भूकम्पपीडितलाई चिसोबाट जोगाउनु पहिलो प्राथमिकता – मन्त्री बस्नेत
जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार गएको भूकम्पबाट पीडित भएका सर्वसाधारणलाई चिसो तथा हिमपातबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सहभागितामा भएको अन्तक्रियामा उनले यसअघि भूकम्पको समयमा गरिएका कामको सिकाइलाई जाजरकोटमा भएको क्षतिसँग जोडेर पुनःनिर्माणको कामलाई अभियानका रुपमा अगाडि बढाइने बताए ।
पुनःनिर्माणको अभियानमा सबै विकास साझेदार निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै मन्त्री बस्नेतले तत्कालका लागि राहत व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गरे । राहत सामग्री बोक्नका लागि ठूलो हेलिकप्टर प्रयोग गर्न खोजिए पनि अवतरणमा समस्य भएको उनको भनाइ थियो । ठूला ढुवानीका साधन पालिकाको सदमुकामसम्म पुग्नसक्ने अवस्था नभएकाले राहत व्यवस्थापनमा ढिला भएको उनले बताए ।
सानो हेलिकप्टर प्रयोग गर्दा राहत सामग्री थोरैमात्र ढुवानी भएको मन्त्री बस्नेतले जानकारी दिए । बाहिरबाट आएका सामग्री एकद्वार प्रणालीबाट सबै ठाउँका परिचालन गर्न पठाइएको जनाउँदै उनले सदरमुकामबाट पठाइएका सामग्री जाम भएपछि समस्य आएको बताए । सदरमुकामबाट पालिकाको केन्द्र, पालिकाको केन्द्रबाट वडा कार्यालय र वडा कार्यालयबाट पीडितसम्म पुग्नका लागि समय लागेको मन्त्री बस्नेतको भनाइ थियो । वडाध्यक्षले वडा सदस्यलाई समेत परिचालन गरेर सामग्री वितरण गर्नुपर्नेमा उनले जोड दिए ।
केन्द्रबिन्दुमा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको मन्त्री बस्नेतले बताए । बारेकोट, कुशे गाउँपालिकामा त्रिपालको समस्या देखिएको भन्दै खाद्यान्नभन्दा पनि त्रिपालको समस्या बारेकोटमा बढी देखिएको उनले बताए ।
जाजरकोट र रुकुमपश्चिममा भएको क्षतिलाई एउटा योजना बनाएर पुनःनिर्माणको काम गरिने मन्त्री बस्नेतले समितिलाई जानकारी गराए । पुनःनिर्माण तथा पुनःस्थापनाको कामलाई गति दिन समस्या भइरहेको उनको भनाइ थियो । बढी चिसो भएमा पीडितलाई अस्थायी सेन्टर स्थापना गरी व्यवस्थापनको काम गरिने उनले जानकारी दिए ।
मन्त्री बस्नेतले दुःखमा साथ दिने, योगदान गर्ने, सल्लाह, सुझाव र हौसला दिने सबैलाई जाजरकोटको प्रतिनिधिका हिसाबले धन्यवादसमेत दिए । सुरक्षाकर्मी मित्रको पु¥याएको योगदानलाई भुल्नै नसक्ने भन्दै उनले विशेष धन्यवाद दिए ।
