`

पुनःनिर्माणलाई जनताको सेवा गर्ने अवसरका रूपमा लिन मन्त्री शर्माको आग्रह

Nepal One HD १६ मंसिर २०८० १८:१४
राजनीति

सल्ल्यान, १६ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पबाट क्षतिग्रस्त रुकुमपश्चिम र जाजरकोट जिल्लाका संरचनाको पुनःनिर्माणलाई जनताको सेवा ठानेर इमानदारीका साथ काम गर्न वयंसेवकहरूलाई आग्रह गर्नुभएको छ ।

सल्ल्यान दार्मा गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित ढाकाडामकोटमा भूकम्पप्रभावित परिवारका निम्ति अस्थायी आवास तथा शौचालय निर्माणका लागि परिचालन भएका स्वयंसेवकहरूलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकार, राजनीतिक पार्टी र जनता सबैले पुनःनिर्माणलाई सेवाभावका साथ आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताउनुभयो ।भूकम्पीडितलाई त्रिपालबाट अस्थायी आवासमा यथासक्य चाँडो सार्न तथा उनीहरूको पुनःस्थापनाको कामलाई युद्धस्तरमा अघि बढाउनुपर्ने बताउँदै मन्त्री शर्माले पुनःनिर्माणको काम एक वर्षभित्र सम्पन्न गर्ने सरकारको निर्णय साकार पार्न सम्बद्ध सबैको सहयोग अपरिहार्य भएको स्मरण गराउनुभयो ।मन्त्री शर्मासँगै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा, माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसी, केन्द्रीय सदस्य नरेश भण्डारी, दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीलगायत श्रमदानमा पनि संलग्न हुनुभयो ।भूकम्पबाट सल्ल्यान दार्मा गाउँपालिकामा ठूलो भौतिक क्षति भएको छ । एक हजार एक सय ७९ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्भने एक हजार ८१ घरमा आंशिक क्षति भएको छ । पालिकाभित्रका २१ सामुदायिक विद्यालय, पाँच वटा स्वास्थ्य संस्था र तीन वटा वडा कार्यालयमा क्षति भएको छ । एक हजार एक सय ७९ घरका छ हजार तीन सय १८ जना विस्थापित भएका गाउँपालिका अध्यक्ष केसीले राससलाई जानकारी दिनुभएको छ ।


प्रतिक्रिया