`

कोशी प्रदेश सभा बैठक संचालन गर्ने जिम्मेवारी मन्सुरीलाई (पत्रसहित)

काठमाण्डौं । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले प्रदेश सभा बैठक चलाउने जिम्मेवारी कांग्रेस सांसद इस्राइल मन्सुरीलाई दिएकी छन्। ‘अचानक बिरामी’ परेको भन्दै उपसभामुख सिर्जना दनुवार काठमाडौँ हिँडेपछि कोशी प्रदेशसभाको बैठक अनिश्चित बनेको थियो ।

कोशीमा सभामुख र उपसभाुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार सदस्यीय अध्यक्ष मण्डल बनाइएको थियो।

तीमध्ये ज्येष्ठ सांसद लिलाकुमारी लिम्बु र अम्मरबहादुर विष्टले अनुपस्थित हुने सूचना दिइसकेकाले वर्णानुक्रम अनुसार मन्सुरीलाई अध्यक्षता गर्ने जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।

कोशीकी उपसभामुख काठमाडौँ लागिन्, प्रदेशसभा बैठक अनिश्चित

काठमाडौँ । ‘अचानक बिरामी’ परेको भन्दै उपसभामुख सिर्जना दनुवार काठमाडौँ हिँडेपछि कोशी प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । उपसभामुख सृजना दनुवारको अनुपस्थितिका कारण कोशी प्रदेशसभाको कार्य व्यवस्था समिति बैठक सरेको छ । सोमबार बिहान बोलाइएको बैठक मध्यान्ह १२ बजेका लागि सारिएको हो ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक १ बजे बस्ने गरी बोलाइएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक पुनः बसेर सहमतिका लागि प्रयास गरिने बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने बारेको सूचना शुक्रबार नै प्रदेशसभामा दर्ता गराइसकेका छन् । आइतबारलाई मागिएको समय उपसभामुख सिर्जना दनुवारले फेरबदल गरी सोमबार तोकेकी थिइन् । मुख्यमन्त्रीको रूपमा थापा साउन १६ गते नियुक्त भएका थिए । उनले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनले विश्वासको मत पाउनका लागि उप सभामुखले सभा सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग सिआईबिले लियो बयान

काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र  बाबुराम भट्टराईसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको छ । अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहँदा सीआईबीले उनीहरूसँग सोधपुछ कागज गरेको हो ।

सीआईबीका एसएसपी दिनेश आचार्यले एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपालसँग पनि गएराति बयान लिएको पुष्टि गरे । त्यसै गरी आइतबार साँझ सीआईबीका अधिकारीहरूलाई आफ्नो निजी निवास टोखा बोलाएर डा। भट्टराईले आफूबारे उठेको प्रश्नहरूबारे बताएको जानकारी दिएको उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरू बारे सत्यतथ्यको जानकारी मेरो सुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम सीआईबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु,’ भट्टराईले सोमबार बिहान एक ट्वीट सन्देशमार्फत् जानकारी दिएका छन् ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न आदेश दिएपछि तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको थियो ।

आदेशमा विभिन्न मितिमा भएको ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रुपमा संलग्न हुनेहरु, मन्त्रालयस्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेश गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहका पदाधिकारी वा अधिकारीको पदसोपानबाट समेत गरी अगामी दिनमा अविलम्ब अनुसन्धान सिध्याउन उल्लेख गरिएको छ । तर, उनीहरूलाई जोगाउन गठबन्धनले सीआईबीलाई समेत दबाब र प्रभावमा पारेको भन्दै तीव्र आलोचना भएको थियो । सोधपुछसम्म पनि नगरी अनुसन्धान प्रतिवेदन बुझाउन लागिएको भन्दै सीआईबीमाथि प्रश्न उठाइएको थियो ।

‘उच्चस्तरिय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक’: नेकपा एमाले

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले उच्चस्तरिय छानबिन समिति बनाउन प्रधानमन्त्री सकरात्मक रहेको बताएका छन् ।

आईतबार संसद अवरोध हटाउन प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकको पछि पत्रकारहरुसंग कुरा गर्दै प्रमुख सचेतक गिरिले छानबिन समिति गठन गर्न प्रधानमन्त्रीलगायत सत्तापक्ष सकारात्मक भएको बताएका हुन् ।

संसदको अवरोध हटाउन प्रधानमन्त्रीले बोलाएको बैठकपछि एमालेका प्रमुख सचेतक पदम गिरीले भने, ‘सुन प्रकरणमा राजनीतिक दलको पनि संलग्नता भएको कुराहरू आइरहेका छन् । यस्तोमा सीआईबीले अनुसन्धानका लागि बोलाउने स्थिति रहेन । यसमा मात्रै होइन नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा पनि हाइ प्रोफाइलका मान्छेलाई छानबिनमा नल्याउने साना मान्छेहरूलाई ल्याएर कारबाही गर्‍यौं भन्ने ढंगले अगाडि बढेको छ । त्यसैले हामीले समितिको माग राखेका हौं ।

उनले भने ‘प्रधानमन्त्रीलगायत सत्तापक्ष अरु समितिले पनि उच्च स्तरिय छानबिन समिति बनाउँदाखेरी सिआईवीको अनुसन्धान प्रभावकारी हुन्छ की भन्ने दृष्टीकोण छ उहाँको । यस विषयमा छलफल गर्नेर उच्च स्तरिय छानविन समिति बनाउने कुरामा हामी सकारात्मक छौं भन्नु भएको छ ।’

प्रमुख सचेतक गिरिले सुन तस्करी धेरै ठुलो घटना र देशको अथृतन्त्रलाई गम्भीर प्रभाव पार्ने खालको विषय भएको बताएका छन् । राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्ने खालको घटनाप्रतिमा उच्च स्तरिय छानबिन समितिबाहेक यो कुराको निरकुल हुनै नसक्ने उनको भनाई छ ।

संसद बैठक आज पनि स्थगति

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा दलहरूबीच कुरा नमिलेपछि आज १ बजेका लागि बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

संसद सचिवालयको महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै मंगलबार ३ बजे बस्ने जनाइएको छ ।

संसद खुलाउन बसेको सर्वदलीय बैठक निष्कर्षविहीन

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

एमालेले समितिको अडान राखिरहेको पनि गृहमन्त्रीले सीआईबीले अनुसन्धान गरिरहेकाले अर्को समिति बनाउँदा छानिबन प्रभावित हुनसक्ने बताएको लामिछानेले सुनाए । अब १५ दिनमात्रै बाँकी रहेकाले गृहमन्त्रीले मागेको समयभित्र सहमति जुटाउने प्रयास भइरहेको उनको भनाइ छ ।

१० साउनदेखि संसद अवरुद्ध छ । सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले संसदमा भएका प्रमुख दलहरुको बैठक बोलाएका थिए । सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान लिएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोग वा समिति बन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

सीआईबीले पाएको समय अब दुई साता मात्र छ । त्यसैले त्यो बेलासम्म हेर्ने कि भन्ने पनि छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले जानकारी दिए ।

उनले अघि भने, एकदम नजिक पुगेको हुनाले एउटा बैठकले टुंगोमा पु¥याउने र सदन जसरी पनि सञ्चालन गर्ने कुराकानी भएको छ ।’

भदौ ९ गते सिराहामा नेकपा एमालेको सचिवालय बैठक बस्ने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सिराहामा बस्ने भएको छ ।  आगामी भदौ ९ गतेको बैठक सिराहाको धनगडीमाई नगरपालिका (तत्कालिन विष्णुपरकट्टी गाउँपालिका) मा बस्ने तय भएको एमाले स्रोतले जनाएको छ । 

पञ्चायतकालमा एमालेको चौथो महाधिवेशन समेत भएको उक्त स्थानमा सचिवालय बैठक बस्न लागेको हो । बैठकको तयारीबारे छलफलका लागि महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराईसहितका नेताहरु  विष्णुपुर कट्टी पुगेका थिए । 

सोही स्थानमा २०४६ सालमा भएको एमालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो ।  उक्त स्थानमा एमालेले कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा स्तम्भ समेत बनाउने तयारी गरेको छ ।

