`

दुई ठूला डिजिटल वालेट आइएमई पे र खल्ती भोली मर्ज हुँदै

Nepal One HD ३२ असार २०८२ १९:३४
विज्ञान-प्रविधि

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र खल्तीबीच साउन १ गते मर्जर हुने भएको छ। मर्जरका लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ।

नेपालको इतिहासमै दुई ठूला डिजिटल वालेट एक भएर एकीकृत कारोबार हुन लागेको यो नै पहिलो पटक हो। यो मर्जर साउन १ गतेदेखि अर्थात भोली देखि एकीकृत कारोबारका रूपमा सुरु हुनेछ । त्यसपछि ‘आइएमई पे’ नाम औपचारिक रूपमा हट्नेछ र संयुक्त कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को नाममा सञ्चालन हुनेछ ।

यसको रजिस्टर्ड कार्यालय काठमाडौं, पानीपोखरीस्थित रहनेछ। संयुक्त कारोबारपश्चात आधिकारिक रूपमा एपको नाम भने खल्ती रहनेछ। यससँगै ठूलो चुक्ता पुँजी र पचास लाखभन्दा बढी आधिकारिक प्रयोगकर्ताहरू हुने खल्ती एप नेपालकै सबभन्दा ठूलो र बलियो डिजिटल वालेटको रूपमा स्थापित हुने कम्पनीको दाबी छ।

यस मर्जरले नेपालको ग्रामीण क्षेत्रसम्म पनि भुक्तानी सेवा विस्तारमा तीव्रता आउने विश्वास कम्पनीले लिएको छ।

नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी तीन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीव्र रूपमा चल्ने कम्पनीले उल्लेख गरेको छ।

जसका लागि दुवै एप, आईएमई पे र खल्ती यथावत सञ्चालनमा रहने छन् । दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू, खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि उल्लेखित समयमा एकीकृत हुनेछन् ।

खल्ती र आईएमई पे दुवैमा भएका प्रयोगकर्ता एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आईएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *