‘स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्छ’ – राष्ट्रियसभाका उपाध्यक्ष
भक्तपुर – राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाका सम्पदा क्षेत्रको सोमबार अवलोकन गर्दै उहाँले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग पनि छलफल गर्नुभएको थियो । स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले यसलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको हो । भक्तपुरका सांस्कृतिक सम्पदाको उपाध्यक्ष अर्यालले अवलोकन गर्नुभएको थियो ।
छलफलमा उपाध्यक्ष अर्यालसँग नगरप्रमुख प्रजापतिले संसद्मा विचाराधीन शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्नु सङ्घीयता र संविधान विपरीत भएको बताउँदै जिल्लास्तरीय सबै कार्यालय खारेज गरी पालिकाअन्तर्गत राख्नुपर्ने माग गर्नुभएको थियो ।
शिक्षकले राजनीति गर्न नपाउने भन्ने प्रावधान गलत भएको भन्दै राजनीति देश र जनताको हितमा केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो ।
