अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताएका छन् । काठमाडौंमा आज कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसीसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सूचना प्रविधिमा रोजगारको प्रशस्त सम्भावना रहेको बताए ।
सूचना प्रविधिको क्षेत्रमा भएको विकासले विभिन्न देश धेरै अगाडि पुगेका उनको भनाइ थियो । ‘नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् । तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र सूचना प्रविधिको संरचनाको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको छ’, सञ्चारमन्त्री गुरुङले भने । सूचना प्रविधिको क्षेत्रमै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सिर्जनशील युवाका लागि नेपालमै रोजगार पाउने अवसर बिस्तारै राज्यले निर्माण गर्ने उनले विश्वास दिलाए ।
‘यो वर्ष हामी सूचना प्रविधि सम्बन्धी संरचना निर्माण गर्नेदेखि फोर जी घर–घर पुर्याउने र फाइभ जी लञ्च गर्ने भएका छौँ’, नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘अबको विकास भनेको सूचना प्रविधिको समृद्धि नै हो ।’