इजरायली आक्रमणमा गाजामा ११० प्यालेस्टिनीको मृत्यु


गाजा सिटी । गाजामा शनिबार भएका इजरायली आक्रमणमा कम्तीमा ११० जना प्यालेस्टिनीको ज्यान गएको छ। तीमध्ये ३४ जना अमेरिका–समर्थित गाजा ह्युमनटेरियन फाउन्डेशनको राहत केन्द्रबाहिर खाना पर्खिरहेका अवस्थामा मारिएका स्थानीय स्वास्थ्य स्रोतले जनाएका छन् ।
यो आक्रमण कतारमा भइरहेका युद्धविराम वार्ता अवरुद्ध भएको अवस्थामा भएको हो । इजरायलको गाजा जनसंख्यालाई जबरजस्ती विस्थापित गर्ने योजनालाई लिएर अन्तर्राष्ट्रिय समुदायको कडा आलोचना बढिरहेको छ ।
दक्षिणी राफाहस्थित अल–शकुश क्षेत्रमा भएको हमलामा प्रत्यक्षदर्शीहरूले इजरायली सेनाले प्रत्यक्ष रुपमा सर्वसाधारणमाथि गोली चलाएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघ र मानव अधिकार संस्थाहरूले ती राहत केन्द्रहरूलाई ‘मानव वधशाला’ र ‘मृत्युको पासो’ को संज्ञा दिएका छन् । घटनाले गाजाको मानवीय संकट झनै भयावह बन्दै गएको पुष्टि गरेको छ भने युद्धविराम सम्भावनामा थप असहजता ल्याएको विश्लेषकहरू बताउँछन्।