमा यतिसम्म गिरेको सरकारले समृद्धि ल्याइदिन्छ भनेर हामीले पत्याइदिनु पर्ने ?

४. ऐनले पालिकालाई नै निमित्त तोकेर काम गर्ने अधिकार दिएको छ भन्ने फैलाइएको भ्रम

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को ४ ले कार्यकारी नियुक्ती नभए सम्मको लागि नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतकारूपमा खटाउन सक्छ भनिएको छ । सरकारले यहिसमेत गरेको छैन, बरू उल्टै मेयरले चाह्यो भने राख्न सक्छ भन्ने भ्रम फैलाइदैछ । सोही ऐनले दिएको अधिकार प्रयोग गरेर नेपाल सरकारले प्रमुख प्रशासकीय तोकिदिनु पर्नेमा सो नगरि प्रतिवेदन आए पछि भनेर आफ्नो गैरजिम्मेवारीलाई लुकाइरहेको छ ।

५. कार्यकारीको छानविनको रिपोर्ट लुकाइयो भन्ने भ्रम

लुकाउनलाई त हुनुपर्यो नि, होइन । रिपोर्ट बनेकै छैन, लुकाइयो भन्ने भ्रम फैलाइन्छ ।
६. मन्त्रीसँग समन्वयन गर्नुपर्यो
मन्त्रीसँग समन्वयन गर्नु भनेको के हो ? पत्र लेख्ने, आधिकारिक संयन्त्रबाट सम्पर्क गर्ने, त्यहि होइन ? विधि र वैधानिकतालाई समन्वयनसमेतको मान्यता नदिएर के व्यक्तिगत अन्तरंगमात्र खोजेको हो सरकारले ? हामीले मन्त्रीलाई पटक पटक पत्र लेखेको, आधिकारिक संयन्त्रबाट सम्पर्क गरेका छौँ । थप समन्वयन नखोजौँ, विधि र जिम्मेवारी खोजौँ ।
प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला । तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईकै हो । अनि जति भ्रम फैलाए पनि, हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो ।सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु ।

गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन निर्वाह गरेको ओलीको भूमिका सराहनायोग्यः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी कार्यक्षमता र महत्वपूर्ण अनुभवको मूलुकले उपयोग गर्न सक्नुपर्ने बताएकी छन् ।

पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र संकल्प’ पुस्तकको सोमबार लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सिर्जनशील क्षमताका धनी एक अब्बल एवं लोकप्रिय राजनेताको रुपमा चित्रण गरिन् ।

उनले ओलीले आफूलाई आस्था, अडान र निष्ठाको प्रतिमूर्तिको रुपमा उभ्याउन सफल भएको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई आवश्यकताअनुसार व्यवहारमा अधिकतम लचकता अपनाएर निर्धारित लक्ष्यमा पार्टी, समाज र मुलुकलाई अग्रगतिफर्त लैजानसक्ने खुबी भएको नेता र एक कुशल रणनीतिकारको रुपमा प्रशंसा गरिन् ।

उनले राजनीतिक दलहरुले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शतालाई गहिरोसँग आत्मसात गर्नुपर्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेले बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने लक्ष्य लिएको बताइन् ।

उनले एमाले अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न, कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन, गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन निर्वाह गरेको भूमिका सराहनायोग्य रहेको बताइन् ।

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गीअड्डामा सोमबार आयोजित कार्यक्रममा उनलाई उपरथी दर्जाको दज्र्यानी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सरकारले उनलाई यही फागुन १२ गते उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नतिसँगै उपरथी जिसीलाई मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन् ।

सोही अवसरमा महासेनानीमा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा कुन्दविक्रम शाहलाई पनि दर्जाको दज्र्यानी चिह्न प्रदान गरिएको सेनाले जनाएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । बौद्ध अध्ययन सङ्कायअन्तर्गत स्नातकोत्तर तह र छोटो अवधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्न लागेको हो ।

विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले सोमबार लुम्बिनीमा आयोजित एक कार्यक्रमबीच क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापनाको घोषणा गरे । क्यालिफोर्नियाबाट छोटो अवधिको बौद्ध अध्ययनका लागि आएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदानका लागि आयोजित कार्यक्रममा उनले केही सातामै भर्ना प्रक्रिया सुरु गर्ने बताए ।

विश्वविद्यालयले क्यालिफोर्नियामा बौद्ध अध्ययनका शैक्षिक कार्यक्रम सञ्चालनका लागि इन्लाइट इन्टरनेसनल जेन मेडिटेसन सेन्टरसँग सहकार्य सम्झौता गरेको छ । सोही सेन्टरबाट छोटो अवधिको शैक्षिक कार्यक्रमका लागि २५ जना विद्यार्थी लुम्बिनी आएका हुन् । उनीहरुले दुई क्रेडिटको कक्षा लिएका छन् ।

त्यसअवसरमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले अन्तरराष्ट्रिय सम्बन्ध विस्तारका लागि ४० भन्दा बढी संस्थाहरुसँग सहकार्य सम्झौता गरी अघि बढेको बताए । अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको घोषणाअनुसार स्थापित भएको विश्वविद्यालयले बौद्ध शिक्षालाई विश्वभर फैलाउनका लागि अध्ययन केन्द्रहरु स्थापना गर्दै जाने बताए ।

बौद्ध अध्ययन सङ्कायका डिन डा माणिकरत्न शाक्यले छोटो अवधिको शैक्षिक कार्यक्रममा विदेशी विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए । अमेरिकाका विद्यार्थीहरुले बौद्ध अध्ययनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय रोजेको भन्दै उनले धन्यवाद दिए । यसअघि चिनियाँ विद्यार्थीको टोलीले छोटो अवधिको बौद्ध अध्ययन गरेको थियो ।

इन्टरनेसनल जेन मेडिटेसन सेन्टर क्यालिफोर्नियाकी प्रमुख भिक्षुणी ज्यु नेले लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गर्न पाउँदा आफूहरु उत्साहित भएको बताइन् । बौद्ध शिक्षाको विकासका लागि आफूहरुले सहकार्यमा काम गर्दै जाने बताइन् ।

छोटो अवधिको शैक्षिक कार्यक्रम सञ्चालनमा सहजीकरण गरेका विश्वविद्यालयका सहप्राध्यापक डा सागर न्यौपानेले छोटो अवधिका कार्यक्रममा विदेशी विद्यार्थीहरुको आकर्षण देखिएको बताए । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा घुम्न आउने अध्येताहरुले छोटो अवधिको शैक्षिक कार्यक्रम लिन सक्ने भएकाले यसले फाइदा हुने उनले बताए ।

विश्वविद्यालयले बौद्ध अध्ययन संकायअन्तर्गत विभिन्न छोटो अवधिका शैक्षिक कार्यक्रमहरु घोषणा गरेको छ । तीन दिनदेखि १५ दिनसम्मका शैक्षिक कार्यक्रमहरु प्राज्ञिक परिषद्बाट स्वीकृत गरी लागू गरिएको डिन शाक्यले बताए । व्यक्तिगत तथा समूहगत रुपमा छोटो अवधिको बौद्ध अध्ययन गर्न सकिने उनले बताए । बौद्ध अध्ययन, लुम्बिनीको चिनारी, विपश्यना ध्यानसहितको पाठ्यक्रम डिजाइन गरिएको छ ।

रूकुम पूर्वमा हिउँ खेल्न लोभिएका पर्यटक

रुकुम पूर्व ।  हिउँ कसैको लागि रहर छ भने कसैको लागि कहर बनिदिन्छ । हिउँ हेर्न र खेल्न जानेहरूको लागि रहरको विषय हो, तर हिउँसँगै गुजारा गर्नेहरूको पीडा छुट्टै हुन्छ।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा वर्षमा एक-दुईपटक अनिवार्य हिउँ परेकै हुन्छ । यस वर्ष पनि गत साता शुक्रबार र शनिबार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भयो भने तल्लो क्षेत्रमा वर्षा भयो । जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रहरू हिमपात भएपछि सेतै भए ।

कालो पत्थरमा परिणत भइसकेको सिस्ने हिमाल सेताम्य भएको छभने पुथा हिमाललगायत धौलागिरि रेञ्ज पूरै सेताम्य छ । मध्यपहाडी लोकमार्गको लुकुम पातिहाल्ना खण्डको पाँच-सात किलोमिटर दूरीको मोटर यात्रामा हिउँसँग साक्षात्कार हुँदै गर्न सकिन्छ । रूकुम पूर्व–बागलुङ सिमाना पातिहाल्नाबाट उकालो चढेर चौँरी लेक र किलाचन लेकमा पुग्दा त्यहाँबाट देखिने सिस्ने हिमाल, पुथा हिमालको दृश्यसँगै सुन्दर ढोरपाटनको फाटले मानिसहरूलाई मन्त्रमुग्ध बनाउने गर्दछ ।

हिउँ परेसँगै आन्तरिक पर्यटकहरू लोभिने गर्दछन् । पातिहाल्नामा अहिले दैनिक हिउँ खेल्नेहरूको भीड लाग्ने गर्छ । यस क्षेत्रमा रूकुम पूर्वको विभिन्न ठाउँसहित रोल्पा, रूकुम पश्चिम, बागलुङ, दाङ, सल्यानबाट हिउँ खेल्न आउने गरेका छन् । कतिपय मानिसहरू पोखरा र बुटवलबाट समेत हिउँ खेल्न पातिहाल्नामा पुगेको होटेल व्यवसायी किस्मत घर्तीले बताए।

हिउँ परेको समयमा हिउँ खेल्न आउने मानिसहरूको जमघटले होटलमा भ्याइनभ्याइ हुने गरेको उनले सुनाए ।

“टाढाबाट आएका मानिसहरू बास बस्न खोज्छन्, होटेल व्यवसायी घर्तीले भने, ‘यो पातिहाल्नामा दुईवटा कटेज मात्र छन्, पाहुनाहरूलाई बास बसाल्न सकिने अवस्था छैन् ।’

तर हिउँ परेको समयमा आन्तरिक पर्यटकहरूको जमघटले यो क्षेत्रमा रौनकता थप्ने गरेको उनको भनाइ छ।

मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्ने सबै यात्रुहरूले पातिहाल्नामा एक छिन गाडी रोकेर वरपरको दृश्यलाई नियाल्ने र फोटो ‘क्लिक’ गरेर मात्र आफ्नो यात्रालाई अगाडि बढाउने गरेका छन् । पातिहाल्नामा हिउँ परेपछि बर्सेनि आफूहरू समूह बनाएर हिउँ खेल्न आउने गरेको रूकुम पश्चिमबाट आएका चन्द्रबहादुर कुँवरले बताए।

यसै पनि यो क्षेत्र रमणीय भएको र यहाँबाट अन्य विभिन्न गन्तव्यहरूमा जान सकिने भएको कारण अन्य समयमा पनि आउने गरेको बताउँदै उनले हिउँ परेको समयमा जसरी नि यहाँ पुग्ने गरेको सुनाए।

प्रायः मानिसहरू हिउँ खेलेर पातिहाल्नाबाट फर्कने गरेका छन् । केही मानिसहरू थप सुन्दर दृश्यलाई नियाल्नका लागि किलाचन र चौँरी लेकसम्म पुग्ने गरेका छन् । चौँरी लेकबाट यतिबेला सिस्ने हिमाल र पुथा हिमालसँगै धौलागिरि रेन्ज र ढोरपाटनको सुन्दर फाँट बडो गजब देखिने गरेको रोल्पाका मिलन मगरले बताएका छन्। यो चौँरी क्षेत्र हिउँदमा हिउँको घुम्टो ओढ्दा र बर्खामा आगनभरि रङ्गीविरङ्गी फूलहरू फुल्दा निकै सुन्दर देखिने उनले बताए।

पातिहाल्ना क्षेत्रमा हिउँ नपग्लिँदासम्म हिउँ हेर्न आउने आन्तरिक पर्यटकहरूको आगमन नरोकिने भूमे गाउँपालिका–१ का दिलचन पुनले बताए।

पातिहाल्नामा दैनिक रूकुम पूर्वसहित विभिन्न छिमेकी जिल्लाहरूबाट आउने आन्तरिक पर्यटकहरू फोटो, भिडियो खिच्न, टिकटक बनाउनमै व्यस्त देखिने गरेको उनले बताए।

कतिपय मानिसहरू एकअर्कालाई हिउँ हानेर रमाइरहेको दृश्य पनि देख्न सकिन्छ । रूकुम पूर्व, बागलुङ र रोल्पा तीन जिल्लाको सिमानामा रहेको पातिहाल्ना र यस आसपासको क्षेत्र प्रचुर पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।

भुवन र मेलिना राईको ‘सर्माइ भागेर’

काठमाडौँ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को श्रव्यदृश्य सार्वजनिक गरिएको छ । आज जमलस्थित विश्वज्योति सिनेप्लेक्समा आयोजित पत्रकार सम्मेलनमा अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा कार्की र निर्देशक फिरोज तिमिल्सेनाले संयुक्त रूपमा सो गीत सार्वजनिक गरेका छन् ।

निर्देशक तिमिल्सेनाले गायक श्रेष्ठले सुनाउँदा नै गीत मन परेकाले यसलाई श्रव्यदृश्य बनाएर सार्वजनिक गरिएको स्पष्ट गरे । उनले भने, “केही समयदेखि म नेपाल बाहिर छु । हामी प्रवासमा रहे तापनि नेपाली गीतसंगीत र संस्कृतिप्रति अगाध माया छ । यसै सन्दर्भमा गायक श्रेष्ठले सुनाएको गीत मन परेपछि नेपाल आएर श्रव्यदृश्य बनाएर सार्वजनिक गर्ने सल्लाह भएबमोजिम आज पत्रकार सम्मेलन गरेका हौँ । यो गीत हेर्नेभन्दा पनि बढी सुन्ने किसिमको छ ।”

उनले मकवानपुरको कुलेखानी आसपासका दृश्यमा गीतको शब्दको भाव झल्किने किसिमले श्रव्यदृश्य तयार गरेको जानकारी दिए । यस गीतमा देखिएका अभिनेता खड्काले अभिनेत्री कार्कीसँग ‘दर्पण छायाँ २’ चलचित्रपछि काम गर्दा पुराना दिन स्मरण गरेको बताए।

“हामी अभिनेता र अभिनेत्रीका हैसियतले एकै चलचित्रबाट आफ्नो अभिनय यात्राको सुरुआत गरेका थियौँ । आज आठ वर्षपछि पुनः गीतको श्रव्यदृश्यमा देखिन पाउँदा खुसी छु । अभिनेत्री कार्की र निर्देशक खड्का प्रवासमा रहेर पनि नेपाली गीतसंगीतप्रति लगाव राख्नुहुन्छ, यसमा उहाँहरूले देखाउनुभएको माया र सद्भाव अनुकरणीय छ,” अभिनेता खड्काले भने ।

अभिनेत्री कार्कीले सुरुआती चलचित्रमा काम गर्दा नै अभिनेता खड्कासँग सहज लागेको स्मरण गर्दै उनले भने, “अभिनेता खड्कासँग काम गर्दा छुट्टै उत्साह थपिन्छ । उनको मेहनती स्वभावले म जस्तो नयाँ कलाकारलाई पनि काम गर्ने ऊर्जा मिल्छ । यो गीत सार्वजनिक नहुँदै मैले सुनिरहनेमध्येको एक थियो, त्यसकारण श्रव्यदृश्यमा अभिनय गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु ।”

गीतको श्रव्यदृश्यमा गीता अधिकारीले पनि अभिनय गरेकी छन् । श्रव्यदृश्यमा अर्जुन तिवारीले छायाङ्कन, विकास दाहालले सम्पादन, राजेन्द्र मोक्तानले रंग संयोजन र ज्योति केसीले शृङ्गार गरेका छन् ।

नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु

काठमाडौँ । देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोँगबुस्थित नयाँबसपार्कका सबै टिकट ‘काउन्टर’ बाट ‘अनलाइन’ प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ ।

मुलुकको एक मात्र राष्ट्रिय बसपार्क नयाँबसपार्कलाई प्रविधिमैत्री बनाउँदै यात्रुलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि बसपार्कभित्रका ४७ वटै टिकट काउन्टरबाट अनलाइन प्रणालीबाट टिकट काट्न सुरु गरिएको हो ।

काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेर लोत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गरेको नयाँबसपार्कमा यातायात व्यवसायीको सहकार्यमा बसपार्कका टिकट काउन्टरलाई अनलाइन प्रणालीमा लगिएको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ७० जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । यसबाहेक सिन्धुपाल्चोक, ओखलढुङ्गा, दोलखा, रामेछाप, खोटाङलगायत जिल्लामा भने कोटेश्वरबाट सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

नयाँबसपार्कबाहेक हाल राजधानीको कलङ्की, पुरानो बसपार्क, गौशाला, कोटेश्वर र सोह्रखुट्टेबाट सवारीसाधन विभिन्न जिल्लामा आवतजावत गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाले भने सबै सवारीसाधनलाई नयाँबसपार्कबाट आवतजावत गराउने लक्ष्यका साथ काम गरिरहेको छ ।

विसं २०५६ मा काठमाडौँ महानगरपालिकाका प्रमुख र लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्षबीच ‘सार्वजनिक–निजी साझेदारी’ अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।

उक्त बसपार्कभित्र बाहिरी जिल्लाबाट आएका बस र उपत्यकाभित्र सञ्चालनमा रहेका बसलाई पार्किङका लागि छुट्टाछुट्टै बसपार्कस्थल निर्माण गरिएको छ । नयाँ बसपार्कमा हाल ८०० सवारीसाधन पार्किङ गर्न मिल्ने ठाउँ रहेको छ । हाल उक्त बसपार्कबाट ३५० देखि ४०० सवारीसाधन विभिन्न जिल्लामा ओहोरदोहोर गर्दै आएका छन् ।

देशलाई समृद्ध बनाउन राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्छ : महासचिव चन्द