संसद खुलाउन सर्वदलीय बैठक सिंहदरबारमा सुरु

काठमाडौं । संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलसँगको छलफल सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफलको सुरु भएको हो । बैठकमा संसद अवरोध लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । 

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर, एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । सोही विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीको बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरि, रास्वपा सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरु सहभागी छन् ।

१०० किलो सुन काण्ड सेलाउन नपाँउदै रसुवामा २ किलो सुन बरामद

३ भदौ, रसुवा । नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन प्रहरीले बरामद गरेको छ ।

शनिबार साँझ भएको चेकिङका क्रममा शंका लागेर चेक गर्दा टिमुरेबाट स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पा पक्राउ परेका थिए । उनलाई त्यो सुन टिमुरीका फुर्साङ्बु शेर्पाले दिएको पाइएपछि शेर्पालाई पनि पक्राउ गरिएको रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीले बताए ।

बरामद सुन काठमाडौं लैजान लगिएको खुलेको छ । ‘सुन परीक्षण गरेर थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ ।

सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धन दलको बैठक बोलाएका छन्।

आजको बैठकमा संसद सुचारु, प्रध्रान न्यायाधिश नियुक्ति लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताईएको छ ।

बालुवाटरमा जारी माआवोदी पदाधिकारी बैठक सकिए लगत्तै गठबन्धनको बैठक बस्न लागेको हो ।

कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे

झापा – महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् । राँगाभँैसीभन्दा गाईगोरुमा रोगको समस्या बढी छ ।

लम्पी स्किनबाट शुक्रबारसम्ममा पाँच हजार ४२ गाईभैँसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका फोकल पर्सन डा देवकुमार दर्लामीका अनुसार लम्पी स्किनको सङ्क्रमण कोशीका सबै जिल्लामा फैलिएको छ भने इलाम, झापा, मोरङ, पाँचथर, सुनसरी र उदयपुरमा सबैभन्दा बढी क्षति भएको छ ।

प्रदेशभर चार हजार ९७९ गाईगोरु र ६१ रागाभैँसी मरेका छन् । ती मध्ये सबैभन्दा बढी इलाममा एक हजार ३८२ गाईगोरु र राँगाभैँसी मरेको निर्देशनालयले जनाएको छ । झापामा पाँच सय चार, पाँचथरमा चार सय २२, मोरङमा चार सय ८८, उदयपुरमा तीन सय ८५, सुनसरीमा तीन सय ६२, खोटाङमा दुई सय ७९, धनकुटामा दुई सय ७७, सङ्खुवासभामा दुई सय ८५, ओखलढुङ्गामा दुई सय दुई, तेह्रथुममा एक सय ४४, ताप्लेजुङमा एक सय ७०, भोजपुरमा ८३ र सोलुखुम्बुमा ३५ गाईगोरु र राँगाभैँसी लम्पी स्किनको सङ्क्रमणबाट मरिसकेका छन् ।

मृत्युदर इलाममा धेरै भए तापनि प्रभावित पशु पाँचथरमा धेरै छन् । आजसम्मको तथ्याङ्कअनुसार पाँचथरमा ३३ हजार ८७ गाईगोरु र राँगाभैँसी लम्पी स्किनबाट सङ्क्रमित रहेको निर्देशनालयका फोकल पर्सन डा दर्लामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार इलाममा ३१ हजार तीन सय ४९, धनकुटामा २१ हजार पाँच सय ६८, उदयपुरमा २१ हजार एक सय ८८, सुनसरीमा १७ हजार आठ सय ८६, तेह्रथुममा १५ हजार नौ सय ८६, मोरङमा १३ हजार आठ सय ९०, सङ्खुवासभामा १३ हजार चार सय ६०, खोटाङमा १२ हजार नौ सय १०, ओखलढुङ्गामा सात हजार छ सय ९४, ताप्लेजुङमा सात हजार छ सय २३, भोजपुरमा सात हजार एक सय ५२ र सोलुखुम्बुमा सात सय पाँच गाईगोरु र राँगाभैँसीमा लम्पी स्किमको सङ्क्रमण पुष्टि भइसकेको छ ।

लम्पी स्किनको सङ्क्रमण गाईगोरुको तुलनामा राँगाभैँसीमा न्यून सङ्ख्यामा देखिएको छ । कोशी प्रदेशमा सङ्क्रमित सङ्ख्यामध्ये गाईगोरु दुई लाख २३ हजार सात सय २६ छ भने राँगाभैँसीको सङ्ख्या एक हजार आठ सय १७ मात्र रहेको छ ।

एक लाख बढीलाई खोप

लम्पी स्किन रोगको सङ्क्रमण रोक्न कोशी प्रदेश सरकारले ११ जिल्लामा पशुमा खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ । पशु स्वास्थ्य प्राविधिकले गोठमै पुगेर पशुमा खोप लगाइरहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निमित्त प्रमुख डा पशुपति ढुङ्गानाका अनुसार कोशी प्रदेशका सबै जिल्लाका एक लाख सात हजार पाँच सय १० पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । सबैभन्दा बढी झापामा ३० हजार चार सय ५६ वटा पशुमा लम्पीविरुद्धको खोप लगाइएको छ । इलाममा २७ हजार ५४, पाँचथरमा १४ हजार तीन सय, ताप्लेजुङमा नौ हजार एक सय, मोरङमा पाँच हजार सात सय ८२, उदयपुरमा एक हजार छ सय ८६, खोटाङमा चार हजार एक सय ९२, ओखलढुङ्गामा चार हजार छ सय ७५, सोलुखुम्बुमा दुई हजार छ सय, धनकुटामा दुई हजार दुई सय र सुनसरीमा पाँच हजार चार सय ७५ पशुमा खोप लगाउने कार्य सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । पहाडी जिल्ला धनकुटा, सङ्खुवासभा र भोजपुरमा लम्पीविरुद्धको खोप लगाउन बाँकी नै छ ।

विभिन्न कार्यक्रमका साथ एकचालीसौँ बीपी स्मृति दिवस मनाइँदै

काठमाडौँ – प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

वरिष्ठ अधिवक्ता स्व गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरी सुन्दरीजल’ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।

ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्धलगायत रचना पनि प्रकाशित छन् । जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । उहाँले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभयो ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा बन्दी बनाइएको थियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभएको थियो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिनुभयो । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरूलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्त्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

सङ्ग्रहालयमा बिपीको जीवनका महत्त्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ । बिपी स्मृति दिवसका अवसरमा कांग्रेस, भातृ संस्था र बिपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।

यस अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सुन्दरीजलमा बिपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम राखेको पुरातत्व अधिकृत सविताकुमारी जोशीले राससलाई जानकारी दिनुभयो ।

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न चौपायालाई खोप दिन थालियो

जानकी – चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगको नियन्त्रणका लागि बाँकेमा खोप दिन बल्ल थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख कमला अधिकारीले छ हजार दुई सय डोज ९मात्रा० खोप बाँकेमा आएको र यसबाट दुई हजार पाँच सय खोप तीन वटा पालिकामा वितरण गरिएको जानकारी दिनुभयो । पहिलो चरणमा व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै पुगेर लम्पी स्किन रोगविरुद्धको खोप दिन सुरुआत गरेको उहाँले बताउनुभयो ।

“पहिलो चरणमा पशु फार्म खोलेर व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै पुगेर खोप दिन सुरु गरेका छौँ ।” उहाँले भन्नुभयो, “पहिलो चरणको वितरण सकिएपछि कृषकका घरघरमा पुगेर दोस्रो चरणको खोप दिन सुरु गर्छौं ।” बाँकेका आठवटा पालिकामध्ये कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा हालसम्म छ सयका दरले खोप वितरण गरी सकिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । बिहीबारदेखि खोप दिन प्राविधिक खटाइएको उहाँले बताउनुभयो ।

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले पशुमा देखिएको रोगको पहिचानका लागि प्रयोगशाला परीक्षण र लक्षणअनुसारको उपचार भइरहेको जानकारी दिनुभयो । घाउ, खटिरा आएकालाई ‘ड्रेसिङ’ गर्ने काम भइरहेको जानकारी दिँदै पशु चिकित्सक डा ओलीले ‘भाइरस’बाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको जानकारी दिनुभयो । साथै उहाँले तालिम प्राप्त ५० जना ‘भ्याक्सिनीयटर’ले पालिकामा पुगेर शुक्रबारदेखि खोप लगाउन सुरु गरेका बताउनुभयो ।

नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा शङ्कर न्यौपानेले सङ्क्रमणबाट पशुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको जानकारी दिनुभयो । “किसानलाई खेती गर्न पशु र पशुको मल आवश्यकता पर्ने हुँदा पशु नै मर्न थालेपछि यसको मार किसानलाई नै परेको छ ।”

सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिकरुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवतजावतमा कडाइ गरेर लम्पी स्किनको सङ्क्रमण न्यूनीकरण हुनसक्ने उहाँले सुझाव दिनुभयो । उहाँका अनुसार रोगी पशुलाई लामखुट्टे, झिँगा वा किर्नाले टोकेपछि अन्यलाई पनि यो रोगको सङ्क्रमण फैलन्छ ।

नेपालगञ्ज उपमहानगरपालिकासहित सबै स्थानीय तहमा उक्त ‘भाइरस’को सङ्क्रमण देखिएको छ । उक्त रोगबाट सबैभन्दा बढी बाँकेको खजुरा, राप्तीसोनारी र वैजनाथ गाउँपालिका प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ । बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजारको हाराहारीमा गाई छन् । तीमध्ये सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिएपछि मात्र किसानले खोपको सुविधा पाएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड आज इटली जानुहुँदै

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटली जानुहुने भएको छ । 

साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज इटलीतर्फ जान लाग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि सो भ्रमणमा रहनुहुनेछ । 

प्रधानमन्त्रीले इटलीमा ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले अति कम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ। साथै सोही विद्यालय भोजनको एजेन्डा रहेको छुट्टै सत्रलाई तथा मङ्गलवार भने खाद्य प्रणाली परिवर्तनको एजेन्डाको सत्रमा पनि अध्यक्ष राष्ट्रको हैसियतमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

वडाध्यक्षको सेवासुविधाबाट विपन्नको निःशुल्क स्वास्थ्य बीमा

मुग्लिन – चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले ६१ घरपरिवारलाई स्वास्थ्य बीमा गरिदिनुभएको छ । आर्थिक वर्ष २०७९÷८० मा आफुले पाउने पारिश्रमकबापतको सेवासुविधबाट विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिदिनुभएको हो ।

वडाध्यक्ष उप्रेतीले शुक्रबार गाउँपालिकाको स्वास्थ्य शाखाअन्तर्गत बीमा बोर्डलाई रु दुई लाख १३ हजार पाँच सयको ‘चेक’ हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले निर्वाचनका समयमा गरेको प्रतिवद्धता अनुसार आफूले पाउने सेवासुविधाबाट विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिदिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा गर्न नसक्दा यहाँका विपन्न नागरिक सामान्य बिरामी हुँदासमेत चन्दा माग्दै हिँड्नुपर्ने बाध्यता छ, मैले निर्वाचनकै बेला सेवासुविधा नलिने घोषणा गरेको थिएँ, सोहीअनुसार आज विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिएको छु । ”

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाले १० प्रतिशत विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले जनप्रतिनिधिको हैसियतले गरिएको यो नमूना काम भएको जनाउँदै नागरिकसँग जोडिने काम गरेकामा धन्यवाद दिनुभयो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले जनताको चाहना अनुसार काम गर्नु हरेक जनप्रतिनिधिको कर्तव्य भएको बताउनुभयो ।

वाल्मीकि आश्रममा खानेपानीको व्यवस्था

भरतपुर – चितवनको एतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७९÷८० को कार्यक्रममार्फत आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको हो । माडी नगरपालिका–१ र नवलपरासी सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिकाले विनियोजन गरेको रु पाँच÷पाँच लाखको लागतमा सोे व्यवस्था गरिएको हो ।

वाल्मीकि क्षेत्रका सात ठाँउमा खानेपानीको धारा निर्माण गरिएको माडी–१ का वडाध्यक्ष अमितकुमार लामाले बताउनुभयो । उहाँका अनुसार महिला पुरुषका लागि छुट्टछुट्टै शौचालय निर्माण गरिएको छ । यसअघि चापाकलको पानी खानुपर्ने बाध्यता रहेको थियो ।

वाल्मीकि आश्रम क्षेत्रमा बाह्र घरपरिवार बस्दै आएका छन् भने मन्दिरका पुजारीका परिवार, जनपथ प्रहरी, सशस्त्र प्रहरी र चितवन राष्ट्रिय निकुञ्ज प्रशासनका कर्मचारी बस्दै आएका छन् । यहाँ दैनिक सयौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । नेपालबाट भन्दा धेरै भक्तजन भारतबाट दर्शनका लागि आउने गरेको वडाध्यक्ष लामाले बताउनुभयो । उहाँले वाल्मीकि आश्रम नेपालकै महत्वपूर्ण एतिहासिक तथा धार्मिक तीर्थस्थल रहेकाले वडाले प्राथमिकताका साथ बजेट विनियोजन गरेर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले सडक र बिजुली बत्तीको व्यवस्थापनको काम बाँकी रहेको भन्दै यो आवमा गरिने बताउनुभयो ।

वाल्मीकि आश्रम पुग्न नवलपरासी पश्चिमको त्रिवेणीबाट झोलुङ्गे पुल निर्माण गरिएको छ तर सञ्चालनमा आएको छैन । पुलबाट ४१ सय मिटर बाटो बनाउनुपर्ने जनाउँदै उहाँले यस वर्ष बजेट विनियोजन भएको जानकारी दिनुभयो । चितवनको माडी नगरपालिकामा रहे पनि आश्रम जानको लागि नेपालको भूमिबाट बाटो नहुँदा आश्रमको विकास हुन सकेको छैन । आश्रम जानको लागि भारतको भूमि प्रयोग गरेर जानुपर्ने भएको कारण पनि आश्रममा नेपालीभन्दा भारतीय बढी आउने गरेको स्थानीय राम सुवेदीले बताउनुभयो ।

महर्षि वाल्मीकिले तपस्या गरेर ज्ञान प्राप्त गरेका र यहाँ बसेर रामायण लेखेको विश्वास गरिन्छ । त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रो पटक वनबास जाँदा यहाँ पुगेको र लव, कुशलाई जन्म दिएको विश्वास गरिन्छ । यहाँ महर्षि वाल्मीकी, सीता र लब–कुशसँग जोडिएका धेरै प्रमाण यत्रतत्र छरिएर रहेको र त्यसको सरक्षण हुन नसकेको उहाँले बताउनुभयो ।

मनसुनी वायुको आंशिक प्रभाव, चार वटा प्रदेशका पहाडी भू-भागमा पानी पर्ने

काठमाडौँ – हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको थोरै स्थानहरूमा साथै कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक र दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। तसर्थ यस कारण हुन सक्ने गेग्र्यान बहाव, बाढी, पहिरो तथा भू क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० श्रावण ०६ गते (शनिवार)
दिउँसो:  
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

२०८० श्रावण ०७ गते (आइतबार)
दिउँसो:
  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका  थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०८० श्रावण ०८ गते (सोमबार)
दिउँसो:  
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। 
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सचिव राउतले कामकाज गर्न पाउने

काठमाडौँ – सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेशसँगै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयलका सचिव कृष्णबहादुर राउतले कामकाज गर्न पाउनुहुने भएको छ ।

न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज सचिव राउतलाई अनुसन्धान नसकिएसम्म मुलुक बाहिर जान नपाउने तर तारिखमा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश गरेसँगै उहाँले कामकाज गर्न पाउने हुनुभएको हो ।

“सचिव राउतलाई थुनामुक्त गर्ने आदेश भएको छ, उहाँमाथि निलम्बन फुकुवा भएको छ, निजामती कर्मचारीमाथि फौजदारी अभियोगमा अनुसन्धान भएकै कारण कामकाज रोकिँदैन”, नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले भन्नुभयो, “विदेश जान मात्र रोखिएको हो, बाँकी सबै कामकाज गर्न रोकिँदैन ।”

ललिता निवास जग्गा प्रकरणमा सचिव राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नभएको सर्वोच्च अदालतले आजै ठहर गरेको थियो ।

निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भए, अब उत्पादन क्षेत्रको नेतृत्व गर्नुपर्छ : अर्थमन्त्री डा महत

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले निजी क्षेत्र व्यापार क्षेत्रमा बढी केन्द्रित हुँदै गएकाले अब उत्पादन क्षेत्रको नेतृत्व यस क्षेत्रले गर्नुपर्ने बताउनुभएको छ ।

आज काठमाडौँमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षको सपथग्रहण कार्यक्रम एवं उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार वितरण कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री डा महतले उत्पादन क्षेत्रको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताउनुभएको हो ।

“पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा हुने लगानी र नियमनकारी भूमिका सरकारी क्षेत्रले निर्वाह गर्छ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रको भूमिका अब व्यापारमा मात्रै केन्द्रित हुने होइन, कर्पोरेट कल्चरसहितको निजी क्षेत्र आवश्यक छ ।”

निजी क्षेत्रले आफ्नो काम गर्ने पुरातन शैली परिवर्तन गरी थप व्यावसायिक बनाउन आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

पहिले तत्कालीन अर्थमन्त्री डा रामशरण महतले मूल्य अभिवृद्धि कर (भ्याट) लागू परेपछि निजी क्षेत्रले त्यसको विरोध गरे पनि पछि त्यसले व्यवसायमा पारदर्शिता कायम गरेको उहाँको भनाइ छ । त्यस्तै सरकारले चालु आर्थिक वर्षको बजेटबाट विभिन्न वस्तुमा दिइरहेको भ्याट छुट खारेज गरेकोमा यसले कर प्रणालीमा थप सुधार हुने अर्थमन्त्री डा महतले उल्लेख गर्नुभयो । बढी भ्याट छुट दिइरहेकोमा अहिले सरकारले त्यसलाई खारेज गरेर कर विस्तारको नीति लिएको उहाँको भनाइ छ ।

लेखा परीक्षण व्यवसायीले आफ्नो अधिकारको दुरूपयोग गर्न नहुनेतर्फ पनि अर्थमन्त्री महतले सचेत गराउनुभयो । मन्त्री महतले लेखापरीक्षण व्यवसाय विधिको शासन र पारदर्शितासँग सोझै जोडिएको हुँदा त्यसको सुनिश्चितताका लागि जिम्मेवार भएर काम गर्न आवश्यक रहेको बताउनुयो । अहिले लेखापरीक्षण व्यवसायमा आबद्ध हुनेको सङ्ख्या बढिरहेको र यो शिक्षा लिनेहरूको सङ्ख्या बढिरहेकाले नेपाललाई चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने अर्थमन्त्री डा महतको भनाइ छ ।

कार्यवाहक महालेखा परीक्षक राममाया कुँवरले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित अध्यक्ष सुजनकुमार काफ्लेलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । त्यस्तै, उपाध्यक्ष प्रविनकुमार झाले अध्यक्ष काफ्लेसँग पद तथा गोपनीयताको सपथ लिनुभयो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कारमा यस वर्ष बैंकतर्फ सिद्धार्थ बैंक लिमिटेड, वित्तीय सेवा क्षेत्रतर्फ मुक्तिनाथ विकास बैंक, ऊर्जा क्षेत्रतर्फ बुटवल पावर कम्पनी र उत्पादन क्षेत्रतर्फ बोटलर्स नेपाल लिमिटेडले पहिलो स्थान हासिल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड शनिबार इटालीको रोम जानुहुँदै

काठमाडौँ – संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली प्रस्थान गर्दै हुनुहुन्छ । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदै छ ।

प्रधानमन्त्री दाहालले यही साउन ८ गते सो कार्यक्रमको उद्घाटन शत्रमा सहभागी हुनुहुनेछ । यस्तै, अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उहाँले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही दिन नै प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनुहुनेछ । यसैगरी उहाँ साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।

नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेसमेतमा त्यस अवसरमा महत्त्वपूर्ण छलफल हुने कार्यक्रम छ । यस्तै, रोममा गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उहाँको स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता छ । भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

सिआइबीद्वारा १२५ पक्राउ, ४३ मुद्दा दर्ता

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गएको एक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका एक सय २५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । उनीहरूविरुद्ध ४३ वटा मुद्दा दर्ता गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

विभिन्न कसुरमध्ये सबैभन्दा बढी ठगीको देखिएको उहाँले बताउनुभयो । सिआइबीका अनुसार ठगीमा ७५ जना पक्राउ गरी उनीहरूविरुद्ध २६ वटा मुद्दा दर्ता गरिएको छ । जुवासम्बन्धी कसुरमा ११ जना विरुद्ध दुई मुद्दा, नागरिकतासम्बन्धी एक जना विरुद्ध एक, सङ्गठित अपराधमा दुई जना पक्राउ गरी एक मुद्दा दर्ता भएको सिआइवीले जनाएको छ ।

यस्तै खेलसम्बन्धी तीन जनाविरुद्ध एक, दुरसञ्चार हानीसम्बन्धी १४ जना विरुद्ध दुई, सहकारी ठगीमा १४ जना पक्राउ गरी पाँच, लिखतसम्बन्धी चार जनालाई पक्राउ गरी तीन मुद्दा र राष्ट्र बैंक तथा बैंकिङ कसुरमा एक–एक वटा मुद्दा दर्ता भएको जनाइएको छ । आर्थिक अपराध अनुसन्धानको सिलसिलामा आठ मुद्दा दर्ता भई ३९ जनालाई पक्राउ गरिएको जनाइएको छ ।

यस्तै लिखत/ठगी/वैदेशिक रोजगार/नागरिकता ऐनअन्तर्गतको कसुरमा १६ वटा मुद्दा दर्ता भई ५७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । वन्यजन्तु तथा वातावरणीय अपराध अनुसन्धानमा आठ अपरेशन सञ्चालन गरेर ३५ जनालाई पक्राउ गरी कानुनी कारवाहीका लागि सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाइएको छ । मुद्दा फैसलातर्फ सजाय ठहर भई फरार रहेका विभिन्न एक सय २५ जना प्रतिवादीलाई पक्राउ गरी रु ३० करोड छ लाख जरिवना असुल र एक सय २९ वर्ष कैद सजाय फस्र्याेटका लागि अदालतमा पठाइएको छ ।

अपराध नियन्त्रण चुनौतीपूर्ण

समाजको विकासक्रमसँगै अपराधको कार्यविधि र त्यसमा प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान सन्दर्भमा अपराध गर्ने शैली र अपराधिक गिरोहको सञ्जाल देश विदेशसम्म विस्तार भइरहेकाले अपराध अनुसन्धानकार्य थप चुनौतीपूर्ण हुँदै गइरहेको सिआइबीको निष्कर्ष छ ।

अपराधिक घटना र तथ्याङ्कको ग्राफ उकालो लागेसँगै अपराध अनुसन्धानकार्य प्राविधिकरूपमा अझै जटिल हुँदै गइरहेको प्रवक्ता थापाले बताउनुभयो । यस्तै सिआइवीले ज्यानसम्बन्धी कसुरको सङ्कास्पद घटनामा सफल अनुसन्धानमार्फत २६ व्यक्ति पहिचाान गरी कारबाहीको दायरामा ल्याएको जानकारी गराएको छ ।

ललिता निवास प्रकारण : चार व्यक्तिको रिट खारेज

काठमाडौँ – ललिता निवास जग्गा प्रकरणअन्तर्गत सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका चार जनाको रिट निवेदन खारेज भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज उक्त प्रकरणमा संलग्न भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह तथा नापी कार्यालयका पूर्वकर्मचारीद्वय धर्मप्रसाद गौतम र टिकाराम घिमिरेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गरेको हो ।

