`

१७ वर्षदेखि ५० प्रतिशत पनि बनेन कोशी कोरिडोर 

Nepal One HD १६ साउन २०८२ १३:०१
अर्थ समाचार

काठमाडौं। आगामी आर्थिक वर्षभित्रै सम्पन्न गरिसक्नु पर्ने कोशी कोरिडोरको काम ५० प्रतिशत पनि सम्पन्न हुन सकेको छैन । आगामी आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गर्नुपर्ने म्याद रहेको कोशी कोरिडोरको हालसम्म ४७ प्रतिशत भौतिक र ४१.२५ प्रतिशत वित्तीय गति भएको हो । 

आर्थिक वर्ष २०६५/६६ सालदेखि सुरु गरिएको कोरिडोरको हालसम्मको भौतिक प्रगति ४७ प्रतिशत र वित्तीय प्रगति ४१.२५ प्रतिशत पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

मन्त्रालयबाट प्राप्त असार मसान्तसम्मको प्रगति विवरण अनुसार हालसम्म यस कोरिडोरमा १६२ किलोमिटर सडकमध्ये १३ किलोमिटर कालोपत्रे, ८० किलोमिटर ग्राभेल र ६९ किलोमिटर सडक कच्ची सडक बनेको छ । कुल लागत १६ अर्ब २० करोड लागत रहेको यस आयोजनामा असारसम्म ६ अर्ब ६८ करोड रुपैयाँ बराबर खर्च भएको छ । 

यस कोरिडोरले दक्षिणमा भारतको सिमाना जोगवानदीेखि विराटनगर, इटहरी धनकुटा खाँदबारी हुँदै नेपालको उत्तरी सिमाना किमाथांका जोड्छ । कुल ३९० किलोमिटर लम्बाई रहेको यस योजनाको कार्यक्षेत्र संखुवासभा जिल्लाको खाँदबारीदेखि नेपालको उत्तरी सिमा किमाथांकासम्म कुल १६२  किलोमिटर छ । 

चालू आर्थिक वर्षमा खाँदबारीदेखि फाकसिन्डा चेनेजमा कालोपत्रमा स्तरोन्नति भइरहेको छ भने, फाकसिनडादेखि बरुण बजारसम्म  र बरुण बजारदेखि च्याम्ताङसम्म ग्राभेलको काम भइरहेको छ । 

च्याम्ताङदेखि घोङघोप्पासम्म नेपाली सेनाद्वारा ट्र्याक खोल्ने कार्य सम्पन्न भई स्तरोन्नति कार्य भइरहेको जनाइएको छ । यस्तै घोङघोप्पादेखि किमाथांकासम्म पहिरो सफा गर्न तथा नाकासम्मको भीर फोड्ने कार्य भइरहेको छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *