‘बाटोका लागि कुनै क्षेत्रबाट तत्कालै बजेट आउने सक्ने अवस्था छैन, बाटो निर्माण नहुने हो भने यहाँका नागरिकलाई मात्र नभई सुरक्षाकर्मीलाई समेत आवतजावतमा कठिनाइ हुन्छ, बिरामी भयो भने ल्याउन सक्ने अवस्था छैन’, सचिव बुढाथोकीले भने ।
स्थानीय आस्तिक तिङ्करीका अनुसार तिङ्कर गाउँमा सञ्चार नभएको तीन साता बढी भयो । गाउँ नेटवर्कविहीन छ । स्थानीयले अहिले आफन्तसम्म खबर गर्न सुरक्षाकर्मीको सेट प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ। तिङ्करबाट छाङ्गरु गाउँ आउन तीन घण्टा एकतर्फी हिँड्नुपर्छ । छाङ्गरुमा नेपाल टेलिकमको नमस्ते फोनले काम गरे पनि तिङ्करवासीले भने सञ्चारबाट वञ्चित हुनुपरेको स्थानीय वीरेन्द्र तिङ्करी बताउँछन् ।
ब्यास–१ को तिङ्करमा ७० परिवारको बसोबास छ । यहाँका नागरिक गत जेठमा कुञ्चा सरेका थिए । तिङ्करभन्दा छियालेकमा सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरी बसेका छन् । टेलिकमको सेवा अवरुद्ध भएसँगै सुरक्षाकर्मीले समेत आफन्त परिवारसँग कुराकानी गर्न पाएका छैनन् ।
गत वर्ष सङ्घीय सरकारको विशेष अनुदानमा ब्यास–२ दुम्लीङदेखि तम्बाकु, माल्पा, घाटीबगड, बयली, दोपखे, पोला, गिरकिस्से, बुदी अपिखोला र कुन्तीसाउसम्म २० किलोमिटर बाटो निर्माण तथा मर्मत गरेको छ । त्योभन्दा अहिले पनि नागरिकको लागि हिँड्डुल गर्न पैदल बाटो राम्रो छैन।
गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरका अनुसार तिङ्कर सडकमा तुरुन्त आवश्यक बजेट, स्थानीय र सुरक्षाकर्मीलाई नेपालकै खाद्यान्न, आफ्नो भूमि भएर जाने बाटो बनाउनुपर्छ । ‘नभए यहाँका नागरिकको लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘नागरिकका लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्न नसक्ने तर जहिल्यै सीमाको विषय बल्झाइ रहँदा नागरिकले सास्ती खेप्नुपरेको छ।’
पर्यटन अभियानकर्मी हिमालय भट्ट नेपालले ओमपर्वतदेखि लिम्पियाधुरासम्मको भू–भाग हाम्रो नै हो भन्ने दाबीलाई व्यवहारिक बनाउन छाङ्गरु तिङ्करसम्म तीव्र गतिमा विकास निर्माण कार्य अघि बढाउनु अत्यावश्यक रहेको बताउँछन् । उनका अनुसार विकास निर्माणको कामले गति लिएमात्रै ती भूभाग हाम्रो उपस्थिति प्रमाणित हुनेछ ।
अहिले गाउँपालिकाको छाङ्गरुदेखि तिङ्कर गाउँ जाने तीन काठे पुल सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयले श्रमदानमा निर्माण गरेको वडाध्यक्ष अशोकसिंह बोहराले बताए। बोहराका अनुसार नाम्पा खोला, तिङ्कर खोलामा बगाएको काठे पुल अहिले लगाएर आवतजावत गर्न सुरु गरिएको छ।
उनले केही ठाउँमा हिँड्डुल गर्न सक्ने गरी बाटो पनि खोलेको तर पशुचौपायासहित हिँड्डुल गर्न भने अझै बाटो नबनेको बताए । उनले भने, ‘बाटो निर्माणका लागि ठूलो रकमको आवश्यकत्ता छ, दुई वर्षअघि गाउँपालिकाले ठेक्का आब्ह्वान गरेर पैदलबाटो निर्माण गरेको थियो, तर त्यो पूरै बाढीले कटान गरेपछि तिङ्करबासीलाई समस्या भएको छ।’