अदालतले निजहरूको रिट निवेदन खारेज गरेसँगै मुद्दाको अन्तिम किनारा नलागेसम्म उनीहरू हिरासतमै बस्नुपर्नेछ । ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिका बनाउने क्रममा सरकारी दस्तखत तथा कागजात किर्ते गरेको आरोपमा पक्राउ परेका निजहरूले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

त्यसैगरी सोही प्रकरणमा आफूहरूलाई पक्राउ नगर्न माग गर्दै अन्तरिम आदेश पाएका १७ जनाले पाएको आदेशले निरन्तरता पाउन सकेन । अन्तरिम आदेश खारेज भएसँगै उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । उनीहरू विरुद्ध प्रहरीले भ्याकेट निवेदन दर्ता गराएको थियो ।

सचिव राउतलाई थुनामा राख्नुपर्ने आधार छैन : सर्वोच्च

काठमाडौँ – सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा सचिव कृष्णबहादुर राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नभएको हठर गरेको छ ।

न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज सचिव राउतलाई अनुसन्धान नसकिएसम्म मुलुक बाहिर जान नपाउने गरी तारिखमा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश गर्दै थुनामा राख्नुपर्ने अवस्था नभएको ठहर गरेको हो ।

आदेशमा भनिएको छ, “यस स्थितिमा निजलाई थुनामा नराख्ने हो भने प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्नेसम्मको अवस्था इजलास समक्ष पेस हुन आएको अनुसन्धानसम्बन्धी सक्कल मिसिलबाट देखिन नआएकाले निवेदकलाई थुनामै राखी अनुसन्धान गर्नु पर्नेसम्मको आधार, कारण र औचित्य देखिएन ।”

आदेशमा निज उपर भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस अघि मिति २०७६ माघ २२ गते मुद्दा नचलाउने भनी निर्णयसमेत गरेको देखिएको उल्लेख छ ।

आदेशमा भनिएको छ, “निवेदकलाई मुद्दा हेर्ने अदालतको आदेशबिना अनुसन्धान कार्य सम्पन्न नभएसम्म नेपाल बाहिर जान नपाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम तारिखमा राखी मुद्दाको अनुसन्धान र तहकिकातलाई प्रभावकारी बनाउन मुद्दाको यथाशीघ्र अनुसन्धान तहकिकातको कार्य सम्पन्न गर्नु गराउनु ।”

ललिता निवाससम्बन्धी प्रकरणमा सरकारी जग्गा व्यक्तिको बनाउने क्रममा सरकारी दस्तखत तथा कागजात किर्ते गरेको आरोपमा पक्राउ परेको राउतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । अदालतको उक्त आदेशसँग सचिव राउत थुनाबाहिर बसेर अनुसन्धानमा सहयोग गर्नुपर्ने छ ।

पार्टी र नेतृत्वको संरक्षण सबैको कर्तव्य : डा आरजु राणा

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरूको कर्तव्य भएको बताउनुभएको छ ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा नेत्री डा राणाले आफ्नै पार्टी र नेतृत्वको खुलारूपमा आलोचना नगर्न पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई सुझाव दिनुभयो । उहाँले पार्टीको सिद्धान्तको पछि लागेर अघि बढेमात्रै नेपाली कांग्रेस पार्टी सफल हुने र त्यसपछि मुलुकको राजनीति र कांग्रेसका नेताहरू सफल हुने धारणा राख्नुभयो ।

पार्टीले महिला र दलितलाई उचित स्थान नदिएको उहाँको गुनासो थियो । “निर्वाचन आयोगले महिलालाई ३३ प्रतिशत उठाउनै पर्छ भनेको छ, हाम्रो पार्टीको योजना के हो ?”, उहाँको प्रश्न थियो, “अन्तिममा टर्च बालेर महिला खोज्ने हो कि अहिलेदेखि नै काम गर्ने हो ।”

उहाँले राजनीति गर्ने र सरकार चलाउनेबीच खाडल रहेको भन्दै त्यसमा पनि कांग्रेसले ध्यान दिन जरुरी रहेको बताउनुभयो । “पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा म उहाँको पत्नीका रूपमा चार÷पाँच ठाउँमा पुगेकी छु”, उहाँले भन्नुभयो, “हाम्रा मन्त्रीहरू सरकार सञ्चालनको तयारी अवस्थामै हुनुहुन्न, उहाँहरूले सिक्दासिक्दै मन्त्री पद गइसक्छ । त्यसैले यस विषयलाई घोषणापत्रमै उल्लेख गरेर अघि बढ्नुपर्छ ।”

नेत्री राणाले मुलुकमा कसरी शासन सञ्चालन भइरहेको छ भन्ने विषयमा प्रशिक्षण सञ्चालन गर्न आग्रहसमेत गर्नुभयो । निर्वाचन जितेर आउने तर शासन गर्न नजान्दा नेताहरू असफल हुने गरेको उहाँको टिप्पणी थियो । उहाँले सामाजिक सञ्जाल र पछिल्लो समय विकास भएको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को बारे पनि जानकारी लिन आवश्यक रहेको बताउनुभयो । पार्टीका नेताहरू नै आफूहरू फिल्डमा जाँदा एउटा कुरा भन्ने र काम अर्कै भइरहेको भन्दै नेत्री राणाले यसबीच सन्तुलन आवश्यक रहेको बताउनुभयो ।

पार्टीले सदस्यको सङ्ख्या मात्रै बढाएर नहुने भन्दै उहाँले सङ्ख्याले सबै अर्थ नराख्ने बताउनुभयो । “मलाई यस्तो जिल्ला र वडाहरू थाहा छ, जहाँ क्रियाशील सदस्यभन्दा कम भोट आएको छ”, उहाँले भन्नुभयो, “सदस्यता लिनका लागि पहिले आवेदन लिने र त्यसपछि प्रशिक्षण दिनुपर्छ, राजनीति किन गर्न लागेको जानकारी हुनुपर्छ ।”

डा राणाले कांग्रेसले आफ्नो परराष्ट्र नीतिमा पुनरावलोकन गर्नुपर्ने हो कि भनेर सोच्नुपर्ने सुझाव पनि दिनुभयो । विश्वभर धुव्रीकरण भइरहेको भन्दै यसमा ध्यान दिन उहाँले सुझाव दिनुभयो । “परराष्ट्र नीतिमा हामी पहिलेकै ठाउँमा छौँ कि यताउता भएका छौँ ? यस विषयमा स्पष्ट हुनुपर्छ”, उहाँले भन्नुभयो, “अहिले विश्व नै धुव्र्रीकरण भएको समयमा मुलुकलाई असंलग्न नीतिमा कसरी राखिराख्ने हो त्यसमा ध्यान दिनु जरुरी छ”, उहाँको भनाइ थियो ।

बरामद भएको अवैध सुन अब के हुन्छ ?

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ । यद्यपि टक्सारले यसको परीक्षण प्रक्रिया भने शुरु गरिसकेको छैन ।

पछिल्ला वर्षका अवैध सुन बरामद भएका घटना पटक–पटक दोहोरिएका छन् । भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरीलगायतका निकायले अवैध सुन समात्ने गरेका छन् । राजस्व छलेर आएको सुन बरामद भएपछि त्यो स्वतः सरकारको सम्पत्ति हुन जान्छ । तर सरकारले सुन आफैँ राख्ने नभई त्यो नेपाल राष्ट्र बैंकले राख्छ र सुनको मूल्य बराबरको रकम राष्ट्र बैंकले सरकारी खातामा जम्मा गर्छ ।

गत बुधबार बरामद भएको सुन हाल अनुसन्धानकै क्रममा रहेको र परीक्षणसमेत हुन बाँकी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । “बरामद गरेर ल्याइएको वस्तु अनुसन्धान प्रक्रियाका लागि सुरक्षित राखिएको छ । राजस्व अनुसन्धान विभागले चिट्टी पठाएर प्रक्रिया अगाडि बढाउन भनिसकेपछि मात्रै यसको तौल र गुणस्तरको जाँच्ने प्रक्रिया शुरु हुन्छ”, नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले भन्नुभयो ।

बरामद गरेर ल्याइएको वस्तु प्राविधिक परीक्षण पछि मात्रै कुन धातु, कस्तो गुणस्तरको र कति परिमाणमा छ भन्ने खुल्नेछ । यसको प्राविधिक परीक्षणका लागि पनि निश्चित प्रक्रिया हुने आचार्य बताउनुहुन्छ । “राजस्व अनुसन्धान विभाग, राष्ट्र बैंकको टक्सार महाशाखा, वित्त व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभागलगायतका प्रतिनिधि रहेर त्यसलाई खोलिन्छ”, उहाँले भन्नुभयो, “बरामद गरेर ल्याइएको वस्तु मोटरसाइकलका पार्टस्भित्र लुकाइएको भनिएकामा ती के–के हुन सबै छुट्याएर त्यसलाई गाल्ने प्रक्रिया शुरु हुन्छ । गालेर ढिक्का बनाइन्छ र त्यसपछि तौल जोखिन्छ । त्यसपछि टक्सार महाशाखाको ल्याबमा सुन होकि होइन भनेर प्राविधिक परीक्षण गरिनेछ । परीक्षण भइसकेपछि कुन गुणस्तर को हो भनेर छुट्याइनेछ ।”

अनुसन्धान प्रक्रिया टुङ्गिसकेपछि उक्त सुन राष्ट्र बैंकले खरिद गर्नेछ । यसरी सरकारसँग सुन खरिद गर्दा राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा पाँच प्रतिशत बढी रकम दिने गरेको आचार्यको भनाइ छ । यो मुद्दाको अदालती प्रक्रिया पूरा सकिसकेपछि उक्त सुनको मूल्य बराबरको रकम सरकारको खातामा राजस्वका रुपमा जम्मा हुन्छ भने सुन राष्ट्र बैंकमा सञ्चितीका रुपमा रहन्छ । यस्तो सुनबाट राष्ट्र बैंकले असर्फी बनाउने र बिक्री वितरणसमेत गर्ने गर्छ ।

कांग्रेस बैठकमा शुक्रबार ३४ जना केन्द्रीय सदस्यको धारणा

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालयमा यही साउन २ गतेदेखि जारी बैठकमा आज ३४ जना केन्द्रिय सदस्यले बोल्नुभएको थियो ।

उहाँहरुले विशेषगरी विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि धारणा व्यक्त गर्नुभएको थियो ।

बैठकमा आज केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुङ्गाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, शङ्कर भण्डारी, मीनबहादुर विश्वकर्माले आ–आफ्ना धारणा व्यक्त गर्नुभयो ।

यसैगरी बैठकमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, सीता गुरुङ, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, धु्रव वाग्ले, गेहेन्द्र गिरी, डा आरजु राणा देउवा, जीतजङ्ग बस्नेत, राजीव ढुङ्गाना र अञ्जनी श्रेष्ठ र मैकुलाल बाल्मीकिले आफ्ना धारणा राख्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहेकाले अर्काे बैठक साउन ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनभयो ।

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नुभएको छ ।

कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

टोलीमा अध्यक्ष ओलीसँगै उहाँका पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहनुभएको छ । उहाँ यही साउन ८ गते स्वदेश फर्कनुहुनेछ ।

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा महतको आह्वान

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गर्नुभएको छ ।

भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

भर्खर मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत गर्ने उद्योगलाई समेत प्रशस्तै सम्भावनाका ढोका खोलेको उहाँले बताउनुभयो ।

नेपालमा जलविद्युत् बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको उल्लेख गर्नुभयो ।

नेपालमा विद्युत् मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटनसमेत आकर्षक क्षेत्र रहेको, कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको, प्रतिफल फिर्ता लैजान नीतिगतरूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भई लगानी गर्न अनुरोध गर्नुभएको छ ।

नेपालमा सूचना प्रविधिको विकासले गति लिन थालेको र प्रशस्तै जनशक्तिको उपलब्धताले गर्दा लगानीकर्तालाई झनै आकर्षित गर्नसक्ने, भारतमा भन्दा सस्तो दरमै जनशक्ति उपयोग गर्न सकिने हुँदा प्रतिस्पर्धी क्षमतासमेत बढ्न सक्ने सम्भावना रहेको कार्यक्रममा बताउनुभएको छ ।

गुजरात उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सन्दीप इन्जिनियरले गुजरातका उद्योगी व्यवसायी नेपालमा लगानी विस्तार तथा व्यवसाय स्थापना गर्न इच्छुक रहेको बताउँदै त्यसको लागि प्रक्रियागत सहजीकरण गरिदिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले नेपालमा लगानी क्षेत्र तथा सम्भावनाका विषयमा भारतीय उद्योगी व्यवसायीलाई जानकारी गराउनुभएको थियो ।

कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन

टीकापुर – कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९÷८० मा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन । दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ ।

कैलाली भन्सार कार्यालयलाई गएको आर्थिक वर्ष २०७९÷०८० मा भन्सार विभागले रु १२ अर्ब ३० करोड ६६ लाख, ७८ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियो तर राजस्व भने रु आठ अर्ब २९ करोड ६३ लाख मात्र राजस्व उठेको छ । यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काले बताउनुभयो । “लक्ष्यअनुसार राजस्व उठन् सकेन”, खड्काले भन्नुभयो, “विगतका वर्षलाई हेर्दा राजस्व कम सङ्कलन भएको छ ।”

बैंक तथा वित्तीय संस्थामा देखिएको समस्याका कारण व्यापारिक वातावरण नहुँदा भन्सारबाट आउने र जाने सामानमा कमी भएकाले पछिल्लो समय राजस्व उठ्ने क्रम खस्केको सूचना अधिकारी खड्काले बताउनुभयो । यता टीकापुर नगरपालिकाको सीमामा रहेको सत्ती भन्सार कार्यालय खक्रौलाबाट पनि लक्ष्यअनुसार राजस्व उठ्न सकेन । भन्सार विभागले सत्ती भन्सारलाई आव २०७९÷०८० मा रु १६ करोड ९४ लाख, ४२ हजार राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकोे थियो । सत्ती भन्सारले रु सात करोड, ३८ लाख, ८९ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ४४ प्रतिशत मात्र भएको सत्ती भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरीले बताउनुभयो ।

“आर्थिकमन्दी, भन्सार कार्यालयमा क्वारेन्टाइन र प्लान्ट कार्यालय नहुनु पनि कारण हो”, चौधरी भन्नुहुन्छ, “सत्ती भन्सार कार्यालय खक्रौला भएर आउने भारततर्फको सडक राम्रो नभएकाले पनि भन्सारबाट लक्ष्यअनुसारको राजस्व नउठेको हो ।” कैलालीका भन्सार कार्यालयबाट आयातबाट मात्र राजस्व उठ्ने गर्छ । यी भन्सार भएर पेट्रोलियम पदार्थ, कपडा, मोटर पार्टस, हार्डवेयरका सामान, चामल, गहु“, पापड भुजिया, दालमोठ बिस्कुट, आलुजस्ता खाद्य बस्तुको आयात धेरै हुने गरेको छ तर निर्यात भने न्यून मात्रामा हुने गरेको र त्यसबाट नगन्य मात्रामा मात्र राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

यता, कैलालीको सत्तीमा क्वारेन्टाइन स्थापना हुनुपर्ने भन्दै स्थानीयले दबाब दिँदै आएका छन् । सत्ती भन्सारमा रहेको क्वारेन्टाइन सशस्त्र द्वन्द्वका बेला विस्थापित भएको थियो । “त्यो बेला विस्थापित भएका धेरै कार्यालय खुले तर क्वारेन्टाइन पुर्नस्थापना हुन सकेन”, स्थानीय सङ्गम चौधरी भन्नुहुन्छ, “क्वारेन्टाइन नभएका कारण पनि भन्सारले गति लिन सकेन, यहाँका व्यापारीलाई समेत दुःख भएको छ ।”

क्वारेन्टाइन स्थापनाको माग गर्दै उद्योग वाणिज्य सङ्घले गत महिना यहाँ दबाबमूलक कार्यक्रमसमेत सुरु गरेको थियो । क्वारेन्टाइन नभएकै कारण परीक्षण गरेर ल्याउनुपर्ने सामान यहाँका व्यापारीले नेपालगञ्ज वा धनगढी भएर ल्याउनुपर्ने बाध्यता छ ।

लम्पी स्किनको औषधि र खोप वडा वडामा

बलेवा – बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रले औषधि र खोप पठाएको हो ।

दुई हजार नौ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा ऋषिराम सापकोटाले बताउनुभयो । केन्द्रले बागलुङ नगरपालिकाका लागि पाँच सय पशुलाई पुग्ने खोप पठाएको छ ।

लम्पी स्किनबाट बागलुङमा एक सय ६६ गाईको मृत्यु भएको छ । लम्पी स्किन लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा एक सय चार डिग्रीभन्दा बढी ज्वरो आउने हुन्छ । फार्म नै सञ्चालन गरेका किसानका गाईगोरु यस रोगबाट बढी बिरामी भएको पाइएको छ ।

वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलोपटक लम्पी स्किनको सङ्क्रमण देखिएको थियो । त्यसपछि क्रमशः अन्यत्र फैलिएको सापकोटाले बताउनुभयो । पशु बिरामी हुँदा दूध उत्पादन घटेको छ । मृत्यु भएका पशुको कारण किसानले लाखौँ क्षति व्यहोरेका छन् । ढोरपाटन नगरपालिकाका एक हजार दुई सय गाईगोरु यसबाट बिरामी छन् । निसीखोलामा पाँच सय १३, गलकोट नगरपालिकामा एक सय ४२, बडिगाड गाउँपालिकामा एक सय ८१ र तमानखोलामा एक सय ८९ गाई बिरामी परेका छन् । बागलुङ नगरपालिकामा पनि दुई सय २१ गाईमा पनि लम्पी स्किन देखिएको छ ।

सङ्क्रमण बढेपछि स्थानीय तहले खोप किनेर लगाएका थिए । भेटेरिनरी अस्पतालले चार हजार पाँच सय डोज खोप पालिका तहमा पठाएको सापकोटाले बताउनुभयो । सबैभन्दा धेरै सङ्क्रमण देखिएको ढोरपाटनमा प्राविधिकको अभावमा खोप लगाउन नसकिएको उहाँले बताउनुभयो । किर्ना, डाँस, भुसुना र लामखुट्टेबाट पशुमा यो रोग सङ्क्रमण फैलिने तथा गोठ फोहोर हुँदा पनि सङ्क्रमण बढी हुने गरेको पाइएको छ ।

काँग्रेस केन्द्रीय समिति बैठक : आजबाट केन्द्रीय सदस्यले धारणा राख्न सुरु गर्ने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । 

मङ्गलवारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । बैठक बिहान ११ः०० बजेदेखि सुरु हुनेछ ।  

केन्द्रीय कार्यालय सानेपामा मङ्गलवार बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको थियो । मङ्गलवार दिउँसो २ः०० बजेबाट सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गर्नुभएसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा राख्नुभएको थियो ।

त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ। 

त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिनुभएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राख्नुभएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

ललिता निवास प्रकरण : आज पनि सुनुवाइ हुने

काठमाडौँ – ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश द्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मङ्गलवार बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने भएको हो ।

उक्त प्रकरणमा किर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरु गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।

सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।

देशका पहाडी भू-भागमा पानी पर्ने

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  हाल कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर आंशिकदेखि  सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ, गेग्र्यान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
२०८० श्रावण ०३ गते (बुधवार)
दिउँसो:
  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागका आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका  एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०८० श्रावण ०४ गते (बिहीबार)
दिउँसो
:  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भाग एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०८० श्रावण ०५ गते (शुक्रवार)
दिउँसो: 
 देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
​​​​​​​राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भाग एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हिउँदे सिँचाइका लागि पानी सङ्कलन

गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटार फाँटमा हिउँदे सिँचाइका लागि पानी सङ्कलन गर्न पोखरी निर्माण गरिएको छ । सुक्यायाममा बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याउन पोखरी निर्माण गरिएको वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । करिब पाँच सय रोपनी बाँझो जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो ।

बूढीगण्डकी नदीको पानी तानेर पोखरीमा जम्मा गर्ने र हिउँको सुक्यायाम महादेवटार फाँटमा हिउँदे तरकारी बालीमा सिँचाइको सुविधा पुर्याइने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । महादेवटार लिफ्ट सिँचाइ योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारमार्फत पोखरी निर्माणका लागि बजेट प्राप्त भएको उहाँले बताउनुभयो । “महादेवटार ठूलो टार हो, सिँचाइ अभावका कारण हिउँदयाममा जमिन त्यत्तिकै बाँझो राख्नुपर्ने बाध्यता यहाँका किसानको छ, तरकारी खेतीका लागि मात्र भने पनि मोटर लगाएर नदीबाट पानी तानेर सिँचाइ गर्ने गरी पोखरी निर्माण गरिएको हो”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।

पोखरी निर्माण सम्पन्न भएपछि महादेवटारका करिब दुई सय घरपरिवारले करेसाबारीमा हिउँदे सिँचाइ सुविधा प्राप्त गर्ने स्थानीयवासी रामकुमार दरैले जानकारी दिनुभयो । “नदीमा मोटर जडान गरी फलामको पाइपमार्फत पोखरीसम्म पानी तान्ने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “यो योजनाबाट यहाँका स्थानीयले तरकारी खेती गरी पर्याप्त लाभ लिनसक्ने सक्नेछन् ।”

पोखरीमा जम्मा हुने पानीबाट महादेवटार क्षेत्रका करिब पाँच सय रोपनीभन्दा बढी जमिनमा हिउँदका बेलामा तरकारी खेतीमा सिँचाइ गर्न सकिने उहाँको भनाइ छ । “लिफ्टमार्फत बूढीगण्डकीको पानी तानेर पोखरीमा पानी जम्मा गरी हिउँदमा तरकारी बालीमा सिँचाइ गर्ने योजनाअनुसार पोखरी निर्माण गरिएको हो”, उहाँले भन्नुभयो, “योजना सम्पन्न भए पनि कम्तीमा यहाँका स्थानीयवासीले आफ्ना लागि आफँैले तरकारी खेती गर्न पाउने भएपछि बाहिरबाट तरकारी आयात गर्नुपर्ने हाम्रो बाध्यता पनि हट्छ ।”

योजना सम्पन्न भए पनि आगामी हिँउददेखि महादेवटारका किसानले हिउँदे तरकारी बालीका लागि सिँचाइ सुविधा प्राप्त गर्ने स्थानीयवासी दरैले बताउनुभयो । योजना सम्पन्न गर्न स्थानीयवासीले उपभोक्ता समितिमार्फत पोखरी निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कल्भर्ट भत्किँदा आवागमन ठप्प

कञ्चनपुर – लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० स्थित बञ्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ । दुई दिनदेखिको अबिरल वर्षाको पानीले कल्भर्टको पूर्वतर्फको भाग भत्काएको हो । 

एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको कालोपत्र सडकमा पर्ने कल्भर्टको बीच भागबाट टुटेर भत्किएको छ । छब्बीस वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले कल्भर्ट निर्माण गरेको थियो । निर्माण गरिएको लामो समयसम्म मर्मत नगरिँदा कल्भर्ट भत्किएको स्थानीय बासिन्दाको भनाइ छ ।

“कल्भर्ट जीर्ण बन्दै गएकाले मर्मतसम्भार गर्नुपर्ने वा नयाँ पुल निर्माण गरिनुपर्ने माग छ वर्ष पहिलेदेखि गर्दै आएका हौँ”, स्थानीय बासिन्दा चुडामणि जोशीले भन्नुभयो, “कुनै पनि निकायले ध्यान दिएन, कल्भर्ट भत्किएपछि आवागमन नै ठप्प भएको छ ।” सडक कालोपत्र गर्ने कार्य भइरहेका बेला पुरानो कल्भर्ट  जीर्ण भएकाले जुनसुकै बेला पनि भत्किने अवस्थामा रहेकाले नयाँ कल्भर्ट  निर्माणका लागि नगरपालिकासँग आग्रह गरिए पनि सुनवाइ हुन नसकेको उहाँले बताउनुभयो ।