कर्णाली । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले देशलाई समृद्ध बनाउनका लागि राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘पत्रकार सम्मेलन’ मा उनले कृषि तथा आर्थिक क्रान्तिबाट आत्मनिर्भर मुलुक निर्माण अबको मूल सवाल भएको बताए । उत्पादनसँग जोडिएको पार्टीको अभियानअन्तर्गत सल्यान, रुकुम, रोल्पा, जुम्ला, कालीकोट, दैलेख हुँदै एक महिनाको अवधिमा सुर्खेत आई पुगेका उनले गफ चुट्ने नेताबाट देशको रुपान्तरण सम्भव नभएको तर्क गरे ।

उनले भने, “उत्पादनविनाको सुखभोग गर्नु कि भ्रष्टाचार हो कि त भने शोषण गर्नु नै हो । अब उत्पादन अभियानमा जोडिनुको विकल्प छैन । हरेकले पहिलो आफ्नो पार्टी, नेता, कार्यकर्ता आत्मनिर्भर बनाउँ अनि मात्र जनतालाई गएर उत्पादनमूलक कार्यमा जोडौँ । विदेशी एवं दातृ निकायहरुसँग ऋण लिने वा भिख मागेर देश समृद्ध बन्न सक्दैन ।”

उनका अनुसार कर्णालीका डाँडापाखा ढाकिने गरी स्याउ तथा अन्य कृषि कार्य गर्न सकिन्छ तर अचेल कम्युनिष्ट नेतामा आवारा प्रवृत्ति बढ्दै गएको छ । नेता विप्लवले भने, “जनतामा जाँदा हरेकले माओवादी एक हुनुपर्ने इच्छा व्यक्त गरेको पाइयो ।”

उपयोग र निषेधवादी नीतिबाट नभई रुपान्तरणकारी सोच र उद्देश्यबाट माओवादी तथा कम्युनिष्ट एकता हुने र त्यो सम्भव रहेको महासचिव चन्दले बताए । राजनीतिक गर्नेले श्रम गर्नुपर्ने भन्दै उनले जुम्लामा ७०० स्याउका बिरुवा रोप्नाका साथै कालीकोटमा भेडा फार्म उद्घाटन गरिएको जनाए । भेडा फार्ममा अहिले करिब १५० भेडा रहेको र त्यसमा स्थानीय जनताले सहयोग गरेको उनले बताए ।

हिमपातले ढोरपाटन क्षेत्रका विद्यालयका विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

ढोरपाटन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी परेका छन् । एउटै विद्यालयका ५० बढी विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित भएको हो । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ज्योति विकास माध्यमिक विद्यालय र सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी परेका हुन् ।

ज्योति विकास माध्यमिक विद्यालयका १८३ जना विद्यार्थीमध्ये करिब १०० विद्यार्थी मात्रै पढ्न आएको प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए । विद्यालय आएका विद्यार्थीहरु पनि ज्वरो र रुघाखोकीबाट ग्रसित बनेको उहाँको भनाइ छ । बिहीबार रातिदेखि नै ढोरपाटनमा हिउँ परेको थियो । 

विद्यालयमा बालबालिकालाई न्यायो बनाउने कुनै पनि सामग्री नहुँदा चिसो सिरेटाका कारण विद्यार्थी बिरामी परेको प्रधानाध्यापक अदैले सुनाए । बालबालिका बिरामी हुन थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने स्थिति आउन सक्ने उनको भनाइ छ । 

चिसोका कारण गत पुस २० गतेदेखि बन्द भएको विद्यालय माघ २० गतेदेखि सञ्चालनमा आएको अदैले जानकारी दिए । “गर्मी बढ्ने बेला हिउँ पर्यो, धेरै विद्यार्थी बिरामी परेर पठनपाठन प्रभावित बनेको छ, दुई दिन हिउँ पर्यो, चिसो सिरेटो चल्ने गर्छ, माथिल्लो डाँडामा अझै बाक्लो हिउँ छ,” अदैले भने, “विद्यालयमा बालबालिकाको उपस्थिति कम हुँदै गएको छ, चिसोका बेला विद्यार्थीलाई न्यायो बनाउने सामग्री हुन्थ्यो भने पठनपाठन गर्न सहज हुन्थ्यो, चिसो ठाउँमा सिमेन्टका भवन छन्, त्यसले झन् चिसो हुन्छ ।”

उनले कोठा चिसो हुँदा मैदानमै बसेर पढाउने गरेको भन्दै दिनभर चिसो सिरेटो चल्दा पठनपाठन गर्न समस्या भएको सुनाए । कक्षाकोठामा हिटरको व्यवस्थापन गर्न सके सहज हुने अदैको भनाइ छ ।

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले पूर्वधार निर्माणबाहेक अरू केही नगरेको बताए । चिसो ठाउँमा बालबालिकालाई सुरक्षित साथ पठनपाठन गराउन न्यानो प्रदान गर्ने सामग्रीहरु उपलब्ध गराउन आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले आज खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव तथा भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवद्र्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने सम्झौतापत्रको लक्ष्य छ ।”

भारत र नेपाल दुवै देशहरूबीच मैत्रीपूर्ण सहकार्यलाई प्रवद्र्धन गर्ने र स्वच्छता क्षेत्रमा अन्तर–सरकारी सहकार्यलाई सुदृढ, जल सुरक्षासम्बन्धी नेपाल सरकारका प्रयास तथा चिन्ताहरूलाई स्वीकार गर्दै, नेपालमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने र सुरक्षित वातावरणमा जनताको जीविकोपार्जनलाई सक्षम तुल्याउने उद्देश्य लिइएको छ ।

सम्झौतामा भूमिगत पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदानप्रदान, बर्सातको पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने उल्लेख छ ।

कार्यक्रममा भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, भारत सरकारको जलशक्ति मन्त्रालयका सचिवद्वय अशोक मिणा, देवश्री मुर्खजी, नेपाली राजदूतावासका उपनियोग प्रमुख डा सुरेन्द्र थापा, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठलगायतको सहभागिता छ । मन्त्री यादव भोलि मङ्गलबार स्वदेश फर्किने तालिका छ । 

स्ववियु चुनावको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड

भैरहवा । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा सत्तारुढ बाहिर रहेका दल निकट विद्यार्थी संगठनहरुले स्ववियू निर्वाचनको विषयलाई लिएर तोडफोड गरेका छन् ।

आगामी ५ चैतमा हुने स्ववियु चुनावका लागि सोमबार देशभरका क्याम्पसहरुमा अपराह्न तीन बजेसम्म विद्यार्थी संगठन दर्ताको समय तोकिएको छ । तर, भैरहवा बहुमुखी क्याम्पसमा ५ विद्यार्थी सङ्गठनहरूले आइतबार साँझ नै स्ववियु निर्वाचन कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेश विद्यार्थी युनियनले विभिन्न माग राखी क्याम्पस रहेको निर्वाचन आयोगको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

निर्वाचन तालिकाअनुसार निर्वाचन आयोगले आफ्नो प्रक्रिया अगाडि बढाउनका निम्ति सोमबार ५ विद्यार्थी संगठनसँग बैठक बसालिरहेका बेला नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु संगठन दर्ता गरी पाउँ भन्दै बैठक हलमा बाजागाजासहित प्रवेश गरेको थियो ।

यसपछि विरोधमा उत्रिएका पाँच विद्यार्थी संगठनले तोडफोड गरेका हुन् । समाजवादी विद्यार्थी युनियनका इकाई इन्चार्ज इरफान अलीले बैठक कक्षमा अनेरास्ववियुका कार्यकर्ता प्रवेश गरेर होहल्ला गरेपछि पाँच विद्यार्थी संगठनका सदस्यहरू आक्रोशित भएर तोडफोडमा उत्रिएको जानकारी दिए । विद्यार्थीहरूको तोडफोडले केही कुर्सी भाँचिएका छन् । विद्यार्थीहरूले क्याम्पस प्राङ्गढमा टायर बालेर विरोधसमेत जनाएका थिए ।

निर्वाचन तालिकाअनुसार सोमबार संगठन दर्तापछि २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ ।

प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवैतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

दुवैतर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवैतर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

दुवैतर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ । दुवैतर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिनेछ । र, ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म स्ववियु नेतृत्व चुन्न मतदान हुने कार्यतालिका छ । तर, भैरहवा बहुमुखीमा विद्यार्थी संगठनहरूका बीच भएको विवादले निर्वाचन हुने–नहुने अन्योलमा भएको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न तीन सय कम्पनीका तीन करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ५५ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि जीवन बीमा शून्य दशमलव ७७, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, म्युचुअल फन्ड एक, निर्जीवन बीमा शून्य दशमलव ४६ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव ३५, विकास बैंक शून्य दशमलव ८४, वित्त शून्य दशमलव ९३, होटल तथा पर्यटन एक दशमलव ८८, जलविद्युत् एक दशमलव २१, लगानी समूह शून्य दशमलव २४, लघुवित्त शून्य दशमलव ८८ र व्यापार शून्य दशमलव ८४ प्रतिशतले घटेको छ ।

आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब ३८ करोड ७४ लाख ४७ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १७ लाख ७१ हजार पाँच सय ५० कित्ता शेयर किनबेच भएको छ ।

पूर्वयुवराज पारसलाई हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।

अहिले उनको स्वास्थ्य सुधारोन्मुख चिकित्सकले बताएका छन् । उनको अहिले एन्जियो प्लास्टिक गरिएको छ । उनलाई यसअघि तीन पटक हृदयघात भइसकेको छ ।

रुसविरुद्धको साइबर गतिविधिसम्बन्धी कारबाही रोक्न अमेरिकी रक्षा प्रमुखको निर्देशन

वासिङ्टन । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले रुसविरुद्धको साइबर कारबाहीलाई रोक्न आदेश दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

न्युयोर्क टाइम्सका अनुसार यो आदेश मस्कोविरुद्ध अमेरिकी कारबाहीको समग्र पुनर्मूल्याङ्कनको एक हिस्सा हो ।

एएफपीले सोधेको प्रश्नमा पेन्टागनले कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ ।

एक वरिष्ठ रक्षा अधिकारीले भने, “परिचालन सुरक्षा चिन्ताका कारण हामी साइबर इन्टेलिजेन्स, योजना वा कारबाहीबारे टिप्पणी गर्दैनौँं र छलफल पनि गर्दैनौँ।”

उनले भने, “साइबर डोमेन समावेश गर्न सबै अपरेसनहरूमा ‘वारफाइटर’को सुरक्षाभन्दा रक्षामन्त्री हेगसेथको ठूलो प्राथमिकता छैन।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्यका लागि वार्ताका लागि दबाब दिइरहेका बेला र ह्वाइट हाउसमा भएको बैठकमा अमेरिकी नेताले आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीको आलोचना गरेको केही दिनपछि यो परिवर्तन आएको हो ।

पश्चिमा देशहरूले क्रेमलिनले युक्रेनको समर्थनलाई कमजोर पार्ने उद्देश्यले श्रृङ्खलाबद्ध घटनाहरूको योजना बनाएको आरोप लगाएका छन्।

यसैबीच, ट्रम्पले आफूलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्कीबीचको मध्यस्थकर्ताको रूपमा प्रस्तुत गर्दै पुटिनसँग सम्बन्ध गाँस्ने क्रममा किएभ र युरोपलाई किनारा लगाएका छन् ।

“हामीले पुटिनको बारेमा चिन्ता गर्न कम समय बिताउनुपर्छ,” ट्रम्पले आइतबार राति आफ्नो ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेखेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले सीएनएनसँगको कुराकानीमा रुससँगको सम्बन्ध पुनः खोल्ने विषयमा कुरा गर्दै साइबर नीति परिवर्तनको खबरको खण्डन गरेका छन् ।

वाल्ट्जले भने, “यो हाम्रो छलफलको हिस्सा भएको छैन। यस युद्धको अन्त्य गर्न सबै प्रकारका दण्ड र पुरस्कारहरू लागु हुनेछन्।”

जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित

टोकियो । जापानको जङ्गलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि करिब एक हजार ७०० अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले सोमबार बताएका छन् ।

गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको थियो । उक्त क्षेत्रमा गत बर्ष अहिलेसम्मकै अत्यधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको थियो ।

ओफुनाटो शहरनजिकै बिहीबारदेखि लागेको डढेलो करिब दुई हजार १०० हेक्टर जमिन क्षेत्रमा फैलिएको अग्नि तथा विपद् व्यवस्थापन निकायले सोमबार जनाएको छ ।

जापानका १४ वटा क्षेत्रका अग्निनियन्त्रक र सेनासहित १६ वटा हेलिकप्टरले आगो निभाउने प्रयास गरिरहेका छन् ।

भूकम्पले आइतबारसम्म ८४ वटा भवनमा क्षति पु¥याएको अनुमान गरिएको छ तर विस्तृत विवरण आउन बाँकी रहेको विपद् व्यवस्थापन निकायले जनाएको छ ।

अधिकारीहरूका अनुसार करिब तीन हजार २०० भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । राष्ट्रिय प्रसारक एनएचकेको ओफुनातोको बिहानको फुटेजमा भवनहरू नजिकै सुन्तला रङ्गको ज्वाला र धुवाँ उडिरहेको देखिएको छ।

जापानमा सन् १९७० को दशकमा डढेलोको चरम बिन्दुमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

तर सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा देशभर करिब एक हजार ३०० हेक्टरको हाराहारीमा जङ्गलमा डढेलो फैलिएको थियो । ओफुनाटोमा फेब्रुअरीमा मात्र २.५ मिलिमिटर (०.१ इन्च) वर्षा भएको थियो । 

विद्युतीय सवारीसाधन खरिदमा ऋण मूल्य अनुपात बढाउन महासंघको माग

काठमाडौँ । यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीसाधन र डिजेलबाट सञ्चालित सवारीसाधनको खरिदका लागि मौद्रिक नीतिले गरेको व्यवस्था हटाउन माग गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले विज्ञप्ति जारी गरी विद्युतीय सवारीसाधनको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको सरकारले सोही सवारीसाधन खरिदका लागि मौद्रिक नीतिमा भएको व्यवस्थाले व्यवसायीहरु मारमा परेको दाबी गरे ।

हरित ऊर्जालाई उच्च प्राथमिकता दिने निर्णय गरेको सरकारले वायु प्रदूषण न्यूनीकरण र स्वदेशमा उत्पादित ऊर्जालाई खपत गर्न विद्युतीय सवारीसाधन खरिदमा सहुलियत दिनुपर्ने साटो मौद्रिक नीतिले विद्युतीय सवारीसाधन प्रयोगलाई निरुत्साहित गरेको महासङ्घको जिकिर छ ।

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत विद्युतीय सवारी खरिदमा ऋण मूल्य अनुपात घटाएर ६० प्रतिशत बनाएको थियो । यसअघि उक्त व्यवस्था ८० प्रतिशत थियो ।

अर्थात् अब विद्युतीय सवारी साधन खरिदमा बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ६० प्रतिशत ऋण पाइन्छ । महासङ्घले विद्युतीय सवारीसाधन तथा डिजेलका सवारीसाधन खरिदमा ऋण मूल्य अनुपात ८० प्रतिशत बनाउन माग गरेको छ ।

रेडियो फ्रिक्वेन्सी बाँडफाँटमा स्पष्टता नहुँदा समस्या

 काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्राकृतिक स्रोत अन्तर्गतको ‘रेडियो फ्रिक्वेन्सी’को ‘रोयल्टी’ बाँडफाँटमा थप स्पष्टता जरूरी रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँटका सन्दर्भमा आयोजित छलफलका क्रममा उनले रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँटका सम्बन्धमा भएको नयाँ सिफारिसमा थप स्पष्ट आवश्यक रहेको धारणा राखे ।

‘प्राकृतिक स्रोतको उपयोगबाट प्राप्त हुने रोयल्टी हो कि शुल्क हो भन्ने विषयमा पनि पहिले स्पष्ट हुन जरूरी छ’, उनले भने, ‘कुन तहमा कति रकम बाँडफाँट गर्ने भन्ने विषय सुरूमा क्षतिपूर्ति र पछि लाभ वितरणका आधारमा गर्न सकिन्छ, सिफारिसमा मेरो असहमतिभन्दा पनि थप छलफल आवश्यक ठानेको छु।’ उनले यसप्रकारको रकम वितरणमा बृहत् छलफल जरूरी भएको उल्लेख गरे ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरूङले प्राकृतिक स्रोतअन्तर्गतको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँटका लागि आयोगले सिफारिससहितको प्रतिवेदन बुझाइसकेको उल्लेख गरे । उनले आफूहरूले यस विषयमा अर्थमन्त्रीलाई जानकारी गराइसकेको उल्लेख गर्दै संविधानको धारा, ६९ को उपधारा ४ बमोजिम नै बाँडफाँटको सिफारिस गरिएको उल्लेख गरे ।

आयोगले रोयल्टी बाँडफाँटका लागि प्रदेशको भौगोगिक क्षेत्रलाई ३० प्रतिशत, बिटिएस टावरलाई ३० प्रतिशत, जनसङ्ख्यालाई २५ र मोबाइल प्रयोगकर्ताको सङ्ख्यालाई १५ प्रतिशत आधार बनाएको छ।

‘सन् १९७२ मा अमेरिकाको सर्वोच्च अदालतले रेडियो फ्रिक्वेन्सीलाई पनि प्राकृतिक स्रोत मानेर सेवाप्रदायकबाट रोयल्टी उठाउने फैसला गरिसकेको छ’, उनले भने, ‘विभिन्न देशका संविधानमा पनि यसलाई प्राकृतिक स्रोतका रूपमा उल्लेख छभने नेपालमा पनि विभिन्न नीतिमा यसलाई प्राकृतिक स्रोतका रूपमा उल्लेख गरेको छ।’ उनले रेडियो फ्रिक्वेन्सीअन्तर्गत सबैभन्दा बढी ‘सेलुलर’बाट रोयल्टी प्राप्त भइरहेको बताए।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्माले रेडियो फ्रिक्वेन्सीको रोयल्टी तीनवटै तहका सरकारमा न्यायोचित वितरण आवश्यक भएको र सोही अनुसार आयोगले सिफारिस गरेको बताए ।

