`

आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल

काठमाडौँ, ५ असारः उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले सुदृढ अर्थतन्त्र निर्माणको दिशामा थप एक कदम अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रस्तुत बजेटले नयाँ सपना देख्ने भन्दा पनि देखेका सपनालाई पूरा गर्ने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका दृष्टिकोणले नयाँ उदाहरण स्थापित गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट आकार, अनुमान र प्रस्तावका दुष्टिले मात्र होइन कार्यान्वयनमा दृष्टिले पनि उपयुक्त थियो भन्ने अभिलेख होस भन्ने सोच र सङ्कल्पका साथमा बजेट प्रस्तुत भएको छ ।” आगामी आर्थिक वर्षको अन्त्यसम्म मुद्रास्फीति ५.५ प्रतिशतमा राख्न छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गरी बजेट कार्यानवयन हुने समेत उल्लेख गर्नुभयो ।

“बजेटमार्फत मुलुकको अर्थतन्त्र चलायमान हुनेछ, बजेट कार्यान्वयनपछि हामी सुदृढ राष्ट्रिय अर्थतन्त्रको निर्माणको दिशामा एक कदम अघि बढेको हुनेछौँ, सोही अठोट र सङ्कल्पसहित प्रस्तुत बजेट आएको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

आगामी आवको बजेट नयाँ योजनाको भन्दा पनि विगतमा सुरु भएका योजना पूरा गर्ने गरी आएको उल्लेख गर्दै उहाँले विगतमा घोषणा गर्ने गरेका आयोजनाहरुको प्रभावकारी कार्यान्वयनमा केन्द्रि रहेको उल्लेख गर्नुभयो ।

तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी हुने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले दिएको जानकारी अनुसार बुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौँ बाहिर रहेकाले आजका लागि सारिएको हो ।

सुचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने

काठमाडौं । अबदेखि सूचना प्रविधि उद्योगले विदेशमा अधिकतम १० लाख अमेरिकी डलर सम्मका परियोजनामा लगानी गर्न सक्नेछन् ।नेपाल राष्ट्र बैंकले बुधवार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन नियमावली २०७८ मा चौथो संसोधन गर्दै विदेशमा लगानी गर्न चाहने आईटी कम्पनीहरुलाई लगानी गर्ने सीमा तोकिदिएको हो ।

‘विदेशमा लगानी गर्न प्राप्त गर्ने विदेशी मुद्राको अधिकतम सीमा उक्त उद्योगले पछिल्लो तीन आर्थिक वर्षहरुमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गरी आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्रासम्म (दुई मध्ये न्यून) हुनेछ,’ संशोधित विनियमावलीमा उल्लेख गरिएको छ ।

यसअघि सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को वजेटमार्फत नेपालीलाई विदेशमा लगानी गर्न वाटो खोलेको थियो । नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा बिक्री शाखा वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइने बजेटमा उल्लेख छ ।

औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनबमोजिम सूचना प्रविधि उद्योगले आफ्नो चुक्ता पूँजीको सीमाभित्र रहने गरी सूचना प्रविधि सम्बन्धी क्षेत्र÷ उद्योगमा विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्ने गरी विनियवली संसोधन भएको हो ।

यसका लागि निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने कानूनी व्यवस्था गरिनेछ र यस्तो व्यवसायबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ ।

सयौँ युरोपेली इजरायलबाट स्वदेश फिर्ता

इरानसँगको द्वन्द्व चर्किरहेका बेला युरोपेली मुलुकहरूले बुधबार इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएका छन् ।

जर्मनीको विदेश मन्त्रालयका प्रवक्ता क्रिश्चियन वाग्नरका अनुसार जोर्डनमा चार्टर्ड गरिएको व्यावसायिक उडानमार्फत करिब २०० जनालाई जर्मनीले ल्याउने अपेक्षा गरिएको छ ।

अम्मानबाट दोस्रो उडान बिहीबारका लागि तय भएको उहाँले बताउनुभयो ।

रोममा इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले इजरायल छाड्न चाहने इटालियाली नागरिकका लागि उडान उपलब्ध गराइएको बताउनुभएको छ ।

ग्रीसले आफ्ना १०५ जना नागरिक र केही विदेशी नागरिकलाई स्वदेश फर्काएको जनाएको छ ।

इजिप्टको शर्म अल शेखबाट सी–१३० र सी–२७ ग्रीक वायु सेनाको विमानमार्फत एथेन्स पु¥याइएको दूतावासले जनाएको छ ।

विमानमा ग्रीक नागरिक र उनीहरूका परिवारका साथै अल्बानिया, अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, फ्रान्स, जर्मनी, जर्जिया, हङ्गेरी, इटाली, लिथुआनिया, रोमानिया, स्वीडेन, स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरू रहेका थिए ।

पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोरस्कीले पोल्याण्डको पहिलो समूह आफ्नो देश फर्कन सफल भएको र बिहीबारका लागि अर्को उडान तय भएको बताउनुभएको छ ।

सोफियामा ८९ जना बुल्गेरियालीसहित १४८ जनालाई उद्धार गरिएको एउटा निजी विमान बुधबार राति अवतरण गरेको छ ।

गत शुक्रबार इरानको आणविक र सैन्य केन्द्रलाई लक्षित गरी इजरायलले अकस्मात अवाइ आक्रमण चलाएपछि विदेशीहरू देश छोड्न हतारिएका छन् ।

युद्ध सुरु भएदेखि नै दुवै देशका आवासीय क्षेत्रहरूमा घातक आक्रमणहरू भएका छन् र विदेशी सरकारहरूले आफ्ना नागरिकहरूलाई बाहिर निकाल्न कोसिस गरिरहेका छन्।

त्रिकोणात्मक टी–२० : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगत आज नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको थियो । यसअघि तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ ।

दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ । पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलको तेस्रो सुपर ओभरमा नेपाललाई हरायो भने तेस्रो खेलमा स्कटल्यान्डमाथि १७ रनको जित निकालेको थियो ।

पहिलो खेलमा नेदरल्यान्ड्समाथि ३९ रनको जित निकालेको स्कटल्यान्ड भने दोस्रो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको छ ।नेपाल र स्कटल्यान्डले अन्तिम खेल शुक्रबार खेल्दैछन् । समान दुई अंक भए पनि तालिकामा स्कटल्यान्ड दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ५ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३१, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो भारतीय प्रतिकिलो रु ४४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४४, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ५५, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ६५, मूला रातो प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २२, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ३५, मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी मूल्य प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ३५, परबर (तराई) प्रतिकिलो रु ४२, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ४५, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३८, भिण्डी प्रतिकिलो रु ४५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ७०, रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो रु ४५, तोरीको साग प्रतिकिलो रु ३५, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३५ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १७०, रातो बन्दा रु ८०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ७०, आँप (दशहरी) प्रतिकिलो रु ८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो (लोकल) प्रतिकिलो रु ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १८, रुखकटहर प्रतिकिलो रु ६५, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु १९० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ३५, खुर्सानी हरियो अकबरे प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु ६०, धनियाँ प्रतिकिलो रु ५५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

राप्ती नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट बच्चा कोरलियो

चितवन ५ असारः चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा राप्ती नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट बच्चा कोरलिएका छन् । सङ्कलन गरिएका २३२ अण्डामध्येबाट २०२ वटा बच्चा कोरलिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार सङ्कलन गरिएका अण्डामध्ये २० वटालाई प्रयोगशालामा छुट्टै राखिएको थियो । यसबाट १९ बच्चा कोरलिएको छ । अन्य अण्डालाई प्रजनन केन्द्रमा प्राकृतिक रुपमा राखिएको थियो । गत वैशाख १६ गते राप्ती नदी किनारमा रहेका गोहीका गुँडबाट सङ्कलन गरी अण्डा ल्याइएको थियो । निकुञ्जले १८ गँुड पहिचान गरी तीमध्ये सात गुँडबाट अण्डा सङ्कलन गरेर केन्द्रमा बच्चा कोरल्नका लागि ल्याएको थियो । सातवटा गुँडमा रहेका २३२ अण्डा सङ्कलन गरी गोही प्रजनन केन्द्रमा ल्याईएको थियो ।

सङ्कलन गरेर ल्याइएका अण्डामध्ये २१२ अण्डालाई प्राकृतिक रुपमा कोरलिनका लागि छोडिएको थियो । गत आर्थिक वर्षमा राप्ती नदीमा भेटिएका १६ गुँडमध्ये आठ गुँडका २४७ अण्डा निकालिएको थियो ।

प्राकृतिक रुपमा बच्चा कोरल्नका लागि छोडिँदा सर्प, चराहरु र अन्य जनावारसँगै मानवीय गतिविधिबाट हानिनोक्सानी हुने, नदीमा बाढी आउँदा बगाउने हुँदा जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गर्ने गरिन्छ । निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चाहरु हुर्काएर पुनः विभिन्न नदीहरुमा छोड्ने गरिएको छ । यहाँ हुर्किएका गोही नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको छ । पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।
–––

वडा अध्यक्षमाथि भएको आक्रमणप्रति हेटौंडा उपमहानगरपालिको गम्भीर ध्यानाकर्षण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सविन न्यौपानेमाथि भएको संघातिक आक्रमणप्रति हेटौंडा उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार दिउँसो वडाध्यक्षको कार्यकक्षमा पसेर एक समूहले उनलाई शारीरिक रूपमा आक्रमण गर्नुका साथै दुई थान मोबाइल लुटपाट गरेको थियो । घटनापछि उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरी यस्ता आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ ।
नगर प्रमुख मिना लामाले जनप्रतिनिधिमाथिको आक्रमणले उनीहरूको मनोबल गिराउने भन्दै घटनाको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्नुभयो। उहाँले यस्ता लुकिछिपी गरिने आक्रमणहरूलाई राजनीतिक गतिविधि नभई अराजक क्रियाकलापको संज्ञा दिइन् ।

वडाध्यक्ष न्यौपानेले पनि आफूलाई लक्षित गरी गरिएको आक्रमण योजनाबद्ध भएको भन्दै संलग्न समूहलाई चाँडो पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरे ।

उपमहानगरले संघीय, प्रदेश र स्थानीय तहमा रहेको कानुनी संरचनाको परिधिमा रही दोषीलाई कारबाही गर्न, पत्रकारिताको नाममा भइरहेका यस्ता गतिविधिमा नियन्त्रण गर्न तथा संलग्न पक्षविरुद्ध प्रचलित कानुनअनुसार कडा कारबाही गर्न आग्रह गरेको छ ।

आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।बिहीबार विहान ८ बजे सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो ।

बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

बाम नेता साह माओवादी केन्द्रमा प्रवेश

चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रिय सदस्य भरत प्रसाद साह औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।बुधबार नेता साह चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका लगाई पार्टी प्रवेश गरेका हुन् ।बारा जिल्लाको कलैया पमहानगरपालिका–५ निवासी साहले आफ्नो राजनीतिक जीवनको सुरूवात २०३५ सालमा अखिल (पाँचौं) का बारा जिल्ला अध्यक्षको रूपमा गरेका थिए ।

त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिमा सक्रिय सहभागिता जनाएका थिए ।२०५४ देखि २०५९ सालसम्म एमाले शिक्षक संगठन बारा जिल्ला अध्यक्षका रूपमा नेतृत्व सम्हालेका साह २०६१ सालमा नेपाल शिक्षक युनियन बारा जिल्ला अध्यक्ष र २०७१ सालतिर केन्द्रिय अध्यक्ष बनेका थिए ।

राजनीतिक रूपमा स्थिर र अनुभवसञ्चित नेताका रूपमा चिनिएका साह हालसम्म नेकपा (एमाले) को राष्ट्रिय सल्लाहकार परिषद सदस्यको रूपमा क्रियाशील थिए । पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्र रोजेको बताइएको छ ।

पार्टी प्रवेशपछि अध्यक्ष प्रचण्डले साहको आगमनले पार्टी अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् । साहको आगमनसँगै माओवादी केन्द्रले बारा लगायत मधेशमा थप सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

नवलपुर (नवलपरासी), ५ असार : निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा रातिदेखि पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार यस खण्डको विनयी खोलको डाइभर्सन बगाउँदा र दाउन्नेमा सडक चिप्लो भएका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले पुल नहुँदा विनयी खोलामा डाइभर्सन गरी सवारीसाधन सञ्चालन गरिएकोमा बाढीले डाइभर्सन बगाएको बताउनुभयो । त्यस्तै लगातार परेको पानीका कारण दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायतका स्थानमा सडकमा जम्मा भएको हिलो र चिप्लो सडकका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको उहाँको भनाइ छ । यसखण्डमा यातायात आवागमनमा सहजता नभएसम्म वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न नेपालले आग्रह गर्नुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन नारायणगढ, मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यमा जान उहाँले आग्रह गर्नुभएको छ । त्यस्तै काठमाडौँबाट पश्चिम जाने सवारीसाधन मुग्लिङ पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यतर्फ जान र पश्चिमबाट पूर्व जाने सवारीसाधन बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्यमा जान नेपालले आग्रह गर्नुभयो । त्यसैगरी, साना सवारीसाधन भने सडकको अवस्था बुझेर कालीगण्डकी करिडोरको गैँडाकोट (नवलपुर) पिपलडाँडा (पाल्पा) सडक प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

साथै, पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णयता बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ

कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकीका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ।

६ वर्षीय बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा आएन

तनहुँ, ५ असारः बन्दीपुर गाउँपालिका–२ कुवादीका ६ वर्षीय उत्सव गुरुङको चितुवाको आक्रमण परी मृत्यु भएको नौ दिन बितिसक्दा पनि चितुवालाई नियन्त्रणमा लिन सकिएको छैन । गत जेठ २६ गते साँझ आफ्नै घरआँगनमा खेल्दै गरेको अवस्थामा चितुवाले आक्रमण गरी बालकको ज्यान लिएपछि सिद्धथान सामुदायिक वनमा बाख्रासहितका पाँचवटा खोर राखेर पासो थाप्ने काम गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका भेटेरिनरी प्राविधिक दिनेश ढकाल, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका किरणराज रिजाल र वन्यजन्तु प्राविधिक थिरुलाल थारूको डार्टिङ टोलीले त्यस क्षेत्रमा निगरानी बढाइरहेको छ ।

डार्टिङ टोलीले चितुवा भेटेको अवस्थामा बेहोस बनाएर अन्यत्र स्थानान्तरण गर्ने योजना रहेको डिभिजन वन कार्यालयका वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डार्टिङ टोलीले चितुवाको पदमार्ग र दिशा भेटिएकाले छिट्टै नियन्त्रणमा लिन सकिनेमा विश्वस्त रहेको जनाएका छन् ।”

बन्दीपुरमा चितुवा आक्रमणमा परी चालु आर्थिक वर्षको साउनदेखि यता ११ महिनाको अवधिमा तीन बालबालिकाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने बालक दुई र एक बालिका रहेका छन् । डिभिजन वन कार्यालयका अनुसार २०७४ फागुन ९ गतेदेखि आठ वर्षको अवधिमा १२ बालक र पाँच बालिकाले ज्यान गुमाइसकेका छन् ।

जिल्लाका भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाको आक्रमणले मानवीय क्षति भएको छ । चितुवाको आक्रमणबाट आठ वर्षको अवधिमा २१ जना घाइते भएका छन् । घटना भएपछि स्थानीयवासीलाई साँझपख घरबाहिर ननिस्कन र सतर्कता अपनाएर बस्न तथा चितुवा देखिए तुरुन्त सम्पर्क गर्न स्थानीयलाई आग्रह गरिएको डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिनका लागि सोही ठाउँ आसपासमा पासो राखिएको अर्का वन अधिकृत नवीन विश्वकर्माले बताउनुभयो । चितुवाका लागि सिकार गर्ने अनुकूल समय साँझपख हुने भएकाले घरबाहिर निस्कन नहुने र बालबालिकालाई एक्लैदुक्लै छाड्न नहुने विश्वकर्मा बताउनुहुन्छ ।

साँझमा सिकार खोज्ने चितुवाले मृग, कुकुर वा गाईवस्तुका बाछाबाछी नभेट्दा बालबालिका निशानामा पर्ने जोखिम अत्यधिक हुने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरिएको कार्यालय प्रमुख शरदकुमार अधिकारीले बताउनुभयो ।

चैते धान थन्क्याउने चटारोमा तनहुँका किसान

डुम्रे (तनहुँ), ५ असारः जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ ।

जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ । व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा धानखेती गरिन्छ । तर, भानु, व्यास, म्याग्दे र आँबुखैरेनीका अधिकांश फाँटमा चैते धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाका कुल नौ हजार ४६४ हेक्टर क्षेत्रफलमा धानखेती हुने भए पनि एक हजार ८०२ हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले भन्नुभयो, “मनसुन सुरु भएसँगै चैते धानखेती थन्क्याउन किसान व्यस्त छन् । चैते धान थन्क्याउनासाथ असारे धान (वर्षे धान) रोप्ने चटारो हुन्छ । जिल्लाका चैते धानखेती हुने फाँटमा लगाइएका धान थन्क्याउन भ्याननभ्याई छ ।”

मनसुन सुरु हुनासाथ वर्षेधान मात्रै हुने स्थानमा अहिले रोपाइँ सुरु भइसकेको उहाँले बताउनुभयो । तनहुँ धानखेती हुने पहाडी जिल्लाकै रूपमा पर्ने गरेको उहाँको भनाइ छ । अधिकृत परियारका अनुसार उक्त क्षेत्रफलमा गरिएको धानखेतीबाट आर्थिक वर्ष २०८०÷८१ मा ३७ हजार ९४२ मेट्रिकटन धान उत्पादन भएको छ । त्यसमध्ये आठ हजार ७०४ मेट्रिकटन चैते धान उत्पादन भएको जनाएको छ ।

चैते धान प्रवद्र्धन कार्यक्रमले यसतर्फ किसान आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ । थन्क्याउने कार्य चलिरहेकाले चालु आर्थिक वर्षको तथ्याङ्क आउन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइ भएको क्षेत्रफल र केही क्षेत्रमा सिँचाइको व्यवस्थापन भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।”

भानुको चुँदीफाँट, खहरेफाँट, सतीघाटफाँट, व्यासको घाँसीकुवाफाँट, साँगेफाँट, कलेस्तीफाँट, माझफाँट, गजौडेफाँट, शिशाघाटफाँट, म्याग्देको गुणादीफाँट, थर्पुफाँट, पसलेफाँट, सेराफाँट र शुक्लागण्डकीको ढोरफिर्दीफाँट, भिमादको बुडुवाफाँटलगायतका विभिन्न पालिकाका फाँटमा धानखेती हुने गरेको छ । चैते धान विशेषगरी चिउरा उत्पादनका लागि उपयोग हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, ५ असारः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६० पैसा र बिक्रीदर १८६ रुपैयाँ ४१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २१ पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २३ पैसा र बिक्रीदर चार रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ २८ पैसा र बिक्रीदर २१ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ ७५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६० रुपैयाँ १६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

भारतसँग सीमा जोडिएका सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर, ५ असारः भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ । सीमानाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो ।

“भारतबाट फर्केका बिरामीमा उच्च ज्वरो, श्वासप्रश्वास र रुघाखोकीको समस्या थियो,” सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले भन्नुभयो, “एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि अस्पतालको ‘आइसुलेसन’मा राखेर उपचार भइरहेको छ ।”

सो नाका हुँदै फर्केका शङ्कास्पद पाँच जनाको एन्टिजेन परीक्षणको कार्य गरिँदा एक जनाको नतिजा मात्रै पोजेटिभ आएको छ । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले आइसुलेसनमा राखेर उपचार भइरहेका बिरामीको स्वास्थ्य अवस्थामा बिहानको तुलनामा सुधार आएको बताउनुभयो । उहाँ पुनः कोरोना भाइसको सङ्क्रमण बढ्न थालेपछि आइसुलेसनमा राखेर उपचार भइरहेका बिरामी पहिलो भएको बताउनुभयो ।

भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेकाले मास्कको प्रयोगलाई बढावा दिने, स्यानिटाइजरको प्रयोग गर्ने कार्यसँगै स्वास्थ्यसम्बन्धीका सावधानी अपनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन कोरोनाको सङ्क्रमणमा परेका व्यक्तिहरुले क्वारेन्टिन वा होमआइसुलेसनमा इमान्दारिपूर्वक बस्नुपर्ने उहाँ सुझाव दिनुहुन्छ । भारतसँग सीमा जोडिएका प्रदेशका पाँचवटा क्षेत्रमा ‘हेल्थ डेस्क’ मार्फत शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।

कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा र खकरौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गर्दै आएका छन् । गत जेठ २१ देखि यही असार ४ गतेसम्म सीमानाका हुँदै फर्केका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये कोरोना सङ्क्रमण पुष्टि भएका १६ जना निको भएका छन् । अझै सातजना होम आइसुलेसनमा बसेर उपचार गरिरहेका छन् ।

सुरक्षा व्यवस्थालाई मजबुत बनाउन दुई प्रदेशको सीमानामा प्रहरी चौकी

रामपुर (पाल्पा), ५ असारः लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमानामा पर्ने पाल्पाको निस्दी गाउँपालिका–१ भोटाहामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रहरी चौकी स्थापना गरिएको हो ।

कालीगण्डकी करिडोर प्रयोग गर्ने बढ्दै जाँदा चोरी निकासी तथा अवैध गतिविधि नियन्त्रण गर्न, निस्दी गाउँपालिका–१ र २ का स्थानीयलाई शान्ति सुरक्षा दिलाउन, सवारी दुर्घटना न्युनिकरण, अपराधिक क्रियाकलाप रोक्नका लागि दुई प्रदेशको सीमा नाकामा प्रहरी चौकी स्थापना गरी सेवा दिन थालिएको हो । भाडाको घरबाट सञ्चालित चौकीका लागि निस्दी गाउँपालिकाले आवश्यक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो ।

गाउँपालिकाले एउटा मोटरसाइकल समेत उपलब्ध गराउने भएको छ । यहाँ स्थापना भएको प्रहरी चौकीसँगै पाल्पामा हाल १९ स्थायी प्रहरी चौकी र ६ अस्थायी प्रहरी चौकी सञ्चालनमा छन् । प्रहरी प्रधान कार्यालयले गत वैशाखमा स्वीकृत प्रदान गरेसँगै अस्थायी पोष्ट स्थापनाका लागि आवश्यक तयारी गरेर चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले लुम्बिनी प्रदेशको पाल्पा र गण्डकीको नवलपुरका सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रणका लागि सहज हुने बताउनुभयो ।

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

काठमाडौँ, ५ असारः परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ ।

मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहनुहुने नेपाली नागरिकका सो जानकारी जारी गरेको हो । इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्नु हुन मन्त्रालयले अनुरोध गरेको छ ।

त्यस्तै, इजरायल र इरानबाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नु हुनसमेत सूचनामा उल्लेख छ । इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको उल्लेख गर्दै त्यहाँ रहनुभएका नेपाली नागरिक हालसम्म सुरक्षित रहनुभएको र निजहरुको हितको रक्षा गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने जनाएको छ ।

स्वेच्छाले नेपाल फर्कन चाहने नेपाली नागरिकका लागि हाल इजरायल र इरानको हवाईमार्ग बन्द रहेका कारण तेस्रो मुलुक हुँदै नेपाल फर्कनु परेमा तेस्रो मुलुकको ‘ट्रान्जिट भिसा’ लिनुपर्ने अवस्था आउन सक्ने भएकाले यसका लागि सहजीकरण गर्न आवश्यक पहल गरिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

इजरायल र इरानमा रहनुभएका नेपाली नागरिकलाई आफ्नो सुरक्षालाई प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर वा बङ्कर÷सेल्टरबाट बाहिर ननिस्कनु हुन मन्त्रालयले अनुरोध गरेको छ । साथै इजरायल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तर रुपमा लिन र पालना गर्न अनुरोध गरिएको छ ।

मन्त्रालयले नेपाली समुदाय र नेपाली राजदूतावाससँग नियमित रुपमा सम्पर्कमा रहन, परराष्ट्र मन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रासम्बन्धी जानकारी नियमित रुपमा हेर्न आग्रह गरेको छ । सङ्कट आइपरेमा उद्धार तथा सहायता र ‘ट्रेकिङ’ गर्न सहजताका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र नेपाली राजदूतावास, तेल अभिभको ‘वेबसाइट’मा राखिएको ‘अनलाइन लिङ्क’मा दर्ता गरी आफ्नो विवरण फाराम यथाशीघ्र भर्नु हुन अनुरोध गरिएको छ ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ, ५ असारः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हँुदैछ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुने सम्भावित कार्यसूची छ ।

वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्राल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल गर्ने कार्यसूची छ ।

विनियोजन विधेयक, २०८२ अन्तर्गत उल्लिखित मन्त्रालयका विभिन्न शीर्षकमाथि प्राप्त खर्च कटौतीका प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध कायम गर्दै आएका छन् । माग सम्बोधन नभएसम्म सदनमा अवरोध कायम गर्ने रास्वपाका नेताहरुले बताउँदै आउनुभएको छ ।

राष्ट्रियसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेस गर्नुहुनेछ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

बैठकले संविधानसभा सदस्य वीरेन्द्र जुहारचन र प्रतिनिधिसभाका पूर्वसदस्य ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछ ।

हेटौँडा उपमहानगरपालिका–१ का वडा अध्यक्षमाथि आक्रमण

मकवानपुर, ४ असार : हेटौँडा उपमहानगरपालिका–१ का अध्यक्ष तथा उपमहानगर प्रवक्ता सविन न्यौपानेमाथि उहाँकै कार्यकक्षमा साङ्घातिक आक्रमण भएको छ । भूमिसम्बन्धी समस्या देखाउँदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका चार जनाको समूहले अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण गरेको हो । उनीहरूले अध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीबाट टाउकोमा प्रहार गरी मोबिल छ्यापी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अपरिचित व्यक्तिको समूहले वडाअध्यक्ष न्यौपानेलाई कालो मोबिल छ्यापेको थियो । वडा कार्यालयमा बसिरहेका अध्यक्ष न्यौपानेलाई नम्बर नखुलेका दुई वटा मोटरसाइकलमा आएका तीन÷चार जना व्यक्तिले कुटपिट गरी मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रहरी प्रवक्ता अर्यालका अनुसार कार्यकक्षमा रहेका अध्यक्ष न्यौपानेको टाउको, कपडा तथा शरीरमा मोबिल छ्यापिएको हो । मोबिल छ्यापेर फरार रहेका व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

सुकुम्बासीसम्बन्धी समस्याको व्यवस्थापन गर्ने विषयमा भएको जग्गाको विवादले अध्यक्ष न्यौपानेमाथि मोबिल छ्यापिएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा भूमिहीन सुकुम्बासी लेखिएको खाली रेकर्डफाइल फेलापरेको प्रहरी प्रवक्ता अर्यालले बताउनुभयो ।

घटनामा संलग्नको पहिचानका लागि सिसिटिभी क्यामेराको दृश्य विश्लेषण तथा फरार व्यक्तिको खोजी भइरहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिनुभयो । आक्रमणबाट अध्यक्ष न्यौपानेको टाउकामा चोट लागेको छ ।

घटनापछि हेटौँडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित वडाअध्यक्ष घटनास्थल पुग्नुभएको थियो । वडाअध्यक्ष न्यौपानेमाथि भएको सङ्घातिक आक्रमणप्रति हेटौँडा उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

घटनापछि हेटौँडा उपमहानगरले पत्रकार सम्मेलन गर्दै यस्ता आपराधिक गतिविधिको भत्र्सना गरेको छ । उपमहानगरले सङ्घीय, प्रदेश र स्थानीय तहमा रहेको कानुनी संरचनाको परिधिमा रही दोषीमाथि कारबाही हुनुपर्नेमा जोड दिएको छ ।

हेटौँडा उपमहानगरपालिका–१ का वडाअध्यक्ष न्यौपानेमाथि भएको अभद्र व्यवहारप्रति नेपाली कांग्रेस मकवानपुरले आपत्ति जनाएको छ । वडा कार्यालयमै जबर्जस्ती प्रवेश गरी एक समूहले न्यौपानेमाथि दुव्र्यवहार र दुव्र्यवस्थित व्यवहार गरेपछि कांग्रेस मकवानपुरले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी, ४ असार : यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका प्राकृतिक तातोपानीका मुहान जलविद्युत् आयोजनाका कारण सङ्कटमा परेका छन् ।कालीगण्डकी नदीमा निर्माण सुरु भएका र निर्माण हुन लागेका जलविद्युत् आयोजनाको सुरुङबाट पानी बग्ने भएपछि किनारमा रहेका तातोपानीको मुहान सुक्ने र आर्थिक, सामाजिक, वातावरणीय रुपमा असर पुग्ने स्थानीयवासीको चिन्ता छ ।

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा आज आयोजना भएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी सार्वजनिक सुनुवाइमा प्रभावित क्षेत्रका बासिन्दाले तातोपानीको मुहानमा असर नपुग्ने गरी आयोजना बनाउन सुझाए ।

भुरुङ तातोपानीका अनिल हिराचनले विगतमा खोला गहिरिँदा, धार परिवर्तन हुँदा र थुनिँदाको असर तातोपानीको मुहानमा देखिएको अनुभव सुनाउनुभयो । उहाँले कालीगण्डकीको पानी सुरुङमा हालेपछि पर्यटकीयस्थल तातोपानीको भविष्य सङ्कटमा पर्ने बताउनुभयो ।

अर्का स्थानीयवासी आत्मा तुलाचन र अमृतमान शेरचनले अन्य आयोजनाको सुरुङ निर्माणका क्रममा जमिनमा हुने कम्पनका कारण प्रभावित क्षेत्रका पानीका मुहान सुक्ने समस्या देखिएको बताउनुभयो । तातोपानीको मुहानमा असर पर्ने सुनिश्चितता गरेरमात्र जलविद्युत् आयोजना बनाउन उहाँहरुले आग्रह गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिका–३ र ४ को सिमाना सुकेबगरमा बाँध, चार किलोमिटर ३१९ मिटर सुरुङ र वडा नं २ को सुकेबगरमा भूमिगत विद्युत्गृह प्रस्ताव गरिएको आयोजनाबाट अन्नपूर्णको २, ३, ४, ५ र ६ नम्बर वडा प्रभावित हुनेछ । आयोजना प्रभावित क्षेत्रमा भुरुङ र पाउद्वार तातोपानीको कुण्ड रहेका छन् ।

बेनी–जोमसोम सडक, अन्नपूूर्ण चक्रीय पदयात्रा र मुुस्ताङ भ्रमणमा जाने पाहुनाहरुले स्नान गरेर थकान मेटाउने र विभिन्न रोगहरुको उपचारका लागि स्नान गर्ने तातोपानी कुण्ड गाउँपालिकाको आन्तरिक आम्दानीको स्रोत र स्थानीय होटल व्यवसायीको आयआर्जनको माध्यम हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल नेतृत्वका आइएमई ग्रुपको अगुवाइमा हाइड्रो सपोर्ट प्रालीले यसअघि ५३.५३ मेगावाट प्रस्ताव गरिएको आयोजनाको क्षमता बढाएर ६६.३ मेगावाट बनाउन पूरक वातावरणीय मूल्याङ्कन गर्न लागिएको हो ।

स्थानीय जनप्रतिनिधि र बासिन्दा तथा अगुवाले तातोपानी कुण्डलाई असर नपुग्ने वैज्ञानिक आधार नभएसम्म आयोजना अघि नबढाउन आग्रह गर्दै जलविद्युत् आयोजनाका कारण असर पुगेमा त्यसको जिम्मेवारी आयोजनाले लिनुपर्ने अडान राखेका छन् ।

अन्नपूर्ण गाउँपालिका–३ फगामका शुरत केसी र दुर्गादत्त सुवेदी, वडा नं २ ठूलोबगरका विष्णु परियार र लोकबहादुर पुर्जाले आयोजनाका कारण उत्पन्न हुने विपद्को जिम्मेवार आयोजनाले लिनुपर्ने बताउनुभयो । भुरुङ–तातोपानीका अमृतमान शेरचनले कालीगण्डकीको सभ्यता र संस्कृतिलाई बचाउनुपर्ने बताउनुभयो ।

हाइड्रो सपोर्टका अध्यक्ष चन्द्र ढकालले तातोपानी कुण्ड र स्थानीय जनजीवनमा असर नपर्ने र आयोजना बन्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले आयोजनाकातर्फबाट तातोपानीको मुहान बचाउने प्रतिबद्धता जनाउनुभयो ।

वातावरणीय असर न्यूनीकरण र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत रु नौ करोड ७० लाख २४ हजार विनियोजन गरेको जानकारी गराइएको थियो । कूल रु १२ अर्ब ९३ करोड ६४ लाख ७५ हजार ७३० लागत अनुमान गरिएको आयोजनाको ०.७५ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने प्रस्ताव गरिएको छ । सुकेबगरमा बाँध र नागढुङ्गामा अडिट सुरुङ निर्माण सुरु गर्न संरचना तयार पारिएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले आयोजनाको सामाजिक उत्तरदायित्वको बजेट खर्च गर्ने प्रस्तावित विधिलगायत विषयमा चार बँुदे असहमति पेस गर्नुभएको थियो ।

यसअघि १४ मेगावाट क्षमताको मिस्त्रीखोला क्यासकेट जलविद्युत् आयोजनाका कारण पाउद्वार तातोपानी कुण्ड सङ्कटमा पर्ने भन्दै स्थानीयवासीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले स्थानीयवासीका पक्षमा फैसला गरेपछि उक्त आयोजना निर्माण प्रक्रिया रोकिएको छ ।

गण्डकी प्रदेशसभामा बजेटमाथि छलफल सुरु

गण्डकी, ४ असारः गण्डकी प्रदेश सरकारले गत आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु भएको छ । आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले बजेटमाथि छलफल गरियोस् भनी प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको प्रस्तावमा प्रदेशसभा सदस्यले धारणा राख्ने क्रम सुरु भएको छ ।

विशेष समय लिएर विपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले बजेट खुला र पारदर्शी हुन नसकेको बताउनुभयो । केही मन्त्रालयमा चालु आवको बाँकी दायित्व र नयाँ योजनाका लागि स्रोत उल्लेख नगरी बजेट ल्याइएको बताउनुभयो । प्रदेशको समृद्धिको पहिलो आधार पर्यटन भनिए पनि पर्यटनमै कम बजेट विनियोजन गरिनु सरकारको कमजोरी भएको नेता चुमानको भनाइ छ ।

लक्ष्यअनुसार राजस्व उठन् नसकेकाले राजस्वको दायरा बढाउन सरकारले ठोस नीति र योजना ल्याउनुपर्ने उहाँले बताउनुभयो । प्रदेशसभा सदस्य महेश भट्टराईले बजेटले आत्मनिर्भर प्रादेशिक अर्थतन्त्रका लागि बजेटले आधार तयार पार्ने उल्लेख गर्नुभयो । उहाँले उत्पादन र उत्पादकत्व वृद्धिसहित लगानीका क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी बजेट आएको बताउनुभयो । गण्डकी प्रदेशको आर्थिक वृद्धिदर पनि समग्र देशको तुलनामा सन्तोषजनक देखिएको उहाँको भनाइ छ ।

प्रदेशसभा सदस्य लीलबहादुर थापाले बजेट तथा कार्यक्रमले उत्पीडित वर्ग, क्षेत्र र समुदायका मागलाई सम्बोधन गनुपर्ने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य बिन्दु पौडेलले प्रदेश सरकार आफैँ सबल र आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।

बजेटको आकार घट्दै जानुले आर्थिक रुपमा प्रदेश सरकार सक्षम नरहेको सन्देश जाने उहाँको भनाइ छ । उहाँले बजेटमा प्रदेश गौरवका योजनाका रुपमा घोषणा भएका कतिपय योजना अलपत्र परेको बताउँदै कार्यान्वयन योग्य बजेट निर्माणमा जोड दिनुभयो ।

बजेटमाथिको छलफलमा प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, सुधीर पौडेल, सरस्वती गुरुङ, भीमबहादुर कार्कीलगायतले भाग लिनुभएको थियो । बैठकको शून्य समयमा प्रदेशसभा सदस्य जीतबहादुर शेरचन, बेदबहादुर गुरुङ, लीलबहादुर थापा, हरिबहादुर भण्डारीलगायत समसामायिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रदेशसभामा विनियोजन विधेयक र बजेटमाथिको छलफल यही असार १२ गतेसम्म सञ्चालन हुने र १३ गतेको बैठकमा निर्णयार्थ पेस हुने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिनुभयो । प्रदेश सरकारले गत आइतबार प्रदेशसभा बैठकमा आगामी आव २०८२/०८३ का लागि रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको थियो ।

पछिल्लो १० बर्षमा एक लाख ७५ हजार आप्रवासीको भूमध्य सागरीय क्षेत्रबाट उद्धार

गरिबी र द्वन्द्वबाट बच्नका लागि विभिन्न मुलुकबाट खतरनाक समुद्री बाटो हुँदै समुद्री युरोप पुग्ने क्रममा विगत १० वर्षमा भूमध्यसागर क्षेत्रबाट एक लाख ७५ हजारभन्दा बढी आप्रबासीलाई उद्धार गरिएको त्यहाँ उद्धारमा खटेका विभिन्न सङ्घसङ्गठनहरूले जनाएका छन् ।

यस क्षेत्रमा क्रियाशील २१ गैरसरकारी संस्थाको समूहले सन् २०१५ देखि अहिलेसम्म समुद्र पार गर्ने क्रममा कम्तीमा २८ हजार ९३२ जनाको मृत्यु भएको अनुमान गरेको छ ।

लिबिया, ट्युनिसिया, इटाली र माल्टाको बीचमा रहेको मध्य भूमध्यसागरीय क्षेत्रमा अधिकांशको मृत्यु भएको जर्मन गैरसरकारी संस्था ‘एसओएस ह्युम्यानिटी’का मिर्का शेफरले बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

सो क्षेत्रमा विगत एक दशकमा हरेक दिन पाँच वयस्क र एक बालबालिकाले ज्यान गुमाउनुपरेको उहाँले बताउनुभयो ।

रेकर्ड नगरिएका घटनाहरूको सङ्ख्या ‘उल्लेखनीय रूपमा बढी’ हुन सक्ने उहाँले बताउनुभयो ।

यस क्षेत्रमा हाल सामुद्रिक उद्धारमा संलग्न २१ संस्थामध्ये १० वटा जर्मनीमा रहेका छन् । यी समूहले १५ वटा डुङ्गा, चारवटा पानीजहाज र चारवटा विमान सञ्चालन गर्दै आएका छन् ।

सन् २०१५ मा युरोपको आप्रवासन सङ्कट सुरु भएपछि सुरु गरिएको उद्धार कार्यलाई लिएर यी सङ्गठन र अधिकारीबीच बारम्बार झगडा हुने गरेको छ।

इटालीमा वर्तमान सरकारले गैरसरकारी संस्थाहरू प्रस्थानलाई प्रोत्साहित गर्ने मुख्य तत्व भएको भन्दै उनीहरूमाथि निगरानी कडा बनाएको छ ।
आफुहरूमाथि लागेका आरोपहरूको आप्रवासन पर्यवेक्षकहरूले अप्रमाणित दावी भन्दै खण्डन गर्नेगरेका छन् ।

इटालीको जर्जिया मेलोनीको कट्टर दक्षिणपन्थी सरकारले उद्धार जहाजहरूलाई निर्दिष्ट बन्दरगाहमा फर्कन आवश्यक कानून पारित गरेको छ, गैरसरकारी संस्थाहरूले यो उपाय समुद्री कानूनको विपरीत भएको बताएका छन्।

“हामीमाथि दबाब बढिरहेको छ,” शेफरले जर्मन सरकारको सहयोगको अभावको आलोचना गर्दै भन्नुभयो ।

सी वाचका प्रवक्ता गिउलिया मेस्मरले पत्रकार सम्मेलनमा भन्नुभयो, “उद्धार सङ्गठनहरूले बर्लिनलाई ‘इयूद्वारा पूर्ण रूपमा वित्त पोषित एक प्रभावकारी, समन्वयित समुद्री उद्धार कार्यक्रम’ लाई समर्थन गर्न आह्वान गरिरहेका छन्।

जर्मन सरकार र युरोपेली आयोगमा पठाइएको प्रस्तावमा इयूले उद्धार गस्ती र आगमन केन्द्रहरूमा वार्षिक १० करोड ८० लाख देखि २४ करोड युरो (१२ करोड ४० लाखदेखि २७ करोड ६० लाख अमेरिकी डलर) खर्च गर्न आह्वान गरेको छ ।

अमेरिकामा गोली लागेर मृत्यु भएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा, ४ असार : अमेरिकामा गोली लागी मृत्यु भएका गोरखाका एकै घरका चार जनाको अन्त्येष्टि गर्न जान नपाएको परिवारजनले गुनासो गरेका छन् । गत जेठको अन्तिम साता भर्जिनियामा मृत भेटिएका पालुङ्टार–८ रातामाटेका ३८ वर्षीय सन्तोष परियार, उहाँकी ३६ वर्षीया श्रीमती अञ्जु श्रेष्ठ, आठ वर्षीया छोरी साइना र दुई वर्षीय बालक ओम परियारको अन्त्येष्टि गर्न जान नपाएको परिवारजनको गुनासो छ ।

अन्त्येष्टिका लागि उनीहरुका बुबा निरबहादुर खाती दम्पतीले प्रयास गरे पनि जान नपाएका वडाअध्यक्ष होपबहादुर नेपालीले बताउनुभयो । “मृतक सन्तोष परियारको कान्छा भाई सुवास परियार अमेरिकी सेनामा हुनुहुुन्छ । यताबाट बुबाआमा अन्त्यष्टिका लागि जान खोज्नुभएको थियो तर दूतावासमा कागजात मिलेको छैन”, उहाँले भन्नुभयो, “अब सेनामा रहेको भाइले नै काजकिरिया गर्नुपर्ने भयो ।”

सन्तोष पहिले नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत हुनुहुन्थ्यो । करिब १२ वर्ष दूतावासमा जागिर खाएपछि आठ वर्षअघि उहाँ जहान परिवारसहित अमेरिका जानुभएको थियो ।

गत जेठ २२ गते उहाँहरु भर्जिनियाको मनासस पार्कस्थित लानाए लेन ९४ ब्लकमा रहेको अपार्टमेन्टमा गोली लागी हत्या भएको अवस्थामा फेला परेको पालुङटार नगरपालिका– ८ का वडाअध्यक्ष होपबहादुर नेपालीले बताउनुभयो । सन्तोषको परिवार विगत आठ वर्षदेखि अमेरिका बस्दै आएको नेपालीको भनाइ छ ।

भारतीय विमान दुर्घटनामा ज्यान गुमाएका २०० भन्दा बढीको सनाखत

एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका कम्तीमा २०० भन्दा बढी पीडितको डिएनए परीक्षणका माध्यमबाट पहिचान गरिएको भारतीय अधिकारीहरुले बुधबार बताएका छन् ।

लण्डनका लागि उडेको विमान अहमदाबादको एक आवासीय क्षेत्रमा ठोक्किँदा विमानमा सवार चालक दलका सदस्यसहित २४२ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । विमान अहमदाबादको एक भवनमा ठोक्किँदा विमानबाहिरका कम्तीमा ३८ जनाको मृत्यु भएको थियो ।

व्यथित आफन्तहरूले आफ्ना प्रियजनहरूलाई पहिचान गर्न मद्दत गर्न डीएनए नमूनाहरू प्रदान गरिरहेका छन्।

अहमदावादको गुजरात राज्यका गृहमन्त्री हर्ष साङ्घवीले एक्समा लेख्नुभएको छ, “दिउँसो २ बजेसम्म २०२ वटा डिएनए (नमूना) मिलेको छ ।”

बोइङ ७८७–८ ड्रिमलाइनर उडेको केही क्षणमै दुर्घटनाग्रस्त भएको थियो ।

भारतीय अधिकारीहरूले विमान दुर्घटनाको कारण बताउन सकेका छैनन् र बेलायत र संयुक्त राज्य अमेरिकाका अनुसन्धानकर्ताहरू अनुसन्धानमा सामेल भएका छन्।

अनुसन्धानकर्ताहरूले घटनास्थलबाट बरामद गरिएका ब्ल्याक बक्सहरू ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डरबाट महत्वपूर्ण जानकारीहरू सङ्कलन गर्ने लक्ष्य राखेका छन्।

भारतको विमान दुर्घटना अनुसन्धान विभागले यसै वर्ष ब्ल्याक बक्सको विश्लेषण गर्न सकिने प्रयोगशालाको स्तरोन्नती गरेको छ ।

