एक वर्षमै स्मार्ट वाच खरिदमा बाहिरियो २९ करोड


काठमाडौं। एक वर्षमा स्मार्ट वाच खरिदका लागि नेपालबाट २९ करोड रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट स्मार्ट वाच खरिद बापत २९ करोड ४५ लाख ६२ हजार रुपैयाँ बाहिरिएको हो ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल १ लाख ७३ हजार ६७८ थान स्मार्ट वाचहरु भित्रिएका छन् । सरकारले उक्त स्मार्ट वाच आयातबाट ८ करोड ९० लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड रुपैयाँ स्मार्ट वाच खरिद बापत बाहिरिएको थियो ।
नेपालमा अष्ट्रेलिया, बेल्जियम, चीन, जर्मनी, हङकङ, भारत, इजरायल, जापान, कोरिया, कुवेत, मलेसिया, माल्दिभ्स, नर्वे, कतार, साउदी अरेबिया, सिंगापुर, श्रीलंका, स्विट्जरल्याण्ड, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, उज्बेकिस्तान र भियतनाम लगायतका रष्ट्रहरुबाट स्मार्ट वाच आयात हुने गरेका छन् ।