प्राकृतिक स्रोतको वितरण समन्यायिक रूपमा हुनुपर्नेमा उनले जोड दिए । ‘आयोगले रेडियो फ्रिक्वेन्सी रोयल्टी बाँडफाँट तीन वटै तहमा हुनुपर्ने गरी सिफारिस गरेको छ, आयोगको प्रतिवेदन सम्बन्धित संसदीय समितिमा छलफल हुन बाँकी छ’, उनले भने, ‘आगामी आर्थिक वर्षदेखि उक्त व्यवस्था लागू हुने अपेक्षा गरेका छौँ।’

उनले सरकारलाई स्रोतको अभाव भइरहेका बेलामा प्राकृतिक स्रोतबाट प्राप्त हुने आम्दानी ठूलो सहयोग पुग्ने बताए । विशेषगरी प्राकृतिक स्रोतबाट हुने आम्दानीको बाँडफाँट स्थानीय तहसम्म पुग्यो भने त्यसलाई स्थानीय तहको स्रोत सुनिश्चितमा सहयोग पुग्ने र यसले बजेट निर्माणमा सहज हुने बताए । जुन संविधानमा उल्लेख भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहेको उनको भनाइ थियो ।

त्यस अवसरमा रेडियो फ्रिक्वेन्सी रोयल्टी बाँडफाँटका सम्बन्धमा ई खिमानन्द कँडेल र ई भुवन पौडेलले संयुक्त प्रस्तुतीकरण दिएको थियो । सरकारले हाल सेवाप्रदायकहरूसँग उनीहरूको वार्षिक नाफाको चार प्रतिशत रकम रेडियो फ्रिक्वेन्सी रोयल्टीका रूपमा लिँदै आएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा रू दुई अर्ब ३० करोड, आव २०७५/७६ मा रू तीन अर्ब ८७ करोड, आव २०७६/७७ मा रू तीन अर्ब ७२ करोड, आव २०७७/७८ मा रू तीन अर्ब ५२ करोड र आव २०७८/७९ मा रू तीन अर्ब ५२ करोड फ्रिक्वेन्सी दस्तुतर प्राप्त भएको छ ।

१६ पत्रकारलाई कदरपत्र

कार्यक्रममा सेजनबाट सार्वजनिक वित्त व्यवस्थापन विषयको स्थानीय तथा प्रादेशिक रिपोर्टिङहरूको सँगालो विद्युतीय पुस्तक सार्वजनिक गरिएको थियो । साथै उक्त कार्यमा सहयोग पुर्‍याउने १६ जनालाई कदरपत्र प्रदान गरियो ।

सेजनका महासचिव विश्वास रेग्मीका अनुसार दुई समूहमा विभाजन गरी ‘फेलोसिप’ प्रदान गरिएको थियो । उनका अनुसार सङ्घबाट अच्युत पुरी र रञ्जित तामाङलाई कदरपत्र प्रदान गरियो ।

त्यसबाहेक कोशी प्रदेशबाट चीना थापा र जुनु भट्टराई, मधेस प्रदेशबाट मो इन्तेखाब आलम र हदिश खुद्दार, बाग्मती प्रदेशबाट सुनिल श्रेष्ठ र केशव समर्पणलाई कदरपत्र प्रदान गरिएको थियो ।

गण्डकी प्रदेशबाट दुर्गा राना मगर र रीना थापा, लुम्बिनी प्रदेशबाट सिपी खनाल र सुदीप भण्डारी, कर्णाली प्रदेशबाट ओम शाही र टेकराज केसी तथा सुदूरपश्चिमबाट गोकर्ण दयाल र मुकेश चौधरीलाई कदरपत्र प्रदान गरिएको हो। उनीहरूले सार्वजनिक वित्त व्यवस्थापनमा सम्बन्धित भूगोल केन्द्रित रिपोर्टिङ गरेका थिए ।

हुबहु अध्यादेश पारित हुने अवस्था छैनः मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएको अध्यादेश पारित हुने अवस्था नरहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा कांग्रेससँग छलफल गरेपनि संसदमा लैजाँदा पार्टीहरुबीचमा असन्तुष्टि आउँदा यथास्थितिमा पारित नहुने अवस्था सिर्जना भएको बताएका हुन् ।

उनले भने, ‘अध्याादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल त गर्नुभएको थियो । तर, अहिले संसद्मा लैजाने विषयमा सर्वसहमत हुने अवस्था देखिएको छैन । यथास्थितिमा हुबहु पारित हुने अवस्था छैन् ।’

अध्यादेश जारी गर्ने सरकारको संवैधानिक अधिकार भएपनि आवश्यकता महशुस फरक ढंगले भएको भन्दै उनले हुबहु पारित नभए प्रतिस्थापन विधेयकमार्फत संसदीय प्रकृयामा जाने र पारित हुने बताए ।

कांग्रेससहितका दलहरुका प्रश्नको जवाफ नआउँदै संसदमा टेबुल हुने अवस्था नरेहेको बताउँदै तत्काल पास हुने अवस्था नभएको जिकिर गरे ।

उनले भने, ‘अध्ययादेशन पास गराउन बिचार गरेर ल्याउनु पर्दथ्यो । हतारमा ल्याउनु भएको संसदमा आरोप थियो । राष्ट्रिय सभामा संख्या नपुगेका कारणले पास हुने अवस्था रहेन् । कांग्रेस सहितका दलहरुका प्रश्नको जवाफ नआउँदै टेबुल हुने अवस्था आउँदैन र पारित हुँदैन ।’

प्रदेशको अधिकार कटौती गरेर सङ्घीयता बलियो हुँदैन

काठमाडौँ । राष्ट्रियसभाको सांसद भएको तीन वर्ष भयो । राष्ट्रियसभा निकै महत्वपूर्ण संस्था भए पनि यसको भूमिका साँघुरो बनाइएको छ । प्रतिनिधिसभाको तुलनामा राष्ट्रियसभाको भूमिका अलिक कम देखिन्छ । जसरी सरकार निर्माणमा प्रतिनिधिसभाको भूमिका हुन्छ, त्यसरी राष्ट्रियसभाको भूमिका हुँदैन । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा पनि प्रतिनिधिसभा नै हाबी हुने गरेको छ ।

राष्ट्रियसभाबाट बजेट पारित गर्नु भनेको एउटा प्रक्रिया मात्रै पूरा गरेको होजस्तो लाग्छ । यी विभिन्न कारणले गर्दा राष्ट्रियसभा ओझेलमा परिरहेको भान हुन्छ । तथापि, राष्ट्रियसभामा तीन वर्षसम्म रहँदा मुख्यगरी संविधानको मर्मअनुसार कानुन निर्माणमा सक्दो पहल गरेको छु । जनताका जल्दाबल्दा समस्यालाई संसद्मार्फत सरकारसम्म पुर्याउने काम गरेको छु । राष्ट्रियसभाले धेरै ऐनहरु विस्तृत रुपमा छलफल गरेर, आफ्ना अनुभव आदानप्रदान गर्दै पारित गरेको छ । 

संविधानको धारा, ३०४ मा ‘संविधान निर्माणपछिको एक वर्षभित्र सबै पुराना कानुनको सट्टा नयाँ कानुन बनाइने छ,’ भनिएको छ । तर त्यसको कार्यान्वयन हुन सकेको छैन । संविधान जारी भएको यो १० वर्षको अवधिलाई हेर्दा जति कानुन बन्नुपर्ने हो त्यति बन्न सकेका छैनन् । अझै पनि मौलिक हकअन्तर्गतका धेरै कानुन बनेका छैनन् । राजनीतिक अस्थिरताका कारण पनि संविधानअनुसार ठीक समयमा कानुन निर्माण हुन सकेको छैन । सरकार परिवर्तन भइरहने कारणले पनि कानुन निर्माणमा प्रभाव परेको छ । सङ्घीय निजामती सेवा ऐन र प्रहरी ऐन अहिलेसम्म ल्याउन सकिएको छैन । प्रमुख दलहरु नै ऐन बनाउने र ल्याउनेभन्दा पनि आ–आफ्नो राजनीतिक स्वार्थमा केन्द्रित भएको देखिन्छ । 

पछिल्लो समयमा संविधान संशोधनको विषय उठेको छ । ठिकै हो, संशोधन हुुनुपर्छ । तर संविधान संशोधन कुन विषयमा केका लागि गर्ने हो त्यसबारे प्रस्ट हुनुपर्छ । हचुवाको भरमा संशोधन गर्नु हुँदैन । कुनै राजनीतिक दलको लहडका भरमा संशोधन हुनुहुँदैन । कुन विषयमा संशोधन गर्ने हो त्यो विषयलाई लिएर जनतासम्म पुग्नुपर्ने हो । जनताको रायसुझाव लिनुपर्ने हो । तर त्यसो गरेको पाइँदैन । सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल गर्न जरुरी छ । सबै दलको सहमति हुन जरुरी छ ।

