`

जोखिम भएको ठाउँमा राति गाडी चलाउन नपाइने, मौसम पूर्वानुमानको सूचनालाई प्रभावकारी बनाइने

Nepal One HD १५ असार २०८२ १७:३५
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय विपद व्यवस्थापन परिषदले विपद जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउन लगायतका आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आइतबार शहरी विकास मन्त्रालयमा बसेको परिषद्को बैठकले केही दिन यता देशका धेरै स्थानमा भइरहेको वर्षापछिको सम्भावित जोखिमलाई ध्यान दिँदै यस्तो निर्णय गरेको हो ।

परिषद्को बैठकले जोखिम भएको ठाउँमा रातको समयमा सवारी साधन नचलाउने, भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई सूचना प्रवाह गर्ने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रशारण गर्ने व्यवस्था मिलाउने र विपद् प्रभावित क्षेत्रमा रिपोर्टिङको तत्काल व्यवस्था मिलाई विपद् प्रभावितलाई रेस्क्यु गर्ने तत्काल व्यवस्था मिलाउने निर्णय भएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षाको समयमा नागरिकको जीवन रक्षाका लागि आवश्यक पूर्वतयारीमा कुनै कमी नगर्न आग्रह गर्दै सरोकारवाला निकायलाई उच्च शतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले मौसम पूर्वानुमानपछिको पूर्वसूचना प्रभावकारी बनाउन सके विपद्बाट क्षति हुनबाट रोक्न सकिने भन्दै पूर्वसूचना प्रभावकारी बनाउने र त्यसलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले वर्षाको मौसमका हुनसक्ने सम्भावित जोखिमको अवस्थालाई ध्यान दिँदै भइरहेका तयारीबारे जानकारी पनि लिए । त्यसक्रममा गृहमन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सडक विभागकातर्फबाट भइरहेका पूर्वतयारीका बारेमा जानकारी गराइएको थियो । उनले सरोकारवाला सबै निकायलाई मौसम पूर्वानुमानलाई ध्यान दिँदै जोखिम रहेका ठाउँहरुमा पूर्वसूचना प्रभावकारी बनाउने र जोखिम आइहाले त्यसको सामना गर्नसक्ने गरि तयारी अवस्थामा बस्न आग्रह गरे ।

बैठकमा गृहमन्त्री रमेश लेखकले सम्भावित जोखिमलाई ध्यान दिँदै तीनवटै सुरक्षा निकाय अलर्टमा बसेको, सेना र निजी क्षेत्रका हेलिकप्टर समेत विपदमा परिचालन गर्नुपर्ने अवस्थामा तयारी अवस्थामा रहेको बताए ।

उनले मौसम पूर्वानुमानअनुसार जोखिम रहेका सडकहरुमा सवारी सञ्चालन नगर्नु भनेको अवस्थामा सवारी चलेमा र केही भएमा त्यसको जिम्मेवार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र अन्तिम चेकपोस्टको प्रहरी इञ्चार्ज हुने गरि निर्देशन पठाइसकिएको जानकारी दिए । मुख्य सचिव एकनारायण अर्यालले मौसम पूर्वानुमान अहिले मिलिरहेको भन्दै त्यसलाई ध्याद दिएर सम्बन्धित निकायलाई सोहीअनुसार अलर्टमा राखिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *