`

भोजपुर हत्या घटनाः शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

Nepal One HD २३ असार २०८२ १०:०५
समाज

भोजपुर, २३ असारः भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको फेरेन्सिक परीक्षण गर्न आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

घटनास्थलबाट आइतबार जिल्ला अस्पताल ल्याइएको शवको फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि धरान पठाइएको हो । भोजपुर नगरपालिका– २ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए । अभियुक्त पनि घाइते रहेकाले उनको पनि धरानमा उपचार भइरहेको छ ।

मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका लागि धरान पठाउन रामप्रसादराई गाउँपालिकाको सचिवालयले सङ्कलन गरेको सहयोग परिवारलाई हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले सङ्कलित एक लाख १४ हजार आठ सय ७१ रुपैँया रकम मृतक आफन्तलाई हस्तान्तरण गर्नुभएको हो । मृतक परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले गाउँ कार्यपालिकाको बैठक बसेर पालिकाको तर्फबाट पनि सहयोग गर्ने उहाँको भनाइ छ ।

“मृतक परिवारको आर्थिक अवस्था कमजोर छ” अध्यक्ष राईले भन्नुभयो,“सचिवालयबाट सङ्कलन भएको एक लाख १४ हजार रकम हस्तान्तरण गरेका छौँ । गाउँपालिकाको तर्फबाट पनि सहयोग गछौँ ।” शनिबार राति आफ्नै ज्वाइँले एकै परिवारका चार जनाको सामूहिक हत्या गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *