पहिलो पटक ’अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो २०८२’ हुँदै


नेपाल काठमाडौं । नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी अर्थात् ‘फिटनेस एक्स्पो, २०८२’ आयोजना हुने भएको छ । क्लासिक फिटनेस एकेडेमीले आगामी भदौ १४ गतेदेखि होटेल मल्लमा अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी आयोजना हुन लागेको हो ।
फिटनेससम्बन्धी बिजनेस कनेक्सन र नेटवर्किङ ग्रोथ गर्न क्लासिक फिटनेसको आयोजना तथा रिगल इभेन्टको व्यवस्थापनमा एकेडेमीले नेपालकै पहिलो अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी रहेको आयोजक संस्था क्लासिक फिटनेस एकेडेमीका संस्थापक रोजल शाहीले बताए । एक्स्पो केवल फिटनेससम्बन्धी सामग्री र सेवाहरूको प्रदर्शनी मात्र नभई व्यावसायिक सञ्जाल विस्तार गर्ने प्लेटफर्म समेत भएको उनले बताए । यसले नेपाली फिटनेस उद्योगलाई व्यावसायिक रूपमा बलियो बनाउने र अन्तर्राष्ट्रियस्तरमा पु¥याउने उद्देश्य राखेको उनको भनाई छ ।
एक्स्पोमा ब्राण्ड प्रदर्शनी, पोषण, उपकरण, पोशाक र यससम्बन्धी सेवाहरूबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहने छन् ।
‘नेपाल फिटनेस एक्स्पो, २०८२ केवल एक इभेन्ट मात्र होइन, यो आन्दोलन हो । फिटनेसलाई जीवनशैलीको रूपमा स्थापित गर्ने, युवाहरूलाई सशक्त बनाउने र नेपाललाई स्वस्थ र फिटनेसको नयाँ युगमा प्रवेश गराउने माध्यम हो,’ उनले भने’, ‘एक्स्पोमा फिटनेस अवार्ड शो पनि गरिने छ । राइजिङ एथलेटिक, बेष्ट एथलेटिक, बेष्ट कोच र लाइफटाइम एचिभमेन्ट गरी प्रमुख चार विधामा उक्त सम्मान प्रदान गरिने छ ।’
भारत, मलेसिया तथा अन्य एसियाली मुलुकहरूबाट प्रसिद्ध फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरू यस कार्यक्रममा सहभागी हुने जनाइएको छ । फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरूबाट फिटनेससम्बन्धी सङ्क्षिप्त ट्रेनिङहरू र विशेषज्ञहरूबाट निःशुल्क स्वास्थ्य परामर्श उपलब्ध गराइने छ ।
एक्स्पोमा नेपाली फिटनेस आइकनहरू राजेश शाही, महेश्वर महर्जन, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ तथा अन्तर्राष्ट्रिय फिटनेस सेलीब्रेटीहरू रोहित खत्री, नरेश सूर्या, युनिश शेख, सोनिया सिंह खत्री, रजत गोयल, बिन्दिया शर्मा र जेर्री कान टानलगायतको सहभागिता रहने छ ।