सत्तापक्ष र प्रतिपक्षबीच संशोधनको विषयमा पर्याप्त छलफल हुनुपर्छ । निर्वाचन प्रणाली, शासकीय स्वरुप फेर्ने वा के विषयमा संशोधन गर्ने हो त्यो बारे सरकार नै स्पष्ट हुनुपर्छ । संशोधन नै गर्ने हो भने सुशासनको पक्षमा संशोधन हुनुपर्छ । प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था अहिलेको आवश्यकता हो । जनतालाई प्रत्यक्ष रुपमा नेतृत्व चुन्ने अवसर हुन्छ । अहिलेको चुनाव प्रणाली अत्यन्त खर्चिलो पनि छ । त्यसले गर्दा भ्रष्टाचार पनि बढिरहेको छ । यो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ । 

सुशासनका निम्ति सबैभन्दा पहिला सरकारले भ्रष्टाचारीलाई कानुनी कारबाही गर्नुपर्छ । भ्रष्टाचारमा संलग्न जो कोही भए पनि तेरोमेरो नभनी कारबाही गर्नुपर्छ । कानुनको नजरमा सबै एउटै हो । सङ्घीयताको विषय कतिपय दललाई घाँडोजस्तै भएको छ, तर बोल्न मात्रै सकेका छैनन् ।  सङ्घीयतालाई सुदृढ गर्नका लागि प्रदेशलाई अधिकार दिइनुपर्छ ।

अधिकार जति सबै सङ्घीय सरकारले राख्ने तर प्रदेशलाई खुम्चाएर सङ्घीयता बलियो हुँदैन । राज्यस्रोतको बाडँफाँटका लागि सङ्घीयता उच्चतम व्यवस्था हो । तर यहाँ कार्यान्वयन राम्रोसँग हुन सकेको छैन । सङ्घीयताका राम्रा उदाहरण पनि छन् संसारमा । हामीले सङ्घीयता ल्याए पनि त्यसलाई बलियो बनाउनेतर्फ ध्यान दिएनौँ ।

प्रदेश सरकारले आसन पाएको छ तर शासन पाएको छैन । आर्थिक बाँडफाँटको सवालमा पनि सङ्घीयतालाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने काम भएको छ । २०७४ सालपछि विनियोजना गरिएको बजेटहरु हेर्दा प्रदेशलाई दिने बजेट कम हुँदै गएको छ । देशको आर्थिक बजेट बढिरहेको छ, तर प्रदेशको बजेट घटिरहेको छ । 

देश बनाउने हो भने नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलहरु एउटै थलोमा आउनुपर्छ । सुशासनका लागि राजनीतिक दलमा बलियो इच्छाशक्ति हुनुपर्छ । दलहरुले हाम्रो होइन, राम्रोलाई प्राथमिकता दिनुपर्छ । हामी कहाँ उर्वर जमिन छ । त्यसको उपभोग गर्न सकिरहेका छैनौँ । सरकारले कृषिमा लगानी बढाउनुपर्छ । देशभित्र रहेका स्रोतसाधनको उचित प्रयोग गर्दै उत्पादनमा ध्यान दिन सकेको खण्डमा विदेश पलायन हुने युवाशक्ति रोक्न सकिन्छ ।

अर्को कुरा देशको शिक्षा प्रणालीलाई सुधार गरेको खण्डमा पनि युवा पलायन रोक्न सकिन्छ । दिन प्रतिदिन धेरै युवा पलायन हुने क्रम बढ्दै गएको छ । त्यसका बारेमा राजनीतिक दल, नेताहरु र नीति निर्माताहरुले ध्यान दिनुपर्छ । दलका नेताले आफ्नो गल्ती स्वीकार गर्दै देश निर्माणमा जुट्नुपर्छ । समृद्धिका निम्ति दलहरुले साझा विन्दु खोज्नुपर्छ । युवा पलायन रोक्नका लागि नयाँ कलकारखाना खोल्नुपर्छ सरकारले । बजार विस्तार गर्नुपर्छ । आयातलाई निरुत्साही र निर्यातलाई प्रोत्साहन गर्नुपर्छ । सबैभन्दा मुख्य कुरा कृषि र उद्यममा सरकारले ध्यान दिनुपर्छ । 

राष्ट्रियसभा सदस्य मोहम्मद खालिदको परिचय

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य मोहम्मद खालिद राष्ट्रियसभाको सदस्य हुन् । नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका खालिदले कांगे्रेसको गाउँ, नगर, जिल्ला हुँदै केन्द्रीय सदस्यमा रहेर काम गरेका थिए पछिल्लो समय उनी जनता समाजवादी पार्टीमा आबद्ध छन् ।
(कुराकानीको सम्पादित अंश ।)

डोला दर्शनका लागि श्रद्धालुको भीड

महोत्तरी । ‘सियावर रामचन्द्रकी जय हो’ एउटै वाणी, एउटै लय । मिथिला माध्यमिकी परिक्रमाका यात्रीको अचेल मन्त्र पनि यही, जाप पनि यही । प्राचीन मिथिलाका चार सुरका चार महादेव मन्दिरको १३३ किलोमिटरको वृत्तभित्र गरिने १५ दिने मिथिला माध्यमिकी यात्राका सहभागी आज पश्चिम सुरका महादेव श्री जलेश्वरनाथका काखमा छन् । यात्राको पाँचौँ दिन रात्रिबसका लागि आज जलेश्वर आइपुगेका यात्रीको श्री जलेश्वरनाथ मन्दिरमा गुञ्जने ‘जयशम्भो’ को स्वरमा लय मिसिँदो छ ।

कोही ‘जय श्रीराम !’ पुकार्दैछन्, कसैको ‘जयशम्भो’ को पुकारा सुनिन्छ । पिठ्यूँमा फेरफार लुगा र सामल खाजाको पोका, मन र वचनबाट श्रीराम नाम सङ्कीर्तन । माध्यमिकी परिक्रमाको पाँचौँ दिन यात्री जलेश्वर पुग्दा जलेश्वरवासीले हार्दिक स्वागत गरेका छन् । यात्रीको सेवामा हरदम तत्पर छन्, जलेश्वरवासी ।

यात्राको पाँचौँ दिनको विश्रामस्थल जलेश्वरस्थित परिक्रमा पोखरीका चारै डिल यात्रीले खचाखच छ । नगरका सडक भरिभराउ छन् । श्रीराम र श्री जानकीजीको डोला दर्शन गर्न पुग्ने श्रद्धालुको भीड उत्तिकै छ । जलेश्वर नगरभरि स्वागतद्वार र ध्वजापताका सजाइएका छन् । आज जलेश्वर उजेलिएको छ, आज जलेश्वर चहकिएको छ । जताततै भीड छ, तर कोलाहल छैन, भक्तिभजनका स्वर गुञ्जिदाछन् । ‘आजु जलेश्वर सुमङ्गल हे…!’

मिथिलाविहारी (श्रीराम) र किशोरीजी (श्री जानकी) को पदचाप पछ्याउने यात्राको ध्येय अनि कल्याण र मोक्षको कामना । अघि त्रेतायुगमा विवाहपश्चात् श्रीराम र जानकी तत्कालीन मिथिला (विदेह) राज्यका विभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा १८औँ शताब्दीमा माध्यमिकी परिक्रमा प्रारम्भ भएको मानिन्छ । मिथिलाको महाकुम्भ भनिने यो यात्रामा नेपाल र भारतका साधुसन्तको सरिकता हुँदै आएको छ । गृहस्थ आश्रमका पनि १५ दिन सांसारिक मायाजाल पन्छाएर सरिक हुँदै आएका विगतदेखिको परम्परा छ ।

फागुन औँसीका दिन धनुषाको ठेराकचुरीस्थित मिथिलाविहारी स्थानबाट मिथिलाविहारी (श्रीराम) को प्रतिमा राखिएको डोला अघि लगाएर निस्कने यात्रामा जनकपुरधामको अग्निकुण्डस्थानबाट निस्कने किशोरीजी (जानकीजी) को डोला मिसिएपछि विधिवत् प्रारम्भ भएको यात्रा आज पाँचौँ दिन जलेश्वर आइपुगेको हो ।

जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर र दुलहादुलही मन्दिरसहित पवित्र तलाउ गङ्गासागर एवं धनुषसागरको प्रदक्षिणा गर्दै पहिलो रात्रिबास धनुषाको हनुमानगढीमा बसेका यात्रीले यसअघि भारतको मधुवनी जिल्लाका कलना र पूmलहरमा दोस्रो र तेस्रो दिन बिताई चौथो दिन हिजो मटिहानीबाट महोत्तरी प्रवेश गरेका हुन् ।

नेपाल र भारतका विभिन्न तीर्थस्थल घुम्दै १३३ किलोमिटरको यात्रा गरिने यो क्रममा १५ रात्रिबासको परम्परा छ । नेपालतर्फ महोत्तरी र धनुषा गरी १०७ र भारतर्फ मधुवनी जिल्लामा २६ किमी दूरी तय गरिन्छ । यात्रा क्रममा धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनीमा चार रात्रिविश्रामको परम्परा छ ।

महाशिवरात्रिलगत्तै प्रारम्भ हुने यो यात्रामा भगवान् सदाशिव र श्रीराम तथा जानकी समान रूपले पुकारा गरिने इष्टदेव मानिँदै आइएको छ । कूल १३३ किमीको वृत्ताकारभित्र चार सुरमा शिवालय छन् । पूर्वमा कल्याणेश्वरनाथ, पश्चिममा जलेश्वरनाथ, उत्तरमा क्षीरेश्वरनाथ र दक्षिणमा सतोखरनाथ । सदाशिवले यात्रा मङ्गलमय र कल्याणदायक बनाउने हिन्दू मैथिल जनविश्वास छ ।

डोला जहाँ पुग्छन्, दर्शन गर्नेको चाप हुन्छ । यो यात्रा नेपाल भारतबीच सांस्कृतिक, धार्मिक र आपसी कुटुम्ब सम्बन्धको अटुट परम्परा पनि भएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउँछन् ।

यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेको परिक्रमा यात्री टोली अब आठौँ दिनसम्म यसै जिल्लामा रहनेछन् । यस क्रममा आज पाँचौँ दिन जलेश्वरमा रात्रिबास हुनेछ । मटिहानीमा जिल्लाको पहिलो रात्रिबास हुने परम्परा छ । यसैगरी छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनबन रात्रिबासपछि महोत्तरीको यात्रा पूरा हुने परम्परा छ । त्यसैगरी, हनुमानगढीमा पहिलो रात्रिबासबाट प्रारम्भ भएको यात्रामा नवौँ, १०औँ, ११औँ, १२औँ र अन्तिम रात १५औँ गरी छ रात धनुषामा बस्ने परम्परा छ । जसमा क्रमशः पर्वता, धनुषाधाम, सतोखर, औरही र जनकपुरधामको रङ्गशाला मैदान पर्छन् ।

त्यस्तै, मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा दोस्रो कल्याणेश्वर, तेस्रो फुलहर, १३औँ करूणा र १४औँ दिन बिसौल रात्रिबासको परम्परा छ । पूर्व सुरमा सदाशिव श्री कल्याणेश्वरनाथ, पश्चिममा श्री जलेश्वरनाथ, उत्तरमा श्री क्षीरेश्वरनाथ र दक्षिणमा सतोखरनाथले यात्रा अवधिभरि डोला र यात्रीको रखबारी गर्ने विश्वास गरिन्छ ।

आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा १५ दिनमात्र भए पनि सांसारिक मायाजालबाट पन्छेर अलौकिक यात्राको अवसरका रूपमा यात्री लिन्छन् । “घरपरिवारको बुहार्तन त जिन्दगीभरि झेल्नु छँदैछ नि !” आज जलेश्वरमा भेटिएका यात्री महोत्तरीकै भङ्गाहा–४ का लाली महतोले भने, “घरमा छोराबुहारी नातिनातिनाभरि छन्, हामी बूढाबूढी यसपालि यात्रामा निस्कियौँ” सँगै रहेकी जीवनसँगिनीतर्फ पुलुक्क हेर्दै उनले अगाडि भने, “प्रभुले पार लगाउनु हुनेछ ।”

डोलाको आगमनसँगै विश्रामस्थलमा भक्तालुले दर्शन गर्ने र भजन, कीर्तनसहित धार्मिक मेला आयोजन हुँदै आएको परम्परा छ । यात्रीहरूको भोजन, आवास, खानेपानी र प्राथमिक उपचार र आइपर्ने अन्य कुनै कामका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्धमा अन्य विश्रामस्थलका झैँ जलेश्वरवासी अहिले दिलोज्यानले खटेका छन् । यो यात्रा दैहिक नभएर पारलौकिक हुने विश्वास गरिन्छ ।

नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको जलेश्वर–१ का बासिन्दा ७० वर्षीय सुधीर साह बताउँछन् । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मार्गमा पर्ने स्थानीय तह र धार्मिक मठहरूले संयोजन तथा समन्वय गर्दै आएका छन् ।

मिथिलामा यात्रामार्गभित्रका जनजन यो महाकुम्भमा परिचालित देखिन्छन् । यात्रामा हुनेको त आफ्नो तालिका छँदैछ, यात्रामार्गका बस्तीबस्तीमा परिक्रमाको पर्खाइ हुन्छ । ल आज आफ्नो बस्ती हुँदै परिक्रमा आउँछ भन्ने भएपछि सबै डोला दर्शन र यात्रीको खातिरदारीमा सामथ्र्य लुकाउँदैनन् । कोही सर्वत ख्वाउने, कोही खाजा ख्वाउने र कोही वस्त्र फेराउने कार्यमा तल्लीन देखिन्छन् ।

आफैँ यात्रामा निस्कन नसक्नेले डोलाको दर्शन र यात्रीको सेवा गरेर पुण्य आर्जन हुने यहाँ जनविश्वास छ । “अहो भावले अतिथि सत्कारको त हाम्रो स्थापित परम्परा नै हो, अतिथि देवरूप हुने मैथिल विश्वास छ,” यात्रीको सेवासत्कारमा जुटेका साह भन्छन्, “त्यसमा पनि अहिलेका अतिथि (यात्री)त विशिष्ट हुन् ।”

जुनसुकै विश्रामस्थलमा यात्रीको आवास, भोजन, स्वास्थ्योपचार, सुरक्षा र अन्य आवश्यकताबारे स्थानीय (विश्रामस्थल वरिपरिका बासिन्दा) ले स्वस्पूmर्त रूपमै पनि चासो र भागिदारी लिने गरेका छन् । ‘डोला दर्शन र अतिथि सेवाको अवसरले हामी धन्य भएका छौँ’ सेवासत्कारमा जुटेका जलेश्वरवासीमा समर्पण भाव झल्केको देखिन्छ । ‘सियावरके सुखद आगमन हे..! आजु जलेश्वर सुमङ्गल हे !!’ 

उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न जापानलाई कृषिमन्त्रीको आग्रह

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न जापान सरकारसँग आग्रह गरेका छन् ।

नेपालका लागि जापानका राजदूत मायडा तोरुले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री अधिकारसँग गरेको भेटमा उनले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् ।

मन्त्री अधिकारीले जापानले नेपालको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा कृषिको आधुनिकीकरणका लागि पनि थप सहयोगको अपेक्षा गरिएको बताए ।

“जापानले प्रविधिको प्रयोगमार्फत गरेको उत्पादन वृद्धि र यसले समग्र कृषिको क्षेत्रमा पुर्याएको उपलब्धि महत्वपूर्ण छ, कृषि क्षेत्रमा जापानले गर्दै आएको प्रयोग नेपालले पनि सिक्न जरुरी रहेकाले प्राविधिक ज्ञानका लागि सहकार्य गर्न सकिन्छ, अहिले पनि जापानी स्वयम् सेवकहरुले मन्त्रालय मातहतका विभिन्न कार्यलयमार्फत सहयोग गरिरहेका छन्, यसमार्फत जापानमा प्रचलित कृषिको अभ्यास नेपालीले सिक्ने मौका प्राप्त भएको छ”, मन्त्री अधिकारीले भने ।

नेपालले कृषिमा लगानी दशक घोषणा गरी लगानी भित्राउने नीति लिएको उल्लेख गर्दै उनले जापानी लागानीकर्तालाई पनि नेपालमा लगानीका लागि सहजीकरण गरिदिन राजदूतसमक्ष आग्रह गरे । आगामी वर्ष नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुग्दैछ । उक्त अवसरमा जापानबाट प्राप्त भइरहेको निःस्वार्थ सहयोग अझ वृद्धि हुनेमा मन्त्री अधिकारीले विश्वास व्यक्त गरे ।

भेटवार्तामा जापानी राजदूत तोरुले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेकाले कृषि क्षेत्रमा हाल जारी सहयोगलाई निरन्तरता दिइने बताए । आगामी दिनमा सहयोगका थप सम्भावनाको अध्ययन गर्ने प्रतिबद्घता पनि उनले व्यक्त गरे ।

जापानले कृषि क्षेत्रको विकासमा उपकरणको प्रयोगलाई महत्व दिएको उल्लेख गर्दै नेपालले पनि कृषिमा आधुनिकीकरण गर्दे जानुपर्नेमा राजदूत तोरुले जोड दिए । नेपालको चिया र हर्बल उत्पादनको जापान राम्रो बजार हुनसक्ने भएकाले यसको निर्यातका लागि सहकार्य गर्न सकिने पनि राजदूत तोरुले उल्लेख गरेका थिए ।

‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण गरेकी छन् ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेको अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो ।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ । पुस्तक अल्केमी प्रकाशनले गरेको हो ।

आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउने अभियानमा लाग्नुपर्छः सभापति देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउने अभियानमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमबार भैरहवामा पार्टीका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले बहुमत ल्याउन नसके पनि कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्ने बताएका हुन् ।

उनले निर्वाचनमा एउटामात्र दलले बहुमत ल्याउने परिस्थिति नभएकाले विगतको निर्वाचन भन्दाबढी सिट जित्नुपर्ने बताए । सभापति देउवाले पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्ने र पार्टीलाई जीवन्त बनाइराख्नुपर्ने बताए । उनले अहिलेको सरकार सफल हुने समेत बताए ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुरु भएको कार्यक्रममा देशैभरिका प्रतिनिधिसभाअन्तर्गतका १३० क्षेत्रीय सभापति, सोही सङ्ख्यामा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुख तथा एउटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेशसभाअन्तर्गतका क्षेत्रीय सभापति ७० जनाको सहभागिता छ ।

कार्यक्रममा पार्टीसँग जोडिएका विषय, पार्टीका महत्वपूर्ण काम, २०४६ सालपछि नेपाली कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधारका काम, मुलुकको संविधान, सङ्घीयताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अभियान, पार्टी सङ्गठनसँग जोडिएका विषय र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रसँग जोडिएका अन्तरसम्बन्धका विषयबारे प्रस्तुति रहनेछ ।

यस्तै, समसामायिक विषयवस्तुसँग जोडिएका गरी विभिन्न ६ विषयमा प्रस्तुतीकरण गरी छलफल गरिनेछ । दोस्रो दिन सातवटा समूह विभाजन गरी सहभागीले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्यालगायतका बारे गहन छलफल गरी सुझाव लिने कांग्रेसले जनाएको छ ।

पूर्णबहादुर नेपाली श्रीलंकाको राजदूत नियुक्त

काठमाडौं । श्रीलंकाका लागि पूर्णबहादुर नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नेपालीलाई राजदूत नियुक्त गरेका हुन् ।

नेपालीलाई मन्त्रिपरिषद्ले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो । उनलाई १४ पुसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

गोरखामा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते

गोरखा । गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको ‘अनटेष्ट’ लेखिएको विद्युतीय माइक्रोबस सहिद लखन गाउँपालिका–३, स्थित कान्टारमा बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

दुर्घटना परेर मृत्यु हुनेमा चितवन जिल्ला खैरहनी गाउँपालिका–२, टाँडीपर्सा घर भएका ३७ वर्षीय पदमबहादुर दर्जी रहेका उनले बताए ।

दुर्घटनामा घाइते दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी सुवेदीले बताए । बिहान करिब ११ः२५ बजे कच्ची सडकबाट माइक्रो करिब १५ मिटर तल खोँचमा थियो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते हुने सोही ठाउँका ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीया विमला परियार छन् ।

अन्य घाइतेमा ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेको डिएसपी सुवेदीले जानकारी दिए । घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीसँग इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान बुफोनको भेट, बिहान सँगै चियानास्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुुइजी बुफनबीच सोमबार भेट भएको छ ।


राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफनलाई प्रधानमन्त्री ओलीले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन्।

भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफनका परिवारका सदस्यलगायत सहभागी थिए । यही फागुन ११ गतेदेखि सुरु भएको च्याम्पियनसिप आज साँझ दशरथ रङ्गशालामा समापन हुँदैछ ।

रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु

मुगु ।नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका- १० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए ।

जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए ।

चेकजाँच पछि शरीरमा अक्सिजनको कमी छ आजको रात यतै अस्पताल भर्ना हुनुस् भन्दा उनले नमानेको अस्पतालले जनाएको छ । चेकजाँच पछि सल्लेरी फर्किएको तर सोमबार बिहान ६ बजेतिर उनलाई साथीहरूले एम्बुलेन्समा लिएर आएका थिए । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिए ।

उनका अनुसार भुवनमा मोटोपन थियो । दमको पनि दीर्घरोगी पनि रहेछन् । हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीको कारण लेख लागेर काडियो प्रमोनरी एरेष्ट हुँदा उनको मृत्यु हुन गएको पनि चिकित्सक शाहीले बताए । आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।

केयुको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा गरेको छ । उपकुलपति खोज तथा सिफारिस समितिले हालसम्म सिफारिस नगरेको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो । यसअघि तीन दिने अल्टिमेटम दिएको थियो । उक्त समयभित्र सिफारिस नभएको भन्दै प्राध्यापक संघले आन्दोलनको घोषणा गरेको हो ।

रुपन्देहीमा महिला हत्या आरोपमा अमिरिका थारु पक्राउ

बुटवल । रुपन्देहीमा प्रहरीले हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । दाङको लमही नगरपालिका–७ मा की संगीता चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ का अजय भनिने अमेरिकी थारूलाई पक्राउ गरेको हो ।

उनले रुपन्देहीको सियारीमा मृत भेटिएकी चौधरीलाई यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरेको खुलेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । दाङको लमही नगरपालिका–७ मा घर भएकी संगीताको सियारी गाउँपालिका बेथरी सडक खण्डमा फागुन ८ गते शव फेला परेको थियो ।

प्रहरीकाअनुसार घटना भएको दिन दुवै जनाले मादक पदार्थ सेवन गरेको र अमिरिकाले संगीतालाई यौन प्रस्ताव राखेका थिए । तर, प्रस्ताव अस्वीकार गरेपछि उनले संगीतालाई ढुंगाले टाउकोमा हानेर हत्या गरी परालले छोपेर छाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

हत्यापछि फरार रहेका थारूलाई पक्राउ गरी अदालतबाट आठ दिनको म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा थालनी गरेको छ । घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रूपमा सुत्केरी गराउनका लागि अभिप्रेरित गराउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।

नगरप्रमुख जितनारायण यादवले नगरक्षेत्रका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जानकारी दिए । उनले सुत्केरी भइसकेपछि पनि विभिन्न कारणले आमा तथा शिशुको स्वास्थ्य जोखिम हुन सक्ने र यसबाट जोगाउन एम्बुलेन्स सेवाले सहयोग पुग्ने बताए ।

नगरपालिकाले अन्य बिरामीलाई न्यून शुल्कमा उक्त एम्बुलेन्स सेवा उपलब्ध गराउने पनि जानकारी दिएको छ । गुणस्तरीय स्वास्थ्य सेवामा नागरिक पहुँच वृद्धि गर्न एम्बुलेन्स सेवाले सहयोग पुग्ने जनाइएको छ ।

युक्रेनमा शान्ति, सुरक्षाका लागि बेलायतका प्रधानमन्त्रीद्वारा चारबुँदे प्रस्ताव

बीबीसी । बेलायतका प्रधानमन्त्री सर किअर स्टार्मरले युक्रेन युद्ध अन्त्य गर्न र युद्धग्रस्त देशलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना घोषणा गरेका छन् । उनले बेलायत, फ्रान्स र अन्य देशहरू पनि ‘इच्छुकहरूको गठबन्धन’मा सहभागी हुने र युक्रेनको समर्थनमा अमेरिकालाई समेत सहभागी गराउन प्रयास गरिने बताएका छन् ।

‘हामी आज इतिहासको दोबाटोमा छौँ,’ युरोपका १८ देशका नेताहरू सहभागी सम्मेलनपछि स्टार्मरले भने। सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी भएका थिए ।

सम्मेलनपछि युक्रेनले ‘बलियो साथ’ पाएको महसुस गरेको र ‘लामो समयदेखि नदेखिएको उच्च स्तरको युरोपेली एकता’ देखिएको जेलेन्स्कीले बताए । ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच चर्काचर्की भएको दुई दिनपछि लन्डनमा यो सम्मेलन आयोजना भएको थियो ।

सम्मेलनपछि पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री स्टार्मरले चारबुँदे सहमति भएको बताएका छन् । चार बुँदे सहमतिमा युक्रेनमा सैन्य सहायताको आपूर्ति जारी राख्ने र रुसमाथि आर्थिक दबाव कायमै राख्ने, दिगो शान्ति कायम गर्दा युक्रेनको सार्वभौमसत्ता तथा सुरक्षा सुनिश्चित गर्ने र युक्रेनलाई सबै शान्ति वार्तामा उपस्थित गराउने, शान्ति सम्झौता भएको अवस्थामा भविष्यमा युक्रेनमाथि हुनसक्ने कुनै पनि आक्रमणलाई रोक्न उसको रक्षा क्षमता बढाउने र युक्रेनबारे सम्झौताको पक्ष लिन र त्यसपछि शान्तिको सुनिश्चितता गर्न ‘इच्छुकहरूको गठबन्धन’ विकास गर्ने उल्लेख छ ।

स्टार्मरले थप १.६ अर्ब पाउन्ड सहयोगको घोषणा पनि गरेका छन् । बेलायतको निर्यातबाट आर्जित रकमबाट दिइने उक्त सहयोग युक्रेनले हवाई प्रतिरक्षा क्षेप्यास्त्र खरिदमा खर्च गर्ने छ।

यो सहयोग यसअघि घोषणा गरिएको २.२६ अर्ब पाउन्ड स्टर्लिङको ऋण सहमतिभन्दा फरक हो । यसअघि स्टार्मरले रोक्का गरिएका रुसी सम्पत्तिको नाफाबाट युक्रेनी सैन्य सामग्रीका उक्त ऋण दिने घोषणा गरेका थिए । सम्मेलनमा फ्रान्स, पोल्यान्ड, स्वीडन, टर्की, नर्वे, चेक रिपब्लिक, डेनमार्क, जर्मनी, द नेदरल्यान्ड्स, रुमेनिआ, फिनल्यान्ड, इटली, स्पेन र क्यानडा सहभागी थिए ।