दुर्घटनापछि नागरिक उड्डयन नियामक निकायले एयर इन्डियाको ड्रिमलाइनरको निरीक्षण गर्न आदेश दिएको थियो ।

नियामकले मङ्गलबार राति भनेको छ, “विमानको प्रारम्भिक जाँचमा कुनै ठूलो सुरक्षा चिन्ता प्रकट भएको भेटिएको छैन।”

“विमान र त्यससँग सम्बन्धित मर्मत सम्भार प्रणाली विद्यमान सुरक्षा मापदण्डअनुरूप रहेको पाइएको छ,” विज्ञप्तिमा भनिएको छ।

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित

कास्की, ४ असारः पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा आज सम्पन्न खेलमा कास्की र पर्वत विजयी भएका छन् ।

प्रतियोगिताको समूह ‘बी’ रहेका कास्कीले यससँगै लगातार दोस्रो जित निकाल्दा पर्वत पहिलो पटक विजयी भएको छ । कास्कीले गोरखालाई १० विकेटको सानदार जित निकाल्दा पर्वतले नवलपुरलाई १५ रनले हराएका हो ।

यससँगै कास्की दुई खेलमा दुई खेल नै जित्दै चार अङ्कका साथ अग्रस्थानमा रहँदा पर्वत र नवलपुर एक÷एक खेल जित्दै समान दुई/दुई अङ्कका साथ दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतियोगिताको लिग चरणको बिहीबारको खेलले फाइनलमा पुग्ने टिमको टुङ्गो लाग्नेछ । पहिलो खेलमा गोरखा र पर्वत तथा दोस्रो खेल कास्की र नवलपुरकाबीच हुने आयोजक प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

आजको पहिलो खेलमा पर्वतले टस जितेर पहिले ब्याटिङ सुरु गरेकामा निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३१ रन बनायो ।

टोलीका लागि अभिषेक थापाले ४० बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ५२ रन बनाए । अभिराज पटेलले २९ बलमा ३७ रन र बिनोद नेपालीले १० बलमा १४ रनको योगदान दिए । नवलपुरका लागि कमल परियार र सुदीप अर्यालले समान दुई/दुई विकेट लिएका थिए ।

खेलमा जितका लागि १३२ रनको लक्ष्य पछ्याएको नवलपुर १८ ओभरको पाँचौँ बलमा ११६ रनमात्र बनाउन सक्यो । गौरव विष्टले २५, स्वीकार श्रेष्ठले १८ र विगत पाण्डेले १७ रन बनाए । पर्वतका कप्तान अमृत गुरुङले चार विकेट लिए ।

यसैगरी दोस्रो खेलमा कास्कीले गोरखालाई १० विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ । टस जितेर गोरखाले पहिला ब्याटिङ गर्ने निर्णय लियो । टोलीले १९ ओभरको पाँचौँ बलमा सबै विकेट गुमाउँदै जम्मा ९० रन मात्र बनाउन सक्यो । गोरखाका लागि स्वरुपराज श्रेष्ठले १४ बलमा २१ रन बनाए भने मेहुल श्रेष्ठले ४५ बलमा १८ रन जोडे । कास्कीका सुवास भण्डारीले सर्वाधिक तीन विकेट लिए ।

खेलमा जितका लागि ९१ रनको सामान्य लक्ष्य पाएको कास्कीले आठ ओभरको चौथो बलमा कुनै पनि क्षति बिना लक्ष्य भेट्टायो । अनिल गुरुङले २७ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै अविजित ५१ रन बनाउँदै म्याच जिताए भने अर्का ओपनर अर्जुन कुमालले पनि २५ बलमा ३९ रन बनाए ।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा यही जेठ ३१ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकीका आठ जिल्लाले प्रतिस्पर्धा गरेका छन् ।

च्याम्पियन टोलीले रु एक लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

‘सरकारले विपत् व्यवस्थापनका लागि बजेटअभाव हुन दिँदैन’ – अर्थमन्त्री पौडेल

काठमाडौँ, ४ असारः उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले मुलुकका विभिन्न क्षेत्रको विपत् व्यवस्थापनका लागि बजेट अभाव हुन नदिने बताउनुभएको छ ।

ललितपुर जिल्लाबाट निर्वाचित जनप्रतिनिधिको संयुक्त टोलीसँग आज भएको छलफलमा उपप्रधानमन्त्री पौडेलले बाढी पहिरोले उत्पन्न विपत्को यथाशीघ्र व्यवस्थापन गर्ने बताउनुभयो ।

विपत् प्राधिकरणसँग आवश्यक समन्वय गरी सम्बन्धित मन्त्रालयमार्फत बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले टोलीले राखेका सम्पूर्ण विषयमा आफू सकारात्मक रहेको र सोको सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभयो ।

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणा नेतृत्वको उक्त टोलीले गत असोज ११ र १२ को बाढीका कारण क्षतिग्रस्त बस्ती तथा संरचनालाई तत्काल पुनर्निर्माणका लागि बजेट व्यवस्थापनको माग गरेको हो ।

टोलीले लेले–भारदेउ–चन्दनपुर–ठूलादुर्लुङ मोटर बाटोमा विनियोजित रू २५ करोड बजेटलाई बहुवर्षीय योजनाका रुपमा सम्बोधन गरिदिन आग्रह गरेको थियो । सातदोबाटो–चापागाउँ र सातदोबाटो–गोदावरी बाटोको मुआब्जा तत्काल उपलब्ध गराउन उक्त टोलीले माग गरेको छ ।

मौसम विभागले भन्यो: सिन्धुपाल्चोक क्षेत्रमा मनसुन कमजोर नै छ तर बाढीबाट सतर्क रहन जरुरी छ

काठमाडौँ, ४ असार : जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक र सोको माथिल्लो जलाधार क्षेत्रमा हाल मनसुनको प्रभाव भए पनि कमजोर अवस्थामा रहेकाले हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ । विभागले आज विज्ञप्ति जारी गर्दै सो भू–उपग्रह तथा मौसम प्रारुपबाट प्राप्त तथ्याङ्कको सूचनाको विश्लेषणका आधारमा मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाका आधारमा भोटेकोसी र सुनकोसी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको थियो । विभागले मनसुनको प्रभाव रहिरहेको हालको अवस्थामा मौसम तथा बाढीलाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ । सोहीअनुसार नियमित रूपमा मौसम तथा बाढीको सूचना अद्यावधिक गर्दै जाने विभागले जनाएको छ । विभागले अद्यावधिक सूचनाको जानकारी लिई सतर्कता अपनाउन आह्वान गरेको छ ।

सञ्चारमन्त्री गुरुङसँग युनेस्कोका नेपाल प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौँ, ४ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का नेपाल प्रतिनिधि ज्याको डु टोइटबीच शिष्टाचार भेट गर्नुभएको छ ।

सञ्चार मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङसँग युनेस्कोका प्रतिनिधि टेइटले डिजिटल नेपाल फ्रेमवर्क र मन्त्रालयले ल्याउन थालेका विभिन्न विधेयकबारे जिज्ञासा राख्नुभएको थियो ।

मन्त्री गुरुङले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले देशको सामाजिक सद्भाव, राष्ट्रिय एकता, सार्वभौममा आँच आउने खालका अभिव्यक्ति सिर्जना भएको हुँदा यसलाई व्यवस्थित गर्न सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा टेवल गरिएको बताउनुभयो । उहाँले नेपाललाई डिजिटल साक्षर बनाउने, आइटि क्षेत्रमा विकास गर्ने डिजिटल नेपालको परिल्पनालाई साकार पार्ने राष्ट्रिय नीति रहेको बताउनुभयो ।

युनेस्कोका नेपाल प्रतिनिधि टोइटले नेपालको डिजिटल फेमवर्कको उद्देश्य साकार पार्न युनेस्को सधैँ सहकार्य गर्न तत्पर रहेको प्रतिबद्धता दिनुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालको सही प्रयोग कसरी गर्ने भन्नेबारे युवादेखि सबै प्रयोगकर्तालाई साक्षरता आवश्यक रहेकोमा सहमत व्यक्त गर्नुभयो ।

प्रमुख डिजिटल रूपान्तरण र मिडिया विकास पहलमा सहकार्यलाई बढवा दिने उद्देश्यले गरिएको उक्त बैठकमा मन्त्रायका सचिव राधिका अर्याल, आइसिटी डिभिजनका सहसचिव आदेश खड्का र मन्त्रीका आइसिटी सल्लाहकार डा शालिग्राम पराजुली र युनेस्कोका सञ्चार प्रमुख निर्जना शर्मालगायत व्यक्तित्वको सहभागिता थियो ।

‘सुशासनका लागि स्थायी सरकार आवश्यक छ’ – रामहरि खतिवडा

पाटन (ललितपुर), ४ असारः राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासनका लागि स्थायी सरकार आवश्यक रहेको बताउनुभएको छ ।
अल्टरनेटिभ फाउन्डेशनको आयोजनामा आज यहाँ आयोजित ‘सुशासनको राष्ट्रिय सूचक निर्माणका लागि राष्ट्रिय परामर्श गोष्ठी’मा सभापति खतिवडाले वर्तमान शासन व्यवस्था र राज्यको पद्धति बलियो, पारदर्शी र भरपर्दो बनाउन सके सुशासन कायम हुनसक्ने बताउनुभयो । “स्थायी सरकार नबन्नु समस्या हो, सुशासनका लागि स्थायी सरकार आवश्यक छ, शासन राम्रो हुनु नै सुशासन हो,”, उहाँले भन्नुभयो ।

सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बाँस्तोलाले सुशासनको सन्दर्भमा राजनीतिक दलहरूले मात्रै नभइ आम नेपाली नागरिकलेसमेत आफ्नो जिम्मेवारी र जवाफदेही भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) को उपभोक्ता हित संरक्षण तथा सुशासन समितिका सदस्य मोहिनी ढकालले सुशासन प्रवर्द्धनमा राजनीतिक दलहरुको दृढ सङ्कल्प आवश्यक रहेको बताउनुभयो । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का प्रवक्ता कृष्ण शर्माले राजनीतिलाई जनताको सेवा गर्ने माध्यम बनाउँदै राजनीतिको शुद्धीकरण गरेर सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

फाउन्डेशनका अध्यक्ष प्रकाश विकल्पले नेपालमा सुशासनको क्षेत्रमा देखिएका कमजोरीलाई सुधार गर्दै प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि भूमिका निर्वाह गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

भिजिट भिसाबारे रास्वपाको आपत्ति, भन्यो – २ हजार पीडित सम्पर्कमा आएका छन्

काठमाडौं । रास्वपाले गृहमन्त्री रमेश लेखकले संसद्को भिजिट भिसा प्रकरणका पीडितलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ ।

गृहमन्त्री लेखकले रास्वपाले नक्कली पीडितहरु खडा जाहेरी दर्ता गराई नियोजित ढंगले आफ्नो विरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

२ हजार भन्दा धेरै पीडित नेपाली नागरिक रास्वपाको सम्पर्कमा आएको भन्दै प्रवक्ता मनिष झाले त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आएको बताए ।

उनीहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास भएको उनले प्रष्ट्याए ।

‘भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनुभयो। त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनुभयो। हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका हौ। र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो।’उनले भने

इरानले कुनै हालतमा आत्मसमर्पण गर्दैनः खामेनी

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मागअनुसार इरानले कहिल्यै आत्मसमर्पण नगर्ने बताउनुभएको छ ।

ट्रम्पले संयुक्त राज्य अमेरिकाले खामेनीको कहाँ लुक्नुभएको छ भन्ने अमेरिकालाई थाहा भएको र चाहेमा उहाँको हत्या गर्न सक्ने दावी गर्दै इरानले तत्काल ‘बिनाशर्त आत्मसमर्पण’ गर्नुपर्ने बताएको केही घण्टापछि इरानी सवोच्च नेता खामेनीको उक्त प्रतिक्रिया आएको हो ।

इजरायलले शुक्रबार ठूलो बम बारी अभियान चलाएपछि इरानले क्षेप्यास्त्र र ड्रोनमार्फत जवाफी कारबाही सुरु गरेको थियो ।

“यो राष्ट्रले कहिल्यै आत्मसमर्पण गर्नेछैन,” खामेनीले सरकारी टेलिभिजनमा गरेको लिखित सम्बोधनमा ट्रम्पको अल्टिमेटमलाई ‘अस्वीकार्य’ शर्त भन्नुभएको छ ।

“कुनै पनि सैन्य हस्तक्षेपले अपूरणीय क्षति पुर्‍याउँछ भन्ने कुरा अमेरिकाले बुझ्नुपर्छ,” उहाँले भन्नुभयो ।

सन् १९८९ देखि सत्तामा रहेका र इरानका सबै राज्यका मामिलाका अन्तिम मध्यस्थ खामेनीले यसअघि नै इरानले इजरायली नेताहरूप्रति कुनै दया नदेखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तेहरान नजिकै इरानको आणविक कार्यक्रमका लागि ‘सेन्ट्रिफ्युज कम्पोनेन्ट’ बनाउने दुई वटा भवनलाई इजरायली आक्रमणले ध्वस्त पारेको संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय आइएइएले पुष्टि गरेपछि खामेनीले इरान अमेरिकासँग नझुक्ने बताउनुभएको हो ।

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

वीरगञ्ज (पर्सा), ४ असारः सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै खाडीमूलुक जान लागेका चार महिलासहित एक पुरुषलाई ठोरीबाट नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट खटिएका सशस्त्र प्रहरीले शङ्का लागेर जाँच गर्ने क्रममा अवैध बाटो हुँदै खाडीमूलुक कुबेत र ओमन जान लागेका उनीहरुलाई पक्राउ गरेको हो ।

“पक्राउ परेकामध्ये इलामका दुई महिला ओमन जाने बताएका छन् भने रोल्पाका दुई महिला नयाँ दिल्लीमार्फत खाडीमूलुक जान लागेको बताएका छन्”, सशस्त्र प्रहरी बल नेपाल विओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक प्रेम राउतले भन्नुभयो, “उनीहरुलाई भारत लैजान लागेको आशङ्कामा चितवन माडी नगरपालिका–८ का दीपक खड्कालाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेका छौँ ।”

सशस्त्र प्रहरीले इलामका दुईजना महिलाको साथबाट भिसा नभएको दुई वटा राहदानीसमेत फेला पारेको छ । सशस्त्र प्रहरीले आवश्यक सोधपुछ गरेसँगै पक्राउ परेका पाँचै जनालाई आवश्यक कागजात तयार पारेर आजै इलाका प्रहरी कार्यालय ठोरीलाई हस्तान्तरण गर्ने जनाएको छ ।

बाढी आउन सक्ने भन्दै चिनियाँ प्रहरीद्वारा सतर्कता अपनाउन आग्रह

चौतारा, ४ असारः चिनियाँ प्रहरीले सिन्धुपाल्चोक प्रशासनलाई भोटेकोशी नदी भई बग्ने तिब्बत् क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने भन्दै सुरक्षित रहन आग्रह गरेको छ ।

असार ७ गतेसम्म अत्यधिक वर्षा हुने र बाढी आउन सक्ने सम्भावना रहेको भन्दै चिनियाँ प्रहरीले सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको हो । भोटेकोशी नदी भई बग्ने तिब्बत् क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने आकलन गरिएको छ । चिनियाँ प्रहरीले जानकारीपछि प्रशासन कार्यालयले त्यस क्षेत्रमा बस्ने स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो ।

उहाँका अनुसार भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुनसक्ने छ ।

“यही असार ३ गते देखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत् क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएको छ”, प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ “भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी÷ सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुनसक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध छ ।”

सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने

काठमाडौँ, ४ असार : सरकारले विभिन्न आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने रु ५० अर्ब ५१ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना र पुल सुधार तथा कार्यक्रमका लागि उक्त रकम स्वीकार गरिएको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङका अनुसार विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि करिब रु २९ अर्ब ७२ करोड उपलब्ध हुनेछ ।

त्यसैगरी विश्व बैंकबाटै पुल सुधार तथा कार्यक्रम तोस्रो चरणका लागि प्राप्त हुने करिब रु २० अर्ब ७९ करोड नेपाली रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार्ने निर्णय गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो । साथै, उहाँका अनुसार दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब रु एक अर्ब आठ करोड ८० लाख नेपाली अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

यही असार २ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय आज सार्वजनिक गर्दै उहाँले यही असार १६ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र माछा पालन सहुलियतका विषयमा विश्व व्यापार सङ्गठन हुने सम्झौता सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

प्रवक्ता गुरुङका अनुसार वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधीश डा शान्ता सेढाइँ सापकोटालाई तोक्ने, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुङ्गानालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा सरूवा गर्ने र सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय भएको छ ।

त्यसैगरी सरकारको नाममा दर्ता रहेको १० रोपनी जग्गा १५ शय्याको अस्पताल निर्माण गर्न आँबुखैरेनी गाउँपालिका, तनहुँलाई प्रयोग गर्न दिन स्वीकृति दिने एवं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चितवनलाई दुई बिघा, १३ कट्ठा १५ धुर सार्वजनिक प्रकृतिको जग्गा एक सय शय्याको आयुर्वेद अस्पताल निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

त्यसैगरी, २०८२ असार ९ र १० गते भारतको पूणेमा आयोजना हुने नेपाल–भारत द्विपक्षीय परामर्श समूहको सोह्रौँ बैठकमा नेपालका तर्फबाट सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रिपरिषद्ले मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए) लाई ४०० केभी डवलसर्किट विद्युत् प्रसारणलाइन आयोजना निर्माणको लागि नवलपरासी (वर्दघाट सुस्ता–पश्चिम) जिल्लाको सुनवल नगरपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा रहेको राष्ट्रिय वनको ४३ दशमलव ६६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ ।

त्यसैगरी यही असार २३ गतेदेखि २७ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा सञ्चालन हुने वल्ड समिट अन द इन्र्फमेसन सोसाइटि (डब्लुएसआइएस) प्लस ट्वान्टी फोरम हाई लेभल इभेन्ट तथा एआई फर गुड ग्लोबल समिट २०२५ कार्यक्रममा सहभागी हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई स्वीकृति दिइएको छ ।

