नेपाल ‘ए’ ले जित्यो आसामविरुद्धको टी-२० सिरिज


काठमाडौं । भारतको गुवाहाटीमा सम्पन्न भएको आसाम क्रिकेटविरुद्धको टी-२० सिरिज नेपाल ‘ए’ले जितेको छ । सोमबार भारतको गुवाहाटीमा भएको पाचौं तथा अन्तिम खेलमा आसामलाई ४४ रनले पराजित गर्दे नेपाल ‘ए’ टिमले सिरिज आफ्नो पक्षमा पारेको हो ।
नेपाल ‘ए’ ले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो ।
आसामका लागि भार्गव लहकरले सर्वाधिक २९ रनको योगदान दिए । बलिङमा नेपालका पवन सर्राफ, शेर मल्ल र आकाश चन्दले समान २ विकेट लिँदा बसिर अहमदले १ विकेट हात पारे ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाउँदै आसामलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । आदिल अन्सारीले ११ बलमा अविजित २५ रन जोडे । शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रनको योगदान दिए ।
बिहीबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो ।
त्यस्ते तेस्रो खेलमा शनिबार ९ रनले नेपाल ए विजयी भएको थियो भने चौथो खेलमा आइतबार आसाम १८ रनले विजयी भएको थियो ।