केपी एफसीलाई हराउँदै मछिन्द्र एफसी केपी ओली कपको फाइनलमा


काठमाडौं । आयोजक केपी एफसीलाई हराउँदै मछिन्द्र एफसी जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आयोजक टोलीलाई ४–० को गोलले पराजित गर्दै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । मछिन्द्रका लागि स्टेफेन जमालाले दुई र मनिष डाँगी, रोशन रानाले एकएक गोल गरे । खेलको ३८औं मिनेटमा मछिन्द्रका मनिषले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।
४९औं मिनेटमा रोशनले गोल गर्दै मछिन्द्रको अग्रतालाई दोब्बर बनाए । खेलको ८६औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै मछिन्द्रका स्टेफेनले टोलीलाई तेब्बर अग्रतामा पुर्याए ।
पुनः ९०औं मिनेटमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४–० मा पुर्याए । अब मछिन्द्रले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ । आर्मीले पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनल खेल सोमबार हुनेछ ।