यही असार ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने अर्ड मिनिस्टेरियल कन्फ्रेन्स अन सिभिल रजिस्टेशन एन्ड भाइटल स्टाटिस्टीक्स् (थ्री एमसिसिआरभिएस) इन एसिया एन्ड ‘द’ पेसिफिक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गरिएको छ ।

त्यसैगरी मन्त्रिपरिषद्ले इन्टरनेश्नल विग क्याट अलाइन्स (आइविसिए) को सदस्यता प्राप्त गर्न स्वीकृति दिएको छ । नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डा खगेन्द्रप्रसाद सुवेदीलाई बढुवा गर्ने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा कायममुकायम मुकरर गर्ने सरकारको निर्णय रहेको छ ।

पर्यापर्यटन विकासका लागि हिमालको प्रवर्द्धन आवश्यक : राजदूत पार्क

काठमाडौँ, ४ असार : नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालको पर्यापर्यटनको विकासका लागि हिमालको प्रवर्द्धन आवश्यक भएकोे बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय राससले आयोजना गरेको ‘पर्वतीय पर्यटन : हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बीर प्रदर्शनीको आज अवलोकनपछि उहाँले प्रदर्शनीमा राखिएका हिमालसम्बन्धी तस्बिर सुन्दर र सन्देशमूलक भएको उल्लेख गर्नुभयो ।

उहाँले तस्बीर प्रदर्शनीले पर्वतीय क्षेत्रको अवस्थाका बारेमा जानकारीसमेत प्राप्त हुने उल्लेख गर्नुभयो । सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्वतीय पर्यटन विकासको सम्भावना उजागर गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे अन्तरराष्ट्रिय जगत्मा सन्देश फैलाउने उद्देश्यले तस्बीर प्रदर्शनी आयोजना गरिएको बताउनुभएको थियो ।

गत जेठ ११ गतेदेखि सुरू भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।

एकल करातेमा एलिनालाई स्वर्ण

काठमाडौं । कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा बुधबार स्वर्ण जितेकी छन् ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एलिनाले तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाललाई पराजित गरिन् । नागर्जुन नगरपालिकाकी बन्दना तामाङ तथा आयोजक काठमाडौं महानगरपालिका वडा २६ की मिस्टी श्रेष्ठ तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५÷५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

महिला टिम कुमुतेमा सोनाम शेर्पा, समिक्षा ढुंगाना, मोनिका लामा, आयुशा प्रधान र मनीषा लामाको नागर्जुन टोली पहिलो भयो । काठमाडौं महानगरपालिका ३१ का महिमा राई, आशिका राई, दिया तामाङ, नानु चौधरी र रुक्साना दनुवार दोश्रो भए । गोकर्णेशवरका टीकामाया जिम्मी, डोमा तामाङ, इभान जेलिना बस्नेत, यान्शु ठोकर र आयुशा तिमल्सिना तथा तार्केश्वरका करुणा गडेल, अनु मोक्तान, एलिना तामाङ, प्रतिक्षा तामाङ र सलिना तुलाधर संयुक्त रुपमा तेश्रो भए । पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार जित्ने छन् ।

दुईदिने प्रतियोगितामा महिलाको २ प्रतिस्पर्धामा ८० खेलाडीले प्रतिस्पर्धा गरेको करातेका संयोजक सन्तोष श्रेष्ठले जनाएका छन् । ५ खेल समावेश बृहत खेलकुदमा २ खेलको प्रतिस्पर्धा सकिएको छ । करातेअघि टेबलटेनिस सम्पन्न भएको थियो ।

पूर्वाधार विकास समितिको टोलीले गरे ग्वार्को ‘ओभरपास’को निरीक्षण

काठमाडौँ, ४ असारः सङ्घीय संसद् अन्तरगत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ललितपुरस्थित ग्वार्को ओभरपासको निरीक्षण गरेको छ । आज समितिका सभापति दीपक सिंहको संयोजकत्वमा स्थलगत अवलोकन गरिएको हो । समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटाले ओभरपासको प्रगतिबारे जानकारी लिन निरीक्षण गरिएको बताउनुभयो । “ओभरपासको निरीक्षण गर्दा अधिकांश कार्य सम्पन्न भए पनि केही साना काम बाँकी देखिएको छ,” उहाँले भन्नुभयो, “लाइट जडान गर्नुपर्ने, सुरक्षा सुनिश्चितताका लागि सिसी क्यामरा जडानलगायतका काम बाँकी छन् । मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकलगायतका पदाधिकारीलाई बोलाएर आवश्यक निर्देशन दिन छलफल गरिएको छ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आगामी शुक्रबार ओभरपास उद्घाटन गर्ने जनाएको छ । पटक–पटक म्याद थप हुँदै आएकोमा अब भने ओभरपास निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको छ ।

विसं २०७८ फागुन १२ गते ठेक्का सम्झौता भई निर्माण सुरु भएको उक्त फ्लाइओभर परियोजना विभिन्न चरणमा म्याद थप गर्दै २०८१ साल पुस ८ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । ३० मिटर स्पान र चार लेनको पुलसहितको उक्त ओभरपास आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौँले निर्माण गरिरहेको छ ।

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल

काठमाडौँ, ४ असार- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पार्टीमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताउनुभएको छ । एमाले जनसङ्गठन संयन्त्रको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले एमालेमा केही समस्या भए पनि तिनलाई विधि, विधानको माध्यमबाट समाधान गरिने बताउनुभयो । एमालेउपाध्यक्ष पौडेलले समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको उहाँले बताउनुभएको छ । “कतै पनि सग्लो पार्टी भेटिदैन । धोएको मूला जस्तो, गङ्गाजल जस्तो पार्टी भेटिदैन” उहाँले भन्नुभयो, “तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।”

उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिँदै गरेकोले त्यसको तयारीमा पार्टी लागि रहेको जानकारी दिनुभयो । “विधान महाधिवेशन अघिल्लो विधान महाधिवेशनदेखि हालसम्म पार्टी सङ्गठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रुपमा नै सुधार गर्ने विधि तय गर्नेछौँ”, उहाँले भन्नुभयो, “केन्द्रीय कमिटीले विधानमा संशोधन गर्नुपर्ने विषयहरु प्रस्ताव गर्दछ । यी विषयहरु हामी महाधिवेशन प्रतिनिधिलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौँ ।” उहाँले विधान महाधिवेशन नै नभइ पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न जनसङ्गठनलाई निर्देशन दिनुभयो ।

“विधान महाधिवेशनभन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं,” उहाँले भन्नुभयो, “विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौँला । एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन ।” उपाध्यक्ष पौडेलले पार्टी र जनसङ्गठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टी निर्माणमा जनसङ्गठनको सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । २०४६/४७ को जनआन्दोलन र २०६२/६३ दोस्रो जनआन्दोलनमा जनसङ्गठन धेरै सशक्त भएको स्मरण गर्दै उहाँले वर्तमान अवस्थामा जनसङ्गठन सुुस्ताएको बताउनुभयो । “जनसङ्गठन पार्टीको नर्सरी हो । यहाँ रोपेका बिरुवा हुर्किएपछि पार्टीमा सारिन्छ”, उहाँले भन्नुभयो, “त्यसैले मूलरुपमा पार्टीको सम्पर्कमा नयाँ मानिसहरुलाई ल्याउने काम जनसङ्गठनको नै हो । तर अहिले कतिपय जनसङ्गठनले पार्टीकै कार्यकर्ता लगेर सङ्गठित गर्ने अनि फेरि पार्टीमै फर्काइ दिने गरेका छन् । यसले सङ्गठन र पार्टीको विस्तार हुँदैन ।”

जनसङ्गठन संयन्त्रका इञ्चार्ज भानुभक्त ढकालले नवनिर्वाचित जनसङ्गठन केन्द्रीय कमिटीले नयाँ जोश जागरका साथ पार्टी निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उहाँका अनुसार बैठकमा हालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसङ्गठनका इन्चार्ज, अध्यक्ष, महासचिव र निवर्तमान अध्यक्षको सहभागिता रहेको थियो ।

देशका पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौँ ४ असार : देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पाँच मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने तीन राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण बागमती प्रदेशस्थित सिन्धुपाल्चोककको भोटेकोशी गाउँपालिका–२ कोदारी, भोटेकाशी गाउँपालिका–३ लार्चा, भोटेकोशी गाउँपालिका–२ कोप्लाडमा पर्ने अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

यसैगरी, कर्णाली प्रदेशस्थित डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका १ छलघाटको भेरी करिडोर र सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं ५ गोकुलेश्वर खलङ्गा राजमार्ग अवरुद्ध भएको छ ।

यस्तै, वर्षाका कारण अवरुद्ध भएका तीन मुख्य सडक एकतर्फी रूपमा सञ्चालन भएको छ । जुम्ला जिल्लाको जुम्ला–मुगु सडक, गुल्मी जिल्लाको कालिगण्डकी करिडोर र धनकुटा जिल्लाको रवि–राके– भेडेटार सडक एकतर्फी रूपमा सञ्चालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।