रास्वपामाथि कांग्रेसको कटाक्ष: भिजिट भिसाकै कारण आज कोही मन्त्री र उपप्रधानमन्त्रीसम्म भए


काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे रास्वपा सभापति रवि लामिछाने र सांसद सुमना श्रेष्ठलाई लक्षित गरेर भिजिट भिसाबाट बाहिर गरेर उतैको नागरिकता लिएकादेखि घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसकेको टिप्पणी गरेका छन् ।
गृहमन्त्री रमेश लेखकसमेत जोडिएको भिजिट भिसा सेटिङ प्रकरणको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोगको माग गर्दै रास्वपाले दुई महिनादेखि संसद् अवरुद्ध गरिरहेको बेला कांग्रेस नेताको यस्तो टिप्पणी आएको हो।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘भिजिट भिसाबारे साथीहरूले दुई महिनादेखि धेरै चिन्ता गरिराख्नुभएको छ । त्यो गर्नुपर्दैन । हामीले एउटा अभ्यास गरिसक्या छौं । भिजिट भिसामा बाहिर जाने, त्यहीको नागरिकता लिने, त्यही घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने दुईचार वटा अरू काण्ड पनि मच्याउने, पार्टी खोल्ने त्यसपछि गृह, अन्यमन्त्री हुँदै उपप्रधानमन्त्री समेत हुनसक्ने अभ्यास त हामीले गरिसकेका छौँ। किन चित्ता गर्नुहुन्छ । भोलि भिजिट भिसामा जानेहरूले पनि त्यही अभ्यास दोहोर्याउलान् नि किन चिन्त्ता गर्नुहुन्छ ।’
उनले रास्वपाको अधिकांश सांसदहरू भिजिट भिसाकै कारणले अहिलेको उपलब्धि हासिल गरेको दाबी गर्दै त्यही भिसाप्रति बढी चिन्तित भएको बताए। उनले भिजिट भिसामा गएर उतैको नागरिकता लिनु, घरजम गर्न गलत कार्य भएको अन्तर्राष्ट्रिय कानुनले पनि भन्ने बताए।