`

विश्वको नजर नेपाली क्रिकेटमाथि, भारतले दिँदै विशेष स्थान

Nepal One HD ४ साउन २०८२ १७:०९
खेलकुद

काठमाडौँ । आईसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेका नेपाली क्रिकेट टोलीले दोस्रो चरणको प्रशिक्षण भारतमा गएर गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार हाल बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडी मध्ये २० खेलाडीहरुले भारतको बेंगलोरमा गएर दोस्रो चरणको प्रशिक्षण गर्ने भएका हुन् ।

नेपालस्थित भारतीय दुतावासको सहकार्य र द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) को सहयोगमा नेपाली टिमले भारतको बेंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमी (एनसीए) मा गएर तयारी गर्ने क्यानले जनाएको छ । उक्त प्रशिक्षण जुलाई २१ देखि अगष्ट ३ तारिखसम्म हुने छ ।

भारतमा प्रशिक्षणमा सहभागी हुने खेलाडीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, लोकेश बम, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह रहेका छन् । यस्तै विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द, शुभ कंसाकारले पनि भारतमा गएर प्रशिक्षण गर्ने भएका छन्। बाँकी खेलाडीका लागि भने नेपालमै प्रशिक्षण सञ्चालन गर्ने क्यानको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एकातिर कीर्तिपुरमा रहेको टीयू मैदानमा पारापिट र फ्लड जडान कार्य भइरहेकोले नेपाली टोलीले भारतमा गएर प्रशिक्षण गर्न लागेको हो भने अर्कोतिर भारतले पछिल्लो समय नेपाली क्रिकेटमा सहयोग गरिरहेको छ । नेपाली टिमले यसअघि पनि विभिन्न अवसरमा भारतमा गएर प्रशिक्षण गर्दै आएको छ ।

क्यान अध्यक्ष चतुर बहादुर चन्दले पनि केही दिनअघिको कार्यक्रममा भारतीय दुतावास र बीसीसीआईले आन्तिरिक रुपमा नेपाली क्रिकेटलाई धेरै सहयोग गरिरहेको बताएका थिए ।

नेपालस्थित भारतीय दुतावासले पनि शुक्रबार आफ्नो अफिसियल फेसबुक पेजमा बेंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा विशेष प्रशिक्षण शिविरको साथ नेपाल क्रिकेट टोलीलाई सहयोग गर्न पाउँदा खुशी छौँ भन्दै पोष्ट गरेको थियो । यस्तै केही दिनअघि नेपालस्थित भारतीय दुतावासले नेपाली युवाका लागि राजदूत क्रिकेट फेलोशिप’ अन्तर्गत नेपालका तीन युवा खेलाडीलाई भारतमा प्रशिक्षण गर्ने व्यवस्था मिलाएको छ ।

यस्तै यू-१९ महिला टिमलाई पहिलो पटक यू-१९ विश्वकपमा पुर्‍याएर नेतृत्व गरेकी तथा हाल सिनियर राष्ट्रिय टिमकी उपकप्तान समेत रहेकी पुजा महतो सहित यू-१९ पुरुष टिमका कप्तान नरेन भट्ट र साहिल पटेलका लागि एलबी शास्त्री क्रिकेटशालामा एक महिना लामो उच्चस्तरीय व्यावसायिक प्रशिक्षणको व्यवस्था मिलाएको हो ।

पछिल्लो समय भारतले नेपाली क्रिकेटलाई विशेष स्थान दिँदै सहयोग गर्दै आएको छ । यसअघि भारतकै मोन्टी देसाई प्रशिक्षक हुँदा पनि भारतमा लगेर प्रशिक्षण गर्नका लागि सहयोग गरेको थियो ।

क्रिकेटमै विश्वकै चर्चित र महाशक्ति टिम मानिने भारत नेपालको छिमेकी हुँदा नेपाली क्रिकेटले पनि विस्तारै त्यहाँबाट सहयोग र फाइदा लिने अवसर पाएको छ । पछिल्लो पटक क्यान नेतृत्वले पनि भारत सरकार देखि बीसीसीआईसँग नेपाली क्रिकेट विकासका लागि सहयोग गर्न पहल गरिरहेको छ । त्यसको सकरात्मक असर पनि देखिन थालेको छ ।

भारतको उच्च पहलबाट नै नेपाली क्रिकेटको सरोकारवाला व्यक्तिहरु देखि खेलाडीहरुलाई नै भेट गर्ने क्रम समेत बढेको छ । गत वर्ष भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग भेट गर्ने इच्छा राखेपछि क्यान पदाधिकारी देखि खेलाडीहरु नै गएर उनलाई भेटेका थिए । अचानक भएको उक्त भेटमा विदेशमन्त्री जयशङ्करले नेपाली क्रिकेटको पछिल्लो उपलब्धिहरूमा खुशी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्न भारत इच्छुक रहेको सुनाएका थिए । त्यस भेटमा नेपाली क्रिकेटलाई कस्तो खालको सहयोग गर्न सकिन्छ भनेर छलफल समेत भएको थियो ।

छलफलपछि विदेशमन्त्री जयशङ्करले बीसीसीआईमा पत्र पठाउन क्यानलाई सुझाव दिएका थिए र त्यसलगत्तै क्यानले बीसीसीआईलाई पत्र पठाएर यस बारे जानकारी समेत गराएको थियो ।

सन् २०२३ मा भएको एसिया कपमा नेपालले विश्वका हस्ती टिम भारत र पाकिस्तानसँग खेल्दै उत्कृष्ट प्रदर्शन गरेपछि दक्षिण एसिया मात्र नभई विश्व क्रिकेटकै नजर नेपालमाथि परेको थियो ।

पाकिस्तान र श्रीलंकामा भएको उक्त एसिया कपमा नेपालले भारतसँग श्रीलंकाको मैदानमा उक्त खेल खेलेको थियो । त्यसबेला नेपालले भारत विरुद्ध २३० रन बनाएको थियो । पछि डिएल मेथडमा भारत १० विकेटले विजयी भएपनि नेपाली खेलाडीको प्रदर्शन र नेपाली क्रिकेटले भने विशेष चर्चा कमाएको थियो । जसले गर्दा नेपाली क्रिकेटका बारे धेरैले खोजि खोजी अध्ययन गर्न थालेका थिए ।

यस्तै अहिले नेपाली राष्ट्रिय टिममा खेलिरहेका अधिकांश खेलाडी देखि नेपाली युवा क्रिकेटरहरुका लागि प्रारम्भिक क्रिकेट प्रशिक्षणको सुरुवात पनि भारतबाटै भएको छ । यस्तै केही खेलाडीहरु व्यक्तिगत पहलमा भारतमै गएर अझै पनि प्रशिक्षण गर्दै आएका छन् । यसको मुख्य उदाहरणको रुपमा गण्डकी प्रदेशका अर्जुन कुमाल छन् ।

उनी नेपाली टिमबाट खेल्न र राष्ट्रिय टिमहरुबाट खेल्ने समयमा नेपाल आउँछन् भने अन्य समयमा भारतमै गएर प्रशिक्षण गर्छन् । यस्तै अन्य खेलाडीका लागि पनि नेपालमा खेल नहुँदा प्रशिक्षण गर्ने र थप तयारी गर्नका लागि भारत नै गन्तव्य बन्दै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *