`

नेपाल र सशस्त्र प्रहरीका प्रमुख साथमा लिएर गृहसचिव अमेरिका प्रस्थान

Nepal One HD १० असार २०८१ १३:५९
समाचार

काठमाडौं । संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन गृहसचिव एकनारायण अर्याल नेतृत्वको पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको छ ।

अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ सम्म संचालन हुने चौथो युनाइटेड नेशन्स चिफ्स अफ पोलिस समिट (यूएनकप्स) मा सहभागी हुन टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो ।

गृहसचिवसँगै नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले बिदाइ गरेका छन् । उक्त समिटमा शान्ति स्थापना, संघर्ष र हिंसाको रोक्ने लगायत एजेण्डामा छलफल हुने कार्यक्रम छ ।

त्यसक्रममा प्रतिनिधिमण्डलले संयुक्त राष्ट्र संघका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र संघका उच्च पदस्थ अधिकृतहरू एवम् टर्की, फ्रान्स, बेलायत, क्यानडा, अमेरिका, दक्षिण कोरिया, नाइजेरिया, घाना लगायतका देशका प्रतिनिधिहरूसँग दुई पक्षीय, बहुपक्षीय भेटघाट गरी संयुक्त राष्ट्रसंघमा नेपाल प्रहरीको सहभागिता एवम् साझा सुरक्षाको विषयमा छलफल गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया