`

‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गरिने

Nepal One HD २४ असार २०८० १७:०१
समाज

काठमाडौँ / उपत्यकाका स्थानीय तहले ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा स्वास्थ्य विभागका प्रमुखसँग गरेको छलफलमा चार महिनासम्म उक्त अभियान सञ्चालन गरिने महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो ।

“अबको चार महिना डेङ्गु सङ्क्रमण बढ्ने निकै नै जोखिम हुन्छ”, उहाँले भन्नुभयो, “स्थानीय तहले चार महिना लामुखट्टेको बासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्नेछन् ।”

स्थानीय तहले प्रत्येक हप्ता टोल–टोलमा गएर पानी जम्ने सम्भावना भएको ठाउँ खोजी गरी नष्ट गर्नेछन्। महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले महाशाखाबाट उपत्यकाका सबै स्थानीय तहलाई रोकथाम र नियन्त्रण गर्न आग्रह गर्दै यसका लागि आवश्यक सहयोग उपलब्धसमेत गरइने जानकारी दिनुभयो ।

बूढानीलकण्ठ नगरपालिकका प्रमुख मिठाराम अधिकारीले लामखुट्टे खोज्न र नष्ट गर अभियान चाँडै नै सञ्चालन गरिने बताउनुभयो । उहाँले पालिकाभित्रका गाउँ टोलमा पनि डेङ्गु नियन्त्रण तथा रोकथामका लागि सचेतना अभियानसमेत सञ्चालन गरिने उल्लेख गर्नुभयो ।

पानीपरेसँगै जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्ने भएकोले डेङ्गुको जोखिमसमेत बढ्दै आएको छ । महाशाखाका अनुसार काठमाडौँमा ४६ ललितपुरमा १२ भक्तपुरमा ३५ जना डेङ्गुका बिरामी भेटिएका छन् । सन् २०२३ यता अहिलेसम्म एक हजार २४ मानिस डेङ्गुका कारणले बिरामी हुनाका साथै सुनसरीमा एक जनाको ज्यान गएको छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ । डेङ्गुले गर्दा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेजस्ता लक्षण देखा पर्दछ ।

लामखुट्टेबाट बच्न सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल तथा ढोकामा जाली हाल्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेङ्गु देखिएको र यसबाट ८८ जनाको ज्यान गइसकेको छ । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो ।


प्रतिक्रिया