“सडकको पानी फाल्नका लागि पूर्वतर्फको भागमा नाली बनाइएको थियो”, स्थानीय गगनबहादुर साहुले भन्नुभयो, “नाली भएकै ठाउँबाट कल्भर्ट  भत्किएको छ, पुलमा आवागमन नभएका बेला भत्किएकाले अप्रिय घटना हुन पाएन ।” तत्कालीन झलारी गाउँपालिकाका अध्यक्ष टेकबहादुर हमाल विसं २०५४ मा कल्भर्ट निर्माणको कार्य प्रारम्भ भई विसं २०५८ मा सम्पन्न भएको बताउनुहुन्छ । 

“कल्भर्ट  निर्माण गर्ने क्रममै खोलामा दलदल हुँदा एकातर्फको भाग भत्किएको थियो”, उहाँले भन्नुभयो, “भत्किँदा केही महिना कल्भर्ट  निर्माणकार्य रोकियो, बजेट थप गरेर पुल पुनःनिर्माण गरिएको हो ।”

उहाँका अनुसार त्यो बेला जिल्ला विकास समितिले ठेक्का प्रक्रियाबाट कल्भर्ट रु १२ लाखको लागतमा बनाएको थियो । “पहिला अहिलेजस्तो पाइलिङ गर्ने प्रविधि थिएन”, उहाँले भन्नुभयो, “इँटाको पिलर बनाएर कल्भर्ट बनाइने गरेको थियो, धेरै वर्षसम्म कल्भर्ट मर्मत नहँुदा भत्किएको छ ।” नगरपालिकाले तत्काल पुल निर्माणका लागि काम अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । कल्भर्ट भत्किएपछि नगरपालिकाले अप्रिय घटना हुन नदिनका लागि पुलका दुवैतर्फको आवागमन बन्द गरेको छ ।
 
स्थानीय बासिन्दाले कल्भर्टको आवागमन रोकिएपछि सात किलोमिटरको यात्रा गर्दै झलारी बजार र नगरपालिका कार्यालय पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ । कल्भर्ट भएर लालवनिया टोलमा लगिएको खानेपानीको पाइपमा क्षति पुगेको छ । पाइपमा क्षति पुग्दा २० घरपरिवार खानेपानीबाट बञ्चित भएका छन् । 

नगरप्रमुख रणबहादुर महराले बहुवर्षे ठेक्का लगाएर भए पनि खोलामा कल्भर्ट निर्माणकार्य गरिने बताउनुभयो । “वर्षात्को समय भएकाले तत्काल कल्भर्ट  निर्माणकार्य गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “वर्षा सकिएसँगै कल्भर्ट निर्माणका लागि पहल गर्छौँ, पुल जीर्ण भएकाले नयाँ बनाउनका लागि पहल गरिहेका थियौँ, त्यही बेला पुल भत्किएको छ ।” स्थानीय बासिन्दालाई आवतजावतका लागि वैकल्पिक व्यवस्था गरिने उहाँको भनाइ छ ।

अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्रीबीच भेटवार्ता

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच द्विपक्षीय भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा जारी जि–२० का अर्थमन्त्रीहरूको बैठकका क्रममा उहाँहरूबीच भेटवार्ता भएको हो ।

सो वार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा सहयोग आदान–प्रदानका विविध विषयमा कुराकानी भएको मन्त्री डा महतले जानकारी दिनुभयो ।

यस वार्तामा आपसी हितका विविधि विषयका साथै एकअर्काको चासो र सरोकारहरूप्रति दुवै देश संवेदनशील रहेको बारेमा पनि उहाँहरूबीच छलफल भएको थियो ।

वार्ताका क्रममा मन्त्री डा महतले चीनले नेपालको विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । सन् २०१९ मा चीनका राष्ट्रपतिले गर्नुभएको नेपाल भ्रमणका क्रममा उहाँले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको स्मरण गर्दै कोभिडका कारण त्यस्ता आयोजनाहरू समयमा अघि बढ्न नसकेकामा अब चाँडै अघि बढ्ने विश्वास पनि त्यस वार्ताका क्रममा दुवै पक्षले व्यक्त गर्नुभएको थियो ।

मन्त्री डा महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाहरूबाट दुई देश जोड्ने सडक परियोजनाहरू सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायहरूले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले सुरुङमार्गका प्रसङ्गमा टोखा–छहरे सुरुङमार्ग चाँडो कार्यान्वयनमा आउने आशा पनि व्यक्त गर्नुभयो ।

त्यस वार्ताका क्रममा चिनियाँ अर्थमन्त्री लिउले नेपालको विकासका क्षेत्रमा चीन सदैव सहयोगी हुन चाहेको उल्लेख गर्दै दुई देशबीचका सहयोग परियोजनाहरू चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभएको थियो ।

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफल नसकिएकाले आज पुनः बस्न लागेको हो ।

सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने उपमहासचिव डा विजय पौडेलले जानकारी दिनुभयो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव डा गङ्गालाल तुलाधर, उपमहासचिव डा पौडेललगायत नेताले पार्टीको वैचारिक नीति र सङ्गठन सुदृढीकरणमा धारणा राखिसक्नुभएको छ । पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छन् । बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्ययोजना पारित गरिने छ ।

विपन्न बालबालिकालाई पोशाक वितरण

काठमाडौँ – समाजसेवी डा विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गर्नुभएको छ । उहाँले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१ र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई पोशाक सहयोग गर्नुभएको हो ।

वडा कार्यालयको आग्रह र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान)का अध्यक्ष बिन्दु थापा परियारको समन्वयमा उक्त सामग्री सोमबार वितरण गरिएको हो ।

सो अवसरमा अध्यक्ष परियारले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालय पोशाक सहयोग गरिएको बताउनुभयो । लखन –७ का वडाध्यक्ष शरण श्रेष्ठले सामुदायिक विद्यालयप्रति बालबालिकाको आकर्षण बढाउन सबैको प्रयत्न आवश्यक छ भन्नुभयो । रासस

कृषकलाई अनुदानमा कृषि एम्बुलेन्स सहयोग

रत्ननगर – चितवनको इच्छाकामना गाउँपालिकाले यहाँका कृषकका लागि अनुदानमा कृषि एम्बुलेन्स प्रदान गरेको छ । इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगत्प्रसाद भुसाल, वडा नं २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङ, वडा नं ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतले कृषक समूहका अध्यक्ष एकबहादुर चेपाङलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो ।

इच्छाकामनाको पहाडी भेगका कृषकले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज ढुवानीका लागि आर्थिक वर्ष २०७९÷८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको हो । एम्बुलेन्सको लागत ‘भ्याट’सहित रु २५ लाख ३४ हजार नौ सय ९९ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार लागत मूल्यको ७५ प्रतिशत रकम गाउँपालिकाले लगानी गरेको छ भने बाँकी २५ प्रतिशत रकम हपनी कृषक समूहले व्यहोरेको छ । गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानले आफ्नो उत्पादन सहज र सर्वसुलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । “हामीले कृषि उत्पादनको योजनालाई उच्च प्राथमिकता दिँदै अगाडि बढेकाले कृषि उत्पादन बजारीकरणका थुप्रै योजना ल्याएका छौँ, त्यसअन्तर्गत कृषि एम्बुलेन्स पनि एक हो”, उहाँले भन्नुभयो, “यसले किसानको उत्पादन ढुवानीमा सहजीकरण गरी बेलैमा बजार पुर्याएर उचित मूल्य पाउने र बेलैमा ढुवानी गर्न नसकेर यत्तिकै खेर फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएका छौँ ।”

एम्बुलेन्स सञ्चालनमा आएसँगै गाउँपालिकाको वडा नं १ र २ का काउले, हपनी, मायाटारलगायतका पहाडी भू–भागमा रहेका किसान लाभान्वित हुने जनाइएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुने भएको छ । झन्डै एक वर्षपछि केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसोे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० कार्यसूची तय गरेको र सोही कार्यसूचीमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदनका लागि पेस गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको छ । यसअघि असार २७ गते तय भएको बैठक विविध कारणले गर्दा आजलाई सारिएको हो ।