लाओसमाथि नेपालको जित


काठमाडौँ । नेपालले एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा आइतबार भएको खेलमा नेपालले लाओसलाई ९–० गोल अन्तरले पराजित गरेको हो ।
खेलमा नेपालका लागि सावित्रा भण्डारी (साम्बा)ले ५ गोल गरेकी छन् भने अनिता केसी, अनिता बस्नेत, रश्मी कुमारी घिसिङ र सरु लिम्बुले एक एक गोल गरेका थिए ।
जितसँगै नेपाली महिला फुटबल टिमको आफ्नो १००औं अन्तर्राष्ट्रिय खेललाई स्मरणीय बनाएको छ । पहिलो पटक लाओससँग खेलेको नेपाली महिला फुटबल टिमको इतिहासमा यो चौथो फराकिलो जित हो ।
नेपालले यसअघि २०१० मा अफगानिस्तानसँग १३–० तथा पाकिस्तानसँग १२–० को जित हासिल गरेको थियो भने २०२४ मा माल्दिभ्ससँग ११–० को जित हासिल गरेको थियो । समुह एचमा रहेको नेपालले अब जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।