`

यी हुन् चल्ने र नचल्ने सामाजिक सञ्जाल (सूचीसहित)

Nepal One HD १९ भदौ २०८२ १५:३६
विज्ञान-प्रविधि

काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आज (बिहीबार) देखि बन्द गर्ने निर्णय गरेको छ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने २६ सामाजिक सञ्जाल आज बन्द गर्ने निर्णय गरेको हो ।

बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सूचीकरण नभएका फेसबुक लगायतका सामाजिक सञ्जाल भने बन्द गर्ने निर्णय गरेको हो । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन समेत दिइसकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । यो निर्णयसँगै अब कुन–कुन सामाजिक सञ्जाल नेपालमा चलाउन सकिन्छ भन्ने विषयमा चौतर्फी चासो र जिज्ञासाको विषयमा बनेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ गरी पाँच वटा प्लेटफर्म सूचीकरण भइसकेका छन् । जसका कारण यी प्लेटफर्महरू बन्द हुने छैनन् । नेपालमा यी प्लेटफर्महरू सञ्चालन हुनेछन् । मन्त्रालयका अनुसार टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् ।

सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले क्रमशः बन्द गरिने सूचनामार्फत जानकारी गराएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार, सूचीकरणका लागि नआएका प्लेटफर्महरूलाई नेपालभरत नचल्ने गरी रोक लगाउन लागिएको हो । बन्द गरिने सञ्जालहरू सूचीकृत गरिएको खण्डमा पुनः खोलिने पनि सरकारले जनाएको छ । २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।

उक्त म्याद गए रातिबाट सकिएको थियो । सरकारले उक्त निर्णयलाई बेवास्ता गरिएपछि आज सञ्चार मन्त्रालयले पुनः मन्त्रीस्तरीय निर्णय गर्दै नेपालभर सूचीकृत नभएका सञ्जालहरू चल्नबाट रोक लगाउने निर्णय गरेको हो । नेपालमा प्रयोगमा आएका सञ्जालहरूमध्ये नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो सूचीमा राखेका र फेला पारेका सञ्जालहरूमाथि आज निर्णय भएको हो ।
‘यदि यस्ता सूचीकृत नभएका अन्य सञ्जालहरू फेला पर्नासाथ उनीहरूमाथि पनि यही प्रक्रिया लागू हुन्छ,’ मन्त्रालयका एक अधिकारीले भने ।

सूचीकृत यी पाँच सञ्जाल निरन्तर चल्ने

–टिकटक

–भाइबर

–निम्बज

–वीटक

–ओपोलाइभ

सूचीकृत नभएका यी सञ्जाल बन्द हुने

–फेसबुक

–म्यासेन्जर

–इन्स्टाग्राम

–युट्युब

–ह्वाट्सएप

–ट्वीटर

–लिंक इड

–स्न्याप च्याट

–रेडिट

–डिस्कर्ड

–पिन्ट्रेस्ट

–सिग्नल

–थ्रेड

–वी च्याट

–कोरा

–सम्ब्लर

–क्लब हाउस

–मास्टर डन

–रम्बल

–मि वी

–मि भिके

–लाइन

–इमो

–जालो

–सोल

–हाम्रो पात्रो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *