महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले दिए राजीनामा


काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाउँदै उनले नेपालको मुख्य प्रशिक्षकबाट राजिनामा दिएको जानकारी दिएका हुन् ।
एएफसी एसियन कप छनोटका दौरान कप्तानको विषयमा विवाद भएका कारण वाइल्ड राजनीमा दिने स्थितिमा पुगेका हुन्। गत जेठ २२ मा नियुक्त भएका वाइल्ड दुई महिना पनि पूरा नहुन नपाउँदै राजीनामा दिने स्थितिमा पुगेका हुन्।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले वाइल्डलाई पत्राचार गर्दै एएफसी एसियन कप छनोटका दौरान भएको विवादको विषयमा ‘घटना विवरण’ दिन पत्राचार गरेको थियो। जवाफमा प्याट्रिकले एन्फा भित्रको राजनीति र अहिलेकै अवस्थामा व्यवस्थापनसँग काम गर्न नसक्ने उल्लेख गर्दै राजीनामा पठाएको स्रोतले जानकारी दियो।
एएफसी एसियन कप छनोट अन्तर्गत उज्वेकिस्तानमा भएको खेलमा कप्तानीको विषयमा विवाद भएपछि एन्फाका अफिसियल र मुख्य प्रशिक्षक बीच विवाद भएको थियो।
उनको राजीनामाको विषयमा निर्णय भने भएको छैन। एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ क्लब विश्वकपका लागि अमेरिका गएका कारण उनी फर्केपछि मात्र राजीनामाको विषयमा निर्णय हुने एन्फा प्रवक्ता सुरेश शाहले बताए।