नेपालद्वारा इन्डोनेसिया पराजित


काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले इन्डोनेसियालाई तीन सय ७० रनले हराएको छ । यो जितसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेको छ । नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४ ओभर तीन बलमा ५० रनमै अलआउट भयो ।
इन्डोनेसियाका कभिन नीरज चड्डाले सबैभन्दा धेरै १५ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ६ विकेट लिए । यसअघि मलेशियाको सेलाङ्गोर टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा पाँच विकेट गुमाएर ४२० रन बनायो । नेपालका प्रसिद्ध जैशीले शतक बनाए ।
प्रसिद्ध एक सय १४ बलमा एक सय ३२ रन बनाएर आउट भए । यस्तै रौनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१ र जोय थापाले ५७ रन बनाए । इन्डोनेसियाका केतुत दर्मा पुत्राले दुई विकेट लिए । यो नेपालको उमेर समूहदेखि राष्ट्रिय टोलीले ५० ओभरको खेलमा बनाएको सबैभन्दा धेरै रन हो ।