`

बाह्य शक्ति र आन्तरिक शासकका कारण नेपाल पछाडि परेको हो – ओली

Nepal One HD १५ कार्तिक २०८० ६:१६
प्रमुख खबर

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्ति र आन्तरिक शासकका कारण नेपाल पछाडि परेको बताउनुभएको छ । नेपाल कला परिषद् काठमाडौँमा कलाकार सुष्माराज भण्डारीको एकल कला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले नेपाली वर्षाैंदेखि आफ्नो दैनिकीमै सङ्घर्ष गर्नुपरेका कारण कला, साहित्य र संस्कृतिमा ध्यान दिन नपाएको उल्लेख गर्दै शासनले पनि नेपालको कला संस्कृतिलाई दरबारमै सीमित राखेको जिकिर गर्नुभयो ।

उहाँले अब नेपालको कला र संस्कृतिलाई आम जनताको विषय बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल कला साहित्य, संस्कृति र सभ्यताको सुरुवात भएको मुलुक भएको दाबी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले नेपालको जस्तो सिर्जनाको उत्कृष्ट परिकल्पना, कथा, पारस्परिक सम्बन्ध र निरन्तरता कहीँ नभएको बताउनुभयो ।

अरुका देवता महिला नभएको जानकारी गराउँदै उहाँले नेपालमा देवता मात्रै होइन देवी रहेका र सृष्टिकर्ता नै देवी हो भनेर संस्कृतिले समेटेको बताउनुभयो । नेता ओलीले कला प्रदर्शनी अवलोकन गर्दै कलाकार भण्डारीका गणेश आकारका विभिन्न प्रकृतिका सिर्जना हेर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आफूलाई पनि तस्वीरमा उतारेकोमा कलाकारलाई धन्यवाद दिनुभयो ।

कलाकार भण्डारीको १९औँ एकल कला प्रदर्शनीभित्र केही कलाकारले बनाएका अध्यक्ष ओलीका मुहार चित्रसमेत प्रदर्शनीमा राखिएको छ । उहाँले आफूलाई तस्बिरमा उतारेर धेरै प्रकारका भाव देखाएको भन्दै खुसी प्रकट गर्नुभएको थियो ।


प्रतिक्रिया